नेपाल आज गम्भीर अनिश्चितता, अविश्वास र राजनीतिक भ्रमको अवस्थाबाट गुज्रिरहेको छ। संक्रमणकालीन राजनीति धेरै लामो समयदेखि स्थिर मार्गमा उभिन सकेको छैन र जनतामा भविष्यप्रति बढ्दो असुरक्षा र निराशा छ। यस्तो परिस्थितिमा नयाँ पुस्ताको आकांक्षा, पुरानो पुस्ताको नियन्त्रण मानसिकता र राज्य संयन्त्रको जटिलताबीच देश असजिलो मोडमा पुगेको छ।
छुट्टै लहरको रूपमा उठेको जेन-जी आन्दोलनले नेपाली राजनीतिक इतिहासमा नयाँ मोड ल्याएको छ। डिजिटल प्लेटफर्ममा सुरु भएको युवापुस्ताको असन्तोष केही दिनमै सडकसम्म पुगेपछि, यसले पुरानो राजनीतिक संरचना, नेतृत्व शैली र नीति निर्माणको आधारलाई नै चुनौती दिएको छ।
जेन-जी क्रान्ति केवल आकस्मिक विस्फोट थिएन। यो भविष्यका लागि वैकल्पिक राजनीतिक दिशाको खोजी थियो। यसले युवाका प्राथमिकता न्याय, पारदर्शिता, सुशासन, आत्मसम्मान, समृद्धि र समान अवसरलाई मुखरित बनायो। उदाहरणका लागि २०७८ सालको प्रतिनिधि सभा निर्वाचनमा ४०५ भन्दा बढी मतदाता ४० वर्षमुनिका थिए, तर संसदमा तिनको प्रतिनिधित्त्व १०५ भन्दा कम रह्यो। यो असमानताले नै युवाको सामूहिक असन्तोषलाई ऊर्जा प्रदान गर्यो।
जेन-जी क्रान्ति केवल आकस्मिक विस्फोट थिएन। यो भविष्यका लागि वैकल्पिक राजनीतिक दिशाको खोजी थियो।
अझ महत्त्वपूर्ण कुरा, यसले राजनीतिक संरचनामा नयाँ पुस्ताले अब प्रतीक्षा मात्रै गर्ने समय सकिएको स्पष्ट सन्देश दियो। जेन-जीको विद्रोहले नेपाली समाजभित्र गहिरो गरि बसेको असन्तोषलाई सतहमा ल्याउँदै राज्यले जनताको वास्तविक आकांक्षालाई सम्बोधन गर्न नसकेको यथार्थ देखायो।
यस्ता अवस्थामा प्रायः जनता नयाँ रक्षक वा चमत्कारी नेताको खोजीमा लाग्ने गर्छन्। तर नेपालजस्तो बहुसांस्कृतिक, बहुभाषिक, बहुल राष्ट्रियता र बहुभौगोलिक देशमा संकटको समाधान कुनै एक व्यक्तिले ल्याइदिन्छ भन्ने धारणा भ्रममै सीमित हुन्छ।
उदाहरणका लागि २०४६ र २०६३ को जनआन्दोलनपछि पनि महानायकको खोजीले दीर्घकालीन समाधान प्रदान गर्न सकेन । यसले नयाँ राजनीतिक संकट जन्माउँदै गयो। विगतका राजनीतिक अनुभवले पनि एकल नेतृत्वको सीमा प्रस्ट्याइसकेको छ। परिवर्तन केवल व्यक्तिको इच्छाशक्ति होइन, सामूहिक शक्ति, साझा दिशा र बहुलजनको सहभागितामा निर्भर हुन्छ। त्यसैले राजनीतिक स्थिरता र सामाजिक रूपान्तरणको मूल आधार व्यक्तिगत रूपमा होइन, सामुदायिक चेतना र जनसहभागिता हो भन्ने कुरा सम्झिन जरुरी छ।
यही बिन्दुमा स्वदेशवादी मूल्य मान्यताले प्रस्तुत गर्ने वैकल्पिक मार्ग महत्त्वपूर्ण बन्छ। स्वदेशवाद कुनै राजनीतिक नारा मात्र होइन। यो भूमि, पहिचान, संस्कृति र स्वाधीन अधिकारमा आधारित व्यापक राष्ट्रिय दृष्टिकोण हो। यसले सांस्कृतिक स्वाधीनता, आर्थिक आत्मनिर्भरताको मार्ग, स्थानीय उत्पादन र सामुदायिक उद्यमको विकास, राजनीतिक पुनर्संरचना, शक्ति विकेन्द्रीकरण, पहाड, हिमाल, तराई मधेसका जनताको समान अधिकार र सहअस्तित्वलाई प्रमुख आधार मान्छ।
आजको नयाँ पुस्ताको आकांक्षा यिनै मान्यतासँग मेल खान्छ। उनीहरू परनिर्भर अर्थतन्त्र होइन, स्वदेशी सम्भावनामा आधारित समतामूलक विकास चाहन्छन् केन्द्रिकृत शक्ति होइन, जन-सहभागितामूलक लोकतन्त्र र पारदर्शिता चाहन्छन् सांस्कृतिक अस्मिताको अवमूल्यन होइन, सम्मानसहितको राष्ट्रिय पहिचान चाहन्छन्।
यही बिन्दुमा स्वदेशवादी मूल्य मान्यताले प्रस्तुत गर्ने वैकल्पिक मार्ग महत्त्वपूर्ण बन्छ। जस्तै आर्थिक आत्मनिर्भरताको कुरा गर्दा, नेपालले वार्षिक दुई खर्बभन्दा बढीको आयात गर्छ, जसमा धान, गहुँ, फलफूल जस्ता कृषि उत्पादनसमेत पर्छन्। स्वदेशवादी अर्थतन्त्रले स्थानीय कृषिलाई प्रोत्साहन दिएर यस निर्भरता कम गर्न सक्छ। सांस्कृतिक पहिचानका कुरा गर्दा नेवा, लिम्बू , किरात, मगरदेखि खससम्म तथा मिथिला, भोजपुरी, अवधी संस्कृति सहितको मधेस, हिमाली शेर्पा, तामाङ संस्कृति जस्ता सबैको सम्मानमा आधारित राष्ट्रियताको निर्माण आत्मनिर्भर राष्ट्रियता हो।
नेपालको दीर्घकालीन समाधान पहाड, हिमाल र तराई-मधेसका जनताबीचको समानता, सम्मान र साझेदारीमा निर्भर छ। कुनै एक दल, एक जाति वा एक वर्गले मात्र मुलुकलाई स्थिर र समृद्ध दिशामा लैजान सक्दैन। यति मात्र होइन स्थानीय तहमा बढी अधिकार, स्रोत र जिम्मेवारी हस्तान्तरण गरेर केन्द्रीकृत शक्ति संरचनालाई परिवर्तन गर्नु अनिवार्य रहेको समेत यो क्रान्तिले दर्शाएको छ।
यो क्रान्तिले जनतामा साझा आवाज र एकताको सम्भावना देखाएको छ, तर त्यो एकतालाई दीर्घकालीन राजनीतिक मार्गरेखामा रूपान्तरण गर्नु देशको प्रमुख ऐतिहासिक आवश्यकता बनिसकेको छ। जस्तै केरल मोडेल (भारत) मा सामुदायिक सहभागिता, सामाजिक न्याय र शिक्षामा लगानीमा आधारित विकास अवको आदर्श हुन् सक्छ।
भुटानको सकल राष्ट्रिय खुशीको मोडेल पनि संकेत गर्छ कि आर्थिक विकास मात्र होइन, सांस्कृतिक संरक्षण र प्रकृतिको सन्तुलनलाई प्राथमिकतामा राख्ने दर्शन अपनाउनु अनिवार्य छ। स्वीस संघीय व्यवस्थाको मोडेलले भाषिक, सांस्कृतिक विविधतालाई शक्ति विकेन्द्रीकरणद्वारा सम्हाल्ने राम्रो उदाहरण रहेको छ।
नेपालजस्तो बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय समाजमा बहुल राष्ट्रराज्य वा समावेशी समाजको अवधारणा केवल वैचारिक सिद्धान्त होइन, राष्ट्रिय अस्तित्त्व र सामाजिक सद्भावको अपरिहार्य आधार हो। यसको महत्त्व केवल नैतिक आवश्यकतामा सीमित नभएर व्यावहारिक राजनीतिक स्थिरता, आर्थिक विकास र सामाजिक एकताको प्रश्नसँग जोडिएको छ।
उदाहरणका लागि, संविधान २०७२ ले जातीय, भाषिक र क्षेत्रीय विविधतालाई मान्यता दिएता पनि, त्यसको कार्यान्वयनमा भएको कमीले मधेश आन्दोलन, थारू आन्दोलन आदिवासीको जस्ता सामुदायिक असन्तुष्टि जन्माएको हो। यसले देखाउँछ कि संवैधानिक मान्यता मात्र पर्याप्त छैन, व्यवहारिक राजनीतिक सहभागिता, आर्थिक स्रोतको न्यायोचित बाँडफाँड र सांस्कृतिक पहिचानको सम्मान आवश्यक छ।
समावेशी समाज भनेको विविधतालाई सहन गर्ने सहिष्णुता मात्र होइन, विविधतालाई राष्ट्र निर्माणको शक्तिको रूपमा सकारात्मक रूपले आत्मसात गर्ने क्षमता हो।
समावेशी समाज भनेको विविधतालाई सहन गर्ने सहिष्णुता मात्र होइन, विविधतालाई राष्ट्र निर्माणको शक्तिको रूपमा सकारात्मक रूपले आत्मसात गर्ने क्षमता हो। जब सबै समुदायले आफूलाई राज्यको स्वामी भएको अनुभव गर्छन्, मात्र साझा राष्ट्रिय पहिचान मजबूत हुन्छ र देशव्यापी विकास परियोजनामा जनसहभागिता सुनिश्चित हुन्छ।
आजको नयाँ पुस्ताको आकांक्षा यिनै मान्यतासँग मेल खान्छ। उनीहरू परनिर्भर अर्थतन्त्र होइन, स्वदेशी सम्भावनामा आधारित समतामूलक विकास चाहन्छन्। केन्द्रिकृत शक्ति होइन, जन-सहभागितामूलक लोकतन्त्र र पारदर्शिता चाहन्छन्। सांस्कृतिक अस्मिताको अवमूल्यन होइन, सम्मानसहितको राष्ट्रिय पहिचान चाहन्छन्। उदाहरणका लागि, जेनजी ले सामाजिक संजालमा #BuyLocal, #SupportLocalArtists, #DigitalSwaraj जस्ता अभियान चलाएर स्वदेशी अर्थतन्त्र र सांस्कृतिक गौरवलाई बढावा दिँदै आएका छन्।
आज नेपाल अस्पष्टता, अविश्वास र राजनीतिक अवरोधको बीचमै उभिएको छ। तर यसै अवस्थाले नयाँ निर्माणको अवसर पनि प्रदान गरेको छ। जेन-जी क्रान्तिले दिएको आवाजले पुरानो राजनीतिक ढाँचा परिवर्तन गर्न सकिएन भने फेरि अस्थिरता हुने निश्चित छ। त्यसैले अब निराशाबाट होइन, आशाबाट, अवरोधबाट होइन, निर्माणबाट, विभाजनबाट होइन, साझा राष्ट्रिय परियोजनाबाट अघि बढ्न आवश्यक छ।
स्वदेशवादी मूल्य-मान्यतामा आधारित राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक दिशानिर्देशले नेपाललाई अनिश्चितताबाट निश्चिततातर्फ, परनिर्भरताबाट आत्मनिर्भरतातर्फ र अन्यौलताबाट स्पष्ट मार्गरेखातर्फ लैजान सक्ने वास्तविक आधार बन्न सक्छ।
नेपालको भविष्य एकल नेतृत्वमा होइन, सामूहिक बुद्धिमत्तामा छ। एकवचन समाधानमा होइन, बहुवचन सहमतिमा छ। जेन जीले सुरु गरेको यो संवादलाई व्यवस्थागत परिवर्तनमा रूपान्तरण गर्न सकेमा, नेपाल विश्वमा बहुलतामा एकताको, परम्परामा आधुनिकताको, र विविधतामा सद्भावको उदाहरण बन्न सक्छ।
(लेखक राष्ट्रिय मुक्ति पार्टी, नेपालका प्रवक्ता हुन् ।)













प्रतिक्रिया