काठमाडौं- ५० लाख रुपैयाँ हालेर किनेको गाडीको भनेअनुसार वारेन्टी पाइएन र बिग्रेका सामान फेर्न पार्ट्स नै नभेटिए के होला ? ६० हजार किलोमिटर वा ५ वर्ष वारेन्टी दिन्छु भनेर किनेको गाडीको वारेन्टी एक वर्षमै नै पाइन छाडे र पार्टस् नभेटिए के गर्ने ?
अहिले यस्तै समस्या भोगिरहेका छन्, केवाइसी प्यासेन्जर भ्यानका ग्राहकहरूले । सीजी मोटर्सले आयात गरी बिक्री गरेको केवाइसी भ्यानको विवाद अदालतसम्म पुग्दा अहिले यसको मार ग्राहकलाई परेको छ ।
५० लाख रुपैयाँभन्दा बढी रकम खर्चेर किनिएको भ्यानको यतिबेला वारेन्टी पाउनै मुस्किल भएको छ। बिग्रिएको सामानको पार्ट्ससमेत पाइएको छैन । जसका कारण व्यवसाय गर्न किनेको केवाइसीको प्यासेन्जर भ्यान यतिबेला ग्यारेजतिर राख्नुपरेको छ ।
यस्तै समस्या भोगेका एक पात्र हुन्, वीरगञ्जका नरेश साह । उनको केवाइसी भ्यानको मोटर बिग्रिएको लामो समय भइसकेको छ । वारेन्टीमै पाइने उक्त सामानको माग गरेको लामो समय भएपनि उनले अझै प्राप्त गर्न सकेका छैनन् । किनभने केवाइसीको उत्पादन कम्पनीले सीजी मोटर्ससँगको सम्झौता रद्द गरिसकेको कारण पार्टस् समेत उपलब्ध गराएको छैन । जसका कारण पार्टस् नै पाउन नसकिएको पीडित साहले बताए ।
चीनबाट आयात हुने केवाइसी ब्रान्डका इलेक्ट्रिक प्यासेन्जर भ्यानसम्बन्धी विवादका कारण अहिले नेपालको अदालत, सरकारी निकाय, व्यापारी समुदाय र सयौँ उपभोक्ता जटिल कानूनी समस्यामा छन् ।
केवाइसीका आधिकारिक आयातकर्ता सीजी मोटर्स प्रालि र चिनियाँ निर्माता कम्पनीबीचको सम्झौता विवाद, अनाधिकृत च्यानलबाट स्पेयर पाट्र्स खरिद, सिण्डिकेट हुने गरी अदालतबाट भएको अन्तरिम आदेश र नयाँ प्रतिस्पर्धी ब्रान्ड ‘नियोसिया’ लाई रोक्ने प्रयासले यो प्रकरणलाई थप जटिल बनाएको हो ।
विवादले सकियो सहकार्य
सीजी मोटर्सले सन् २०२२ जुलाईमा चीनको चोङछिङ चाङएन कुवायु अटोमोबाइल्स कम्पनी लिमिटेडसँग केवाइसी भ्यान आयातको सम्झौता गरेको थियो ।
सम्झौता अनुसार २०२७ डिसेम्बरसम्म सीजी नेपालमा एकमात्रै आयातकर्ता रहने थियो । तर, केवाइसी भ्यानको निर्माताले सीजीले सम्झौताअनुसारको भ्यान आयात नगरेको र अनाधिकृत च्यानलबाट ‘नन–जेन्युइन’ (गैर–प्रामाणिक) केवाइसी स्पेयर पार्ट्स किनेर बेचेको आरोप लगाउँदै सन् २०२५ मा सम्झौता एकतर्फी रद्द गर्यो ।
सम्झौता रद्द गर्नुअगाडि नै केवाइसीको निर्माता कम्पनी चोङछिङ चाङएन कुवायु अटोमोबाइल्स कम्पनी लिमिटेडले गरेको क्रस चेकमा सीजी मोटर्समा नक्कली पार्ट्सहरू भेटेको थियो ।
त्यसपछि कम्पनीले सीजी मोटर्सका प्रतिनिधिहरू बिबेक घिमिरे र स्वयम्भू रत्न बज्राचार्यलाई इमेल पठाएर सम्झौता किन रद्दा नगर्ने भनी चेतावानी दिइएको थियो ।
हामीलाई प्राप्त भएको इमेलको स्क्रिनसटमा ‘सीजीले लियु गाङ र टाइसिन जस्ता अनाधिकृत च्यानलबाट गैर–प्रामाणिक केवाइसी स्पेयर पार्ट्स खरिद गरेको प्रमाण छ । यो कदमले केवाइसीको ब्रान्ड इमेज र उपभोक्ताको विश्वासमाथि प्रहार गरेको छ । यदि शान्ति कायम रहेन भने, विषय कानुनी विभागमा पुग्नेछ । त्यसपछि सीजीका युनिटहरूमा दिइएको केवाइसीको वारेन्टी रद्द गरेको सार्वजनिक घोषणा सामाजिक सञ्जाल र समाचारमार्फत गरिनेछ । साथै, सीजीले अनाधिकृत च्यानलबाट गैर–प्रामाणिक पाट्र्स खरिद गरेको घोषणा गरिनेछ, जसको पूरा जिम्मेवारी सीजीमा हुनेछ ।’
त्यसको केही समयमै सम्झौता अनुसारको काम सीजीले नगरेको भन्दै कतर्फीरुपमा भंग गरिएको थियो ।
अदालत पुग्यो सीजी
सीजीसँगको सम्झौता रद्द भएपछि केवाइसी निर्माताले इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालि नामक कम्पनीलाई केवाइसीका लागि नेपालको नयाँ आधिकारिक आयातकर्ता घोषणा गर्यो । आफ्नो साम्राज्य ढलेपछि सीजी मोटर्स भने नयाँ आयातकर्तालाई रोक्न अदालत गयो ।
सीजी मोटर्सले उच्च अदालत पाटनमा मुद्दा दायर गरी इलेक्ट्रिक ड्रिम्स मोबिलिटीलाई केवाइसी भ्यान आयात र विक्रीबाट रोक लगाउन अन्तरिम आदेश माग गर्यो ।
सीजी मोटर्सकै माग बमोजिम एकल न्यायाधीशको इजलासले इलेक्ट्रिक ड्रिम्स मोबिलिटीको विपक्षमा हुने गरी आयात गर्न र आयत भइसकेको भए विक्री गर्नसमेत रोक लगायो ।
तर अचम्मको कुरा के छ भने सम्झौताका सम्बन्धमा कुनै विवाद आएमा सिंगापुरको अदालतमा मुद्दा हाल्ने उल्लेख भएपनि सीजी मोटर्सले भने नेपालकै अदालतमा मुद्दा दायर गर्यो र अदालतले सम्झौता नै नहेरी अन्तरिम आदेश दिएर व्यापारको सिण्डिकेटलाई प्रारम्भिकरुपमा लाहाछाप लगाइदियो ।
नियोसियाविरुद्ध मुद्दा
केवाइसीको विवाद चलिरहेकै बेला अर्को नयाँ ब्रान्ड ‘नियोसिया’ इलेक्ट्रिक भ्यान एम्बर मोटर्स प्रालिमार्फत नेपाल आयात हुन थालेको थियो । तर यो ब्रान्डलाई समेत रोक्नका लागि सीजी अदालतमै पुग्यो ।
सीजीले नियोसिया भ्यान केवाइसीको नै सहायक कम्पनीले बनाएको हो बताएको छ। यो केवाइसीको नै ‘रिब्रान्डेड’ संस्करण हो । यसै आधारमा सीजीले एम्बर मोटर्सविरुद्ध पनि अदालतमा मुद्दा दायर गरी नियोसिया भ्यानको आयात रोक्न अन्तरिम आदेश माग गर्यो र अदालतले सीजीले मागे अनुसार नै अन्तरिम आदेश दियो ।
बजार संरक्षण ऐन र व्यापारिक सिन्डिकेटको सवाल
सीजी मोटर्सले नेपालमा केवाइसीजस्ता रुचाइएको प्यासेन्जर भ्यानको आयात तथा विक्रीमा एकाधिकार जमाउन व्यापारमै सिण्डिकेट गर्न खोजेको आारेपसमेत लागेको छ ।
‘प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट लगाउन निषेध गरेको छ । तर, सीजी मोटर्सले अदालतको अल्पकालीन अन्तरिम आदेशको भरमा इलेक्ट्रिक प्यासेन्जर भ्यानको बजारमा एकाधिकार कायम गर्न खोजेको छ र अन्य ब्रान्डलाई आउन नदिन अदालतको प्रयोग गरिरहेको छ ।
मारमा उपभोक्ता
यस सबै विवादको सबैभन्दा ठूलो मूल्य भने उपभोक्ताले चुकाउनु परेको छ । नेपालमा रहेका २ हजार ३ सय भन्दा बढी केवाइसी भ्यानका उपभोक्ताले सम्झौता विवाद र अदालती प्रकयाका कारण वारेन्टी र पार्टस् नै पाएका छैनन् ।
सीजी मोटर्सले अनाधिकृत च्यानलबाट पाट्र्स खरिद गरेको आरोपपछि निर्माता कम्पनीले पार्टस्को आपूर्ति नै बन्द गरिदिएको छ । परिणामस्वरूप, नेपालमा केवाइसी भ्यान बिग्रेमा सच्याउन प्रामाणिक पार्टस् नै उपलब्ध हुन छाडेको छ ।
धेरै भ्यान बिग्रेर ग्यारेजमा थन्किएका छन् । उपभोक्ताले गाडी फिर्ता लिन दबाव दिन थालेपछि सीजीले कुनै कुनै अवस्थामा नयाँ गाडी नै बिगारेर पुरानो गाडीको लागि पार्टस् निकालेर विक्री गरेको र वारेन्टी दिएको समेत पाइएको छ ।
यता केवाइसीको नयाँ आधिकारिक आयातकर्ताको लाइसेन्सपाएको इलेक्ट्रिक ड्रिम्स मोबिलिटीले सीजीबाट खरिद भएका पुराना गाडीको पनि वारेन्टी सेवा र पार्टस् आपूर्ति गर्ने प्रतिबद्धता जनाएको छ । तर अदालतले उक्त कम्पनीलाई केवाइसीको आयात नै गर्न नदिएकाले न गाडी आएको छ, न पार्टस् नै । बरु अदालती उल्झन र विवादले केवाइसी ब्रान्ड नेपालबाटै हट्ने जोपखम बढ्न थालेको छ, जसको मार भने पहिले भ्यान खरिद गरेका आयातकर्तालाई पर्नेछ ।
इलेक्ट्रिक भेइकलको विश्वसनीयतामै प्रश्न
केवाइसीको विवादले नेपालमा इलेक्ट्रिक भेहिकलको उदयोन्मुख बजारलाई गम्भीर चुनौती दिएको छ । व्यापारिक झगडाले गर्दा उपभोक्ता सेवा पूर्ण रूपमा ठप्प भएको छ । अहिलेसम्म पनि अदालतले अन्तिम निर्णय दिएको छैन र अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिइरहेको छ ।
जसको कारण केवाइसी ब्रान्ड नेपालमा फेरि आउँछ कि आउँदैन वा नियोसियामाथि लागेको व्यापारिक रोकको आदेश उल्टिन्छ कि उल्टिँदैन भन्ने दुविधा बढेको छ । अनि कुनै एक व्यापारिक घरानाको सिण्डिकेटलाई अदालतले लाहाछाप लगाइदिएको आरोप बढेको छ ।
यदि अदालतले सीजी मोटर्सकै पक्षमा आदेश वा फैसला दियो भने सन् २०२७ को डिसेम्बरसम्म केवाइसीका नयाँ गाडी आउने सम्भावना करिब शून्य छ । सीजीले काठमाडौं जिल्ला अदालतमा समेत केवाइसीको निर्माता कम्पनीविरुद्ध जालसाजीको मुद्दा हालेको छ ।
यस्तो अवस्थामा नेपालमा केवाइसी भ्यानको भविष्य थप अन्धकारमय बन्ने निश्चित छ । किनभने निर्माता र आयातकर्ताबिचको सम्बन्ध करिब सकिएको छ । यदि इलेक्ट्रिक ड्रिम्स मोबिलिटीले नयाँ आयातकर्ताका रुपमा अदालतबाट अनुमति पाएको अवस्थामा भने सीजीले गरेको पूर्वाधारको लगानी र ग्राहक नेटवर्कको फाइदा भने नयाँ आयतकर्ताले पाउनेछ । बजारमा प्रतिष्पर्धा समेत बढ्न जाने अवस्थामा यसको फाइदा अन्ततः उपभोक्तालाई हुनेछ ।
तर, वर्तमान अवस्थामा यो विवाद वा झगडाको सबैभन्दा ठूलो शिकार भने आम ग्राहक वा उपभोक्ता नै रहेका छन् । लाखौं रुपैयाँ तिरेर खरिद गरिएको भ्यानको किस्तासमेत पूरा नहुँदै सर्भिसिङ र पार्ट्सको अभावमा उक्त भ्यान कवाड बन्ने खतरा बढ्दै गएको छ । यसले नेपालमा इलेक्ट्रिक भेहिकलप्रति जनताको विश्वासमा नकारात्मक प्रभाव पार्ने खतरा छ ।













प्रतिक्रिया