‘बालेनले स्टन्ट गर्न छाडेको दिन काठमाडौं महानगरमा सबै कुरा मिल्छ’ | Khabarhub Khabarhub

‘बालेनले स्टन्ट गर्न छाडेको दिन काठमाडौं महानगरमा सबै कुरा मिल्छ’

दोषीमाथि कारबाही हुनुपर्छ, महानगरको काम रोकिनुहुँदैन



काठमाडौं महानगरपालिकामा करिब चार महिनादेखि जारी द्वन्द्वको उग्ररूप बिहीबार देखियो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाएका मेयर बालेन्द्र शाहलाई नै कर्मचारी र वडाध्यक्षसहितका जनप्रतिनिधिले चुनौती दिए । उनीहरूले तीन महिना १४ दिनपछि प्रशाकीय अधिकृत गुरागाईंलाई कमलादीस्थित कार्यालयमा बलपूर्वक प्रवेश गराए । मेयर साहले ठूलो संख्यामा तैनाथ गरेका नगरप्रहरीलाई पन्छाउँदै प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमै प्रवेश गराइयो ।

बालेनको सचिवालयले लगाएको चाबी फुटाउँदै अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराएपछि करिब छ महिनादेखि रोकिएको तलब पाउने आशा कर्मचारीमा पलाएको छ । करिब ३५ सय कर्मचारी कार्यरत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र र संघीय सरकारबीचको द्वन्द्व अब उनकै कार्यालयभित्र छिरेको छ । प्रशासकीय अधिकृत गुरागाईंलाई प्रवेश गराउँदा उपमेयर सुनिता डंगोलसमेत थिइन् । तर, बालेन्द्र बुधबारदेखि नै काभ्रेतिर थिए ।

उनले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई फोनमै ‘कुनै हालतमा गुरागाईंलाई रोक्न’ भने पनि सम्भव भएन । गुरागाईं सवार हुने गाडीमा समेत ह्वील लक लगाएर छेक्न खोजियो । नगरप्रहरीले हस्तक्षेप गर्न खोजे पनि कर्मचारीले प्रतिकार गरेपछि उपमेयर डंगोलले हस्तक्षेप गरेर माहोल सम्हालिन् ।

यस क्रममा हिजोसम्म मेयर बालेन्द्रको पक्षमा रहेका वडाध्यक्ष सहितका जनप्रतिनिधि पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा हाजिर गराउने पक्षमा उभिए । यसरी प्रमुख प्रशासकीय अधिकृतको पक्षमा उभिनेमा महानगरका प्रवक्ता नवीन मानन्धर पनि थिए । उनले मेयरलाई लामो समयदेखि साथ दिए पनि आजित भएर यो निर्णयमा पुगेको बताए । यसै सेरोफेरोमा प्रवक्ता मानन्धरसँग खबरहबले कुराकानी गरेको छ ।

बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृतलाई बलपूर्वक कार्यालयमा छिराउनुभयो नि !

जिम्मेवार जनप्रतिनिधिले जनता र कर्मचारीको भावना नबुझेका कारण हामीले यस्तो गर्नुपर्ने परिस्थिति बन्यो । महानगरको विवाद सामान्य थियो । हामी बसेर विवाद सल्टाउन सकिन्थ्यो । तर, मुठभेटको अवस्थामा पुग्यो ।

यो विषयमा मैले नै पत्रकार सम्मेलन गरेर जानकारी गराएको थिएँ । तर यसलाई समाधान गर्नेबारे सहकार्य गर्नुपर्ने ठाउँमा मेयर (बालेन्द्र साह) र सचिवालयसमेतले मनपरी शैलीमा अगाडि बढ्ने काम भयो । पटक–पटक यो समस्या समाधान गर्न खोज्दा मेयरले हुन्छ भन्ने, तर काम नहुने अवस्था आयो ।

हामीले औपचारिक र अनौपचारिक रूपमा कार्यपालिका र अरु बैठकबाट निचोड निकाल्न खोजेका थियौँ । तर, नेतृत्वबाट पटक्कै समन्वयकारी भूमिका भएन ।

बिहीबारको घटना निम्त्याउने मुख्य जिम्मेवार को हो ?

हिजोको घटनाको मुख्य दोषी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) नै हुन् । उपमेयर सुनिता डंगोलले पनि भनिसक्नुभएको छ । मेयरले जनप्रतिनिधि र कर्मचारीका कुरा सुनिदिनु भएको भए यो अवस्था आउने थिएन ।

प्रमुख प्रशासकीय अधिकृतको पनि त दोष होला नि !

उहाँको दोष भए छानबिन हुनुपर्छ । तर, नगरका काम रोकिनु भएन । कसैलाई कसैले डोमिनेट गर्नुभएन । उहाँमाथि अझै पनि छानबिन होस् । कर्मचारीको अधिकार जनप्रतिनिधिले खोस्नु भएन । कत्रो रडाको मच्चियो ! हेर्नु न यहाँहरू आफैँले ।

प्रशासकीय अधिकृतलाई ‘कार्यालयमा छिर्न नदिनू’ भनेर मेयरले नै आदेश दिएको हो र ?

हो ! ‘माथिको आदेश छ’ भनेपछि को हुन्छ ? हाम्रो प्रहरी प्रमुख राजुनाथ पाण्डेले नै माथिको आदेश भन्नुभयो । ‘माथि’ भनेको को हो त ? उपप्रमुख त्यहीँ (कार्यालयमा) हुनुहुन्छ । अन्य जनप्रतिनिधि त्यहीँ हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत पनि त्यहीँ हुनुहुन्छ, माथि भनेपछि अरू को होला र ? भगवान त होइन होला पक्कै !

कार्यालयमा त्यत्रो तनाव हुँदा मेयर कहाँ हुनुहुन्थ्यो ? केही जनकारी थियो यहाँहरूलाई ?

अहँ ! थिएन । खै, हामीले खोजेकै हो । तर, कसैबाट जानकारी आएन । सचिवालय र प्रहरी प्रमुखले पनि भन्नुभएन । मलाई ढिलागरी खबर आएको हो । यो कुरा हो, होइन थाहा छैन । उहाँ काभ्रेमा हुनुहुन्थ्यो रे ! सत्य हो/होइन, थाहा भएन । कसैले लस्सी खाँदै हुनुहुन्थ्यो पनि भन्छन् ।

किन जानुभएको रहेछ ? यो कुरा उपमेयर डंगोललाई पनि थाहा थिएन ?

खै ! थाहा भएन । तर, उहाँ महानगरको कामले जानुभएको होइन भन्ने सुनियो । सत्यतथ्य उहाँले नै भन्नुहोला । उपमेयरलाई भनेको भए त बैठक बस्दै गर्दा ‘मेयर खै?’ भनेर सोध्नुहुने थिएन नि ! थाहा भए त उपप्रमुखले नगर प्रहरी प्रमुख पाण्डेलाई ‘मौखिक आदेश दिने मान्छे यहाँ आउनुपर्थ्यो’ भन्नुहुने थिएन होला ।

मेयरको कार्यकक्षमा पनि ताला लागेको थियो कि ?

हामी त्यहाँ गएनौँ । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको रहेछ, त्यसलाई फोर्‍यौँ । निकैबेर चाबी खोज्यौँ, तर भेटिएन। नगरप्रहरी प्रमुखले पनि ‘खोल्ने आदेश छैन’ भने । ‘मसँग छ’ भनेर कसैले नभनेपछि विकल्प फोर्नुपर्ने नै थियो । कोही जवाफदेही नभएपछि जनप्रतिनिधिले ताण्डव हेरेर बस्न सकिएन ।

तर, प्रमुखलाई त सबै जनप्रतिनिधि मिलेर एक्ल्याउनुभयो नि, यसो गर्न मिल्छ र ?

हामी कुनै पनि व्यक्तिको पछि छैनौँ । महानगर सिस्टम र कानुनमा चल्नुपर्छ । आधिकारिकता नभएका व्यक्तिहरूबाट पत्राचार गरेर प्रमुख प्रशासकीय अधिकृत परिवर्तनका कुरा गरिए, त्यो गलत थियो ।

हामीले देशका ७५३ स्थानीय तहमा हेर्दै जाँदा काठमाडौं महानगरपालिका मात्रै एकल नगरपालिका जस्तो महसुस भयो । फेसबुकमा स्ट्याटस लेखेर अहमता देखाइयो । एकपक्षीय कुरा राखेर स्टन्टबाजी भयो । जति समाधानको बाटो खोज्यौँ – उति सामाजिक सञ्जाल प्रयोग गरेर दूरी बढाउने काम भयो । करिब १०३ दिनसम्म तलब निकासा आएन । समस्या यति बढ्यो कि दैनिक ज्याला मजदुरी गर्ने कर्मचारी र मजदुर मारमा परे ।

प्रमुख प्रशासकीय अधिकृतको अधिकारभित्र आर्थिक कार्यभार पनि पर्छ । आर्थिक अधिकारभित्र रहेर जुन पूर्वाधारको काम भएको थियो – ती ठेकेदार र मजदुरले पैसा पाएनन् । यसले सबैलाई प्रभाव पार्थ्यो । यो भयावह स्थिति हुँदा पनि नेतृत्व सहज नभएको पाइयो ।

अबको केही समयपछि ज्येष्ठ नागरिकको भत्ता पनि रोकिने अवस्था छ । महानगरवासीले लिनुपर्ने सेवासुविधा रोकियो । यो बन्देजको अवस्था आएपछि समस्या भयो । हाम्रो मूल निष्कर्ष भनेको दोषीमाथि कारबाही हुनपर्छ । तर, दोषी नखोजी निर्दोषलाई दोषी बनाएर समस्या अझ बल्झाउनु हुन्न ।

यी सबै घटनाका दोषी मेयरमात्र हुन् त ? प्रवक्ता भएको हिसाबले तपाईं, उपमेयर अन्य जनप्रतिनिधिको पनि जिम्मेवारी होला नि ?

हामीलाई यसरी एक्सनमा जान मन थिएन । तर, जनप्रतिनिधि र उपमेयरलाई नै अन्देखा गरेर मेयर एकलौटी अगाडि बढेपछि यो बाटो रोज्यौँ । सहकार्य त मेयरले गर्नुपर्ने हो । उपमेयरलाई पनि हामीले पटक–पटक भनेका थियौँ ।

उहाँ यो कुरामा सिरियस हुनुभयो । तर, मेयरले सहकार्य गर्नुभएन । कार्यपालिका बैठक बोलाउनुभएन । दोषीलाई कारबाही गर्ने कुरामा अहिले पनि एकमत छ । यो कुरामा छिटो र निष्पक्ष छानबिन हुनुपर्छ । कार्यपालिका बैठक बोलाउनुस् भनेर त हामी सबै ३२ वडाका जनप्रतिनिधि र उपमेयरले पनि भनिरहेकै छौँ ।

पछिल्लो विवादको मुख्य जड काठमाडौं टावर नै हो कि अरू कुरा पनि छन् ?

उहाँ (मेयर) युवा र भिजन भएको मान्छे हो । सक्षम छन् भनेर पहिलाबाटै सहयोग गर्दै आएको हो । युवा मेयर आउँदा काठमाडौं साँच्चिकै सुन्दर होला भनेर पनि हामी खुसी थियौँ । कतिपय काम भएका पनि छन् । यो सबैका लागि गौरवको कुरा हो ।

तर, उहाँले आफूलाई मात्र सर्वेसर्वा भन्ठान्नुभयो । वडाध्यक्षसँग पनि सहकार्य नगरी एकल निर्णय गर्ने भएपछि यसअघि पनि विवाद भएको थियो । तर, त्यो विवाद मिलेको थियो । हामीले त्यसपछि पनि निरन्तर सहयोग गरेका हौँ । तर, पछिल्लो समय काठमाडौं टावरको विषय समस्याका रूपमा आयो । सतहमा देखिएको र हामीले पाएको जानकारी यही हो । उहाँको मनमा अन्य कुण्ठा भए हामीलाई भन्नुपर्छ, समाधान खोजिन्छ ।

बाहिर त ‘कांग्रेस र एमालेका जनप्रतिनिधि मिलेर नगरप्रखुलाई प्रहार गरे’ भन्छन् नि ?

उहाँले सामाजिक सञ्जालको प्रयोग गरेर जनप्रतिनिधिमाथि गलत भाष्य बनाइदिनुभयो । हामी विषय सुल्झाउन नगरप्रमुखसँग धेरैपटक बसेका थियौँ । अनौपचारिक–औपचारिक छलफल पनि भएको हो । ‘हुन्छ’ भनेर जवाफ दिने तर, कार्यान्वयन नहुँदा यो अवस्था आयो ।

नगरमा सेवा गर्ने कर्मचारीको भोको पेट भएपछि हामी सबैजना चुप बस्नु मिलेन । हामी दलबाट निर्वाचित जनप्रतिनिधि अवश्य हौँ । तर, गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्छ । स्टन्ट धेरै दिन टिक्दैन, होइन र !

यहाँ प्रवक्ता भएकाले प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्कमै रहनुहुन्छ । उहाँहरूबीच अन्य तुष पनि थियो कि ?

कुनै तुष थिएन । मैले दुवैसँग कुरा गरेको हो । ‘मेरो गल्ती भए कारबाही भोग्न तयार छु’ भनेर अधिकृतले भन्नुभएको छ । दुई पटक बसेर सहमति गरेकै हो । तर आज सहमति हुन्छ, भोलिपल्ट स्ट्याटस आइहाल्छ ।

मेयर सा’बमा अहमता भयो । उहाँ कार्य विभाजन पनि नगर्ने, आफूलाई माथि बनाउन स्ट्याटस पनि लेख्ने ! यो त ठीक भएन नि ! सहकार्य नै नभएपछि काम गर्न समस्या हुन्छ । हरेक मानिसका भावना समेट्न सक्नुपर्छ । नेतृत्वमा मपाईँत्व भएपछि कर्मचारीलाई पनि काम गर्न सहज भएन ।

कानुनी बाटा थिए, तर ‘मेरो कुरा नै सबथोक’ भनेर जनप्रतिनिधि उचालिनु भएन । यी सबै कुरामा मेयरकै कारण प्रत्यक्ष असर परेको छ । यसलाई सच्याएर जानुपर्छ भनेका हौँ । हाम्रा पनि गल्ती भए सच्याउँछौँ ।

कर्मचारीले तलब नपाएको ठ्याकै कति महिना भयो ?

यसमा फरक-फरक अवस्था छ । महानगरसँग जोडिएका विभिन्न कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन् । स्थायी कर्मचारीको तीन महिनादेखि रोकिएको छ । अस्थायी र करार कर्मचारीको पाँच महिनादेखि रोकिएको छ । मुख्य कुरा तीन महिनादेखि उता ६ महिनासम्म तलब नपाएका कर्मचारी छन् । आफैँ सम्झनुस् न, काम गरिरहेका कर्मचारी कति मारमा छन् । यो कुरा जिम्मेवार व्यक्तिले बुझ्नुपर्दैन ? सामाजिक सञ्जालमा भाइरल भएर मात्रै हुँदैन । काममा जिम्मेवार हुनुपर्छ । एउटा कुरा बोल्ने र व्यवहारमा अर्को कुरा लागू गर्ने भएपछि समस्या भयो ।

उसो भए भोलिबाट महानगरका रोकिएका काम अगाडि बढ्छन् ?

बढ्नुपर्छ ! मेयरको कस्तो राम्रो बानी के छ भने उहाँले इख लिनुहुन्न । हामी र प्रमुख प्रशासकीय अधिकृतले पनि लिँदैनौँ । हिजो पनि यस्ता समस्या नआएका होइनन्, उहाँले भोलिपल्टबाटै सहज रूपमा अगाडि बढ्नुभएको हो । यो कारण आजको कुरालाई उहाँको सचिवालयले कसरी ब्रिफिङ गर्छन् – सल्लाहकारमा पनि निर्भर रहन्छ । उहाँहरूले सकरात्मक बिफ्रिङ गर्नुभए यो समस्या अब रहँदैन ।

यहाँहरूको भनाइ मेयरको सचिवालयले गलत सुझाव दिन्छन् भन्ने हो ?

त्यतातिर हामी जान चाहँदैनौं । उहाँको यो निजी काम हो । मेयरले आफू सक्षम भएर निर्णय लिने हो । मेयरले विवेकले काम गर्दा सचिवालयको हस्तक्षेप हुँदैन । मेयरको कार्यशैली कमजोर भए सचिवालय हावी हुन्छ ।

तर, मेयरका स्वकीय सचिव भूपदेव शाहले राजनीतिक दलको आडमा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा छिरेको भन्दै आपत्ति जनाउनुभयो नि !

हावादारी कुरा गर्नुभन्दा मेयरलाई सहमति गरेर अगाडि बढ्न भन्नुपर्ने थियो । म उहाँहरूलाई केही भन्दिनँ । हामी जनताका प्रतिनिधि हौँ । जनता र नगरका समस्याबारे कुरा गर्छौं ।

अन्तिममास यहाँहरूले अब के अपेक्षा गर्नुभएको छ ?

मेयर, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीबीच एकमत होस् । भोलिबाट सारा कुरा बिर्सेर नगरका गतिविधि बढुन् । मेयरबाट पनि सकारात्मक कुरा आओस् ।

अस्तिको दिन कुरा हुँदा पनि उहाँ नेगेटिभ हुनुभएको थिएन । भोलि पनि हुनुहुन्न । उहाँ जिम्मेवारी र दायित्वबाट पछि हट्नुहुन्न । प्रमुख प्रशासकीय अधिकृत पनि सही लाइनमा हुनहुन्छ । काठमाडौं टावर र महानगरका अन्य विवादमा छानबिन हुनुपर्छ ।

अर्को पटक यस्तो समस्या नआओस् ! कार्यपालिका सबै सदस्य र मेरोतर्फबाट पनि उहाँसामु यही अनुरोध छ, आपसी सहकार्य र सहमतिमा काठमाडौं महानगर चलाऊँ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  २ : ५७ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही