हर्क साम्पाङको अभिव्यक्तिविरुद्ध धरान हङकङ मञ्च, संस्थाको मानमर्दन भएको भन्दै खबरदारी | Khabarhub Khabarhub

हर्क साम्पाङ हङकङ भिसा प्रकरण

हर्क साम्पाङको अभिव्यक्तिविरुद्ध धरान हङकङ मञ्च, संस्थाको मानमर्दन भएको भन्दै खबरदारी


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

हङकङ – रोजगार भिसामा हङकङ बोलाइएको भन्दै बिच्किएका धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान हङकङ मञ्चविरुद्ध फेसबुकमा जथाभावी लेखे । कुरोको चुरो नबुझी फेसबुकमा मञ्चविरुद्ध विषवमन गरेका साम्पाङलाई धरान हङकङ मञ्चले खबरदारी गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै मञ्चले विभिन्न लान्छना र आरोपहरू लगाई संस्थाको मानमर्दन गरेको भन्दै सचेत गराएको हो ।

धरानमा निर्माण हुने भनिएको सुम्निमा–पारुहाङ प्रतिमाका लागि आर्थिक सहयोग जुटाउन हङकङ आउने तयारीमा थिए मेयर राई । उनको हङकङ भ्रमण र कार्यक्रम तालिका ४ ‘मे’ देखि ९ ‘मे’ सम्म थियो । उनको भिसा स्वीकृत पनि भयो । तर इम्प्लोइमेन्ट (रोजगार) भिसामा स्टाम्प लागेको देखेपछि मेयर राईले अपमान महसुस गर्दै मञ्चविरुद्ध सामाजिक सञ्जालमा एकपछि अर्को स्टाटस ठोके ।

किरात राई यायोक्खा हङकङ, नेपाल फेस्टको आयोजक संस्था एस अफ स्प्याड्स इन्टरटेन्मेन्ट र धरान हङकङ मञ्चका निम्तोमा मेयर राई हङकङ आउँदै थिए । तर रोजगार भिसामा स्ट्याम्प लागेको देखिपछि मेयर राईले धरान हङकङ मञ्चविरुद्ध जथाभावी लेखेका हुन् ।

उनले आफ्नो फेसबुक पेजमा रोजगार भिसा लगाइदिएर अपमान गर्ने संस्थाका रुपमा ‘धरान हङकङ मञ्च’ लाई लिए । फेसबुकमा उनले एकोहोरो विषवमन गरे । त्यसको जवाफ स्वरुप आइतबार साँझ धरान हङकङ मञ्चले मेयर राईलाई सचेत गराएको छ । सामाजिक सञ्जालमा भ्युज बढाउने उदेश्यले गलत लान्छना नलगाउन मञ्चले मेयर राईलाई खबरदारीसमेत गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति

मञ्चका अध्यक्ष रुकमान सुब्वा र सचिव रमेश राईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो गरिमामय संस्था धरान हङकङ मञ्चलाई विभिन्न लान्छना र आरोपहरू लगाई संस्थाको मानमर्दन गर्नेहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हरेक संस्थाको आफ्नै विधान, अवस्था र परिस्थिति हुन्छ । कसैलाई धरान हङकङ मञ्चको बदनाम गर्ने र मान मर्दन गर्ने अधिकार छैन । चाहे त्यो सरकार प्रमुख होस् वा कुनै संसारकै वरिष्ठ नै किन नहोस् । उनीहरूले बुझ्न जरूरी छ कि ‘धरान हङकङ मञ्च’ धरान र हङकङलाई जोड्ने एक शुद्ध सामाजिक संस्था हो ।’

विज्ञप्तिअनुसार पछिल्लो समय मेयर राईको टोली (उनकी श्रीमती, छोरा र उनका एक पत्रकारसहित) को भिसा विवाद चर्किरहँदा यो प्रकरणमा धरान हङकङ मञ्चको कुनै पनि संलग्नता नरहेको मञ्चले जनाएको छ ।

खबरहबलाई प्राप्त विज्ञप्तिमा भनिएको छ, ‘भिसाको लागि चाहिने कागजपत्र झिकाउने र भिसा आवेदन दिएर निकाल्ने काम नेपाल फेस्टको आयोजक संस्था एस अफ स्प्याड्स इन्टरटेनमेन्टले लिएकोले यसबारे हामीलाई कुनै जानकारी भएन । तर, सामाजिक सञ्जाल र मेयर राई स्वयम्ले धरान हङकङ मञ्चलाई आक्षेप लगाउँदै फेसबुक पोस्ट गरेर यस संस्थाको बदनाम गरिरहेको देख्दा हामी आश्चर्य चकित भएका छौं ।’

‘पछिल्लो समय भिसा निकालिदिने संस्थाको रूपमा देखिएको हङकङ एकीकृत नेपाली समाज (हिन्स) सँग धरान हङकङ मञ्चको यो भ्रमणसँग कुनै सम्बन्ध, सरोकार कहिल्यै नराखेको हामी स्पष्ट पार्न चाहन्छांै । हाम्रो जिम्मेवारी हङकङ आगमनको लागि मञ्चको निमन्त्रणा दिनेमात्रै भएकोले हाम्रो जिम्मेवारी पूरा गरेर हामी स्वागतको तयारीमा थियौं । भिसाको प्रक्रिया र त्यसबारे किरात राई यायोक्खाले एस अफ स्प्याड्स इन्टरटेनमेन्टसँग कस्तो सहकार्य ग¥यो त्यो उहाँहरू बीचको कुरा हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘तर, हिन्ससँगको सहकार्य र भिसाको प्रकारबारे यायोख्खाले किन एस अफ स्प्याड्स इन्टरटेनमेन्टसँग पहिल्यै स्पष्ट छलफल गरिएन ? र मेयर हर्कराज राईलाई जानकारी गराएन?’

मञ्चले ‘हिन्स’सँगको भिसा प्रकरणपछि किरात राई यायोक्खा हङकङले २६ अप्रिल २०२५ मा मेयर राईलाई कार्यक्रम स्थगन भएको जानकारी दिन पठाएको पत्रमा समेत धरान हङकङ मञ्चको भिसा प्रकरण र नेपाल फेस्टको आयोजनासँग कुनै किसिमको लेनदेन र संलग्नता नभएको स्पष्ट पारिसकेको जनाएको छ ।

त्यति हुँदाहुँदै पनि मेयर राईले २ ‘मे’ मा फेसबुकमा पोस्ट गर्दै हाम्रो मञ्चकै नियतमाथि शङ्का गर्दै बदनाम गर्न खोजेको र संस्थाको नामबाट ‘धरान’ नै हटाउने भन्ने विचार व्यक्त गरेकोमा मञ्चको ध्यानाकर्षण भएको जनाएको छ ।

मञ्चले मेयर हर्कराज राईले सामाजिक सञ्जालमा अनर्गल कुप्रचार गरेको प्रति पनि आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ– ‘धरानका मेयर हर्कराज राईलाई हङकङ निम्त्याउन मञ्चले मध्यस्थकर्ताको भूमिका मात्र पूरा गरेको हो र त्यो पनि स्वयम् मेयर हर्कराज राईकै चाहनाअनुसार ।

किरात राई यायोख्खाले सुम्निमा–पारूहाङको प्रतिमा निर्माणको लागि रकम सङ्कलनसमेत गर्ने भनेर निमन्त्रणा गरे पनि राई संस्थाको मात्र निम्तोमा जाँदा जातीय हुने भनेर मेयर हर्कराज राईले नै धरान हङकङ मञ्चजस्तो सबैलाई समेटेर अघि बढेको संस्थामार्फत् निमन्त्रणा आओस् भन्ने चाहेका थिए ।

किरात राई यायोक्खा, नेपाल फेस्टका आयोजक र मेयर राईसमेतको चाहनाअनुसार धरान हङकङ मञ्च मध्यस्थकर्ताको रुपमा देखिएको मञ्चका अध्यक्ष रुकमान सुब्बाले बताए ।

उनले मञ्चले धरानका मेयरलाई आफैंले पनि भेटघाट कार्यक्रमका लागि हङकङ बोलाउने योजना बनाइरहेकाले निकट भविष्यमा निमन्त्रणा दिने सम्भावना यथावत रहँदारहँदै अनावश्यक विवाद सिर्जना गरेको बताए ।

मेयर राईले सामाजिक सञ्जालमार्फत अनर्गल रुपमा बेइज्जत गरेपछि धरान हङकङ मञ्चले खेद प्रकट गर्दै सचेत गराएको हो ।
मेयर राईले २ मे २०२५ मा फेशबुक स्टाटसमा लेखेका थिए, ‘मलाई धाई धाई पत्र बुझाएर बिन्ति बिसाएर निम्तो दिने अनि धरान उपमहानगरपालिकाका प्रमुखलाई अपमान र असहयोग गर्ने नियत देखाई काम गर्ने संस्थाको नाम धरान हङ्कङ मंच हुनै सक्दैन । संस्थाको नामबाट धरान हटाउन मेरो सुझाव छ । मलाई फेस्ट चलाउनका लागि मेरो नाम बेच्न चाहेको भन्ने बुझियो । नियतमा खोट राखेर गरिएको फेस्टको कुनै अर्थ र महत्व रहन्न ।’

यो स्टाटसप्रति मञ्चले खेद प्रकट गर्दै विज्ञप्तिमा भनेको छ, ‘धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले आफ्नो फेसबुक पेजमा यस्तो स्टाटस पोस्ट गरेको देख्दा धरान हङकङ मञ्चका सम्पूर्ण पदाधिकारी तथा हङकङवासी सम्पूर्ण धरानेहरू स्तब्ध बनेका छौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘अरूसंस्थाले पटक–पटक बोलाउँदा आउन नचाहेर धरान हङकङ मञ्चले नै निम्तो दिएमात्र हङकङ आउने भनेर यायोख्खा र नेपाल फेस्टका प्रतिनिधिलाई भन्ने मेयर हर्कराज राईले यही धरान हङकङ मञ्चमाथि यस्तो लान्छाना लगाउँदा हङकङवासी धरानेहरूको अपमान भएको महशुस गरेका छौं । उनको यो भनाइप्रति खेद प्रकट गर्दछौं ।’

हङकङमा नेपाल फेस्टले पहिलो पटक हजारौंलाई भेला गरेर साङ्गीतिक कार्यक्रमको आयोजना गर्न नेपालबाट ७० जना कलाकारलाई भिसा उपलव्ध गराएको थियो । उक्त कार्यक्रममा मेयर राईलाई पनि प्रमुख अतिथि बनाउन भनेर तीन संस्थाको सहमतिअनुसार मञ्चका सचिव रमेश राईले २ अप्रिलमा मेयरकै कार्यकक्षमा पुगेर धरान हङकङ मञ्चको तर्फबाट औपचारिक निमन्त्रणा गरेका थिए ।

नेपाल फेस्टका तर्फबाट सल्लाहकार अग्नी लिम्बूले नेपाल फेस्टको दुई दिने कार्यक्रमको जानकारीसहित प्रमुख अतिथिका लागि निमन्त्रणा दिएका थिए ।

किरात राई यायोक्खा (किराया) हङकङका पूर्वअध्यक्ष शशिमदन राई केही महिनाअघि नै धरान पुगेर मेयर राईसँग भेटेरै सम्पर्कमा रहँदै आएका थिए । मञ्चले शशिमदन राई नै धरान हङकङ मञ्च र मेयर हर्कराज राई बीचको मध्यस्थकर्ता रहेको पनि विज्ञप्तिमा उल्लेख छ । शशिमदन र हर्कराजबीच पारिवारिक सम्बन्धसमेत छ ।

मेयर राईलाई हङकङ आगमनको निमन्त्रणा–पत्र दिएपछि धरान हङकङ मञ्चले मध्यस्तकर्ताको भूमिका पूरा गरेको जनाएको छ । र, अन्य संस्थाका कार्यक्रमबारे चासो नदिई आफूले आयोजना गर्ने ५ ‘मे’ को कार्यक्रममा मात्र केन्द्रित भएको अवस्थामा मेयर राईको स्टाटसले झन विवाद सिर्जना गरेको जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : ४२ बजे

झापा सवारी दुर्घटना : ९ महिनामा ७० जनाको मृत्यु

झापा – झापामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रबाट पाँच जना प्रहरी अपहरण

क्वेटा – पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार एक पृथकतावादी समूहले

आईपीएल: लखनउलाई पञ्जाबले दियो २३७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा पञ्जाब किंग्सले

कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच

तनहुँ – तनहुँ ८० जना कुमाल समुदायले पाउदुरे नाच सिकेका

एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहितका नेता एमालेमा फर्किए

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल खान लगायतका