काठमाडौं– बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्साली कानुनी विवादमा तानिएका छन्। बिकानेर (राजस्थान)का एक व्यक्तिले ठगी, दुर्व्यवहार र विश्वासघातको आरोप लगाउँदै निर्देशक भन्सालीसहित दुई सहयोगीविरुद्ध उजुरी दर्ता गराएका छन्।
बिकानेर सदर सर्कल अफिसर विशाल जांगिडका अनुसार, उजुरी प्रतीक राज माथुर नामक व्यक्तिले दायर गरेका हुन्। उनका अनुसार, निर्देशक भन्सालीले उनलाई आफ्नो बहुप्रतिक्षित फिल्म ‘लभ एण्ड वार’ का लागि लाइन प्रोड्यूसरको जिम्मेवारी दिएका थिए। तर, सम्झौता भएको केही समयमै बिना कारण प्रोजेक्टबाट हटाइयो।
माथुरले आरोप लगाएका छन् कि उनले सुटिङका लागि आवश्यक सबै तयारी, सरकारी निकायहरूसँगको समन्वय र व्यवस्थापन पूरा गरिसके पनि कुनै पारिश्रमिक दिइएन। यति मात्र होइन, जब उनी होटलमा फिल्म युनिटसँग भेट गर्न पुगे, निर्देशक भन्साली र उनका सहयोगीहरूले दुर्व्यवहार र अपमानजनक व्यवहार गरेको दाबी गरेका छन्।
अदालतको आदेशपछि सोमबार बिकानेरस्थित बिछवाल थानामा एफआईआर दर्ता गरिएको हो। यसमा निर्देशक भन्सालीसहित अर्विन्द गिल र उत्कर्ष बाली विरुद्ध ठगी, आपराधिक षड्यन्त्र र आपराधिक धाकधम्कीका मुद्दा दर्ता भएको छ।
यसबीच, निर्देशक भन्सालीको फिल्म ‘लभ एण्ड वार’ लाई बलिउडको एक उत्कृष्ट प्रेमकथाको रूपमा प्रस्तुत गरिने बताइएको छ। फिल्ममा चर्चित कलाकारहरू रणवीर कपुर, आलिया भट्ट र भिक्की कौशल मुख्य भूमिकामा देखिनेछन्। निर्माणाधीन यो फिल्म सन् २०२६ मा सिनेमाघरमा रिलिज हुने तय भएको छ।
प्रतिक्रिया