अफगानिस्तान – पूर्वी अफगानिस्तानमा विनाशकारी भूकम्प गएको तीन दिनसम्म पनि घरबारविहीन भई भोकभोकै रहेका परिवारहरू पराकम्पन आउन सक्ने डरले भूकम्पबाट बाँकी रहेका केही भवनहरूमा पाइला टेक्ने आँट गर्न सकेका छैनन् ।
गत आइतबार मध्यरातमा अफगानिस्तानलाई केन्द्रविन्दु बनाई गएको ६।० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पले पाकिस्तानसँग सीमा जोडिएका दुर्गम क्षेत्रमा एक हजार ४०० भन्दा बढी मानिसको ज्यान लिएको छ।
हरियो पहाडको बीचमा रहेका केही कृषिकर्ममा व्यस्त ग्रामिण इलाकाहरू पहिरोका कारण समतल भएका थिए । भूकम्प गएको लामो समय (तीन दिन) सम्म पनि मानिसहरू भग्नावशेषमुनि रहेका छन् भने उद्धार प्रयासहरू जारी छन् ।
नान्गाहार प्रान्तको दार–ए–नुर गाउँमा भूकम्पले आफ्नो घर भत्काएपछिको ‘अँध्यारोे रात’ बाट अझै पनि डराएका इमरान मोहम्मद अरेफले भने, “भूकम्पपछि अहिलेसम्म पनि परिवारका अन्य चार सदस्यहरूसँग प्लास्टिकको म्याटमा खुला आकाशमा आफुले रात बिताउनु परेको छ।” “हिजो पनि भूकम्प गएको थियो र आज बिहान पनि भूकम्प गएको छ,” अरेफले एएफपीसँग भने।
“अहिले हामीसँग बस्ने ठाउँ छैन र हामी सबैसँग सहयोगको याचना गरिरहेका छौँ,” उनले बताए ।साधनस्रोत भएकाहरू गाउँ छोडेर भागेपनि उनीहरूलगायत हजारौँ गाउँलेहरूलाई विनाशको बीचमा जे पायो त्यही खाएर अस्थायी आश्रयस्थलहरूमा सँगै बस्नुबाहेक अरू कुनै विकल्प थिएन।
जलालावादमा चिकित्सकका रूपमा काम गर्दै आएका फेरेस्ताले भने, “नान्गाहार प्रान्तको राजधानी जलालाबादमा पनि भूकम्प र त्यसपछिका पराकम्पनहरू महसुस गरिएको र यसले हामीलाई निकै तर्साएको छ । हामी निकै डराएका छौँ ।”
उनले भने, “हरेक पटक जब म एक कदम चाल्छु, मलाई लाग्छ कि जमीन हल्लिरहेको छ। हामी घरभित्र बस्दैनौँ । बगैँचामा सुत्छौँं । फेरि भूकम्प आउँछ भन्ने मनमा त्रास रहिरहेको छ।”
सुरक्षित आश्रयको याचना
भूकम्प र त्यसपछिका पराकम्पनका कारण आएको पहिरोका कारण सहायताबाट बञ्चित रहेका कुनार प्रान्तका केही एकान्त क्षेत्रमा पनि यस्तै दृश्यहरू देखा परिरहेका छन्।
कुनारको नुर्गल जिल्लाका एक वरिष्ठ अधिकारी एजाज उलहाक यादले चेतावनीको स्वरमा भने, “प्रायः अग्लो जमिनमा बनाइएका आफ्नो घर छोडेर भाग्ने र तल्लो खेत, नदी किनार वा सडक किनारमा शरण लिने क्रममा पराकम्पन आएमा चट्टानहरू खस्ने खतरा हुन्छ।”
“यो क्षेत्र निकै खतरनाक छ, तपाईं त्यहाँ लामो समयसम्म बस्न सक्नुहुन्न वा त्यहाँबाट हिँड्न पनि सक्नुहुन्न,” यादले भने । संयुक्त राष्ट्रसङ्घले वितरणका लागि १४ हजार टेन्ट तयारी अवस्थामा रहेको जनाएको छ ।
इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीज ९आइएफआरसी० ले एएफपीसँग कम्तीमा ७०० वटा टेन्ट उपलब्ध रहेको तर गाउँमा पुग्न कठिन भएकाले पीडितलाई वितरण गर्न नसकिएको जनाएको छ ।
“हामीलाई सहयोग गर्नुहोस्, हामीलाई आश्रय दिनुहोस्, मेरा छोराछोरीलाई सहयोग गर्नुहोस्, हामीसँग केही बाँकी छैन,” भूकम्पमा घाइते भएकी एक गृहिणी सोरातले आफ्ना पति र छोराछोरीसहित आइएफआरसीको टोलीसँग बिन्ती गरे ।
उनले एएफपीसँग भने, “उद्धारकर्ताहरूले घरको भग्नावशेषबाट निकालेपछि उहाँलाई क्षेत्रीय अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि उहाँलाई गाउँ फर्काइएको थियो । गाउमा उनीहरूको केही पनि बाँकी छैन । सबै भग्नावशेषमुनि पुरिएको छ।”
“हामी पहाडले घेरेको केही सुरक्षित स्थलमा सहायताको पर्खाइमा बसिरहेका छौँ,” तीन साना छोराछोरीले घेरिएको परम्परागत साधारण बुनेको ओछ्यानमा निलो रङ्गको बुर्का ओढेर बसिरहेकी उनले भने र
विश्व खाद्य कार्यक्रमले भनेको छ, “यो अफगानिस्तानमा करिब दुई दशक यता धेरै मानवीय तथा भौतिक क्षति निम्त्याएको घातक भूकम्प हो।” भूकम्पका कारण पहिले नै कुपोषित साना बालबालिका भएका परिवारलाई आवश्यक पर्ने पर्याप्त खाना छैन तर यहाँ यस्ता बालबालिकाको ठूलो हिस्सा छ।”
दशकौँको युद्ध र लामो मानवीय सङ्कटपछि पनि कमजोर रहेको अफगानिस्तानमा हालैका वर्षहरूमा सन् २०२३ मा पश्चिमी हेरातमा र इराननजिकै देशको अर्को छेउमा ठूला भूकम्प आएका थिए । दुई बर्ष पहिले आएको ६.३ म्याग्नीच्यूडको पहिलो भूकम्पपछि कम्तीमा आठवटा शक्तिशाली पराकम्पनहरू आउँदा धेरै गाउँहरूमा कच्ची अवस्थामा रहेका घरहरू ध्वस्त भएका थिए ।
प्रतिक्रिया