जोगिएला सेमुक्तु मुक्तुफोमाङको याक्थुङ मुन्धुमीस्थल ? | Khabarhub Khabarhub

पाथीभरामा केबलकार

जोगिएला सेमुक्तु मुक्तुफोमाङको याक्थुङ मुन्धुमीस्थल ?



सुनसरी – ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको सिमानामा ३७९४ मिटर अग्लो एउटा डाँडो छ । त्यो डाँडोलाई अचेल पाथीभरा डाँडा वा पाथीभरा देवीस्थल भनिन्छ ।

उक्त डाँडोलाई पाथीभरा शब्दले सम्बोधन हुन थालेकोलामो समय भएको छैन । मुन्धुमविद अर्जुनबाबु माबुहाङका अनुसार वि.सं. १९९३को ताप्पेथोकका जयकर्ण पतङवाले र लिङखिमका लिङखिम लिम्बूहरूको किपट जग्गाको फैसलाकागजमा मुक्तिबुङ पहाडलाई पहिलोचोटि पाथीभरालेखेका छन् ।

त्यसअघि वि.सं. १८४८ मा हाल फावाखोला ताप्लेजुङका इजम लिम्बूका पुर्खा युक्ताम्बोलगायतकाहरूको किपटलाई भाजु भानु नेवारले थैली हालेको सम्बन्धीकागजमा वर्तमान पाथीभरा याङवरक, सिरिजङ्गा गाउँपालिकाका केसापलुङ, मुक्तिबुङ, थलङ्वा, लिनुवा, याफेवा, माङसेक्रा, साङबाङ्गो जस्ता ठाउँँहरू परेका छन् । अर्थात्, योकागजमा पनि पाथीभरा पहाडलाई मुक्तिबुङ भनिएको छ । वि.सं. १९९३को ताप्पेथोकका जयकर्ण पतङवाले र लिङखिमका लिङखिम लिम्बूहरूको किपट जग्गाको फैसलाकागजमा मुक्तिबुङ पाहाडलाई पहिलोचोटि पाथीभरालेखिएको छ । (कङ्क्रिटले भत्काउँदै मुन्धुमी आस्था, अर्जुनबाबु माबुहाङ, खबरहब)

पञ्चायतको मध्यदेखि त्यो डाँडोलाई अलिक बढी मात्रामा पाथीभरा भन्न थालियो । उक्त डाँडाको वास्तविक नाम चाहिँ सेमुक्तु मुक्तुफोमाङ हो, जो प्रकृतिपूजक किरातीहरूले दिएका हुन् ।

सिरीजङ्गाले अग्ला अग्ला पहाडको नामलेख्दा कुम्भकर्ण हिमाललाई फक्ताङ्लुङका मुक्तिफोमाङलेखे । अहिले चलनचल्तीमा पाथीभरा नाम रहेको पहाडलाई मुक्तिफोमाङ नाम दिए ।

‘सेमुक्तु मुक्तुफोमाङ’ शब्दको सही अनुवाद हुन सकेको छैन, तर भावानुवाद भने गरिएको छ । अर्थात्, ‘शक्ति भएको पवित्रस्थल’ भन्न सकिन्छ ।

यो पहाडको नाम ‘सेमुक्तु मुक्तुफोमाङ’ हुँदाहुँदै अबलाई लिम्बू भाषाकै अरू–अरू शब्दमा उच्चारित हुन थालेको छ । कसैले ‘सेमुक्तिकोक्मा’ हो भन्छन्, कसैले ‘मुक्कुम्लुङ’ भन्छन् कसैले ‘सेमुक्ति मुक्तिकोग’ भन्न थालेका छन् । विद्वान लिम्बू समुदायमा यो पहाडको नामलाई लिएर आ–आफ्नै तर्क र बुझाइ छ ।

यद्यपि, अहिलेको पाथीभराको प्राचीन नाम ‘सेमुक्तु मुक्तुफोमाङ’ नै हो भन्ने यथार्थ याक्थुङ मुन्धुमको अध्ययन गरेपछि मात्र थाहा हुन्छ ।

इम्बिरी याङ्धाङ्वा (तमोर) रकाङ्वा (काबेली) आसपास प्राचीन समयमा याक्थुङ लिम्बूका पुर्खाहरू सावा येत्हाङ/येहाङहरूले याक्थुङ सभ्यताको निर्माण गर्दै गर्दा आफ्नो जीवनशैली, दर्शन र अनुभवलाई उतार्न मुन्धुम (निर्देशक सिद्धान्त) तय गर्दा प्रकृतिपूजक याक्थुङ लिम्बू समुदायले अरूअरू डाँडाको नाम राख्दै ‘सेमुक्तु मुक्तुफोमाङ’ भनेर राखे ।

उक्त डाँडालाई पवित्रस्थल भएको र याक्थुङ मुन्धुमअुनसार पूजा अनुष्ठान गर्दा अनिवार्य चाहिने मुक्तो (वनस्पति) पाइने उर्बर ठाउँको रूपमा मात्र वर्णन गरेनन्, एकराते वा तीनराते तङ्सिङ तक्मा गर्दा अनिवार्य सम्बोधन गरिने शक्तिको स्रोतको रूपमा व्याख्या गरे ।

याक्थुङ लिम्बूको मुन्धुमले सेमुक्तु मुक्तुफोमाङ डाँडालाई सिद्धिको स्थल भनेर वर्णन गरेको छ । मुन्धुमका अनेक पटाक्षेपमा सेमुक्तु मुक्तुफोमाङ डाँडालाई सम्बोधन गरिएको छ । कुनै पनि याक्थुङ लिम्बूले नाहेन अर्थात् आँखीडाहीबाट मुक्त हुन गर्ने अनुष्ठान होस् वा युमाङको अनुष्ठानमा सेमुक्तु मुक्तुफोमाङलाई सम्बोधन गरेर शक्ति र वरदान मागिन्छ । हजारौं वर्ष पहिले उक्त डाँडालाई याक्थुङ लिम्बूका पुर्खा सावा येत्हाङ/येहाङका सन्ततीहरूले आवाद गरेको मुन्धुमको वर्णनबाट थाहा हुन्छ ।

याक्थुङ मुन्धुमको निर्माणकाल कहिले हो त ? यसको सही जवाफ छैन । मुन्धुममा वर्णन गरिएका पात्र, ती पात्रले भोगेका सुखदुःखका घटना, बाँच्नलाई गरेका सङ्घर्षका कथा, उनीहरूले चर्चेका स्थान, प्रयोग गरेका हतियार आदिलाई आधार बनाएर भन्ने हो भने नवपाषाणकाल (नियोलिथिक एज)को अन्तिम र कृषि युगको सुरुवाती समयको ऐतिहासिक–सामाजिक इतिहासको वर्णन मान्न सकिन्छ ।

मुन्धुममा ती प्राचीन समयका सावा येत्हाङ/येहाङका सन्ततीहरूले प्रकृतिलाई जस्तो देखे – त्यस्तै वर्णन गरिएको छ । प्रकृतिबाट जे लाभ प्राप्त गरे, प्रकृतिमा बाँच्ने क्रममा जे दुःख भोगे – त्यही अनुभवको सँगालोलाई मुन्धुम अर्थात् आफ्नो जीवन दर्शन बनाए ।

हो, उनीहरूले प्राचीन समयमा सँगालेको त्यही अनुभवको एउटा महत्वपूर्ण पाटो हो – सेमुक्तु मुक्तुफोमाङ ! जुन डाँडासँग याक्थुङ लिम्बू समुदायको पुर्खाको अलिखित इतिहास जोडिएको छ । यही डाँडोसँग याक्थुङ सभ्यता, संस्कृति र संस्कार निर्माणको इतिहास जोडिएको छ ।

अर्थात्’ पहिचानभन्दा अझै शालीन र सशक्त रूपमा आफ्नै धरातलको इतिहास जोडिएको छ । पहिचान अहिले राजनीतिक शब्दमा सीमित छ । पहिचान अनेक हुन्छ । तर, धरातल एउटै हुन्छ । शायद यही धरातललाई रूट अर्थात् जरा भन्न सकिन्छ । त्यो डाँडालाई पाथीभरा देवी भनियो भने याक्थुङ लिम्बूको धरातल अर्थात जरा हिन्दू धर्म दर्शनसँग मेल नखाने भएकाले सेमुक्तु मुक्तुफोमाङ नै भन्नुपर्ने हुन्छ ।

‘पाथीभरा देवी’ भन्ने शब्द सुन्दा यो पङ्क्तिकारलाई हिन्दी सिनेमा ‘सन्तोषी माँ’ को याद आउँछ । सन् १९७५ मा आर प्रियदर्शीको लेखन र पटकथालाई विजय शर्माले निर्देशन गरेर जब हलमा चलाए – त्यसपछि हिन्दूको कुनै वेद, उपनिषद् र पुराण इत्यादिमा उल्लेख नै नभएको नयाँ देवीको सृजना भयो । अर्थात् प्रियदर्शी र शर्माले भारतीय हिन्दू समाजमा एउटा अर्को नयाँ र शक्तिशाली देवीको आविष्कार गरी दुनियाँलाई ब्रत बस्न लगाएर पूजा अर्चना गर्न बाध्य पारे ।

सिनेमामा सी.अजुर्ननको सङ्गीतमा उषा मंगेस्कर, मन्ना डे जस्ता हस्तीहरूको सुरिलो स्वरले भरिएको भजनले सारा महिलाको मन पगालिदियो । सिनेमाको शक्तिलाई दुरुपयोग गर्दा सर्वसाधारणलाई कति पङ्गु बनाउन सकिन्छ भन्ने यो बलियो उदाहरण बनेको छ ।

पाथीभरा देवी भन्ने शब्द र पात्र न याक्थुङ मुन्धुममा उल्लेख छ, न त हिन्दूको कुनै वेद, उपनिषद् र पुराणमै छ । यो शब्द र देवी पनि सिनेकर्मीहरूले सृजना गरेको ‘सन्तोषी माँ’ जस्तै हो ।

आवश्यकता : केबलकार होइन, मुन्धुमी स्थल संरक्षण

राज्यले चिनेको पाथीभरा डाँडामा धार्मिक तीर्थयात्रीलाई सहज बनाउन भन्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले फुङ्लिङ नगरपालिका–१०, काफ्लेपाटीदेखि डाँडा (मन्दिर) सम्म २.७ किलोमिटर लामो केबलकार सञ्चालनका लागि पूर्वाधार निर्माण गरिरहँदा विवादित भएको छ ।

राष्ट्रिय बहसकै विषय बनेको यो केबलकार विवाद चर्किंदै जाँदा चारजनामाथि प्रहरीबाट गोली प्रहार भएको छ । यसबीच आ–आफ्नो स्वार्थअनुसार राजनीतिक दल, संघसंस्थाहरूले र हिन्दू सङ्गठनहरूले पनि प्रेस विज्ञप्ति जारी गरेर केबलकार निर्माणको विपक्षमा वकालत गरिरहेका छन् ।

सत्ताको बलमा चन्द्र ढकालहरूले भने स्थानीय केही नेता, जनप्रतिनिधि र युवाहरूलाई साथमा लिएर केबलकार सञ्चालन गरेरै छाड्ने अड्डी लिएका छन् । निजी कम्पनीको लगानीमा बन्न लागेको केबलकार पूर्वाधारको विरोध भइरहँदा सत्तापक्ष भने त्यही कम्पनीको प्रवक्ता बनेर ‘दुईचार जनालाई गोली ठोक्नुपर्छ’ भन्दै प्रचार गरिरहेको छ । (हेर्नुस ऋषि धमलासँगको अन्तर्वार्तामा गुरु भट्टराईको भनाइ ।)

निर्माण कम्पनी र सत्तापक्षले ताप्लेजुङको सेमुक्तु मुक्तुफोमाङ (पाथीभरा) मा केबलकार सञ्चालन गर्नु विकास भएको दाबी गर्दै आएको छ । विकासको मोडलमध्ये यो एउटा हुन सक्छ । याक्थुङ लिम्बू समुदायको मुन्धुमीस्थल जुन आस्था र विश्वासको केन्द्र बनेको छ – त्यसलाई ध्वस्त पारेर विकास र आधुनिकताको नाममा ‘लभर्सपोइन्ट’ र मनोरन्जन स्थल बनाएर पैसा कमाउनु अस्वीकार्य रहेको प्रकृतिपूजकहरूले बताइरहेका छन् ।

चन्द्र ढकालको समूहलाई ताप्लेजुङमा विकास गर्ने उत्कट चाहना नै छ भने गर्ने विकल्प धेरै छन् । याक्थुङ मुन्धुमीस्थलमै विकास गरेर स्थानीय समुदायको हितमा अर्बौं रुपैयाँ लगानी गरेर धार्मिक र पर्यटन प्रवद्र्धन गर्ने चाहना छ भने तमोरको किनारै किनारका डाँडा पाखामा अनेक ऐतिहासिक, प्रागऐतिहासिक स्थलहरू छन्, जुन परिचयविहीन भएर अलपत्र परेका छन् । राज्यले समेत बेवास्तामा परेका धेरै ऐतिहासिक मुन्धुमी स्थलहरू कुनै विकासप्रेमी दाताको पर्खाइमा छन् ।

फक्ताङ्लुङको पालिका क्षेत्रमा पर्ने सोधुङ्गेनलेप्मुहाङ बसेको मुरिङ्ला खारिङ्ला डाँडा, तेत्लारालाहादङ्ना र सुच्छुरु सुहाम्फेवा पहिलो भेट भएर प्रेम साटिएको लालासो तुम्दुम्सो, तेत्लारालाहादङ्ना र सुच्छुरु सुहाम्फेवाले तमोर किनारको च्याप्टो फराकिलो खाट जस्तो ढुङ्गालाई विस्तारा बनाएर आपसमा ‘वाइल्ड सेक्स’ गरेको विश्वास रहेको हल्लिने ढुङ्गा काइलुङधुङ, च्याब्रुङ बनाउँदा गोरुको छाला तन्काएको केघिन्देन, तापेथोक रलेलेप तमोर वारीपारीका युवायुवतीबीच आदिमकालमा प्रेम गाँसिएपनि तमोर तर्न नसकेर हेराहेर गरेको तापेथोक, पाजाइवाले पाँच पाँच जनासँग विवाह गरेपछि वरुप्ली वदङ्नामासँग जिन्दगी सुखमय बनाएकोले लेप, आफ्ना शत्रुलाई तीरले हानेर मार्ने पोमुकेछाङले युद्ध गरेको छिरुवानी, मुजिङ्ना खेयोङ्ना (मयङ्ना)ले आफ्नो छोरा सुसुवेङलालावेङ जन्मेपछि रोगव्याधी, किटपतङ् नलागोस भनेर बेसारको सुकेको पातको विस्तारा बनाएर पालेको सांगुयककोपियक, तेत्लारालाभियङ्माको मृत्युपछि मृत्यु संस्कारको प्रारम्भ भएको चेजिङफुक्को, सुसुवेङलावावेङको चिहान भएको थोक्पुन तेम्बे, मुजिङ खेयङ्ना छोराको मृत्यु पछि रोएर बसेको शसि फुक्कु, उनले देहत्याग गरेको यक्चेयक, याक्थुङ् लिम्बूहरूको आदिम पूर्खा येहाङहरूले पहिलो पटक साक्मुरा वदेम्मा (गालिसराप बगाएको) पवित्र खोला नुवामा आदि अनेक स्थलमा विकास गर्न सकिन्छ । ती ठाउँमा केबलकारमात्रै होइन, अन्य माध्यम प्रयोग गरेर पनि विश्वभरका पर्यटक आकर्षित गर्न सकिन्छ, डलर कमाउन सकिन्छ ।

ती ऐतिहासिक मुन्धुमी स्थलमा सिमेन्ट अर्थात कङ्क्रिट प्रयोग नगरी काठ र ढुङ्गा माटो प्रयोग गरेर पर्यटकीयस्थलसम्म पुग्ने सजिलो बाटो बनाउन सकिन्छ । ताप्लेजुङको फुङ्लिङ्बाट तापेथोक, लेलेप र युखावु पुग्न ३ घण्टा पनि लाग्दैन । त्यहाँ पुग्ने बाटोलाई कालोपत्रे गरिदिए फक्ताङलुङको तमोर किनारमा पाँचतारे होटलको व्यवसाय सुरु कसो नहोला ! सार्वजनिक–निजी–साझेदारी नीति (पिपिपि) मोडलमा यी ऐतिहासिक स्थलको संरक्षण गरेर याक्थुङ मुन्धुमी स्थल झल्किने सुन्दर, मनमोहक र आकर्षक पार्क बनाएमा हेर्न, घुम्न, अध्ययन गर्न दैनिक हजारौं पर्यटक त्यहा पुग्नेछन् र स्थानीय समुदायको आर्थिक उन्नयनमा मद्दत पुग्नेछ । त्यसको बदलामा राज्यलाई अर्बौं रुपैयाँ राजस्व लाभ हुनेछ भने निर्माणकर्ता कम्पनीले पनि प्रत्यक्ष लाभ लिन सक्छ ।

होइन ! विरोधीलाई गोली नै ठोकेर भए पनि केबलकार सञ्चालन गर्छु भनिरहने हो भने ‘कोशी हाइड्याम’ मात्र हुनेछ पाथीभरामा केबलकार पुर्‍याउने सपना !

(लेखकको निजी विचार । सं.)

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  २ : ३९ बजे

वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु

एजेनसी – वेस्ट बैङ्कको चेकपोस्टमा मंगलबार भएको गोलीकाण्डमा दुई इजरायली

‘नैना रेशम’ लिएर आइन् ईश्वरी बराल (भिडियोसहित)

काठमाडौं- गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ

आहारारा पोखरा गोल्डकपमा पुलिसको विजयी सुरुवात

पोखरा- मंगलबारदेखि सुरु भएको २४औं आहारारा पोखरा गोल्डकपमा विभागीय टिम

कांग्रेसमा डिजिटल टिम बनाउन छलफल 

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जाल फेसबुकका नेपाली प्रयोगकर्ता एक करोड

एकीकृत समाजवादी अब नयाँ शक्ति बन्छ : भुसाल

काठमाडौं– नेकपा एमालेबाट ०७९ पुस २९ गते विद्रोह गरेका वौद्धिक