न्यूजर्सी आइल्याण्ड : पहिले हिटलरको उपनिवेश, अहिले गाई र पर्यटकको लर्को | Khabarhub Khabarhub

नियात्रा

न्यूजर्सी आइल्याण्ड : पहिले हिटलरको उपनिवेश, अहिले गाई र पर्यटकको लर्को



१९ अप्रिल १९९९ बाट जर्सी टापुस्थित ‘ड्युरेल वाईल्ड लाईफ प्रिजर्भेशन ट्रष्ट’को छात्रवृत्तिमा सोही ट्रष्ट अन्तर्गतको अन्तर्राष्ट्रिय तालिम केन्द्रमा जैविक संरक्षण तालिमका लागि मेरो मनोनयन भयो। समयमै भीसा र अन्य तयारी सकेर अप्रिल १७ को नेपाली समयअनुसार साँझको सात बजे गल्फ एयरबसबाट मेरो उडान शुरु भयो। गल्फ एयरमा यो मेरो पहिलो उडान भएकाले मसंग नयाँ कौतुहल थियो- उडान सम्बन्धमा। गल्फ एयर संसारका राम्रा राम्रा विमान सेवाहरु मध्ये एक हो र मूल्यका दृष्टिले संसारकै सस्तो हवाई सेवा।

मेरो यात्राको दुवै टिकट सम्बन्धित आयोजक संस्थाले नै किनिदिएको थियो। बेलायतीहरु मूल्यलाई असाध्य प्राथमिकतामा राख्छन्। हुनसक्छ यही कारण उनीहरुले मलाई गल्फ एयरको टिकट दिएको हुनुपर्छ। यो विमान सेवाले अवुधावी-काठमाडौं उडान भर्न थालेको करिब तीन महिना मात्र भएको थियो। हुन त अरु विमान सेवाहरु पनि काठमाडौंमा या कुनै अरवियन मुलुक हुँदै बेलायत जान्थे। तर तिनीहरु गल्फ एयरको तुलनामा धेरै खर्चालु थिए।

काठमाडौं-अबुधावीको उडानमा विमान पूर्णरुपले यात्रुले भरिभराउ थियो। आधाभन्दा बढी नेपाली यात्रुहरु थिए। अधिकांश नेपाली खाडीका विभिन्न देशमा काम गर्ने रहेछन्। धेरैजसो विदामा घर आएर पुनः कामममा फर्कन लागेका रहेछन्। केही यात्रुहरु अमेरिका र युरोपका अन्य देशमा जाने रहेछन्। तर बेलायत जाने नेपाली भने म मात्र थिएँ। करिब बीस जना जति बेलायती पनि नेपाल घुमाईको क्रम सकेर घर फर्कन लागेका रहेछन्। यसरी काठमाडौं–अबुधावीको चार घण्टा यात्रा विल्कुलै नौलो भएन।

नेपाली समयअनुसार ठ्याक्कै ९ बजेको थियो। हाम्रो जहाज बहराइन हुँदै अमेरिका जाने रहेछ। त्यसैले म लगायत बेलायत जाने यात्रुको गन्तव्य यहीँ नै थियो। हामीले करिब ४५ मिनेट त्यहाँ टिकट मिलाएर बितायौं। गल्फ एयरको अर्को विमान हाम्रो समयानुसार रातको १२ बजे अबुधावीबाट उड्यो। विमान ६० प्रतिशत जति खाली थियो। एक घण्टापछि विमान ओमनको राजधानी मस्कटमा ओर्लियो। अबुधावीबाट विमान स्थानीय यात्रु पु-याउन र लण्डनमा अरु यात्रुहरु लिन मस्कट गएको रहेछ। मस्कटमा करिब दुई घण्टा रोकिएर नेपाली समयानुसार फेरि रातको दुई बजे विमन लण्डनको लागि उड्यो।

विमानमा बिताएको समय निक्कै भएकोले हामी निक्कै थाकिसकेका थियौं। हामीमध्ये धेरैजसो निदाइसकेका थियौं। तर म भने अद्र्धनिद्रित अवस्थामा थिएँ। मस्कटबाट उडेपछि विहानको सूर्य टर्कीको इस्तानबुल पुग्दा पुन: देखियो। विमान युरोपियन भागमाथि पुगेपछि जमिनलाई कालो कुहिरोले ढाकेकाले जमिनको भाग कतै देखिएन। करिब एक घण्टा पश्चिम आकाशमा उडेपछि हामी जर्मनी काटेर नेदरल्याण्ड माथि थियौं। मलाई नेदरल्याण्डको जमिनको सतह कतै देखिन्छ कि भनी कौतुहल भएकाले बादल माथिबाट निक्कै चिहाएँ। तर फाट्टफुट्ट पानी जमेको जमिनबाहेक केही देखिएन।

क्याप्टेनले हामी १५ मिनेटमा बेलायतको हिथ्रो विमानस्थल पुग्ने सूचना दिइसकेका थिए। युरोपियन आकासमा विभिन्न विमानहरु समानान्तर लाइनमा उडिरहेका देखिन्थे। हामीले करिब ९ मिनेटमा ईङलिस च्यानल पार ग-यौं। च्यानल पार गरेको दुई मिनेटमै पानी परेर धुम्म परेको विहान जस्तोमा लण्डनलाई देख्यौं। हाम्रो समयअनुसार अप्रिल १८, १९९९ को दिउँसोको ११:४५ बजे हाम्रो जहाज तेस्रो टर्मिनलमा रोकियो। जहाजबाटै विमानस्थलको विशाल पटांगिनी देखेर म जिल्ल परें। अनि अध्यागमनको काम सकेर झोली तुम्ली बोकेर बाटो लागें।

यो विमानस्थलमा मेरो पहिलो यात्रा भए पनि सम्पूर्ण लिखित संकेत र इशारा राखिएकाले पहिलो टर्मिनलमा विना सहारा पुग्छु जस्तो लाग्यो। मैले फेरि आन्तरिक सेवाको जहाज समातेर च्यानल आइल्याण्ड अन्तर्गतको च्यानल आइल्याण्ड जानु थियो। तीस मिनेट हिँडेपछि सुरुङको अन्तिम लिफ्ट पुगें।

मानिसहरु आआफ्नै रफ्तारमा गन्तव्यतिर जाँदै थिए। अब मलाई लिफ्टबाट कुन तलामा जाने भन्ने दोधार भयो। अन्जानमा तल्लो तलाको लागि बट्न थिचें। मसंग अर्को एकजना ब्रिटिस थिए, म अनकनाएको थाहा पाएर हाँसे मात्र। लिफ्टको ढोका खुल्यो, मेरो भाग्यले साथ दियो। म च्यानल आइल्याण्ड जाने ब्रिटिस एयरवेजनको काउन्टर अगाडि पो झुल्किएँ। मलाई अचम्म लाग्यो- लण्डनमा पनि मैले कसैसंग केही नसोधी पुग्नुपर्ने ठाउँ आफैं पत्ता लगाएँ।

ब्रिटिस एयरवेजको काउन्टरमा इण्डियन मूलकी ब्रिटिस केटी बसेकी रहिछन्। मैले उनीसंग जर्सीटापुको लागि अग्रिम भुक्तानी गर्ने गरी इलेक्ट्रोनिक टिकट मागें। तर उनी हडबडाएर घडी हेरिन। चार मिनेटअघि नै म जाने जहाजको ढोका लागिसकेको रहेछ। अब मलाई भूमिगत बाटो आएकोमा पछुतो भयो। यदि बसमा आएको भए मेरो जहाज छुट्ने रहेनछ। काउन्टरबाट अर्को दुई घण्टामा पुनः अर्को जहाज जर्सी जाने थाहा भयो। त्यतिन्जेल मैले पर्खाइमा बिताउनुपर्ने भयो।

मैले काउन्टरकै देब्रपट्टिको लाइनमा पर्खने निधो गरें। भोक असाध्य लागेकोले काउन्टरमा दुई पौण्ड तिरेर कफी र केक खाएँ। त्यहाँ मजस्ता थुप्रै यात्रु थिए। पत्रपत्रिका पढ्दै, मान्छे नियाल्दै गर्दा दुई घण्टा बितेछ। लण्डनको समयअनुसार विहानको १० बजे ब्रिटिस एयरको अर्को जहाजमा म जर्सी आइल्याण्डतर्फ लागें। आईटीसीले मलाई मसंग ताञ्जानियाका अरु दुईजना सोही उडानमा आउने खबर गरेको थियो।

जहाज उड्नुअघि नै मैले तिनलाई खोजें। तर तिनीहरु अघिल्लै उडानमा पो गए कि भन्ने लाग्यो। जहाज उड्ने बेलामा संयोगले मैले तिनीहरुलाई चिनें। दुवै अन्य यात्रुभन्दा फरक थिए। मैले प्रशिक्षकलाई सोधें। उ पनि मलाई खोज्दै रहेछ। म अग्लो र गोरो भएकाले उसले मलाई युरोपियन नै ठान्दो रहेछ। अर्को होचो कदको कोही छ कि भनी खोज्दै रहेछन्। तर ताञ्जानियाका डा. चाल्र्सले मलाई अन्दाज गरिसकेको रहेछ।

सीट टाढा रहेकाले जहाजमा मैले चाल्र्ससंग बातचित गर्न पाइनँ। ४५ मिनेटको यात्रापछि हाम्रो जहाज सामुद्रिक बीचमा अवस्थित अत्यन्त लोभलाग्दो टापुमा ओर्लियो। यही नै हाम्रो गन्तव्य र लक्ष्य रहेको जर्सी टापु थियो। अध्यागमनको काम सकेर आफ्ना सम्पूर्ण मालताल जम्मा ग¥यौं। मलाई लण्डनकै अध्यागमनले ६ महिनाको छाप हानेकाले भिसाको समस्या भएन। काला मानिसहरुले बेलायतमा धेरै बदमासी गर्ने र गैरकानुनी रुपले लुक्ने गरेकाले अध्यागमनमा कालाहरुलाई निक्कै कठिन हुँदोरहेछ। साउदलाई त्यो दिन आइतबार भएकाले भोलिपल्ट पासर्पोर्ट लिएर अध्यागमन आउन भनियो।

हामी बाहिर निस्कँदा आईटीसीका डेपुटी डाइरेक्टर क्रिस क्लार्क हाम्रो पर्खाइमा रहेको पायौं। उनले हामी तिनैजनालाई नामै लिएर स्वागत गरे। हामीले उनलाई कसरी चिन्नुभो ? भनेर प्रश्न गर्दा जागिरको अनुभवले मान्छे खुट्याउन सक्ने बताए। उनैले आफ्नो गाडीमा हालेर अन्तर्राष्ट्रिय तालिम केन्द्र पु-याए। भौगोलिक हिसाबले जर्सी काठमाडौं उपत्यकाभन्दा सानो टापु हो। तर त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको भन्दा चारगुना ठूलो रहेछ।

विमानस्थलदेखि आईटीसीसम्म निर्देशकले जर्सी टापु र टापुसम्बन्धी महत्वपूर्ण जानकारी गराए। मलाई जर्सी अलग देशजस्तो लाग्यो। हुन पनि बेलायती महारानीबाट गभर्नर नियुक्त हुँदोरहेछ। त्यसबाहेक जर्सीको सबै आफ्नै राज्य व्यवस्थाका संरचना रहेछन्। तसर्थ जर्सीबासीहरु पनि यसलाई छुट्टै राज्य मान्न रुचाउँदा रहेछन्।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकी हाउस किपरले मसंग भेट्ने वित्तिकै माफी माग्दै भनिन्- ‘माधव, तिमी त आजसम्म यहाँ तालिमका लागि आएका नेपालीभन्दा फरक रहेछौ। मैले तिमी पनि अरु नेपालीजस्तो होचा कदका होलाउ भनेर हामीसंग भएका कोठाहरुमध्ये सबैभन्दा होचो कोठा राखिदिएँ। तर केही छैन, तिमी चाहन्छौ भने क्यानेडियन प्रशिक्षार्थीसंगै बस्न सक्छौ।’ ओल्यानले यी कुरा मलाई एकै सासमा भनिन। होचै सही मैले आफूलाई निर्धारण गरेकै कोठामा बस्ने निधो गरें। होस्टेल बसाइ गज्जब भयो।

अप्रिल १९ बाट तालिम शुरु भयो। तालिम अवधिभर हप्ताको ५ दिन अत्यन्त व्यस्तताबीच बित्यो। बाँकी दुई दिन जर्सी टापुका विभिन्न स्थान हेर्नमा खर्चियौं। तालिम १२ हप्ताको थियो। १२ हप्तामा ४ हप्ता सैद्धान्तिक ज्ञान र २ हप्ता सेमिनार वर्कशप र रिर्पोर्ट प्रस्तुत अनि ६ हप्ता जैविक संरक्षण सम्बन्धी जर्सी वाइल्डलाईफ कन्जरर्भेसन ट्रष्टको मातहत रहेको ‘जर्सी जू’ मा व्यवहारिक सिकाइ थियो। जर्सी बसाइको १२ हप्तामा मलाई धेरै कुराले प्रभाव पा-यो। जर्सी उत्पादनको दृष्टिले एकदमै उत्पानशील ठाउँ हो।

भ्याट लागू नभएकाले विश्वभरका ठूला बैंकहरुका प्रधान कार्यालय यहाँ रहेछन्। यहाँको प्रमुख व्यवसाय पर्यटन रहेछ। दोस्रो विश्वयुद्धमा हिटलरले कैदी बनाएका रसियन सैनिकहरु ल्याएर हिटलरले विना रसदपानी काम गर्न लगाएको टापू यही रहेछ। हिटलर कब्जा गर्न सफल बेलायती भूमि यही मात्र हो।

हिटलरले रसियन युद्धबन्दीलाई लगाएर यस टापुको वरिपरि किनाराभन्दा २ माईलभित्र समुद्रको तटीय भागमा लाईट हाउस र टावर बनाएको रहेछ। जहाँबाट त्यसताकाका सैनिकहरुले ती टावरमा बसेर शत्रुको चियो गर्थे। आज तिनै लाइट हाउस र टावरहरु पर्यटकका लागि रुचिका विषय बनेका छन्। छाल घटेका बेला यी लाईट हाउस र टावरमा सजिलै जान सकिन्छ। तर छाल आउने र फर्कने गाईड नलगिएमा जर्सीवासी वा अन्य कोही कसैको छालमा परेर ज्यान पनि जान सक्छ। ती टावरमध्ये सिमो र इको टावर अरुभन्दा आकर्षक छन्। सिमो टावरमा एक शताब्दीअघि दिदीबहिनी घोडामा गएका थिए रे !

उनीहरु टावर हेर्दाहेर्दै छाल फर्केर आएकाले रातभरि घोडामा टावरभित्र कक्रिएर बसेका र भोलिपल्ट हेलिकोप्टरबाट उद्धार भएको थियो भनिन्छ। मानिसहरु समुद्रमा माछा मार्दामार्दै, पौडी खेल्दाखेल्दै छाल आउने समय भुसुक्क बिर्सन्छन्। उनीहरु आपतमा पर्ने प्रमुख कारण पनि यही हो। प्रत्येक १२ घण्टामा आउने, जाने छालको समय अति नै अनुभवीले मात्र थाहा पाउन सक्दारहेछन्।

जर्सी टापुको अर्को महत्वपूर्ण हेर्नलायक जर्सी गाई फार्म पनि हो। जर्सी गाईको उत्पति यसै टापुबाट भएको हो। हजारौं गाई यो टापुमा व्यवस्थितसंग पालिएका छन्। गाईको व्यवस्थित ब्रिडिङ र विश्वभर आपूर्तिको बन्दोबस्त जर्सी काउ एशोसिएसनले मिलाउँदो रहेछ। धित नमर्दै मनोरम आइल्याण्डको यात्रा अवधि सकियो। हृदयभरि मेहनती र पौरखी मानिसका असंख्य उपलब्धी समेटेर फेरि त्यो भूमि पुग्ने धोकोर लुकाएर नेपाल फर्किएँ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १० : ४६ बजे

हमासले संघर्षविराम सम्झौताअन्तर्गत ३४ बन्धकलाई रिहा गर्ने

काठमाडौं– इजरायलमा सशस्त्र संघर्ष गर्दै आएको हमास समूह गाजा संघर्षविराम

चन्द्रगढी उडेको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौं– काठमाडौंबाट झापाको चन्द्रगढीका लागि उडान भरेको बुद्ध एयरको विमान

लेखराजको नगरका ४६ संगठित सदस्यले छाडे एमाले

काठमाडौं– नेकपा (एमाले)का सचिव लेखराज भट्टको गृहनगर कैलालीको गोदावरी नगरपालिकाको

पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु

काठमाडौं– नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच

इजरायलका ३४ बन्दी रिहा गर्न हमास तयार

गाजा – हमास विद्रोही इजरायलका ३४ बन्दी रिहा गर्न सहमत