‘न्यूरो सर्जरीप्रतिको गलत बुझाइमा सुधार आएको छ’ | Khabarhub Khabarhub

‘न्यूरो सर्जरीप्रतिको गलत बुझाइमा सुधार आएको छ’


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

क्यान्सर, मिर्गौला, मधुमेह, रक्तचापसँगसँगै न्युरो सम्बन्धी नसर्ने रोगको प्रकोप विश्वभर बढ्दो छ। खानपान तथा जीवनशैलीका कारण बालबालिकादेखि वृद्धवृद्धा सबै उमेर समूहमा न्यूरोसँग सम्बन्धी समस्या देखिने गरेको चिकित्सक बताउँछन्। जति-जति रोग बढ्दै गए, त्यसैअनुसारको प्रविधि भित्रिएसँगै उपचारमा सहजता भएको चिकित्सकको भनाइ छ। नेपालमा न्यूरो सम्बन्धी सर्जरीको अवस्था के छ ? चेतना स्तर कस्तो छ ? नसासम्बन्धी रोगको समस्याबाट बच्न के गर्ने ? यिनै विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल न्यूरो सर्जरी विभाग प्रमुख डा. गोपाल सेढाईंसँग गरिएको कुराकानी :

नेपालमा न्यूरो सम्बन्धी सर्जरीको अवस्था के छ ?
नेप्लिज सोसाइटी अफ न्यूरो सर्जन भन्ने हाम्रो संगठनमा एक सय १६ जना डाक्टर छन् । पहिले पहिले काठमाडौंमा मात्रै धेरै भएजस्तो लागे पनि अहिले सेवा बिस्तार राम्रोसँग भइरहेको छ। पूर्व झापाको विर्तामोडदेखि पश्चिमको धनगढीसम्म न्यूरो सर्जरी सेवा उपलब्ध भइरहेको छ। विभिन्न ठूला तथा जटिल शल्यक्रिया जस्तै तार हालेर गर्ने अप्रेशन लगायतका विधि आत्मसात गर्दै सेवा दिइरहेका छन्।

आफ्नो इच्छाअनुसार बाहिरै जान्छु भन्नु छुट्टै हो। तर उपचार नै नपाएर न्युरो सम्बन्धी रोगको शल्यक्रियाका लागि बाहिर जानुपर्ने अवस्था अहिले छैन। धेरै हदसम्मको उपचार क्षमता हामीसंग छ। यति भन्दै गर्दा छिमेकी मुलुक भारतका सीमावर्ती क्षेत्रबाट नेपालमा सेवा लिन आउने धेरै छन्।

पूर्व झापाको विर्तामोडदेखि पश्चिमको धनगढीसम्म न्यूरो सर्जरी सेवा उपलब्ध भइरहेको छ। विभिन्न ठूला तथा जटिल शल्यक्रिया जस्तै तार हालेर गर्ने अप्रेशन लगायतका विधि आत्मसात गर्दै सेवा दिइरहेका छन्।

न्यूरो सम्बन्धी उपचार हुने विधा धेरै छन्। त्यसैले बिरामीलाई कस्तो समस्या हुँदा कुन चिकित्सक कहाँ जाने भन्ने अन्योल हुने गरेको पाइन्छ। त्यसैले कस्ता बिरामी न्यूरो सर्जनकहाँ आउनुपर्ने हो ?
न्युरो सम्बन्धीका समस्यालाई विभिन्न ४ भागमा विभाजन गरिएको छ। त्यसमध्ये एउटा हो जन्मजात रोग। जन्मजातमा पनि एउटा टाउको ठूलो भएको समस्या देखिन्छ, जसलाई चिकित्सकीय भाषामा हाइड्रोक्याफेलेस भनिन्छ। त्यस्तै अर्को मेरुदण्ड अर्थात् ढाडमा डल्लो पर्ने समस्या हुन्छ। हामी न्यूरोडिफिकल डिसअर्डर भन्छौँ।

त्यस्तै कसैको टाउको सानो हुने समस्या हुन्छ। यस्ता समस्या भएका बिरामी न्यूरो सर्जन कहाँ नै जानुपर्छ। त्यस्तै दोस्रो भनेको ट्युमर भएको बिरामीको अप्रेशन नै गर्नुपर्ने हुन्छ। कसैलाई सानो बायोप्सी गरेर मात्रै निको हुनसक्छ भने कसैलाई ठूलै अप्रेशन गर्नुपर्ने अवस्था आउन सक्छ।

तेस्रो ट्रमा अर्थात् चोटपटक लागेको-चोटपटक लागेको बिरामीहरुको घाउ बढ्न सक्ने, त्यसले दुःख दिएर अवस्था कठिन भई अप्रेशनसम्म गर्नुपर्ने भएको हुनाले शुरुदेखि नै न्यूरो सर्जनले हेर्दा राम्रो हुन्छ। चौथो उमेरका कारण हुने समस्या- उमेरका कारण कसैलाई अल्जाइमर्स अर्थात् बिर्सिने रोग भयो भने न्यूरो मेडिशिनको मान्छेले हेर्छन् भने मेरुदण्ड वा कसैको घाँटीको हड्डी खिइयो भने त्यसको दुईवटा भाग छ।

एउटा क्याटागोरी स्पाइन सर्जन भन्ने हुन्छ भने अर्को न्यूरो सर्जन। हरेक न्यूरो सर्जनले स्पाइन सर्जरी गर्ने तालिम नै पाएको हुने भएकाले त्यस्तो समस्या पनि न्यूरो सर्जनले नै हेर्ने हो। तर सुरुमै न्यूरो सर्जन कहाँ कोही पुग्दैन। ढाड दुखेको अवस्थामा जाँच गर्न गयो भने अप्रेशन नै गर्नुपर्छ भन्देला भन्ने यौटा गलत धारणा हाम्रो समाजमा छ।

सर्जनको काम सर्जरी गर्ने भएपनि कोही बिरामी आउने बित्तिकै काटिहाल्ने त होइन। आवश्यकलाई गर्ने हो। त्यस्ता धेरै बिरामी पहिले न्यूरो फिजिसियनकहाँ जाने भएकाले अप्रेशनमा ढिलो आइपुग्छन्। जसको परिणाम राम्रो हुँदैन। त्यसैले जन्मजात, ट्युमर, टाउकोमा चोटपक, रगतको नसासम्बन्धी र पक्षघातका विरामीहरु जतिसक्दो छिटो न्यूरो सर्जनको सम्पर्कमा पुग्दा उपचार सहज हुन्छ।

हामीले सुरुमै नहेर्ने बिरामी भनेको मिर्गी भएको बिरामी हो। तर ट्यूमरका कारणले मिर्गी भएको छ वा औषधी खाएर पनि निको भएको छैन भने न्यूरो सर्जनले नै हेर्ने हो।

हामीले सुरुमै नहेर्ने बिरामी भनेको मिर्गी भएको बिरामी हो। तर ट्यूमरका कारणले मिर्गी भएको छ वा औषधी खाएर पनि निको भएको छैन भने न्यूरो सर्जनले नै हेर्ने हो। त्यस्तै पार्किन्सन हुँदा हात काँप्ने, कडा हुने भएको छ भने सुरुमा औषधीले निको भएसम्म प्रयास गरिन्छ। निको भएन भने न्यूरो सर्जनले नै हेर्छन्। त्यसैले न्यूरो सर्जरीको क्षेत्र फराकिलो छ।

नेपालमा न्यूरो सर्जरी सम्बन्धी चेतना कस्तो छ ?
न्यूरो सर्जरी एउटा सफल उपचार विधि हो। सर्जरीपछि पनि बिरामी स्वस्थ जीवनयापन गर्नसक्छ भन्ने सम्मको चेतना फैलाउन हामी सफल भएका छौँ। किनकी पहिले पहिले न्यूरो सर्जरी गरेपछि प्यारालाइसिस नै हुन्छ, मान्छे बाँच्दैन भन्ने मान्छेको धारणा थियो। तर पछिल्लो समय विभिन्न प्रविधिको आत्मसात, दक्ष जनशक्ति र बिरामी समयमै अस्पताल आउनसक्ने अवस्था भएकाले न्यूरो सर्जरी सुरक्षित छ भन्ने चेतना फैलिँदै गएको पाइन्छ।

यो हाम्रो क्षेत्रको सफलता पनि हो। एक दुईवटा कुरा जस्तै मेरुदण्डको अप्रेशन गर्दा प्यारालाइसिस भइहाल्छ भन्ने मानसिकता धेरै तरिकाबाट आएको छ। कस्तो भने फिजियो थेरापी गर्दा निको हुन्छ किन अप्रेशन गर्ने भनेर बिरामीलाई अल्झाएको पाइन्छ। अप्रेशनको आवश्यकता भएका बिरामीलाई छिटो न्यूरो सर्जनकोमा पठाइदिन फिजियोथेरापिष्टलाई आग्रह गरिरहेका छौँ। किनभने ढिलो आउँदा परिणाम राम्रो आउँदैन।

पहिले न्यूरो सर्जरी गरेपछि प्यारालाइसिस नै हुन्छ, मान्छे बाँच्दैन भन्ने मान्छेको धारणा थियो। तर पछिल्लो समय विभिन्न प्रविधिको आत्मसात, दक्ष जनशक्ति र बिरामी समयमै अस्पताल आउनसक्ने अवस्था भएकाले न्यूरो सर्जरी सुरक्षित छ भन्ने चेतना फैलिँदै गएको पाइन्छ।

न्यूरो सर्जरीका लागि कुन उमेर समूहमा कस्ता समस्या आउने गरेका छन् ?
जन्मजातै शल्यक्रिया गर्नुपर्ने खालका समस्यामा बालबालिका धेरै हुन्छन् भने चोटपटक लागेर सर्जरी गर्नुपर्नेमा वयस्क हुन्छन्। त्यस्तै पक्षघातको समस्या ४० देखि ६० वर्ष उमेर समूहमा धेरै हुन्छन्। किनकी जति उमेर बढ्दै गयो त्यति नै पक्षघातको सम्भावना बढ्दै जान्छ।

बृद्धावस्थामा पक्षघात हुँदा कतिपयले उपचारमा निरन्तरता दिएका हुँदैनन्। त्यसैले उपचारमा आउने समूह भनेको प्राय युवा तथा वयष्क नै हुन्छ। बालबालिकामा देखिएको ट्युमर, मेरुदण्ड र टाउको फुल्ने समस्या जटिलता थपेको छ।

नसासम्बन्धी समस्या भएको कसरी थाहा पाउने ? लक्षण कस्ता देखिन्छन् ?
न्युरोसँग सम्बन्धित समस्या थाहा पाउन टाउको भित्रको समस्या देखिने कुरा भएन। विभिन्न जाँच तथा परीक्षण आवश्यक हुन्छ। तर केही २–४ कुरा छन्। कसैले छारेरोगको दुई प्रकारका औषधी निरन्तर खाइरहेको छ र त्यसले काम नगरेर फेरि तेस्रो औषधी थप्नुपर्ने अवस्था आएको छ भने न्यूरो सर्जनकहाँ जानैपर्छ।

त्यस्तै मेरुदण्डमा समस्या भएर खुट्टा नै चल्न छाड्यो, गर्दनमा चोटपटक लागेर शरीरको कुनै भाग चल्न छाड्यो भने न्यूरो सर्जनकहाँ जानुपर्ने हुन्छ। त्यस्तै कसैलाई लगातार टाउको दुखिरहेको छ भने फिजिसियनकोमा जाने कि सर्जनकहाँ भन्ने विषयमा धेरैलाई अन्योल हुने गरेको छ।

अहिलेको अवस्था के छ भने नेपालमा न्यूरो फिजिसियन ३५-३६ जना मात्रै छन् भने न्यूरो सर्जन एक सय २० जनाको हाराहारीमा छन्। त्यसैले सकिन्छ भने पहिले न्यूरो फिजिसियनकोमा जाने फिजिसियन छैन भने न्यूरो सर्जनलाई देखाउँदा उचित हुन्छ। न्यूरो फिजिसियनको काम सर्जनले गर्छन्।

एउटा सानो माइक्रोस्कोप किन्नका लागि पाँच करोड पर्छ, ड्रिललाई ६० लाख पर्छ। यसरी सर्जरीलाई सुक्षित बनाउन विभिन्न उपकरणको आवश्यकता पर्ने भएकाले सर्जरी खर्चिलो छ।

न्यूरो सर्जरी एकदमै खर्चिलो हुन्छ भनिन्छ। अहिलेको स्थिति के छ ?
नयाँ नयाँ प्रविधिको प्रयोग जति बढ्दै गयो, उपचार त्यत्ति नै खर्चिलो हुन्छ। न्यूरोको उपचारमा सर्जरीलाई सुरक्षित गराउन उपकरणमा लगानी गर्नुपर्छ। जसको खर्च उपचारमा जोडिन्छ। जस्तै एउटा सानो माइक्रोस्कोप किन्नका लागि पाँच करोड पर्छ, ड्रिललाई ६० लाख पर्छ। यसरी सर्जरीलाई सुक्षित बनाउन विभिन्न उपकरणको आवश्यकता पर्ने भएकाले सर्जरी खर्चिलो छ। न्यूरोका बिरामीलाई आइसीयूको आवश्यकता धेरै हुने भएकाले यो प्रविधिमा धेरै खर्च हुन्छ।

न्यूरो सम्बन्धीकै रोग पक्षघातका बिरामीका लागि भनेर सरकारले यौटा औषधी निःशुल्क गरेको छ। यसले के कस्तो सहयोग गरेको छ ?
गम्भीर रोग भनेर न्युरो सम्बन्धी २ वटा रोगलाई सरकारले प्राथमिकतामा राखेर सहयोग गरिरहेको छ। यौटा पक्षघात र अर्को टाउकोमा लाग्ने सिवियर हेडिङ, जसको लागि सरकारले एक लाख रुपियाँ दिने गरेको छ।

त्यसले बिरामीलाई केही न केही सहयोग पुगेको छ भने पक्षघातको औषधी एकदमै महत्त्वपूर्ण हो। यो औषधी नेपालमा पहिले पनि प्रयोग गर्ने गरिएको थियो। जसको यौटै डोजलाई ५० देखि एक लाखसम्म पर्छ। पक्षघात भएको साढे ४ घण्टाभित्र यो औषधी बिरामीलाई दिन सकियो भने धेरै बिरामीलाई मृत्यु र प्यारालाइसिसबाट जोगाउन सकिन्छ ।

बिरामी इमर्जेन्सीमा आउँदा एउटा औषधी किन्नुपर्ने भयो, जसको मूल्य एक लाख पर्छ भन्दा बिरामीले आपतकालीन अवस्थामा आउँदा पैसा बोकेर आएको हुँदैन। एक त अस्पतालमा आउन समय लाग्ने, त्यसपछि औषधी खोज्दा हुने ढिलाइका कारण यो त्यति प्रभावकारी हुन सकेको थिएन।

अहिले सरकारले नै यो औषधी उपलब्ध गराइदिएपछि अस्पतालसम्म आइपुगेका बिरामीलाई चलाउन सकिने भयो। जसले गर्दा धेरै बिरामीलाई प्यारालाइसिस हुनबाट जोगाउन सकिन्छ। सरकारले गरेको यो एकदमै राम्रो कदम हो।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अहिले नेपालमा यौटा न्यूरो सेन्टर बनाउनुपर्छ भनेर मलाई नै संयोजक तोक्नुभएको छ। अब केही दिनमै यसको खाका तयार पारेर सरकारलाई बुझाउने तयारी गरेका छौँ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अहिले नेपालमा यौटा न्यूरो सेन्टर बनाउनुपर्छ भनेर मलाई नै संयोजक तोक्नुभएको छ। अब केही दिनमै यसको खाका तयार पारेर सरकारलाई बुझाउने तयारी गरेका छौँ। सरकार यसबारेमा सकारात्मक देखिएकाले न्यूरो सम्बन्धी उपचार अझै सहज तथा सुलभ हुनेछ भन्ने आशा पलाएको छ।

न्यूरो सर्जरीको सहज उपचार हुने अस्पताल कुन कुन हुन् ?
देशभर गरेर धेरै अस्पतालमा न्यूरो सर्जरीको सेवा उपलब्ध रहेको छ। न्यूरोको लागि मात्रै खोलिएका अस्पताल बाँसबारी न्यूरो, अन्नपूर्ण न्यूरो अस्पताल रहेका छन् भने सरकारीतर्फ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, न्याम्स वीर अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, किष्ट मेडिकल कलेज, नर्भिक अस्पताललगायत काठमाडौँ उपत्यकाभित्रका धेरै अस्पतालमा न्यूरो सम्बन्धी प्रभावकारी उपचार हुने गरेको छ।

देशैभर न्यूरो सम्बन्धी रोगको अवस्था कस्तो छ ?
चोटपटक लागेर समस्या भएका बिरामी धेरै छन्। काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन लागू भएपछि सडक दुर्घटनामा केही कमी आएको जस्तो छ। तर पहाडी क्षेत्रमा हरेक दिन सवारी दुर्घटनाका घटना आइरहेका छन्। त्यस्तै रुख, भीरबाट लड्ने समस्याले बिरामी बढिरहेका छन्।

देशैभर भनेजस्तो सेवासुविधा दिन सकिएको अवस्था छैन। न्यूरो सर्जरीका लागि धेरै किसिमका प्रविधिको आवश्यकता पर्ने भएकाले पहाडी क्षेत्रमा यसको सेवा विस्तारमा अलि कठिनाई भइरहेको छ।

यति प्रतिशत बिरामीको न्यूरो सर्जरी गर्नुपर्ने अवस्था छ भनेर भन्नका लागि हामीसँग डेटाहरु त छैन। तर न्युरोलोजिकल डिसअर्डरका बिरामीको संख्या बढ्दो क्रममा रहेको तथ्याङ्क छ। तथ्याङ्क अनुसार नसर्ने रोगमा न्यूरोलोजिकल डिसअर्डर चौथो नम्बरमा रहेको छ।

नेपालमा प्यारालाइसिस तथा विभिन्न शारीरिक अपाङ्गता भएकामध्ये १५ प्रतिशत न्युरोलोजिकल समस्याका कारण हुने गरेको पाइएको छ।

न्युरोलोजिकल समस्याबाट बच्न के गर्ने ?
मुख्य कुरा भनेको चोटपटक लाग्नबाट बच्नुपर्यो। जस्तै टाउकोको चोटपटकका लागि मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउने, विस्तारै कुदाउने महत्त्वपूर्ण हुन्। त्यस्तै पक्षघातबाट बच्न स्वस्थ जीवनशैली अपनाउन जरुरी छ। जस्तैः मदिरापान नगर्ने, चुरोट तथा सूर्तिजन्य पदार्थ सेवन नगर्ने, कोलेष्ट्रोल नियन्त्रणमा राख्ने लगायतका कुरामा ध्यान दिने। अर्को भनेको बच्चाको मेरुदण्डमा डल्लो पर्ने समस्या हुन्छ, यसबाट बच्न गर्भावस्थामा फोलिक एसिड अनिवार्य खानुपर्ने हुन्छ। हाम्रोमा गर्भवती भएको थाहा भएपछि मात्रै खाने गरिन्छ।

त्यसबेला खाएको फोलिक एसिडले अन्य समस्याको लागि त काम गर्ला। तर न्यूरोका लागि काम गर्दैन। किनभने हाम्रो शरीरको सबैभन्दा चाँडो विकास हुने अङ्ग न्यूरो हो। गर्भवती भएको ३ देखि ४ हप्तामा न्युरोको मुख्य काम भइसकेको हुन्छ। त्यो बेलामा चाहिने हो यो औषधी हामीलाई गर्भवती भएको थाहा पाउनलाई ६ हप्ता लाग्छ।

त्यसैले विवाहित महिला जो बच्चा जन्माउने योजनामा छन् उनीहरुले गर्भाधान अगाडि नै फोलिक एसिड खाँदा बच्चामा हुने यस्ता समस्याबाट जोगाउँछ।

जसका लागि पछिल्लो समय सरकारले नै चामल तथा पिठो लगायतका खाद्यान्नमा फोलिक एसिड हालेर बनाउने नियम बनाएको छ। सबै खाद्यान्न किनेर खानुपर्ने भएकाहरुले त पाउने भए तर आफै अन्न उब्जाएर खानेहरु यसको पहुँचमा पुग्न सकेका छैनन्। त्यस्तै गर्भावस्थामा विभिन्न चोटपटकबाट आमा बच्नुपर्छ। यत्ति तीन चिजमा ध्यान दियौं भने न्युरोलोजिकल समस्याबाट बच्न सकिन्छ।

न्यूरो समस्याको सर्जरीपछि के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
यो एकदमै महत्वपूर्ण कुरा हो। सर्जरीपछि पुर्नस्र्थापना अत्यावश्यक हुन्छ। यस विषयमा सरकारको ध्यान जान सकेको छैन। यदि हामीले न्युरो सेन्टर बनायौं भने त्यसमा कम्तिमा १० बेड छुट्याउनु पर्छ। ताकि त्यसबाट बिरामीलाई चाँडो निको पार्न सकियोस्।

टिचिङमा मात्रै अहिले डिस्चार्ज गरेर सेन्टरमा राख्नुपर्ने ७, ८ जना बिरामी छन्। तर सरकारी रिह्याब्लिटेशन सेन्टर छैन। निजी महंगा छन्। त्यसैले उनीहरुलाई अस्पतालमै राख्नुपर्ने बाध्यता छ, जसले गर्दा अन्य आवश्यक भएका बिरामीहरुले भनेको समयमा अस्पतालमा बेड पाइरहेका छैनन्। हामीसंग रिह्याब्लिटेशनका नाममा फिजियोथेरापी सेन्टरहरु मात्रै छन्। जसले शारीरिक अभ्यास मात्रै गराउने काम गर्छन् र उनीहरुलाई पुनस्र्थापन गर्न सक्दैनन्। उनीहरुलाई थेरापिष्ट चाहिन्छ। जनशक्ति छ तर काम गर्न पाइराखेका छैनन्। त्यसैले अहिले सबैभन्दा जोड दिनुपर्ने विषय भनेको पुनस्र्थापना नै हो।

छारे रोगको सर्जरी गरेका केही बिरामीले जीवनभर औषधी खानुपर्ने हुनसक्छ। किनकी एकपटक अपरेशन गरिसकेको छ भने फेरि केही समस्या आउँदा कठिन हुने भएकाले न्यूनतम २ वर्ष र कसैलाई ५ वर्ष खानुपर्ने हुनसक्छ।

न्यूरो रोगको सर्जरीपछि औषधी सीमित समयसम्म मात्रै खानुपर्ने हो कि जीवनभर खानुपर्ने हुन्छ ?
छारे रोगको सर्जरी गरेका केही बिरामीले जीवनभर औषधी खानुपर्ने हुनसक्छ। किनकी एकपटक अपरेशन गरिसकेको छ भने फेरि केही समस्या आउँदा कठिन हुने भएकाले न्यूनतम २ वर्ष र कसैलाई ५ वर्ष खानुपर्ने हुनसक्छ। कसैलाई लामो समय औषधी खानुपर्ने हुनसक्छ।

कामका आधारमा कस्तो काम गर्नेलाई न्युरो सम्बन्धी समस्या हुने हो ?
पछिल्लो समयको हाम्रो जीवनशैलीका कारण बिगत ६० वर्षमा देखिने रोग अहिले ३० वर्षमै देखिन थालेका छन्। जस्तै पहिले हामी गाउँघरमा हुँदा खेतमा काम गर्दा दौडधूप गथ्र्यौं। तर अहिले त्यो हुँदैन। त्यसको सट्टा दिनभर एउटै आसनमा बसेर काम गर्छौं जसले गर्दा मेरुदण्डको समस्या हुन्छ भने निहुरेर काम गर्नेलाई गर्धनको समस्या हुनसक्छ। त्यस्तै औंलाहरु धेरै चलाउँदा औंलामा समस्या हुनसक्छ। त्यसैले हाम्रो कामका आधारमा धेरै समस्या हुनसक्छन्। हामीकहाँ विदेशबाट आएका धेरै युवा मेरुदण्डको गर्धनको समस्या लिएर आउने गर्दछन्। त्यसैले लामो समय एउटै पोजिसनमा बसेर काम नगर्न हामीले सुझाव दिने गरेका छौं। तर केही समस्या नपरी कसैले वास्ता गर्दैनन।

न्यूरो सर्जनका नाताले कामकाजीका लागि के टिप्स दिनुहुन्छ ?
सामान्य स्वास्थ्यवस्थामै सबैले ध्यान दिनुपर्छ। लामो समय अफिसमा बसेर काम गर्नुपर्ने अवस्था छ भने बीच बीचमा पाँच मिनेट समय निकालेर जिउ तन्काउने गर्नाले मानसिक तनाव हुँदैन। आँखालाई आराम मिल्छ, मेरुदण्डको समस्याबाट बच्न सकिन्छ। तौल नियन्त्रणमा राख्ने, खानपानमा ध्यान दिने लगायतका कुरामा ध्यान दिनुपर्छ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ८ : ३३ बजे

जनताको भावना बुझ्न जागरण अभियान गरेका छौं : प्रचण्ड

ठाकुरबाबा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं सङ्घीय

थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक : प्रधानमन्त्री

बैङ्कक – प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण

रविलाई भोलि मात्रै भैरहवा लगिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि मात्रै

वायु प्रदूषण न्यूनीकरण गर्न सरकार प्रयासरत छ : मन्त्री शाही

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समयमा

एक थोपा रगत रहुन्जेलसम्म लडिरहनेछु : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपाति रवि लामिछानलेले आफूलाई