रास्वपा जस्तै ‘प्राइमरी इलेक्सन’ जान खोज्दा राप्रपामा किचलो, नेताहरूले दिए बहिष्कारको चेतावनी | Khabarhub Khabarhub

रूपन्देही–३ उपनिर्वाचन

रास्वपा जस्तै ‘प्राइमरी इलेक्सन’ जान खोज्दा राप्रपामा किचलो, नेताहरूले दिए बहिष्कारको चेतावनी


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि ‘प्राइमरी इलेक्सन’ (प्रारम्भिक निर्वाचन) मार्फत् उम्मेदवार चयन गर्ने निर्णयले आन्तरिक किचलोमा फसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा थप विवाद उत्पन्न भएको छ । 

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको संसदीय समितिको बैठकले ‘प्राइमरी इलेक्सन’मार्फत् उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने निर्णय गरेपछि राप्रपामा किचलो थपिएको हो ।  यसअघि रास्वपाले रुपन्देही ३ कै उम्मेदवार चयनमा अभ्यास गरेको प्राइमरी इलेक्सनले राप्रपाभित्रको विवादलाई नयाँ रुप दिएको हो ।

बैठकपछि राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले उपनिर्वाचनका लागि ‘नवीन राप्रपा कार्ययोजना’ को मोडलअनुसार आन्तरिक प्रारम्भिक निर्वाचनमार्फत् प्रजातान्त्रिक पद्धतिबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको बताएका थिए ।

उनका अनुसार आन्तरिक प्रारम्भिक निर्वाचन यथाशीघ्र गरिने र आवश्यक प्रबन्ध रूपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने निर्णय पनि संसदीय समिति बैठकले गरेको थियो । 

राप्रपाले ‘प्राइमरी इलेक्सन’ मा रूपन्देही–३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सँगै ३ नम्बर क्षेत्रअन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई मतदाता मानिने भनेको छ ।

यस्तै क्षेत्रअन्तर्गतका सबै उपमहानगर, नगर, गाउँ पालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य, क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू पनि मतदाता रहने छन् ।

त्यसैगरी रूपन्देही–३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी, भदौ १७ गतेसम्म कायम रहेका उपनिर्वाचन क्षेत्रभित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भ्रातृ संगठनका पदाधिकारी तथा सदस्य र भदौ १७ सम्म पार्टीको सक्रिय सदस्य भइसकेकाहरूलाई पनि ‘प्राइमरी इलेक्सन’का मतदाता मानिने निर्णय बैठकले गरेको थियो । 

तर, उम्मेदवार चयनका लागि ‘प्राइमरी इलेक्सन’ गर्ने संसदीय समितिको निर्णयमा राप्रपाको असनतुष्ट समूह सहमत देखिँदैन । पार्टीभित्र अध्यक्ष लिङ्देनमाथि प्रश्न उठाउँदै आएका महामन्त्री डा. धवलशमशेर राणानिकट मानिने समूहका नेताहरू ‘प्राइमरी इलेक्सन’ को विपक्षमा उभिएका छन् । 

उनीहरू मंगलबार लिङ्देनको अध्यक्षमा बसेको संसदीय समितिको बैठकलाई नै अवैधानिक भनिरहेका छन् । राप्रपाको विधानमा केन्द्रीय कार्यसमितिले तोकेको केन्द्रीय सदस्यको अध्यक्षतामा संसदीय समिति गठनको व्यवस्था गरे पनि अध्यक्ष लिङ्देनले आफ्नै अध्यक्षतामा समिति गठन गरेको उनीहरूको तर्क छ । 

‘विधानअनुसार केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्यको अध्यक्षतामा संसदीय समिति गठन गरिनुपर्ने हो । तर, अध्यक्ष लिङ्देन आफैँ समितिको अध्यक्ष बनेर प्राइमरी इलेक्सनमा जाने निर्णय गर्नुभयो,’ महामन्त्री राणानिकट एक नेताले भने, ‘फेरि विधानले संसदीय समितिमा रहने भनिएकाहरूलाई पनि जानकारी दिनुभएन । यो निर्णय अवैधानिक छ ।’

महामन्त्री राणा स्वयम् उम्मेदवार चयनका लागि ‘प्राइमरी इलेक्सन’ गर्ने निर्णयबाट सन्तुष्ट नरहेका उनीनिकट स्रोतले जनाएको छ । ‘यसमा सक्रिय सदस्यहरूले पनि भोट हाल्ने भनेको छ । सक्रिय सदस्यले किन भोट हाल्नु पर्ने ?,’ ती स्रोतले खबरहबसँग भने, ‘यो गर्नु नै थियो भने पहिल्यै गरिसक्नु पर्ने थियो । यो विवादित हुने काम हो ।’

यसैबीच रूपन्देही–३ प्रदेश सभा निर्वाचन क्षेत्र (२) का राप्रपा अध्यक्ष प्रेमबहादुर कुँवरले विज्ञप्ति जारी गरेर ‘प्राइमरी इलेक्सन’ बहिष्कारको चेतावनी दिएका छन्। रूपन्देही–३ को क्षेत्रीय कार्यसमितिका सचिव शंकर कार्कीले पनि विज्ञप्ति निकालेर ‘प्राइमरी इलेक्सन’ को नाममा विभाजन ल्याउन खोजिएको बताएका छन् । 

रूपन्देही–३ कार्यसमिति, प्रदेश (क) र (ख) कार्यसमिति र विभिन्न वडा कार्यसमितिले विभिन्न मितिमा उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला कार्यसमितिमा पठाएको उनले स्मरण गराएका छन् । 

‘त्यसैलाई आधार मानेर केन्द्रीय समितिले निर्णय लिनु पर्नेमा यो प्राइमरी चुनावको नाममा रूपन्देही–३ विभाजन हुने अवस्था देखिएकोले यो प्राइमरी चुनावको क्षेत्रीय कार्यसमिति घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

त्यसैगरी ओमसतिया गाउँपालिका–२ का अध्यक्षसमेत रहेका जिल्ला सदस्य ज्ञानेश श्रेष्ठले पनि विज्ञप्तिमार्फत्‘प्राइमरी इलेक्सन’ बाट उम्मेदवार छान्ने तयारीको विरोध गरेका छन्।उनले राप्रपाको विधि र विधानमा ‘प्राइमरी इलेक्सन’ गर्ने व्यवस्था नै नरहेको बताएका छन्।

‘रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रणालीबाट उम्मेदवार छनोट प्रक्रिया अपनाउने भनी जानकारी आएकोमा राप्रपाको कुनै विधि र विधानमा प्रारम्भिक निर्वाचन प्रणालीको जिकिर नगरिएको, पार्टीको जित सुनिश्चित रहेको समयमा कार्यकर्तामा फुटको सम्भावना अधिक रहेकोले यस ओमसतिया गाउँपालिका–२ ले प्रारम्भिक निर्वाचन प्रणालीलाई बहिष्कार गरेको जानकारी गराइन्छ,’ श्रेष्ठले भनेका छन्।

गत असार २९ गते सम्पन्न राप्रपाको जिल्ला कार्यसम्पादन समिति बैठकले पार्टी केन्द्रीय सदस्य वसन्तविक्रम शाही र स्वाती थापा, जिल्ला अध्यक्ष सागर प्रताप राणा, गौरव बोहरा, प्रज्ज्वल बोहरा र दिलिप मल्लिक गरी ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

जसमध्ये जिल्ला अध्यक्ष राणा र कानुन व्यवसायीसमेत रहेका नेता मल्लिकको नाम उम्मेदवारको सूचीबाट हटिसकेको छ । प्रवक्ता श्रेष्ठले उनीहरू दुवैजना सहमतिअनुसार ‘व्याक’ भएका प्रतिक्रिया दिए । 

बाँकी रहेका चार जनाले केही दिनअघि अध्यक्ष लिङ्देनसँग ‘जुसले टिकट पाए पनि सघाउने’ सहमति गरेका थिए । तर, उक्त सहमति गरेको केही दिनपछि मंगलबारमात्रै लिङ्देनले उम्मेदवारको टुङ्गो ‘प्राइमरी इलेक्सन’बाट लगाउने निर्णय संसदीय समितिमार्फत् गरेका थिए । 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : ३५ बजे

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा जोड

तनहुँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले

नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम गरिएको छः गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले

कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण

सिरहा – सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको हुलाकी सडकअन्तर्गतको

भूकम्पपीडित अफगानी नागरिक खुला आकाशमा रात बिताउन बाध्य

अफगानिस्तान – पूर्वी अफगानिस्तानमा विनाशकारी भूकम्प गएको तीन दिनसम्म पनि