घडीको टिक टिक,परदेशी अपार्टमेन्टको निस्तब्धता। सिसाको झ्यालमा बुँदाबुँदा पानीका थोपा टल्किँदैछन्, जसरी जीवन आफैं अस्थिर, असुरक्षित र असमाप्त छ।
आजको दिन असाध्यै लामो थियो। रेजिडेन्सीको चर्को सिफ्ट, आपतकालको कोलाहल, बिरामीका अधुरा सास, औषधिको गन्धसँग मिसिएको आत्माको थकान। शरीर बेडमा ढल्केको छ, तर मन अझै कतै शान्त हुन सकेको छैन। “अहिले फोन हेरौँ न त,” भनेर हात बढाउँछु। स्क्रिन उज्यालिन्छ, अनि त्यो उज्यालोले रातलाई अझ अँध्यारो बनाइदिन्छ- “बिपिन अब रहेनन्।” इजरायलको भूमिमा पसिना बगाउँदा जीवन गुमाएका नेपाली युवामध्येको एक।
औंलाले स्क्रिन छोएको छ, तर मन धेरै वर्षअघिको त्यो सानो विद्यालयको मैदानमा पुगेको छ। त्यो वादविवाद प्रतियोगिता सम्झन्छु विषय थियो, “धन ठूलो कि विद्या ठूलो ?” म विद्या पक्षमा थिएँ। म तर्क गरिरहेको थिएँ, विद्याले दुःखलाई हाँसेर सामना गर्ने शक्ति दिन्छ, ज्ञानले त आत्मालाई शुद्ध गरी मुक्तिमार्ग देखाउँछ। धन त क्षणिक हुन्छ, तर ज्ञानको महासागर कहिल्यै सुक्दैन। संस्कृतको त्यो श्लोक आज पनि मनको गहिराइमा गुञ्जिन्छ “न चौरहार्यं न च राजहार्यं न भ्रातृभाज्यं न च भारकारी। व्यये कृते वर्धते एव नित्यं, विद्या धनं सर्वधनं प्रधानम्॥” अर्थात्, विद्याधन नै सबै धनभन्दा ठूलो हो, जुन खर्च गर्दा झन् बढ्छ।
म उत्साहित थिएँ, आदर्शले भरिएको बालमस्तिष्क थियो। तर, धन पक्षमा उभिएको मेरो साथीले निर्दयी सत्य बोलेको थियो। उसले जोडले भनेको थियो- “ज्ञानको कुरा गर्ने हो ! काल्पनिक संसारबाट निस्किनुस्, हातमा पैसा नभए यहाँ कोही पनि बाँच्न सक्दैन, बुझ्नुस् । पेटमा भोक लागेपछि, पुस्तकको के काम ?” उसको अन्तिम प्रहार सम्झन्छु, जुन आज परदेशी रातमा, बिपिनको मृत्युको खबरसँगै एकदमै गम्भीर र निर्दयी सत्य बनेर फर्किएको छ। उसले संस्कृतमै जवाफ दिएको थियोस् “दारिद्र्यदोषो गुणराशिनाशी।”
“भोक लागेको बेला कविताको रस पिएर पेट भरिँदैन, गणितका सूत्रले भोक मर्दैन।”
गरिबीको दोषले सारा गुण मार्छ। अन्त्यमा त्यो वाक्य- “भोक लागेको बेला कविताको रस पिएर पेट भरिँदैन, गणितका सूत्रले भोक मर्दैन।” त्यो बेला हाँस्यो लाग्यो। आज, परदेशी रातमा, बिपिनको मृत्युको खबरसँगै मलाई लाग्छ- उसले सत्य बोलिरहेको थियो। अब लाग्छ हाम्रो आदर्शको मृत्यु कहिले भयो होला ? शायद त्यही दिन जब ज्ञान र चेतना पेटको खालीपनसँग हार माने। शायद जब विश्वविद्यालयले विचार बेच्न थाले र युवाले आफ्नै देशको माटो बेच्न थाले।
यो देशको अर्थतन्त्र शव बाकसको गन्धमा टिकेको छ। गत वर्ष मात्रै १,४०१ नेपाली शव बाकसमा फर्किए, हरेक दिन पाँच सपना, पाँच सास, पाँच परिवार चिथोरिंदै। ६० लाख बढी नेपाली परदेशमा पसिना बगाइरहेका छन्। हाम्रा नेताहरूको चेकअप सिंगापुरमा हुन्छ । हाम्रो मृत्यु खाडीको बालुवामा हुन्छ। कसरी विश्वास गरौँ “विद्या ठूलो” भन्ने आदर्शमा, जब विद्या अब पासपोर्टको नम्बरसँग तौलिन्छ । आज ज्ञान पनि डलरको विनिमय दरमा चल्ने माल बनेको छ।
परदेश जानु भनेको केवल श्रम बेच्नु होइन। यो त भविष्यमा लिइएको ऋणको भारी हो, जसको ब्याज हाम्रो चेतनाले तिर्छ। बिपिनले उड्नुअघि नै, घरको जग्गा बेचे वा चर्को ब्याजमा साहुको पासोमा फसे। यो भूमि छोड्नु भनेको आफ्नो जरा बेचेर परदेशमा सडक किन्नु हो। विद्याले सम्मान दिन सकेन, त्यसैले उनीहरूले आफ्नो सम्मान बन्धकी राखे । त्यही ऋण चुक्ता गर्न जुन ऋण लिएर उनीहरू आफ्नो जीवन बचाउन हिँडेका थिए। यसकारण, परदेशी युवा केवल आर्थिक दास होइनन्, उनीहरू मनोवैज्ञानिक दास हुन्, जसले आफ्नो घर फर्किन पाउने अधिकार र सपनालाई पहिले नै बैंकको धितो बनाइसकेका छन्।
परदेश जानु भनेको केवल श्रम बेच्नु होइन। यो त भविष्यमा लिइएको ऋणको भारी हो, जसको ब्याज हाम्रो चेतनाले तिर्छ। बिपिनले उड्नुअघि नै, घरको जग्गा बेचे वा चर्को ब्याजमा साहुको पासोमा फसे। यो भूमि छोड्नु भनेको आफ्नो जरा बेचेर परदेशमा सडक किन्नु हो।
यहाँ बाध्यताको चरम रूप हेर्नुहोस्- विद्याका मन्दिर बन्द भएर युवा आज अर्को देशको भाषा सिक्न लाइन लागेका छन्, ज्ञानको लागि होइन, केवल एउटा भिसाको अक्षरको लागि। जीवनभर ‘बेल्चा हानेरै उमेर सकाउन’ उनीहरूको छटपटाहट छ, जहाँ विश्वविद्यालयको डिग्रीले दिनुपर्ने सम्मान, खाडीको बालुवाले छिनिरहेको छ। यहाँ संस्थागत विचलन पनि हेर्नुहोस् गाउँका विद्यालय विस्तारै विलुप्त प्रजाति बन्दैछन्। जसरी प्राकृतिक चयनले अशक्त जनावरलाई हराउँछ, हाम्रो समाजले शिक्षालाई हराउँदैछ। हाम्रो संस्थामा ‘जेनेटिक म्युटेसन’ जस्तो विचलन छ, जहाँ सत्ताले आफ्नो गलत जीन सन्तानमा हस्तान्तरण गरिरहेको छ।
मास्लोको पिरामिड सम्झन्छु। भोक, सुरक्षा, प्रेम, सम्मान र अन्त्यमा आत्मबोध। तर हाम्रो समाज त अझै पहिलो खुड्किलोमै अल्झिरहेको छ। जसको पेट खाली छ, ऊ न्याय बोल्दैन। जसको जीवन असुरक्षित छ, ऊ सत्य बोल्दैन। जसले आफ्नो श्रम बेचेको छ, ऊ अन्ततः आत्मा बेच्न पनि बाध्य हुन्छ। यी सबै बीच गुरुत्वको सिद्धान्त सम्झन्छु । जुन समाजमा मूल्यको गुरुत्व पैसा बन्छ, त्यहाँ नैतिकता सधैं तलै झर्छ। दुःख पनि सापेक्ष हुन्छ । भोक र सपना बीचको दूरी हरेक गुरुत्वाकर्षणभन्दा बलियो छ।
गीता सम्झिन्छु। कृष्णले अर्जुनलाई भनेका थिए “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।” तर आजको अर्जुन बिपिन हो उसले कर्म त गर्यो, तर फलकै रूपमा उसका अस्थिपञ्जर फर्किए। उसको कर्म ‘धर्मयुद्ध’ थिएन, ‘आर्थिक युद्ध’ थियो, जहाँ हरेक पसिनाको थोपा राष्ट्रको जन्मएर हरायो। रामायणमा सीताले अशोक वाटिकामा शुद्धताको प्रमाणका लागि आगो पार गरिन्। आजको परदेशी युवाले पनि हरेक दिन आत्मा जलाउने अग्निपरीक्षा दिइरहेको छ- गर्मी, अपमान र एक्लोपनको आगो। तर फर्कँदा उसलाई न राम पर्खिएका छन्, न जनक। फर्कन्छ केवल बाकस, तपस्वी आत्माको राख । महाभारतमा युधिष्ठिरले सत्य बोले, तर युद्ध रोक्न सकेनन्। आज पनि सत्य बोल्नेहरू हारेकै छन् किनभने युद्ध अब तीर धनुषको होइन, अवसर र अस्तित्वको छ।
कहिलेकाहीँ लाग्छ, मानव शरीर नै राष्ट्रको रूपक हो। मस्तिष्क योजना बनाउँछ, हृदय महसुस गर्छ, तर हात सधैं थकित रहन्छन्। हाम्रो समाजमा पनि होमियोस्टेसिस बिग्रिएको छ। संवेदनाका न्युरोनले सुन्नै छोडेका छन् र चेतनाको सिनाप्सहरू विस्तारै सुकेका छन्। डाक्टर भएर पनि म सोच्दछु यदि नेपाललाई आईसीयूमा राख्न मिल्थ्यो भने, उसका वाइटल साइन कस्तो देखिन्थे होला ? रक्तचाप असमानता र भ्रष्टाचारको कारण बढेको, स्यानोसीसजस्तो बेरोजगारी र सिस्टमिक इन्फ्लेमेसनजस्तो विद्रोह। तर उपचार हामीले औषधिको सट्टा प्रार्थना लेखेका छौँ । उपचारको ठाउँमा मन्त्र। न्युटनको गति नियम भन्छ हरेक बलको समान र विपरीत प्रतिक्रिया हुन्छ। तर हाम्रो पीडा बिना प्रतिक्रिया बढ्दै गएको एक अनब्यालेन्स्ड फोर्स हो, जसले समाजलाई अनन्त द्रुत क्षयतिर धकेल्दैछ। थर्मोडाइनामिक्सको दोस्रो नियम भन्छ- प्रत्येक प्रणाली स्वाभाविक रूपमा एन्ट्रोपी बढाउने दिशामा जान्छ। त्यस्तै, हाम्रो चेतनाको पनि एन्ट्रोपी बढ्दैछ, अराजकता, उदासीनता र नैतिक क्षयले भरिएको ऊर्जा आइन्स्टाइनको सापेक्षतामा झैँ, हाम्रो समय पनि अब समान छैन। बिपीनका लागि समय बन्द भयो, रात सधैंको लागि। तर नेताका लागि समय अझै स्थिर छैन । किनकि उनीहरू हरेक संकटलाई प्रकाशभन्दा छिटो बिर्सन्छन्।
श्रमको मूल्य कम छ, तर सम्मानको नाटक महँगो छ। यो झूटको अर्थतन्त्र नै हाम्रो समाजको नयाँ ‘संस्कार’ बनेको छ, जहाँ ‘सफलता’ को परिभाषा डलर र फेक स्माइलमा सीमित छ।
विचित्रको द्वन्द्व छ यो परदेशी जीवनमा डिजिटल र भौतिक यथार्थको युद्ध। एकातिर हातमा बेल्चा छ, बालुवाको घाममा शरीर जलिरहेको छ। अर्कोतिर त्यही हातले फोन समातेर फिल्टर गरिएको हाँसोको तस्बिर पोस्ट गर्छ । वास्तविकताको घाउ र सञ्जालको भ्रमबीचको यो दूरीले युवालाई भित्रैदेखि खोक्रो बनाउँछ। उनीहरूले आफ्नै परिवारलाई झूट बोलिरहेका छन्। उनीहरूले आफ्ना साथीलाई झूट बोलिरहेका छन्। श्रमको मूल्य कम छ, तर सम्मानको नाटक महँगो छ। यो झूटको अर्थतन्त्र नै हाम्रो समाजको नयाँ ‘संस्कार’ बनेको छ, जहाँ ‘सफलता’ को परिभाषा डलर र फेक स्माइलमा सीमित छ। हामीले सगरमाथामा पाइला राख्यौं, तर आफ्ना श्रमिकका खुट्टामुनि माटो हरायो। हामीले डीएनए पढ्यौं, तर आफ्ना मूल्यका जीन बिग्रिएका देखेनौं। विज्ञानले ब्रह्माण्ड बुझायो, तर हामीले आफ्नै पीडाको सूत्र बिर्स्यौं।
इतिहासको सबै कथा गीता, रामायण, महाभारत, सबैले एउटै कुरा सिकाउँछन् मानव चेतनाको युद्ध सधैं भोक र भयसँग हुन्छ। हाम्रो चेतना पहिले नै पराजित भइसकेको छ। न्युटनको तेस्रो नियम यहाँ लागू हुँदैन। प्रत्येक उत्पीडनको पनि समान र विपरीत प्रतिक्रिया हुन्छ । हाम्रो समाजले आफ्नो प्रतिक्रिया चोरेर मौनताको सन्तुलन बनाएको छ। यहाँ जो बोल्दैन, उही बाँच्छ। सुकरातले विष पिए, बुद्धले महल त्यागे तर हाम्रो बिपिनले त न विष पिएको,न विलास त्यागेको। उसले केवल देशको कुशासनको विष निलेको हो । त्यसैले उसको श्वास रोकिदियो। मार्क्सले भनेका थिए, धर्म जनताको अफिम हो। नेपालमा त्यो अफिमको रूप बदलिएको छ । अब त्यो धर्म होइन,रोजगारी हो।
हाम्रो अफिम अब विदेश जान पाउने सपना हो, जसले चेतनालाई शान्त पार्छ, तर प्रश्न गर्न दिँदैन। शताब्दीयौँदेखि हामीले पीडामाथि गर्व गर्न सिकेका छौँ। रामायणले वनवासलाई तपस्या बनायो, महाभारतले युद्धलाई धर्म ठहर्यायो र हामीले परदेशी मृत्युलाई राष्ट्रप्रेमको बलिदान मानेका छौँ। गाउँघरका धामी-झाँक्री अझै पनि भन्छन्- “बोक्सी लागेको छ।” तर कसैले किन भन्दैन ? “राजनीति लागेको छ, कुशासन लागेको छ, असमानता लागेको छ” । भूपी शेरचनले भनेका थिए “म अन्धो हुँ, तर मलाई थाहा छ, घुम्ने मेचको गति मेरो होइन।” तर आजका दृष्टिविहीनलाई त्यो पनि थाहा छैन, घुमाइरहेको हात को हो। यो समाजको सबैभन्दा ठूलो त्रास यही हो, जहाँ शोषितहरू आफ्नै शोषणमाथि गर्व गर्न सिकाइन्छ। जहाँ बिपिनको मृत्यु समाचार बन्छ, तर प्रश्न होइन। जहाँ बुद्धको देशमा चेतनाको मृत्यु भइरहेछ।
यो एकालाब म र बिपिनको मात्र होइन। यो त उसको घरको चौघेराभित्र अड्किएका आँखाको कथा हो । जसले हरेक ढोकाको आवाजमा बिपिन फर्केर आएको कल्पना गर्छन्।
यो एकालाब म र बिपिनको मात्र होइन। यो त उसको घरको चौघेराभित्र अड्किएका आँखाको कथा हो । जसले हरेक ढोकाको आवाजमा बिपिन फर्केर आएको कल्पना गर्छन्। आमालाई थाहा छैन, इजरायल कहाँ छ, न त उनलाई थाहा छ, खाडीको बालुवा कति तातो हुन्छ ? उनलाई केवल यति थाहा छ ‘मेरो छोरा, धन कमाउन गएको छ।’ धन त आयो होला, तर त्यो धनसँगै आएको बाकसले उनको जीवनको सबैभन्दा ठूलो ऋण छोडेर गयो पीडाको ऋण। यो ऋण न डलरले तिर्न सक्छ, न त कुनै दर्शनले। बिपिनको मृत्युले एक जना युवालाई मात्र मारेको छैन, यसले एउटा पुरै परिवारको भविष्यलाई ‘एन्ट्रोपी’ तिर धकेलिसकेको छ जहाँ अब कुनै व्यवस्था, कुनै प्रेम वा कुनै शान्ति फर्कने छैन।
विद्या र धनको बहस अब ‘दार्शनिक’ मात्रै नभएर, यो ‘अस्तित्व’ को प्रश्न बनेको छ। भोक र विद्या बीचको युद्ध अब केवल शब्दको होइन, रगतको इतिहास बनिरहेको छ। सृष्टिको सुरुवात बिग-ब्याङबाट भयो भनिन्छ, तर हाम्रो चेतनाको अन्त्य सानो मौनताबाट हुँदैछ, नबोल्ने, नसोच्ने, महसुस नगर्ने सन्नाटाले भरिएको विश्व। तर सायद कुनै दिन फेरि अर्को बिग-ब्याङ हुनेछ न तारा जन्मिने, न ग्यालेक्सी, बरु एउटा समाजको पुनर्जन्म हुने, जहाँ विद्या र भोक दुबैको सन्तुलन हुनेछ । विपिनजस्ता आत्माहरू फेरि मानवीय सम्मानको गुरुत्वाकर्षणमा फर्किनेछन्।
म यो रात सुत्न खोज्छु। तर निद्राभन्दा अघि मनमा एक प्रश्न बल्झिन्छ- के साँचो ‘विद्या’ त्यो होइन र, जो मानिसलाई आफ्नै शृङ्खलाको आवाज सुनाउन सिकाउँछ, जो बिपिनजस्ता आत्माहरूलाई ‘शव बाकस’ भन्दा माथि उठ्ने चेतना दिन सक्छ । कसले उत्तर देओस्- कृष्ण, बुद्ध, मार्क्स वा केवल निस्तब्ध रात, म सिसाको झ्यालबाट बाहिर हेर्छु। म निद्रातिर ढल्कन्छु, थकित शरीर र बोझिलो मनका साथ। आँखा बन्द गर्नुअघि एउटा मात्र कामना गर्छु- कसैले त बिपिनहरूलाई सम्झिरहोस्। कसैले त यो रातको निस्तब्धताभित्र लुकेको चित्कार सुन्ने प्रयास गरोस्। शायद त्यही सुन्ने क्षमता नै, हाम्रो बाँकी रहेको अन्तिम विद्या हो।
(डा.अधिकारी इन्टरनल मेडिसिन लोयोला म्याकनील अस्पताल, सिकागोमा कार्यरत छन् ।)













प्रतिक्रिया