भगवानमाथि प्रश्न ! स्वर्गद्वारीदेखि पाथीभरासम्म | Khabarhub Khabarhub

माइतीघरमा आदिवासी

भगवानमाथि प्रश्न ! स्वर्गद्वारीदेखि पाथीभरासम्म

राज्यसँग दाङका थारु र ताप्लेजुङका लिम्बु समुदायको गुनासो



काठमाडौं– पीडितका लागि न्याय माग्ने ‘राम शाहको चौतारो’ जस्तै बन्न पुगेको काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शनकारीले बोकेका प्लेकार्डहरुमा ‘देवता’लाई समेत ‘मेन्सन’ गरेको पाइयो ।

पीडितहरुले बोकेको प्लेकार्डमा लेखिएको थियो– गरीबको पसीनामा देवता रमाउँछन् ?

उता, पूर्वेली महिलाले बोकेको प्लेकार्डमा लेखिएको थियो– मुन्धुमी धार्मिकस्थलको अतिक्रमण बन्द गर् ।

एकातर्फ पाथीभरा–मुक्कुम्लुङमा मुन्धुमी धार्मिकस्थलमा अतिक्रमण गरिएको भन्दै पूर्वका आदिवासीले माइतीघरमा प्रदर्शन गरे । अर्कोतिर देवताका नाममा आफूहरुलाई भूमिबाट बेदखल गरिएको भन्दै दाङका आदिवासीले यही ठाउँमा आइतबार र सोमबार प्रदर्शन गरे ।

पूर्वको पाथीभरा र मध्यपश्चिमको स्वर्गद्वारी, दुबै प्रशिद्ध तीर्थस्थलमा अहिले असन्तुष्टि र तनाव छ भन्ने प्रमाण माइतीघरमा एकमुष्टरुपमा देखिएको हो ।

पाथीभराको विवादको विषय त राष्ट्रिय मिडियामा धेरै पहिलेदेखि नै चर्चामा आएकै छ । त्यहाँ सरकारले गोली चलाएर प्रदर्शनकारीलाई घाइते बनाएको दुःख घटना पनि भइसकेको छ । सरकार र आन्दोलनकारी दुबैतिरबाट वार्ता टोलीहरुको बनेको पनि चर्चा छ । तर, प्युठानको स्वार्गदारी धार्मिक स्थलका नाममा दाङमा रहेको १०५० बिघा जमिनको मुद्दा भने राष्ट्रिय मिडियामा खासै चर्चामा आउन सकेको छैन ।

खबरहबकर्मीले सोमबार दिउँसो माइतीघर पुगेर पूर्व र पश्चिम दुबै ठाउँमा प्रदर्शनकारीसँग कुरा गरेर रिपोर्ट तयार पारेको छ । सबैभन्दा पहिले दाङको थारु समुदाय किन ‘देवता’सँग रिसाए ? यसको चर्चा गरौं ।

‘न्यायको खोजीमा स्वर्गद्वारी गुठीका मोही किसानको हार्दिक अपिल’ शीर्षकमा माइतीघरमा एउटा पर्चा भेटियो, जसमा यस्तो लेखिएको थियो–

लामो समय, विशेषतः ०४५ सालदेखि जिल्ला केन्द्रित आन्दोलन गर्दा पनि हाम्रो न्यायपूर्ण मागको सुनुवाइ नभएकाले हामी स्वर्गद्वारी गुठीका मोही किसानहरू ०८१ माघ २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छौं ।

हाम्रो मुख्य माग–स्वर्गद्वारी गुठीको जग्गा मोही किसानका नाममा रैतानी गर्ने गरी गुठी ऐन जारी गर्नुपर्छ भन्ने हो ।

स्वर्गद्वारी गुठीका मोही दाङ जिल्लामा १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिव १६ हजार जनसंख्या बसोबास छ । कुल १ हजार ५० विघा जमिन गुठी अन्तर्गत छ ।

किसानले खेतीपाती गर्दै बसोबाससमेत गर्दै आएको पुस्तौं बित्यो । उक्त जग्गा हाम्रै बाजे, जिजुबाजेले खेतीयोग्य बनाएका हुन् । स्वामित्व भने स्वर्गद्वारी गुठीका नाममा छ । हामीसँग मोहीयानी पूर्जा छ । त्यो पनि ०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको छ ।

नेपालको संविधान ०७२ को दफा २९० मा गुठीसम्बन्धी व्यवस्थामा भनिएको छ, गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीको अधिकारको सम्बन्धमा संघीय संसदले आवश्यक कानुन बनाउने छ ।

नेपालको संविधानको धारा ५१, को उपधारा ‘ङ’ मा कृषि र भूमि सुधारसम्बन्धी नीतिगत व्यवस्थामा भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्ने, किसानलाई प्राथामिकता दिएर भूमि सुधार गर्नेमा जोड दिएको छ ।

अनुपस्थित भूस्वामित्वलाई निरुत्साहित गर्ने, किसानको हकहित संरक्षण गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउने विषय पनि उल्लेख छ । यी व्यवस्थाले गुठी जमिन जोतभोग गरेका किसानलाई जमिनको स्वामित्व दिने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई निर्देशित गरेको छ ।

तर, जग्गा जोतखन, स्याहार, संरक्षण र माया गर्ने हामी किसान स्वामित्व नपाउँदा सारै अन्यायमा परेका छौं । हामीले जोतखन गर्दै आएको जग्गाको स्वामित्व माग गर्दा नदिएपछि बाध्य भएर राज्यको ध्यानकर्षण गराउनका लागि काठमाडौं केन्द्रित आन्दोलनमा छौँ ।

गत वर्ष ०८० फागुन ७ देखि १ महिना लामो आन्दोलन दाङमै गर्‍यौँ । सरकारसँग दुईबुँदे सम्झौता भयो । एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन गरिएन ।

यसबीचमा फेरि पनि हामीले पटक–पटक उच्च राजनीतिक शीर्ष नेतृत्व, प्रधानमन्त्री, भूमि व्यवस्था मन्त्री, सरकारका अन्य मन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, सांसद र सम्बन्धित सरोकारवालाहरू सबैलाई भेटेर गुनासो सुनायौँ । तर बाचा पूरा भएन ।

अतः हामी निम्न माग राखी यो काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका छौं । यो आन्दोलनमा सहयोग एवं ऐक्यवद्धताका लागि न्यायप्रेमी सबैमा हार्दिक अपिल गर्दछौँ ।

प्रमुख मागहरू

१. मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गरियोस् ।

२. विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निस्काशित मोहीको हक पुनस्र्थापित गरियोस् ।

३. किसानले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरियोस् ।

स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति दाङ

सम्पर्क :

प्रभु चौधरी, अध्यक्ष–९८६९९८३६८३

भरत गिरी, सचिव ९८४७८४६१०३

प्रविण दहित–सहसचिव एवं प्रवक्ता, ९८४९८०३३३०

अब माइतीघरमा भेटिएका स्वर्गद्वाराका केही मोहीहरुको दुखेसो उनीहरुकै शब्दमा–

दुःख बिसाउन दोस्रोपटक काठमाडौं आएकी हुँ

वसन्ती चौधरी (४३)

म निरक्षर गृहिणी हुँ । आफूले पढ्न नपाए पनि आफ्ना दुई सन्तानले धेरै पढुन् भन्ने चाहना छ । श्रीमान् र म दुवै कृषक हौं । हाम्रा १५ वर्षका छोरा र १९ वर्षकी छोरी छन् । उनीहरुको भविष्यका लागि आफ्नो जग्गामात्र कमाएर नपुग्ने भएपछि अरुको जग्गामा अधियाँसमेत कमाउँदै आएका छौं ।

बाजेका पालादेखि खेती गर्दै आएको जमिनमा कुनै हक अधिकार छैन । अंश लगाउँदै–लगाउँदै हाम्रो भागमा चार कठ्ठामात्र परेको छ । तर, त्यो पनि लालपूर्जाविहीन हुँदा कठिनाइ भएको छ । त्यही जग्गा लथालिङ हुन्छ कि भनेर आन्दोलनमा आएकी हुँ । लालपूर्जा पाउन सके सन्तानलाई राम्रो होला भनेर काठमाडौं आएको हो ।

मन्दिरको हो भने पहिले मोहीको प्रमाणपत्र किन दिएको त ? त्यो पनि नदिएको भए हुन्थ्यो । त्यो जग्गा तिमीहरुकै हो भनेर श्री ५ को सरकारले दिएको हो । नेपाल सरकारले होइन भन्दिन्छ ।

हामी आफ्नो अधिकार लिन आएको हो, कसैको अधिकार खोस्न आएको होइन । काठमाडौँ म दोस्रोपटक आएकी हुँ । पहिले श्रीमान् बिरामी भएर उपचारका लागि आएकी थिएँ । अहिले हक माग्न आएकी हुँ । दुईपटक नै दुःख परेर आउनुपर्‍यो । कस्तो रहेछ यो काठमाडौँ, दुःख बिसाउन आउनुपर्ने ।

ज्युँदै छँदै छोराबुहारीलाई लालपूर्जा दिन पाए हुन्थ्यो

– बासुराम चौधरी (७१)

मेरा दुई छोरा र चार छोरी छन् । छोरीहरु विवाहदान गरेर घर गइसके । श्रीमती र छोराबुहारीका साथमा जीवनको बुढेसकाल बितिरहेको छ । आन्दोलनमा सहभागीमध्ये म करिब जेष्ठ हुँ । घरबाटै चामल र सिन्कीको तरकारी बोकेर आएका छौं । काठमाडौँ धेरै जाडो रहेछ ।

दाङमा बसेर आन्दोलन गर्दागर्दा थाकेर काठमाडौँ आएको हो । देउखोरी, भोटेटार, अड्डा लगायत १२ गाउँका माइतीघरमा आएका छौं । एक्लैले बोलेर हुने कुरा होइन, त्यही भएर एकजुट भएका हौं । सक्नेहरुले खेतीपाती गर्नुपर्‍यो, हलो कसले जोत्छ ? त्यही भएर म बुढो मान्छे आन्दोलनमा आएको हो ।

मेरा बाजेका नाममा १४ विघा जमिन थियो । चार भाइमा अंशवण्डा भयो । त्यसमध्ये १८ कठ्ठा अरुले नै खाइदिए । मैले एक कक्षा पनि पढेको छैन । छोराहरुले पनि पढेनन् । हामी सबै खेतीपातीमै छौं ।

जग्गाको मोहीपूर्जा दिइयो तर लालपूर्जा दिइएन । यही जग्गाका लागि लड्दा लड्दै म आफैं बुढो भएँ । धेरै नेताहरु आए र आश्वासन दिएर गए तर लालपुर्जा दिएनन् ।

नाति नातिना पढाउन दुःख भएको छ । छोराबुहारीले पनि दुःख पाए । जग्गा कमाएको कुत तिर्नुपर्छ । म ज्युँदै छँदै छोराबुहारीलाई लालपूर्जा दिन पाए हुन्थ्यो भन्ने आश छ ।

चिउरा र भुजा खाएर बस्नुपरेको छ

चन्द्री थरुनी (६५)

घरको जिम्मेवारी सम्हाल्न आफैं अग्रसर हुनुपरेको छ । हाम्रा पाँच सन्तान छन् । जग्गाको लालपूर्जा पाए छोरामाथि न्याय हुन्थ्यो भन्ने लागेको छ ।

बाजे, ससुरादेखि बसेको जग्गा हो । त्यतिबेला ६ विगा जग्गा थियो । अंश लगाउँदा लगाउँदै हाम्रो पालासम्म आइपुग्दा सात कठ्ठा छ । छोरो अहिले वैदेशिक रोजगारमा खाडी मुलुकमा छन् । पढाउन सकिएन ।

पुस्तौं पुस्तादेखि खन्दै आएको जमिन पनि आफ्नो भएन । बैंकमा धितो राख्न पाइएन । खानेपानीको धारो राख्दा पनि लालपुर्जा खोज्छ । बिजुली राख्दा लालपूर्जा खोज्छ । जिजुबाजेदेखि लड्दा पनि न्याय छैन ।

गत वर्ष घोराहीमा एक महिना आन्दोलन गर्‍यौं । दुई बुँदे सहमति भएको थियो । तर, कार्यान्वयन भएन । अहिले फेरि आन्दोलन गर्न पर्‍यो ।

यसरी सडकमा आउनु हाम्रो रहर होइन । लालपूर्जा छोराछोरीलाई दिन पाए मर्नेबेला शान्तले सास जाने थियो । अब सरकारले हाम्रो बारेमा केही निर्णय नदिदाँसम्म यहाँबाट उठ्ने छैनौं । चिउरा र भुजा खाएर बस्नुपरेको छ ।

काठमाडौँको नजरले दाङको समस्या बुझिँदैन

प्रवीन दहित, सचिव, स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति

दाङमा आदिमकालदेखि बसोबास गरिरहेका थारुहरुको आन्दोलन हो यो । जोतभोग गरिरहेको तथा बसोबास गरिरहेको जमिनलाई स्वर्गद्वारी गुठीको नाममा कब्जा गरियो ।

प्युठानमा रहेको मन्दिरका नाममा १९८० मा १२ वटा मौजाका जग्गाहरु लगियो र वास्तविक जमिनका मालिकहरुलाई ०२७ सालको नापीले मोही बनायो ।

जसले कहिल्यै माटो देखेको छैन । काउली कसरी फल्छ ? धान कसरी फल्छ ? थाहा छैन । त्यही स्वर्गद्वारी मन्दिरलाई मालिक बनाइयो । त्यहीँदेखि अन्यायको श्रृङ्खला सुरु भएको हो ।

मेरा बुवा अहिले ७४ वर्षको हुनुभयो । उहाँले जोतभोग गरेको जमिन १८ कठ्ठा हो । उक्त जमिन हामी दुई भाइमा भागबण्डा भयो । मेरो भागमा नौ कठ्ठा पर्न आयो ।

काठमाडौँको नजरले दाङको हाम्रो समस्या बुझ्न सकिँदैन । एकपटक उहीँ पुगेर इतिहास पल्टाउनोस् र प्रत्यक्ष हेर्नुस् । १९५२ सालमा स्थापना भएको स्वर्गद्वारी गुठी पहिले आएको हो ? वा हजारौ वर्ष इतिहास बोकेका थारु भूमिपुत्रहरु त्यहाँ आएका हुन् ? हाम्रा सात पुस्ताले त्यही जमिन जोतेर खाए ।

हामीले कृषिकर्म बाहेक अरु केही गर्दैनौं । हाम्रो पुस्ताले त कृषि नै गरिरहेको छ । बाजे, जिजुबाजेसँग झनै कृषिबाहेक विकल्प नभएको समय थियो ।

हामीमाथि नबुझी आरोप लगाउन पाइँदैन । हाम्रै जग्गा खोसेर जग्गाको वास्तविक मालिकहरुलाई मोही बनाइएको छ । हामीले भन्दा पहिले नै आएर स्वर्गद्वारीले उर्वर बनाएको थियो र उक्त जमिन ? उसले बनाएको उर्वर भूमि कब्जा गरेको हो र हामीले ? त्यसो होइन । हामीलाई घरसहित स्वर्गद्वारीको रैती बनाइयो । बधुँवा मजदुर बनाइयो ।

काठमाडौँको नजरले गुठी भन्ने बित्तिकै सरकारको जग्गा देख्छ । यहाँ दलालहरुले गुठीको जग्गा हडपेका छन् । व्यवसाय गरेका छन् । बेचेर नाफा आर्जन गरेका छन् । हामीलाई पनि त्यही सोचिरहेका छन् । तर, हामी भूमाफिया होइनौं ।

म यहाँ आन्दोलनमा आएको छु । खेतबारीमा पानी लगाउन पाएको छैन । बारीमा अहिले चना लगाएको छ । बुवाले पानी लगाउन सक्नुहुन्न । एक हप्ता नहेर्ने हो भने जमिन सुक्छ ।

हामीले सिँचाइ नगरेको भए त्यो जमिन रहन्थ्यो ? श्रम र पसिना बगाउन प्रमाणित गर्न नपर्ने तर जमिनको स्वामित्व माग्दा राज्यलाई प्रमाणित गर्नुपर्ने ?

पाथीभराको गुनासो
स्वर्गद्वारीको कुरा सुनिसकेपछि अब पाथीभरामा केबलकार बनाउन पाइँदैन भन्दै माइतीघरमा प्रदर्शनमा उत्रेका पूर्वेलीहरुको कुरा सुनौं–

केबलकार निर्माण योजना खारेज गर, ताप्लेजुङका असक्षम सिडियो बर्खास्त गर । गृहमन्त्री राजीनामा देऊ जस्ता नारासहित आदिवासी जनजातिले सोमबार माइतीघरमा प्रदर्शन गरे ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर उनीहरु आन्दोलनमा छन् । आन्दोलनका क्रममा माघ १२ गते चार जना गम्भीर घाइते हुने गरी भएको झडपलाई लिएर सोमबार माइतीघर मण्डलामा प्रतीकात्मक नाटकसमेत प्रदर्शन गरिएको थियो ।

केबलकार राखेपछि पाथिभराको अस्तित्व समाप्त हुन्छ

नितु नेम्बाङ

हामी पाथीभरामा ‘नो केबलकार’ भनेर आएका हौं । अस्ति उक्त स्थानमा हाम्रा स्थानीय तीन दाजुभाइमाथि जुन आक्रमण भयो, त्यो निन्दनीय छ भनेर खबरदारी पनि गर्न काठमाडौँमा आएका हौं । ताप्लेजुङबाट हाम्रो आवाज सिंहदबारले सुन्दैन कि भनेर माइतीघर मण्डलामा आएका छौं ।

हाम्रो धार्मिकस्थलको महत्व मास्न पाइँदैन । केदारनाथ मन्दिरमा आज पनि तीर्थालु हिँडेरै जान्छन् । नसक्नेहरु घोडा चढ्छन् अथवा भरिया लगाउँछन् । के त्यहाँ भारतले केबरकार राख्न नसकेर हो ? होइन नि । धार्मिकस्थलको महत्व र आस्था हुन्छ । हाम्रो आस्थाले पाथिभरा माताको दर्शन हिँडेरै जानु भन्ने हो ।

त्यो क्षेत्रमा हामी कुनै पनि हातलमा केबलकार बन्न दिन्नौं । एक दिन्नौं, दुई दिन्नौं, तीन दिन्नौं । आफ्नो सम्पदा जोगाउन नसक्दासम्म हामी आन्दोलनमा हुनेछौं ।

यस आन्दोलनलाई राज्यले ख्याल–ख्याल नसोचोस् । हामी हाम्रो धरहराको संरक्षणका लागि मर्न पनि तयार छौं । शरीरमा एक थोपा रगत रहेसम्म हामीले त्यहाँ केबलकार बन्न दिनेछैनौं ।

केबलकार राखेपछि पाथिभराको अस्तित्व समाप्त हुन्छ । धार्मिकस्थल र पर्यटकीयस्थल फरक कुरा हुन् । जुनसुकै स्थललाई पर्यटकको दृष्टिले हेर्न मिल्दैन ।
धार्मिक पर्यटक एक आस्था बोकेर आएको हुन्छ, त्यो परिवर्तन नगरांै भन्ने हाम्रो माग हो । त्यसकारण आइपरेका कुनै पनि संघर्ष गर्न हामी तयार छौं ।

सरकारको लाठी प्रहार र गोलीसँग डर छैन । हामी ज्यान दिन तयार छौं तर पाथीभरामा कसैले केबलकार बनाउने सपना नदेख्दा हुन्छ ।

आन्दोलन सामसुम हुन्छ भनेर कसैले नसोचे हुन्छ

वीरेन्द्र पालुङवा

हामीलाई विकासविरोधी भन्ने आरोप लगाएर कोही उम्किन पाउँदैन । विकासको नाम दिएर विनास गर्न लागिपरेका छन् ।आस्थाको धरोहर अथवा केन्द्रमाथि प्रहार गरेर विकासको नाम दिने ? विकास के हो ? हामीले बुझेको छैन ? भ्रष्टाचारी र दलालीहरुको डिजाइन हो यो । दलाली पोस्ने कामलाई विकास भन्ने ? चन्द्र ढकाल भनेको देखिएको पात्र मात्रै हुन् । अरु दलाली सुसुप्तरुपमा छन् । ती सबै मिलेर आफ्नो पेट भर्नका लागि विभिन्न बहानाबाजी गरिएको छ ।

सोझा जनतालाई विकासको नाम दिएर आफ्नो स्वार्थसिद्धिमा लागेका छन् । त्यहाँको धार्मिकता, विविधता, संस्कृति र प्रकृति विनास गर्ने योजनामा छन् ।

राज्य नै दलाल भएर निस्क्यो । अब जति राज्यले दबाउन खोज्यो, हाम्रो आन्दोलन उति नै उत्कर्षमा पुग्छ । भलिबललाई जति दबायो, त्यतिमाथि उफ्रिन्छ ।

यो आन्दोलन केही दिनमा सामसुम हुन्छ भनेर कसैले कल्पना नगरे हुन्छ । सबैजना ज्यान दिन तयार भएरै आन्दोलनमा होमिएका छौं ।

विकासका नाममा आदिम अस्तित्व मेटाउने प्रयास भयो

विराज लिम्बू

मानव आवश्यकतासँग विकास जोडिएको हुनुपर्छ । संसारको मानव विकास र अधिकारको कुरा गरौं । आदिम जातिहरुले आफ्नो अस्तित्व वा पहिचान खोज्नु स्वाभाविक हो । अहिले राज्यसत्ताले त्यसको अतिक्रमण गरेको छ । यसलाई जातीयताको विल्ला भिराएर विकासको नाममा आदिमहरुको अस्तित्व मेटाउने प्रयास गरिएको छ ।

मुन्धुमिक पुरातात्वविक स्थलमा केबलकार झ्ण्ड्याउन भनेको अतिक्रमण हो । यो सरकारले जायज काम गरिरहेको छैन ।

विकासका धेरै आयामहरु हुन्छन् । विकास कहाँ गर्ने ? कुन ठाउँमा गर्ने ? केबलकार झ्ण्ड्याउने, सडक बनाउने मात्रै विकास होइन । विकासले मानवको जीवनस्तर पनि बढाउन सक्नुपर्छ । विकास गर्दा मानवको आर्थिक पक्षलाई हेर्नुपर्ने हुन्छ ।

उदाहरणका लागि- मेची राजमार्गबाट उकालो चढेर ताप्लेजुङसम्म पुग्न सकिन्छ । त्यही राजमार्गमा गाडी गुडिरहेको छ । तर, त्यही सडकसँग जोडिएको घर बेबारिसे बनेको छ ।

मुन्धुम भनेको मानवसृष्टिसँग जोडिएको चिज हो । तर, हामीले मान्दै आएको आस्था विनास हुँदै छ । मुक्कुम्लुङसँग साढे दुईकिलोमिटर माथि चढ्दाका होटल र भारी बोक्नेहरुको काम खोसिँदैछ । अर्थात् ताप्लेजुङको आयआर्जन खोस्ने प्रयास हुँदैछ ।

चिनियाँ नेता माओले भन्थे, जनता भनेका भगवान् हुन् । तर, देशका यी भगवानहरु रिसाए भने शान्ति र विकास कसरी होला ? यो प्रश्नको जवाफ दिने जिम्मेवार निकाय भने सरकार वा राज्य नै हो ।

यो पनि-

पाथीभरा केबलकार विवादः वार्ता सकारात्मक

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १२ : ४६ बजे

होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौं – होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते

भक्तपुर – भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका

मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा

झापा – चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप

नेपाल युगाण्डासँग पनि पराजित, सकियो फाइनलको सम्भावना

काठमाडौं – नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको