भीम रावलको पोजिसन : बायाँ कि दायाँ ? | Khabarhub Khabarhub

टिप्पणी

भीम रावलको पोजिसन : बायाँ कि दायाँ ?

‘वाम लोकप्रियता’ को सिट खाली, दक्षिणपन्थ ‘प्याक’


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 10 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका निवर्तमान नेता भीमबहादुर रावल उमेरले ६८ वर्ष पुगे । अछाममा जन्मेका रावल एमालेका पूर्वउपाध्यक्ष हुन् । पूर्वगृहमन्त्रीको समेत पहिचान बनाइसकेका रावल पीएचडी पढेका विद्वान नेता हुन् । खरो वक्ता एवं बौद्धिक व्यक्तित्वका कारण रावल नेपालका चर्चित नेतामध्येमै पर्छन् । सोसल मिडियामा पनि रावलको निकै चर्चा हुने गरेको छ । तर, एमाले महाधिवेशनमा केपी शर्मा ओलीसँगै अध्यक्षमा चुनाव लडेपछि एमालेले रावललाई भित्तामा पुर्‍यायो र यही साता पार्टीबाटै लघार्‍यो ।

नेकपा एमालेमा ५० वर्ष काम गरेका रावललाई पार्टीले किन हटायो ? नेतृत्वको आलोचना गरेकै भरमा उनलाई हटाउनु जबजसँग मेल खाने निर्णय हो त ? यो बेग्लै बहसको विषय हो । तथापि, यहाँ एमालेको निर्णयमाथि टिप्पणी नगरी अब भीम रावलले के गर्लान् र उनको आगामी बाटो के हुन सक्छ भन्ने विषयमा मात्रै संक्षिप्त विश्लेषणको प्रयास गरिएको छ ।

धनशोभा रावल र मोतिसिंह रावलका छोराका रुपमा भीम रावलको जन्म २०१२ साल मंसिर २१ गते सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा भएको हो । सञ्जीता रावलसँग विवाह गरेका रावलका दुई छोरा छन् । अछामको साँफेबगरमा निवासी उनको काठमाडौंको बसोबास टोखा–३ मा रहेको छ ।

रावलले कानूनमा स्नातक (बीएल), राजनीतिशास्त्रमा स्नातकोत्तर र पीएचडी गरेका छन् । उनी राजनीतिशास्त्रमा ०३९ सालका त्रिवि टपर (प्रथम) हुन् । उनले ‘नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व’ विषयमा ०७६ सालमा पीएचडी गरेका छन् ।
रावल विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा लागेका व्यक्ति हुन् । ०३२ सालदेखि कम्युनिष्ट (एमाले) को राजनीतिमा लागेका उनले विभिन्न समयमा गरी १३ महिना बन्दी जीवन बिताएका छन् ।

रावल एमालेका तर्फबाट ०५१, ०६५, ०७० र ०७४ मा चारपटक सांसद बने । यसक्रममा उनले गृह, पर्यटन र विज्ञान प्रविधि मन्त्रालयहरुको जिम्मेवारी पाए ।
रावलले ‘नेपालमा साम्यवादी आन्दोलन, उद्भव र विकास’ अनि ‘राजनीति र मानव अधिकार’ विषय दुईवटा किताब लेखेका छन् । बेलाबखत कविता लेख्दै आएका रावलको ‘लिम्पियाधुरा’ शीर्षकको कविता सङ्ग्रह पनि प्रकाशित छ ।

रावलले संयुक्त राष्ट्रसंघीय संक्रमणकालीन प्रशासनअन्र्तगत कम्बोडियामा ०४९⁄०५० सालमा १ वर्ष काम गरी त्यहाँ चुनाव गर्ने काममा योगदान पुर्‍याएको संसद सचिवालयमा रेकर्ड छ । त्यस्तै, उनीसँग मानव अधिकार, कानुनी सहायता र द्वन्द्व व्यवस्थापन सम्बन्धी विभिन्न संस्थामा काम गरेको अनुभव छ ।

विश्वका ३५ देश डुलेका रावलले उत्तरी आयरल्यान्ड, दक्षिण अफ्रिका आदि विभिन्न देशमा द्वन्द्व व्यवस्थापनसम्बन्धी अध्ययन भ्रमण र सेमिनारमा सहभागिता जनाएका छन् । उनले एमालेमा रहँदा माओवादी द्वन्द्व व्यवस्थापन एवं शान्ति प्रक्रियाका काममा पनि पार्टीका तर्फबाट सक्रिय जनाएका थिए ।

कहिले काहीँ दौरा सुरुवाल र सधैंजसो ढाकाटोपी लगाएर नेपाली भेषभुषामा चिटिक्क परेर हिँड्ने डा. भीम रावल पक्का राष्ट्रवादी नेताजस्तै देखिन्छन् । उनको भाषणमा तार्किकता, आक्रामकता र देशभक्तिको भाव झल्कन्छ ।

सुदुरपश्चिमको खस क्षेत्रीको राष्ट्रवादी छोरो भएका कारण रावललाई कम्युनिष्टले मात्रै होइन, कतिपय कांग्रेसजन र राजावादीहरुले समेत मन पराउँछन् । त्यसैले, रावलको आफ्नो राजनीतिक ‘कन्सिचुएन्सी’ वाम राजनीति मात्रै नभएर नेपालको ‘संस्थापन शक्ति’ पनि हो भन्दा अत्युक्ति नहोला ।

अहिले रावललाई एमालेले निकालिसकेको छ । केपी ओलीकै नेतृत्व रहुञ्जेल अब उनी एमालेमा फर्कने सम्भावना खासै छैन । माधव नेपालको एकीकृत समाजवादी वा अन्य दलमा प्रवेश गर्ने सम्भावना पनि अहिले नै देखिएको छैन । यो अवस्थामा अब रावलले के गर्लान् त ? धेरै मानिसमा यसबारे चासो देखिन्छ ।

रावलले पूर्वी नेपालबाट ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरेका छन् । यसक्रममा उनी शनिबार बिराटनगर हुँदै सुनसरीको धार्मिकस्थल बराहक्षेत्र पुगे । उनको यो छनोट आफैंमा रोचक देखिन्छ ।

अर्को रोचक पक्ष त के छ भने बिराटनगर विमानस्थलमा ओर्लँदा वामपन्थी नेता रावललाई राजावादीहरुले समेत स्वागत गरे । विमानस्थगलमै रावललाई स्वागत गर्दै दुर्गा प्रसाई निकट ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियान’का कार्यकर्ताले रावलसमक्ष आफ्ना अपेक्षा यसरी सुनाए–

‘पूर्वको सुन्दर नगरी बिराटनगरमा धर्म संस्कृति र नागरिक बचाऊ अभियानका तर्फबाट हजुरलाई धेरै धेरै स्वागत छ । यो देशमा एउटा ठूलो अभियान चलाएर, हामी सम्पूर्ण अभियन्ताहरु एक भएर यो देशका दलालहरुलाई तह लगाउनुपर्छ… ।’

वामपन्थी नेता रावलले पक्कै पनि राजावादीहरुलाई आफ्नो स्वागतमा खादा बोकेर विमानस्थलमा आउन निर्देशन दिएका होइनन् । राजावादीहरुले स्वतःस्फूर्तरुपमै विमानस्थलमा आएर रावललाई स्वागत गरेका हुन् । यसै आधारमा भीम रावललाई ‘राजावादी’सँग निकट भएको आरोप लगाउन मिल्दैन ।

तर, केचाहिँ सहजै अनुमान गर्न सकिन्छ भने भीम रावलको लोकप्रियतामा टेकेर राजावादीहरुले उनलाई ‘दक्षिणपन्थी लोकप्रियतावाद’को बाटोमा तान्न चाहेका छन् । किनभने, दक्षिणपन्थी (मूलतः राजावादी) हरुलाई वाम पृष्ठभूमिको, दौरा लगाएको एकजना लोकप्रिय नेता चाहिएको छ । भीम रावलजस्तो वौद्धिक व्यक्ति आफूतिर तान्न पाए फाइदा हुने उनीहरुले आकलन गरिसकेका छन् । रावलले के गर्छन्, त्यो बेग्लै कुरा हो ।

बिराटनगरबाट सुनसरीको भरौल पुगेर भेट्रान फुटबल क्लबको खेल उद्घाटन गर्ने रावलको तयारी थियो । तर, एमालेले भित्रभित्रै दबाव दिएपछि आयोजकहरुले ‘खेल मैदान मर्मत गर्नुपर्ने’ भन्दै कार्यक्रम पुस २२ गतेलाई सार्ने निर्णय गरे । त्यसपछि रावलले आफ्नो मातृभूमि जागरण अभियानको पहिलो बिन्दुका रुपमा सुनसरीकै बराहक्षेत्रलाई रोजे । बराहक्षेत्र पुगेर रावलले संस्कृति र देशभक्तिको विषयमा बोले, जुन दक्षिणपन्थी लोकप्रियतावादीहरुका लागि निकै नै रुचिकर विषय हो ।

रावलले भने, ‘बराहक्षेत्र नेपालको चारधाम मध्येको एक हो । कुनै पनि देश आफ्नो संस्कृतिमा बाँच्छ । देशको आन्तरिक शक्ति, नरम शक्ति (सफ्ट पावर) भनेको यहाँका असल संस्कृति, कला र साहित्य हुन् । त्यसका स्थापित परम्पराहरुमा त्यो देश बाँच्छ । यी सबै कुरा झिकिदिने हो भने मुटु, कलेजो मिर्गाैला झिकेको मान्छेजस्तै हुन्छ ।’

उनले अगाडि भने, ‘हामी राजनीतिशास्त्रका विद्यार्थी, कानूनका विद्यार्थीहरु भन्छौं– देश बाँच्नका लागि नरम शक्ति बलियो हुनुपर्छ । कडा शक्ति सेना, प्रहरीहरु हुन् । तर, नरम शक्तिबाट त्यसलाई समर्थन भएन भने कडा शक्ति बलियो हुँदैन । त्यो नरमशक्तिको एउटा प्रतीकका रुपमा यो बराह क्षेत्र रहेको छ । तपाईहरु त्यस्तो क्षेत्रका बासिन्दा हुनुहुन्छ । मलाई धेरै खुशी लागेको छ, मातृभूमि जागरण अभियानको पहिलो पाइलो यस क्षेत्रबाट सुरु भयो ।’

रावलले विभिन्न जातीय समुदायहरुको चर्चा गर्दै यो देश सबैको साझा भएको बताए । उनले भने, ‘यो नेपाल, यो देश सबको साझा हो । प्रत्येक नागरिकहरुले यो देशको पक्षमा बोल्ने हक राख्छन् । चाहे हामी हिमालका हौं, चाहे पहाडका । हामी कोही राई लिम्बु हौं या बाहुन क्षेत्री । या कोही दलित हौं । चाहे हामी थारु हौं, या तामाङ, मगर गुरुङ । हामी नेपाली हौं । यो देश सबको साझा हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै रावलले भने, ‘यो देशमा कुनै व्यक्तिलाई तँ यस्तो गर्न पाउँदैनस्, उस्तो गर्न पाउँदैनस् भन्ने तानाशाहको विरुद्धमा पनि हो यो मातृभूमि जागरण अभियान ।’

यति भनिसकेर रावलले देशभक्ति र राष्ट्रिय स्वाभिमानको प्रशंग निकाले । उनले भने, ‘मदन भण्डारीलाई त्रिशुलीमा हालेर कतिले सोचेका थिए, यो देशभक्तिको झण्डा झुक्छ । मैले त ममात्रै कराइरहेको छु भन्ने सोचेको थिएँ, देशको झण्डा झुक्न नदिने यत्रो पंक्ति यहीँ हुनुहँदोरहेछ । हामी यो राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको झण्डालाई हामी अवश्य अगाडि बढाउँछौं ।’

उनले थपे, ‘मैले यो जुन मातृभूमि जागरण अभियान भनेको छु, यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । म आफैं पनि धेरै वर्ष अगाडि ०३९ सालमा नै मैले स्नातकोत्तर गरेको हुँ । ०४० सालको म अधिवक्ता हुँ । मैले एउटा नागरिकले पढ्न सक्ने जहाँ पुग्नुपर्ने हो, त्यहाँ पुगेको छु । तर, म किन आज तपाईहरुको वीचमा आएको छु भने एउटा सचेत नागरिक देश डुब्न लाग्दाखेरि, राष्ट्रको अर्थतन्त्र, कृषि, उद्योग, राजनीतिक सुरक्षा सम्पूर्ण ध्वस्त हुन लाग्दा पनि टुलुटुलु हेरेर बस्न सक्दैन । उसले पाइला चाल्नुपर्छ ।’

अब अलिकति अगाडि बढौं । र, भीम रावलले किन ‘मातृभूमि जागरण अभियान’ को घोषणा गरे, अनि उनको ‘अबको बाटो’ कस्तो होला भन्नेबारे थप चर्चा गरौं ।


रावलको अबको बाटो

भीम रावलले पुस १७ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ३१ पृष्ठ लामो लिखित प्रतिवेदन बाँडेका थिए । जसको मूल नारा थियो, ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको झण्डा उठाऔं ! मनपरीतन्त्र, कुशासन, भ्रष्टाचार र विकृतिका विरुद्ध जुटौं !’

अनि, प्रतिवेदनको शीर्षकमा भनिएको थियो, ‘स्वेच्छाचारी, निरंकुश र तानाशाही निर्णय र कामहरु विरुद्ध तथा राष्ट्र र जनताको हित रक्षा र अभिवृद्धिका लागि मातृभूमि जागरण अभियानको आवश्यकता ।’

रावलको यो दस्तावेजका अधिकांश पृष्ठहरु एमाले अध्यक्ष केपी ओलीसँगका आफ्ना अन्तरसंघर्षका कथाहरुले भरिएका छन् । पार्टीले हटाएको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा यो विषयले बढी स्थान पाउनु स्वाभाविकै पनि मान्न सकिएला । तथापि मातृभूमि जागरण अभियानका नाराहरु हेर्दा दुईवटा पक्ष देखिन्छन् : एक– एमालेले गरेको कारवाहीसम्बन्धी निर्णयको भण्डाफोर गर्ने । दुई– राष्ट्रिय स्वाधीनताको रक्षा र भ्रष्टाचार/कुशासनविरुद्ध एकतावद्ध हुन आह्वान गर्ने ।

नेपाली कांग्रेसका असन्तुष्ट पक्षहरुलाई पनि समेट्न खोजिरहेका रावलले १७ गतेको पत्रकार सम्मेलनमा साझा मान्यताका आधारमा अन्य पक्षसँग पनि एकतावद्ध भएर अघि बढ्न सकिने धारणा राखेका थिए । उनको भनाइ थियो, ‘हाम्रा यी पाइला र प्रयासहरू अगाडि बढ्ने सन्दर्भमा विभिन्न संगठित रुपमा रहनुभएकाहरुसँग सहकार्य हुन सक्छ ।’

पत्रकार सम्मेलनमा बाँडिएको प्रतिवेदनको अन्त्यमा भीम रावलले ‘अबको बाटो’ उपशीर्षकमा आफ्नो आगामी यात्राबारे यसरी वर्णन गरेका छन्–

देश र जनताको सर्वोपरी हितमा हुनुपर्ने राजनीति तथा सरकार पदको भागबण्डा र निहित स्वार्थको साधनमा झारिएको छ । राजनीतिक परिवर्तनपछि जनताको जे अपेक्षा र आकांक्षा थियो, त्यस दिशामा राजनीति, राज्य र दलहरु अग्रसर छैनन् ।

जनतामा निराशा बढ्दो छ । युगको सापेक्षातामा देश कमजोर बनिरहेको छ । राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमान समेत चुनौतिग्रस्त बनेका छन् ।

यस्तो स्थितिमा राजनीतिक दल र सरकार बढी जिम्मेवार, राष्ट्रिय हितमा कटिबद्ध र क्रियाशील हुनु पथ्र्यो । सुशासन र जनताको हितमा तल्लीन हुनुपथ्र्यो । तर, आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्गनिर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा (एमाले) लाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा धकेलिएको छ । एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लाग्छ ।

अन्य कतिपय दलहरु पनि सोही बाटोमा हिँडिरहेका छन् । त्यसकारण देशको स्वाधीनता, स्वाभिमान, हितको रक्षा र सम्वर्धन तथा जनताका आवश्यकता र आकांक्षा पूरा गर्ने बाटोमा राज्यलाई डोर्‍याउनका लागि देशभक्तिपूर्ण भावना र चेतले युक्त जनमत र सरकारको आवश्यकता छ ।

देश बलियो भयो भने जनता बलिया हुन्छन्, जनता समृद्ध भए देश बलियो हुन्छ भन्ने मान्यतालाई बलियो गरी समात्नु आवश्यक छ । यसका लागि राष्ट्रव्यापी अभियान चलाउनु पर्छ । भ्रष्टाचार, कुशासन, स्वेच्छाचारी क्रियाकलापका विरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनु पर्छ । राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितका लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ ।

मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकतावद्ध गर्नुपर्छ । देश र जनताले भोगिरहेका समस्याहरुको समाधान र चुनौतीहरुको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनु पर्छ ।

स्वदेश र प्रवासमा रहेका नेपालीहरुका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ । देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ ।

राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरी हित पूरा गर्न माध्यम र साधन मात्र हुन् । देश सबैभन्दा माथि हुन्छ भन्ने धारणालाई बलियो गरी अवलम्वन गर्नुपर्छ ।

राजनीति दल र राज्यका सबै अवयव र संयन्त्रहरु राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ । यसका लागि विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रुपमा दृढताका साथ हिँड्नु पर्छ ।
यस्ता मान्यताहरुका आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रो पाइला र प्रयासहरु अगाडि बढ्ने छन् ।


रावलले बनाउने भनेको ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति’ कस्तो होला ? यसबारे टिप्पणी गर्नुअघि नेपालमा विद्यमान वैकल्पिक भनिएका राजनीतिक शक्तिहरुको संक्षिप्त विवेचना गर्नैपर्ने हुन्छ ।

‘संरचनावाद’ मर्‍यो, लोकप्रियतावाद जीवित छ !

देशमा वैकल्पिक राजनीतिक शक्ति बनाउँछु भन्नेहरुले नेपाली समाजको यो विशेषतालाई पर्गेल्न जरुरी देखिन्छ कि यहाँ पार्टी बनाएर पिरामिड आकारको संगठन बनाई अघि बढ्ने संरचनावादी शैली बदनाम भएको छ । यस्तो संरचनावादी पार्टीले वैकल्पिक शक्तिको भार थाम्न सक्ने देखिँदैन । बरु यसको साटो पार्टी नबनाई अभियानका रुपमा अघि बढ्दा सफल हुने देखिन्छ ।

जस्तो कि– रवि लामिछानेले पार्टी खोल्नुअघि यसको अभ्यास गरेका थिए । दुर्गा प्रसाईले पनि राप्रपामा लागेर वा पार्टी बनाएर होइन कि अभियानबाटै जनमत बटुलिरहेका छन् । बालेन्द्र शाहले पनि पार्टी बनाएर मेयर जितेका होइनन् । र, अहिले पनि उनी उनी पार्टी बनाउनतिर लागेका छैनन् । उता धरानमा हर्क साम्पाङजस्तो सामान्य नागरिकले ५०/६० वर्ष पुराना संरचनावादी पार्टीलाई हराइदिएका छन् ।

त्यसैले नेपालजस्तो सानो देश, जहाँको समाज इन्टरनेटको सञ्जालमा साँघुरिएको छ र विवेकमा भन्दा आवेगमा रमाउँछ, यस्तो देशमा अब केन्द्र, प्रदेश र वडास्तरीय पार्टी संचरना बनाउर ह्ँेइन कि जनताका मुद्दाहरु उठाएर अभियानका रुपमा अघि बढ्दा नै जनतामा सजिलै स्थापित हुने र देशलाई बदल्न सकिने सम्भावनाहरु खुलेका छन् ।

संरचनावादी बाटोबाट वैकल्पिक शक्ति बनाउनेहरुको नकारात्मक उदाहरण पनि हामीसँग छ । उज्जवल थापाले अभियानका रुपमा स्थापना गरेको विवेकशीलले रवीन्द्र मिश्रहरुसँग मिलेर साझा पार्टी बनाउन खोज्दा किन सफलता हामत लागेन ?

नेपालमा पार्टी बनाउनु भनेकै कुरौटे नेताहरु जन्माउनु र उँचो–निचो दुई वर्ग खडा गर्नुजस्तो हुन गएको छ । पार्टीहरु विकासमा साधक होइन, बाधक बनेका छन् । हाम्रो समाजको चरित्रले नै दलहरुलाई त्यस्तो बनाइदिन्छ । पार्टी बनेपछि को नेता हुने भन्ने होडबाजी, षड्यन्त्र र विभाजन सुरु भइहाल्छ ।

डा. बाबुराम भट्टराईले नयाँ शक्ति नामको पार्टी खोलेर ‘लेफ्ट विङ’ वाला वैकल्पिक नयाँ धार बनाउँछु भन्ने सोचेका थिए । उनको वैकल्पिक यात्रा पनि त्यही संरचनावादले थिचेर शहीद भयो । शायद भट्टराईले पार्टी नबनाई अभियान मात्रै चलाएको भए अहिले जसरी खिइनुपर्ने थिएन कि ?

राजावादीहरुले ‘राजसंस्था’ फर्काउँछु भन्दै राप्रपा नामको पार्टी बनाउँदै आएका छन् । देशमा राजावादी र हिन्दुवादी जनमत पनि नभएको होइन । तर, अहिलकति ठूलो हुन नपाई राप्रपा फुटिहाल्छ । किनभने, पार्टी भएपछि नेपालमा हुने यस्तै हो । सबैलाई एकतावद्ध हुनुछैन, नेता मात्र हुनुछ ।

भीम रावलले पनि वैकल्पिक राजनीतिक शक्तिका नाममा अर्को पार्टी गठन गर्ने हो भने माधव नेपालको एकीकृत समाजवादीलाई हेरे हुन्छ । समाजवादीमै गए पनि हुन्छ । किनभने पार्टीमात्रै बनाएर हुन्थ्यो भने देशमा मोहन वैद्यको पनि पार्टी छ । मोहनविक्रम सिंह, चित्रबहादुर केसी, नारायणमान विजुक्छे र आहुतीका पनि वामपन्थी, प्रगतिशील देशभक्त पार्टीहरु छन् । त्यसैमा अर्को एकथान थपेर जनतालाई आकर्षित गर्न कसरी सम्भव होला ? यो निकै नै चुनौतीपूर्ण प्रश्न हो ।

कसैले घोषणा गर्न मात्र बाँकी हो, नेपालमा दलीय संरचनावाद असफलसिद्ध भइसकेको छ । देश नयाँ राजनीतिक शक्ति जन्मने प्रशव वेदनामा छ । यस्तो बेलामा नयाँ दल जन्माउनेहरुले गम्भीर भएर सोच्न र गृहकार्य गर्न आवश्यक छ ।

तर, नेपालमा संरचनावाद मरे पनि लोकप्रियतावाद चाहिँ जीवितै छ । अहिले पनि शासकहरुप्रति जनतामा तीव्र असन्तुष्टि छ । ठूला दलले सरकार चलाउँदा पनि प्रशासनयन्त्रमा विकृति र भ्रष्टाचार घट्नुको साटो झन् बढेको छ । सत्ताधारीहरुले राज्यसंयन्त्रमा चरम राजनीतिकरण गरेका छन् । अर्थतन्त्र उठ्न सकेको छैन । जनतामा निराशा बढिरहेको छ । र, यो स्थितिमा जसले जनताको यो असन्तुष्टिलाई सम्वोधन गर्न या साथ दिन सक्छ, त्यस्तो नेताले शक्ति आर्जन गर्ने सम्भावनाको ढोका ह्वाङ्गै छ।


अघि नै पनि भनियो, नेताप्रति चरम घृणा जागिरहेका बेलामा पनि देशमा केही ‘पपुलर राजनीतिज्ञ’ हरु छन् । जस्तो–बालेन । रवि लामिछाने अहिले थुनामै भएता पनि उनका समेत फलोअर्सहरु प्रशस्त छन् । दुर्गा प्रसाईदेखि लिएर भीम उपाध्यायसम्मका फलोअर्सहरु छन् । तर, वामपन्थी भनिनेहरु चाहिँ कोही पनि लोकप्रिय हुन सकेका छैनन् । वामपन्थी लोकप्रियतावादीहरुको मैदान खाली छ । दक्षिणपन्थी र मध्यमार्गी लोकप्रियतावादीहरुको मैदान पहिल्यै प्याक छ । ठीक यही बेला वामपन्थी पृष्ठभूमिका भीम रावल अभियान लिएर मैदानमा उत्रेका छन् ।

भीम रावलले वामपन्थी लोकप्रियतावादको स्पेस लिने ठाउँ खाली देखिन्छ । जस्तो– देशभक्ति, आन्तरिक राष्ट्रवाद, सामाजिक न्याय, निम्नवर्गको हित, पिछडिएको जाति समुदायको पहिचानको समर्थन अनि संविधानको कार्यान्वयन र रक्षा अनि आधारभूत तहका जनताका मुद्दाहरुलाई मुखरित ढंगबाट उठाउने हो भने यो राजनीतिक मैदान पूर्णतः खाली छ ।

गणतन्त्र, संघीयता र समावेशिता मन नपराउने, जनजाति र मधेसी समुदायलाई कर्नरमा पार्न खोज्ने, धर्म निरपेक्षताको विरोध गर्ने, अनि राष्ट्रवादका नाममा नश्लवादको वकालत गर्नेखालको दक्षिणपन्थी वैश्विक लोकप्रियतावाद नेपालमा पनि पन्पनाउन खोजिरहेको छ । त्यस्तोखालको दक्षिणपन्थी लोकप्रियतावादसँग सम्बन्धविच्छेद गरेर भीम रावलले वामपन्थी लोकप्रिय अभियानको नेतृत्व गर्न सक्लान् ? यो हेर्न लायक विषय हुनेछ ।

पुस १७ गते उनले वितरण गरेको प्रतिवेदनमा उल्लेखित ‘अबको बाटो’ मा रावलले देशका सबै शक्तिलाई समेट्न र सम्वोधन गर्न खोजेको देखिन्छ । यो लोकप्रियतावादकै लक्षण हो । बराह क्षेत्रको भाषणमा उनी हल्का दायाँतर्फ ढल्केजस्तो देखिए पनि ‘नेपाल सबैको साझा हो’ भन्दै उनले जनजाति, मधेसी सबैको नाम लिएका छन् । यसले पनि उनी लोकप्रियतावादको ‘लिक’ भित्रै छन् भन्ने देखाउँछ ।

रावलले विश्वका कतिपय देशका ‘वाम लोकप्रियतावादी’ नेताहरुबाट सिक्दै नेपालमा पनि वाम लोकप्रियतावादको खाली ठाउँ भर्ने प्रयास गरे भने ठूला पार्टीहरुका लागि उनी चुनौती बन्न सक्छन् । तर, उनले यसका लागि मिटर ब्याज, लुघवित्त, सहकारी, बैंक जस्ता वित्तीय पुँजीवादबाट पीडित भुइँतहका जनताको मुद्दालाई बोक्नैपर्छे हुन्छ । यो मुद्दा माओवादीले बोक्नेवाला छैन, किनभने प्रचण्ड रविलाई पीडित देख्छन् र वक्तव्य निकाल्छन्, सहकारी पीडितको पक्षमा बोल्दैनन् ।

भीम रावलका लागि राजनीतिक स्पेस कहाँनेर पनि देखिन्छ भने अहिले राजावादीहरुको ‘दक्षिणपन्थी लोकप्रियतावाद’ले उपयुक्त नेता नपाएको अवस्था छ । रास्वपाजस्तो ‘मध्यमार्गी लोकप्रियतावादी’ शक्ति पनि ‘संरचनावाद’ र ‘सहकारी प्रकरण’को फन्दामा फसेको अवस्था छ । ‘वाम लोकप्रियतावाद’का लागि मैदान खाली छ ।

यी प्रश्नको जवाफचाहिँ स्वयं भीम रावललाई नै थाहा होला– उनी अब दायाँ ढल्कन्छन् या वायाँ ? अब उनी पार्टी बनाएर ‘संरचनावाद’मै फस्छन् या अभियान चलाएर ‘वाम वि‌ङ’वाला राजनीतिक शक्ति आर्जन गर्ने बाटोमा लाग्छन् ?

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ०० बजे

कम्युनिष्ट आन्दोलन कमजोर हुँदा राजनीतिमा समस्या : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट

वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना

काठमाडौं – नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट

नक्कली प्रमाणपत्र पुष्टि भएका काठमाडौंका सीडीओ आचार्य गृहमा तानिए

काठमाडौं – नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको

सरकारले कुलमानलाई सोधेको स्पष्टीकरणमा के छ ?

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई