नेपाल र पूर्वी युरोपमा पर्ने देश अल्बानियामा एकै वर्ष बहुदलीय व्यवस्था पुनस्र्थापित भएको हो। यहाँ पञ्चायतविरुद्ध राजनीतिक दलहरुले आन्दोलन गरी लोकतन्त्र स्थापना गरेजस्तै त्यहाँ पनि निरंकुश शासक अनवर होक्साले कायम गरेको शासन व्यवस्था उल्टाउने काम भएको थियो। लोकतान्त्रिक गणतन्त्र अबलम्बन गरेका यी दुवै देशले समान नियति भोग्दै आएका छन्। अहिले समृद्धिको लय समातेको अल्बानियाली जनताको प्रतिव्यक्ति आय चार हजार डलर पुगेको छ।
बहुदलीय शासन व्यवस्था आएपछि पनि मुलुक पुनः द्वन्द्वमा गएर शान्ति प्रक्रियामा आएको डेढ दशक नाघ्दा पनि नेपाली जनताको जीवनस्तरमा तात्त्विक भिन्नता आएको छैन। शासन सत्ता नेता र तिनका सेवकको व्यवस्थापन गर्ने अखडा बन्दै गएका छन्। खाना, नाना र छानाका मूलभूत विषय राजनीतिको प्राथमिकतामा नपर्दा त्यसको अपजस शासन व्यवस्थाले भोग्नुपरेको छ।
पदमा हुँदा त ठीकै हो, पदमुक्त भएका नेताहरुको सुविधाका लागि बेहिसाव धनराशि र जनशक्ति खर्च हुने गरेको छ। जनताका प्रतिनिधिहरु जनताबाटै असुरक्षित रहेको छनक दिने गरी सरकारी सेनामेना अघिपछि लगाएर हिँड्ने प्रतिस्पर्धाले राजनीतिप्रति वितृष्णा बढ्दो छ।
तीन दशकअघि सत्तामा पुगेका नेताहरु अहिलेसम्म सरकारी सेवा सुविधामा लिप्त छन्। नेताहरु सादगी हुन सम्भव छैन ? सरल र सहज जीवनयापनमा उनीहरुको रुचि किन देखिदैन ? फौजी अघि पछि लगाउँदा उनीहरुको राजनीतिक भविष्य कति दीर्घकालीन होला ? यसै सन्दर्भमा लोकतन्त्र स्थापनापछि सत्तामा आएका अल्बानियाका सादगी राष्ट्रपति डा. सली बेरिशाको दैनिकी यहाँ प्रस्तुत गरिएको छ। सन् १९९० को डिसेम्बरमा भएको अल्बानियाको प्रजातान्त्रिक आन्दोलनले अनवर होक्साले कायम गरेको निरंकुश साम्यवादी सरकार विस्थापित गरेको थियो। यो आन्दोलनमा सक्रिय नेतृत्व गर्ने बेरिशा पाँच वर्ष निरन्तर राष्ट्रपति भए।
सन् १९४४ मा उत्तरी अल्बानियामा जन्मेका यिनी आन्दोलन पूर्वसम्म १९६७ देखि नै तिराना अस्पतालमा सर्जनको रुपमा कार्यरत थिए। यिनकी श्रीमती लिरी डाक्टर थिइन्। उनीहरुका एक छोरी र एक छोरा छन्। यौटा प्रजातान्त्रिक मुलुकको राष्ट्राध्यक्षले कस्तो आदर्शलाई जीवनको अंग बनाउनुपर्छ, त्यो उनको दिनचर्याले स्पष्ट गर्छ। झण्डै एकै समयमा प्रजातान्त्रिक व्यवस्था प्राप्त अल्बानियाका यी राष्ट्राध्यक्षको दिनचर्याबाट हाम्रो देशका नेताले पनि केही सिक्न सकिने देखिन्छ। पढौं दैनिकी उनकै बोलीमा।
प्रायजसो म बिहान ६ बजे उठ्छु। म राष्ट्रपति हुँ तर तिरानाका नागरिक झैं मेरो पनि पानीको लागि टाईम टेबल छ। बिहान ४ बजेदेखि ७ बजे, मध्यान्ह डेढ बजेदेखि ३ बजे र कहिलेकाहीँ साँझ साढे सातदेखि १० बजेसम्म। त्यसकारण दाह्री बनाउन र नुहाउन मैले त्यो समयको ख्याल गर्नै पर्छ।
मेरी पत्नीले ब्रेकफास्ट तयार गर्छिन्- अति सामान्य दही, चीज, कफी बस्। कहिलेकाहीँ म अम्लेट पनि खान्छु तर धेरैजसो सुख्खा खाना नखान प्रयास गर्छु। जस्तो म पेटप्रति सजग छु। अल्बानियामा खानाप्रति सौखिन हुन कठिन छ। खाना सबैको लागि अभाव छ। मेरी श्रीमतीले पसल पसल चाहारेर जे पाइन्छ, त्यो खानाको बन्दोबस्त गर्न प्रशस्त समय खर्च गर्नुपर्छ। म कतिपय घरायसी काममा पत्नीलाई मद्दत गर्ने हरप्रयास गर्छु।
लामा लामा लाइन हुन्छन्। भाउ महँगो हुन्छ। हामीलाई निश्चय नै अलि सजिलो हुन्छ। तर मेरो तलब धेरै छैन। पहिलेका नेताहरुको तलब धेरै हुन्थ्यो। तर मैले पहिला जसरी बस्थें, त्यसरी नै बस्न उत्प्रेरित गरेको छु। सर्वसाधारणले कस्तो जीवन बाँच्छन् ? यस्तै नगरिकन म कसरी तिनीहरुले बाँचेका छन् त्यो थाहा पाउन सक्छु ? म परिवर्तन हुन अस्वीकार गर्छु।
म डाक्टर हुँदा जुन फ्ल्याटमा बस्थें, त्यसैमा बस्छु। त्यसमा तीनवटा कोठा र यौटा सानो भान्सा कोठा छ। यो धेरै सानो छ। रक्षा मन्त्रालयसंग सम्बन्धित यौटा विशेष टेलिफोन लाइन थपिएको छ, नत्र सबथोक उही नै छ। त्यो ठाउँमा म र लिरि मात्रै डाक्टर थियौं। थुप्रै परिवारका घरमा हामी जान्थ्यौं। तिनीहरु अति नै असल मानिस थिए। हामीबीच राम्रो सम्बन्ध थियो।
म राष्ट्रपति भवन दैनिक करिब आठ बजे दैनिक गाडीबाट पु-याइन्छु। मलाई तत्कालै चिट्ठीले भरिएका फाइल, प्रश्नहरु र मिटिङका लागि माग गरिएको फाइल दिइन्छ। त्यो क्षणदेखि राति अबेरसम्म म व्यस्त हुन्छु। मेरो देशले अत्यन्त कठिन परिस्थिति झेलिरहेको छ। सरकारको प्रशासन संयन्त्र प्यारालाइसिस भएको छ, अर्थतन्त्र नष्ट भएको छ।
हामीले खाना र औषधीको लागि अरु देशमा भर पर्नु परेको छ। जनतामा प्रजातन्त्रको प्रतिफल हेर्न अति अधैर्य छन्। स्वतन्त्र व्यापार संघहरुले गएको महिना राम्रो तलबको लागि दबाब दिन हड्ताल गरे। अफसोच हामीले गर्नसक्ने कुनै कुरा छैन।
यतिका समस्याहरु भएर पनि म हतोत्साही हुन सक्दिन्। यदि तपाईं हतोत्साह हुनुभयो भने यहाँ हार्नुहुन्छ। तपाईं द-हो हुनैपर्छ। म साधारणतया हाम्रा जनता असल छन् भन्ने कुरामा विश्वास राख्छु, त्यस्ले अवस्था क्रमशः उत्साहवद्र्धक हुँदै गएको छ। हामीले आगामी दुई तीन महिनामा केही ठोस काम गर्न सक्यौं भने अल्बानियालीहरुले निष्कर्ष निकाल्ने छन्– स्थिति परिवर्तन हुँदैछ। राम्रोतर्फ र बितेको अँध्यारो समय पछाडि धकेलिँदैछ।
मेरो इतिहास अत्यन्त सामान्य छ। मेरो देशले भने डरलाग्दो परिस्थिति भोग्दैछ। त्यसले जनताको स्वतन्त्रता हरण गर्दैछ भन्ने लाग्यो। यसलाई सहन सकिन र सरकार विरुद्ध जाने निर्णय गरें। मेरो व्यक्तिगत महत्वाकांक्षाका लागि होइन, यौटा नागरिकको कर्तव्य पालन गर्नको लागि। सबैभन्दा पहिले मैले श्रीमती र छोराछोरीसँग सल्लाह गरेँ।
तिनीहरु धेरै चिन्तित भए। तर पछि मेरो कुरा स्वीकारे। त्यसकारण १९८९ देखि मैले लेख लेख्न थालेँ। अन्तर्वार्ताहरु दिन थालेँ। सरकारविरुद्ध सम्भव भएसम्मका सबै कुरा गर्न थालें। देशभित्र बाहिर पनि। खतरा त निक्कै थियो। राज्यको क्रूरता सबै जान्दथे। हजारौं राजबन्दीहरु थिए। मानव अधिकारमाथि अतिक्रमण गरिएको थियो।
म कुनै पनि हालतमा प्रजातन्त्र आउने कुरामा ढुक्कै थिएँ, जब हामीले प्रजातान्त्रिक दल बनायौं। प्रदर्शनको बेला रक्तपात हुनसक्ने सम्भावनाप्रति ज्यादै चिन्तित थिएँ। हुन त त्यतिबेला सबथोक विद्यार्थीहरुमै छाड्न सकिन्थ्यो, त्यो सजिलो हुन्थ्यो, तर मैले पहिल्यै निर्णय गरिसकेको थिएँ– म दबाबलाई सामना गर्न प्रतिवद्ध भइसकेको थिएँ, यसलाई मैले कहिल्यै पनि नकारिन।
दिउँसो दुई बजेसम्म म ती मानिसहरुलाई भेट्छु, जसले मसँग भेट्न चाहेका हुन्छन्। विभिन्न संघ संगठनका प्रतिनिधि र जनसाधारण जो आफ्नै लागि कुरा गर्न आएका हुन्छन्। म भ्याएसम्म धेरैलाई भेट्छु। जसरी डाक्टरले रोगीहरुको कुरा सुन्नुपर्छ, त्यसरी नै मैले मेरा जनताको कुरा सुन्नुपर्छ। त्यतिबेला राष्ट्रपतिलाई खाना खाने फुर्सद पनि हुँदैन।
अपरान्ह म फेरि कार्यालयको काम गर्न थाल्छु, विदेशी प्रतिनिधिमण्डलसँग भेटघाट इत्यादि। मलाई फूर्तिसाथ कपडा पहिरेर बस्नु जरुरी हो भन्ने लाग्छ। मैले केही थान सुट सिलाएको छु। केही बाहिरबाट किनेर ल्याएको छु। मलाई लाग्छ कपडा छान्न म जान्दछु। त्यसो त मेरी पत्नीले पनि मलाई सल्लाह दिन्छिन्।
राति आठ बजेपछि मैले अरु बैठकमा सम्मिलित हुनुपर्छ। म न्याय परिषद्को अध्यक्ष हुँ। जसले देशभरिका न्यायालयमा नयाँ अधिकारीहरु नियुक्त गर्ने सम्बन्धी कानुन तर्जुमा गर्दैछ। म सक्दो र सम्भव भएसम्म विकेन्द्रीकरण गर्न चाहन्छु देश चलाउने ठीक ठाउँको लागि ठीक मानिस पाउनै कठिन छ। अल्बानियामा विज्ञ मानिस प्रशस्त छन्। यतिबेलासम्म तिनीहरुले देश छाडिसकेका छैनन तर हामीले तिनलाई सक्दो छिटो खोज्नुपर्छ।
मैले जिन्दगीमा एक अथवा दुईपल्ट मात्रै होक्सालाई भेटेको छु। म उसको डाक्टर कहिल्यै भइनँ। धेरै मानिसले म उसको डाक्टर हुँ भन्दछन्। उसका लेख र किताब पढ्दा ऊ निक्कै निर्दयी भएको स्पष्ट हुन्छ। उ ठान्दथ्यो– उ सधैं ठीक छ। सबै मानिस उविरुद्ध छन्। उ सबथोक जान्दछ। उ हाम्रो इतिहासको सर्वाधिक वियोगान्त चरित्र हो। हेर्नोस उसको त देशलाई सामना गर्ने कंक्रिट बंकरको सिद्धान्त। तपाईं अल्बानियामा जहाँ उभिए पनि बंकर देख्नुहुन्छ। उसले हामीलाई बंकरमा गाडेको थियो।
राति करिब साढे एघार बजे अथवा मध्यराति म घर ल्याइपु-याइन्छु। मेरी श्रीमतीले मलाई प्रायजसो खाना तयार पारिराखेकी हुन्छिन्- हुनसक्छ खुब चिसो मासु, सलाद र लेमोनेटेड। लिरीले नै सबै पकाउने काम गर्छिन् किनने पकाउने शक्ति नै बाँकी रहेको हुँदैन।
म आफ्नो स्वास्थ्यको विषयमा सचेत छु। मेरो स्वास्थ्यसँग देशको स्वास्थ्य जोडिएको छ। म ज्यादै नै धेरै कफी पिउँछु। तर चिनी विनाको। रोटी वा पाउरोटी नखान कोशिस गर्छु। दिनभर कुर्सीमा बसेर काम गर्दा तौल बढ्ने खतरा हुन्छ। त्यसैले दैनिक व्यायाम पनि मेरा लागि अपरिहार्य छ। घर आइपुग्दा म धेरै थाकेको हुन्छु।
सिद्धान्तत ः मलाई आइतबार छुट्टी मिल्छ तर प्रायजसो आइतबार प्रतिवेदन पढ्न, तयार गर्न तथा अरु बैठक जसलाई टार्नै सकिन्न, त्यसमा सामेल हुनुपर्छ। कहिलेकाहीँ हामी पैदल हिड्छौं र साथीभाइकोमा जान्छौं। समय मिलेको खण्डमा म अस्पताल जान्छु। आफ्ना दौंतरीहरुलाई भेट्छु। साथीहरु फोन गरेर ढिलो भेट्न आउँछन्। उनीहरुसँग भेट्दा म आफूभित्र बेग्लै आनन्दको अनुभूति गर्छु। त्यस अलावा संगीत सुनेर आनन्द लिनु मेरो अर्को बाटो हो। संगीतमा क्लासिकल, आधुनिक र रक सबै सुन्छु। कहिलेकाहीँ ऐतिहासिक उपन्यासका पाना पनि पल्टाउँछु। तर पदीय जिम्मेवारीका कारण मलाई पढ्ने सुविधा एकदम कम छ।
राजनीतिक जिम्मेवारीलाई पनि चिकित्सकीय सेवाकै रुपमा मैले हेरेको छु। पहिला सेवाको दायरा थोरै भएपनि अहिले फैलिएको छु। अझ भनौं म देशको म्यानेजर हुँ। देशलाई घर मान्ने हो भने अभिभावक पनि हुँ। अभिभावकले परिवारका सबै सदस्यका गुनासोको निदान खोज्नुपर्छ। मेरो कामले परिवारका तीनपुस्ता आकर्षित हुन सकेनन भने मैले आर्जन गरेको राजनीतिक दर्शन असफल हुनु पनि हो।
यसअघिका शासक कसरी फेल भए ? उनीहरु जनताका नजरमा किन बिझाए ? त्यसबारे म जानकार छु। जनतामाथि शासन गर्छु भन्ने सोच नै गलत हो। राजनीतिक उच्चासनमा बस्नेले त समन्वय गर्ने हो। जब जनताले राजनीतिकर्मीलाई आफ्नो प्रतिनिधि बनाएर पठाउँछ भने उ त जनताको वारेस हो नि। यी विषयले मलाई बारम्बार घोचिरहन्छ।
मैले मुलुकको आर्थिक, राजनीतिक, सामाजिक, सामरिक, कुटनीतिक हरेक विषयमा आफ्नो दृष्टि पु-याउनु पर्छ। क्रान्तिपछि मेरो नेतृत्वमा बनेको सरकारलाई विश्व परिवेशमा साझा धारणा बनाउन पनि मैले दिनरात खट्नु पर्छ। जनताका आवश्यकता विषयले त मलाई सपनामा पनि चैन दिँदैनन्। शुद्ध खानेपानी समेत जनताको पहुँचमा नपुगेको अवस्था छ। विश्वका समृद्ध भनिने मुलुकले पनि आफ्नो पहिलो पाइला शिक्षा र स्वास्थ्यबाटै शुरु गरेका हुन्छन्।
सुशासन अर्को पेचिलो प्रश्न बनेर मेरा अघि उभिएको छ। जनताले न्याय पाएनन् भने अरु विषय फन्टुस गफ हुन्छन्। पूर्वाधार, रोजगारीका विषय त छँदै छन्। त्यसका लागि राजनीतिक स्थायित्व प्रमुख विषय हो। राजनीतिले उत्पादन गरेको समस्या राजनीतिकै सेकतापले निको पार्नु पर्नेछ। यो उद्देश्य प्राप्तिमा मेरो मात्र प्रयास पर्याप्त हुँदैन। राज्यका हरेक संयन्त्रमा यो हुटहुटी जाग्न आवश्यक छ। थोरै समयभित्र जनताको विश्वास आशामा बदल्न सकिएन भने आत्मघाती हुनेमा म सचेत छु।
पेशाले म डाक्टर हुँ। पत्नी पनि यही पेशामा छिन्। राजनीतिबाट मुक्त भएपछि घरपरिवार चलाउने माध्यम पनि यही नै हो। मेडिकलमा काम गर्नेका अभ्यास त्यतिकै महत्वपूर्ण हुने भएकाले फुर्सद निकालेर भए पनि म आफ्नो नित्यकर्म छोड्न चाहन्न।
दुई सन्तानको अभिभावकत्व निभाउन पनि उत्तिक्कै जरुरी छ। व्यस्तताको बहानामा बाबुको सामीप्यलाई ख्याल गरिन भने अर्को पुस्ता आशावादी नहुन सक्छ। त्यो संगै अर्को महत्वपूर्ण विश्व रंगमञ्चमा अल्वानिया देशकै उपस्थिति अग्लो देखाउन मैले ज्ञानको दायरालाई फराकिलो बनाउनु पर्छ। भावनाले मात्रै प्रतिस्पर्धाको उचाई भेट्न कठिन छ।
अन्तिम निष्कर्ष के हो भने म आफूले दिनभर गरेका कामको विश्लेषण गर्छु। म भविष्यप्रति चिन्तित हुन्न। यसका लागि नयाँपुस्ता तयार छ। तिनीहरु कौशलपूर्ण र पूर्णरुपले तम्तयारको अवस्थामा छन्। म तिनीहरुलाई अत्यन्त प्रेम गर्छु। तिनीहरु देशका भविष्य हुन्। यही मीठो कल्पनामा म निदाउने गर्छु।
प्रतिक्रिया