सिमसार संरक्षणले अजिङ्गरको सङ्ख्या बढ्दै « Khabarhub

सिमसार संरक्षणले अजिङ्गरको सङ्ख्या बढ्दै


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सिमसार क्षेत्र संरक्षण हुन थालेपछि कञ्चनपुरमा अजिङ्गरको सङ्ख्या बढ्दै गएको छ । वनभित्र रहेका सिमसार, पोखरी, ताल तलैया, नदी, खोलालगायत संरक्षणमा टेवा पुगेपछि अजिङ्गरको सङ्ख्या बढ्दै गएको हो ।

जिल्लाको बेलौरी र पुनर्वास क्षेत्रमा पछिल्लो पाँच वर्षयतादेखि अजिङ्गर देखिन थालेका हुन् । अन्य क्षेत्रका वन, नदी खोला, तालतलैया नजिकका बस्तीमा पनि अजिङ्गर देखापर्ने गरेको स्थानीय बताउँछन् ।

पाँच वर्षको अवधिमा दुवै क्षेत्रबाट ५६ बढी अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए । उनका अनुसार यस वर्षको साउनयता नौ वटा अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा छाडिएको छ ।

संरक्षणको सूचीमा सूचीकृत अजिङ्गर बेलौरी नगरपालिका १, २, ३, ५ र ७ वडामा अधिक देखापरेका छन् भने पुनर्वास नगरपालिका १, ४, ६ र ११ वडामा बढी देखिएको यादवले बताए ।

उत्तरमा लालझाडी वन क्षेत्र, दक्षिणमा भारतीय दुधवा नेशनल पार्क, पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र भएकाले बेलौरी र पुनर्वासमा बढी अजिङ्गर फेला पर्ने गरेका उनले बताए ।

‘विगतमा अजिङ्गर देखापर्ने बित्तिकै मार्ने गरिन्थ्यो’, उनले भने, ‘हाल वन्यजन्तुको संरक्षण गर्नुपर्छ, ‘इकोसिस्टम’ बचाउनका लागि जिवजन्तुको महत्वपूर्ण योगदान रहन्छ भन्ने कुरा सर्वसाधारणले बुझ्न थालेका छन्, अजिङ्गर देखापर्ने बित्तिकै स्थानीयले खबर गर्छन्, आफैँ पनि सुरक्षित रूपले उद्धार गरी बुझाउने गर्दछन् ।’ उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित बासस्थानमा लगेर छाडिने गरेको उनको भनाइ छ ।

अजिङ्गर संरक्षित वन्यजन्तु भएकाले यसलाई संरक्षण गर्नुपर्छ भनेर प्रचारप्रसार गर्दै आएको यादवले बताए । उनका अनुसार स्थानीय बासिन्दाको कुखुरा फार्म, खेतबारी, आँगन, घरभित्र अजिङ्गर आहाराको खोजीमा आउने गर्दछ ।

खेतका डिलमा पनि अजिङ्गर देखापर्न थालेको भन्दै वन कार्यालयलाई खबर गर्ने गरिएको स्थानीयको भनाइ छ । उद्धार गरिएका अजिङ्गरको लम्बाइ तीन मिटरदेखि पाँच मिटरसम्म रहने वन कार्यालयले जनाएको छ । तौल ३० किलोग्रामदेखि ६० किलोग्रामसम्म रहने गरेको छ ।

सर्पको प्रजातिमध्ये सबैभन्दा ठूलो प्रजातिका रूपमा अजिङ्गर रहेको भन्दै घाइते वन्यजन्तु उद्धार केन्द्र सञ्चालन गरी केन्द्रमार्फत उद्धार गरिँदै आइएको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए ।

‘यो विषालु भने हुँदैन’, उनले भने, ‘यसले मृगका पाठा, बाख्राका पाठा सजिलै निल्न सक्छ, जङ्गली जनावरसँगै, चरा, मुसा, घरपालुवा बाख्रालगायत साना जनावर र कुखुरा खाएको देखेका छौँ, मानिसलाई नोक्सानी पुर्‍याइएको भने पाइएको छैन ।’

अजिङ्गर संरक्षित वन्यजन्तु भएकाले चोरी सिकार गर्न भने नपाइने उनले बताए । अहिलेसम्म जिल्लामा अजिङ्गरको चोरी सिकारी, तस्करी भएको तथ्याङ्क नभएको उनको भनाइ छ ।

विशेषगरी अजिङ्गर घना वनजङ्गल, रुखको ठूलाठूला मुडामा र सुकेको पातमा लुकेर बस्ने गर्दछन् । कहिलेकाहीँ नदी र ठूला पोखरीका आसपासका घाँसे मैदानमा बस्दछन् ।

अजिङ्गरलाई घर, खेतबारीलगायत क्षेत्रमा भेटाएमा स्थानीय बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वन कार्यालयको जिम्मा लगाउने गरिएको छ ।

अजिङ्गरको टाउको फराकिलो हुन्छ । आँखाहरू साना हुन्छन् । आँखाको नानी पहेँलो हुन्छ । यसको शरीर सेतो र छिरविरे रङको हुने गर्दछ । 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : १८ बजे

म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’

काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड