लोकसेवा हापेर कमेडीमा जमेका ‘मास्टरका छोरा’ | Khabarhub Khabarhub

लोकसेवा हापेर कमेडीमा जमेका ‘मास्टरका छोरा’


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 8 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जन्म र प्रारम्भिक हुर्काइ खोटाङको दिक्तेल बजारमा । बुवा-आमा दुवै शिक्षण पेसामा । घरको जेठो सन्तान ।

‘मास्टर-मास्टर्नीको छोरा’ भएकाले परीक्षामा राम्रो अंक ल्याउनै पर्ने दबाब । तर, उसलाई पढ्न बाहेक अन्य विषयमा रुचि

अनि कसरी ल्याउनु परीक्षामा राम्रो अंक ?

अर्थात्, मास्टर बुवाले खोजे जस्तो अब्बल पढाइ उसको थिएन । ६ पास भएर सातमा जाँदा उसले प्राप्त गरेको नतिजासँग बुवा सन्तुष्ट हुन सकेनन् ।

बुवाले उसलाई खोटाङबाट विराटनगर लैजाने निर्णय गरे । कारण- विराटनगर सहरका चल्तीका बोर्डिङ हालिदिए छोराले राम्रो पढ्छ कि भन्ने आश ।

वि.सं २०६४ ताकाको समय । दिक्तेलमा मोटरबाटो पुगेको थिएन । त्यहाँबाट गाडी पुगेको नजिकको स्थान भनेको उदयपुरको साउने थियो । दिक्तेलबाट साउने करिब डेढ दिनको पैदल यात्रा तय गरेपछि मात्रै पुगिन्थ्यो ।

गाडी चढ्ने स्थान पुग्न बीचमा एक दिनको बास बस्नुको विकल्प थिएन ।

यही एकल उपाय अनाउँदै उमेरले किशोरावस्था छुन लागेका केटा बुवाको पछि लागेर दिक्तेलबाट उदयपुर हिँड्यो । त्यहाँबाट गाडी समातेर विराटनगर पुग्नु थियो ।

किनभने अब उसको बसाइ र पढाइ विराटनगर सहरमा हुँदै थियो ।

यो माथिको किस्सा– अहिले युवा पुस्तामा लोकप्रिय कमेडियन डोरेश खतिवडा पढाइमा कमजोर सावित भएर विराटनगरको बोर्डिङ स्कुलमा पढ्न झर्दाको हो ।

डोरेस भन्छन्, ‘फुच्चे केटा । भर्खरै ब्रतवन्ध गरेको थिएँ । कपाल छोटै थियो । लामो टुप्पी लिएर विराटनगर झरेको थिएँ ।’

पहाडी परिवेशमा हुर्केका डोरेशलाई विराटनगर सहर विशाल लाग्यो । भिन्न परिवेशले उनको आत्मबल कमजोर बन्यो ।

यतिसम्म कि आफू पढ्ने स्कुलको भवन देखेरै उनलाई सातमा पढ्ने आँट आएन । ६ कक्षा दोहोर्‍याउने निर्णय गरे ।

उनी भन्छन्, ‘एकैपल्ट ठूलो सहरमा आउँदा म आश्चर्यमा नै परेँ । त्यो स्कुलको भवन देखेरै मलाई सातमा पढ्ने हिम्मत आएन । बुवालाई ६ कक्षा दोहोर्‍याउँछु भनेको हुन्छ भन्नुभयो ।’

विराटनगरका आधा दशक

विराटनगरमा उनी काकासँग डेरामा बस्थे । तराई आएपछि डोरेशको बाल मानसिकतामा ‘मलाई नपढेर विराटनगर ल्याएका हुन्, अब पढ्नै पर्छ’ भन्ने चेतना पसेको थियो ।

तर, त्यहाँको वातावरणमा घुलमिल हुने विषय नै उनका लागि सामान्य थिएन ।

हुन पनि कसरी ?

पहाडको फुच्चे केटा तराई झरेको थियो । जन्मे-हुर्केको भन्दा भिन्न परिवेश । ठूलो सहर । सबै अपरिचित व्यक्ति । विभिन्न समुदाय साथी–सङ्गी ।

अर्को तर्फ उनीमा पढ्नुपर्छ भन्ने त थियो तर ‘टेक्स्ट बुक’ घोक्न रुचि नै थिएन ।

डोरेश भन्छन्, ‘मलाई पढ्न चाहिँ साँच्चै नै मन नलाग्ने नै हो । विराटनगर आएपछि पढ्नुपर्छ है भन्ने चाहिँ महसुस भयो तर उही पाठ्यक्रमका किताब पढ्न मन नलाग्ने ।’

बाहिरी कुरा पढ्न चाहिँ बेहद रुचि थियो । ‘टिफिन ब्रेक’मा लाइबेरीमा पत्रिका पढ्ने बानी बसेको थियो ।

यही बानीले उनी स्कुलका सिनियर दाइहरुको नजरमा परे । सायद उनीहरुलाई डोरेश मिहिनेती विद्यार्थी लाग्यो !

कक्षा १० मा पढ्ने ‘सिनियर दाइ’हरु सिजन पोखरेल र प्रतीक पोखरेलले लाइबेरीमा पत्रिका पढ्दै गर्दा एकदिन उनलाई भने, ‘भाइ क्विज कन्टेस्ट हुँदैछ भाग लिन्छौं ?’

सिजन र प्रतीक डोरेशका लागि स्कुलका ‘एक्टिभ’ विद्यार्थी थिए । उनीहरुले किन आफूलाई क्विजका लाथि प्रस्ताव गरे डोरेशलाई अहिले पनि थाहा छैन ।

तर, उनी क्विजमा टिम लिडर भएरै भाग लिए । दोस्रो पनि भए ।

यो विराटनगरमा ६ कक्षामा पढ्दाकै कुरा हो । यसरी क्विजमा भाग लिन अवसर दिने दाइहरु प्रति डोरेश आजको दिनमा पनि कृतज्ञ छन् ।

कारण– क्विजमा दोस्रो भएपछि आत्मवल बलियो बन्यो । म पनि साथीहरुभन्दा कम रहेनछु भन्ने विश्वास पलायो ।

डोरेश भन्छन्, ‘क्विजमा दोस्रो भए पछि म पनि साथीहरुभन्दा कम होइन बन्ने आत्मविश्वास भयो । मेरो कमजोर मनोवल वृद्धि भयो । अब विराटनगरको स्कुल पनि आफ्नौ जोन लाग्न थाल्यो ।’

डोरेश ती ‘दाइ’हरुको उक्त प्रस्तावलाई आफ्नो जीवनको ‘टर्निङ प्वाइन्ट‘ मान्छन् ।

किन त ?

त्यसपछि दिनमा मनोवल उच्च भएकाले उनको पढाइ समेत सुधार आयो । २०० विद्यार्थीको ‘क्लास टेस्ट’मा उनी टप टेनमा पुग्न थाले ।

कक्षा अगाडि गएर आफ्नो प्रतिभा देखाउने हिम्मत पनि उनमा पलायो ।

०००

डोरेश विराटनगर झरेपछि नारद खतिवडाको कार्यक्रमको फ्यान बनेका थिए ।

जुन कार्यक्रममा खतिवडाले त्यसबेला चल्तीका नेता गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापालगायतको क्यारिकेचर गर्थे ।

डोरेशले पनि खतिवडाको सिको गर्न थाले । स्वर धोद्रो नहुँदै उनले बूढा नेताको क्यारिकेचर गर्न लागे ।

डोरेश भन्छन्, ‘मैले नेताहरुको आवाज सुनेर होइन नारद खतिवडाले गरेको क्यारिकचेर सुनेर नेताहरुको बोली कपी गर्न थालेँ । अरुलाई सुनाउँदा नेताहरुको आवाजसँग मिल्यो भन्न थाले ।’

डोरेशले कक्षा ६ मै पढ्दा साथीहरुको अगाडि आफ्नो क्यारिकेचर गर्ने प्रतिभा देखाउन पाए ।

‘हेल्थ एन्ड पपुलेसन’ पढाउने सरले कक्षा अगाडि आएर प्रतिभा देखाउन लगाउने क्रममा एक दिन डोरेशको पालो आयो ।

उनले कक्षा अगाडि पुगेर क्यारिकेचर गरे । भन्छन्, ‘मेरो क्यारिकेचर सुनेर साथीहरु हाँसे । उनीहरुले मन पराए ।’

शुक्रबार डोरेशले क्यारिकेचर गरे आइतबार प्रध्यानाध्यापकले आफ्नो कार्यकक्ष बोलाए ।

डोरेशलाई लाग्यो, ‘अब क्यारिकेचर गर्‍यो भनेर सरले मलाई गाली गर्नु हुनेभयो ।’

प्रधानाध्यापकको कक्षमा झन् ‘हेल्थ एन्ड पपुलेसन’ पढाउने सर देखेपछि उनलाई लाग्यो- अब पिटाइ खाने पक्का ।

प्रध्यानाध्यापकले डोरेशलाई भने, ‘अस्ति के गरेको थिइस् फेरि गर त ।’

उनलाई के हुँदै छ पत्तो थिएन । तर, पनि क्यारिकेचर गरे ।

अनि प्रध्यानाध्यापकले भने, ‘राम्रो गर्दो रहेछस् । अब स्कुलको वार्षिक कार्यक्रममा तैँले यही क्यारिकेचर गर्नुपर्छ है ।’

०००

६ मै पढ्दा डोरेश क्यारिकेचर गर्न वार्षिक कार्यक्रमको मञ्चमा उक्लिए ।

त्यसपछि उनी स्कुलमा चर्चित बने । वार्षिक कार्यक्रममा उपस्थित अभिभावकले उनलाई चिन्न लागे ।

डोरेश भन्छन्, ‘अर्को वर्षदेखि अभिभावकहरुले तिमी कति बेला स्टेज चढ्छौं भनेर सोध्न लाग्नुभयो ।’

यसरी डोरेश हँसाउनका लागि मञ्चमा उक्लन सुरु गरे ।

सँगै स्कुलका हरेका कार्यक्रममा पनि सहभागी हुन थाले । नृत्य, गायन, क्विज, नाटक उनी सहभागी नभएको कार्यक्रम विरलै हुन्थे ।

भन्छन्, ‘स्कुलका कार्यक्रममा सरहरुले नाटक लेख्नुहुन्थ्यो । त्यो नाटकको मुख्य र कमिक पात्र नै म हुन्थेँ । भनौं न, यस्ता कार्यक्रममा सहभागी भएर मेरो पढाइ नै छुट्थ्यो ।’

अब भने उनलाई फरक समुदायक साथी–संगत पनि अस्वाभाविक लाग्न छाड्यो । मधेसी समुदायका साथीहरु नै प्रिय बने । ती साथीहरुको लवज उनले आफ्नो प्रस्तुतिमा समेत मिसाउँदै गए ।

स्कुल छोड्ने बेलाको स्मणर गर्दै डोरेश भन्छन्, ‘विराटनर जाँदा मेरो मनोवल कमजोर थियो । तर, म स्कुलबाट सक्रिय विद्यार्थी बनेर निस्किएँ ।’

साइन्स पढ्न काठमाडौं

०६८ सालमा डोरेशले एसएलसी विशिष्ट श्रेणीमा पास गरे । उनलाई विराटनगरमै बसेर प्लस टूमा अकाउन्ट लिएर पढ्ने इच्छा थियो ।

तर, बुवाले साइन्स पढ्नुपर्छ भन्ने सल्लाह दिए । उनले पनि काठमाडौं पठाए साइन्स पढ्ने सर्त राखे । बुवाले मानेपछि काठमाडौं छिरे ।

काठमाडौंमा शंखमुलको होस्टलको बसाइ । कलेज नयाँ वानेश्वर । यी दुई वर्ष भने उनी पढाइमै केन्द्रित भए । भन्छन्, ‘यो दुई वर्ष मेरो कलाकारिता यात्रालाई सहयोग पुग्ने केही गरिनँ ।’

न यसबेलासम्म डोरेशमा कलाकारिता गर्ने दृढ संकल्प नै थियो । तर, कलाकारिता क्षेत्रमा रुचि भने पक्कै थियो ।

भन्छन्, ‘यो क्षेत्र मन पर्थ्यो । आउने प्रक्रिया थाहा पनि थिएन । मनोरञ्जनका लागि सरिक हुने क्षेत्र थियो । फिल्म हेरिन्थ्यो लगाव दिएर बाँकी केही थिएन ।’

डोरेशले प्लस टू प्रथम श्रेणीमा पास गरे । त्यसबेला उनलाई स्नातकमा ‘एग्रिकल्चर’ पढ्ने रहर थियो ।

बिराम परेका कारण उनले प्रवेश परीक्षा दिन पाएनन् । उनी बिरामी निको हुँदा अन्य टेक्निकल विषयको पनि प्रवेश परीक्षा सकिएको थियो ।

अनि त्रिचन्द्र कलेजमा जिओलोजी विषय पढ्न भर्ना भए । जिओलोजी पढ्नुको दुई कारण थिए । पहिलो– ग्याप नहोस् । दोस्रो– केमेस्ट्री पढ्नु नपर्ने ।

भन्छन्, ‘पढिएन भने एक वर्ष ग्याप हुने भयो । त्यो मन लागेन । जिओलोजी नै पढ्नुको कारण केमेस्ट्री विषय नहुनु हो । मलाई केमेस्ट्री एकदमै गाह्रो लाग्ने । जिओलोजीमा यो पढ्नु नपर्ने ।’

लोकसेवा हापेर, कमेडी

स्नातक सकेपछि डोरेशमा एउटा पेसा अँगाल्नुपर्ने अवस्था थियो । उमेरले पनि युवावस्थामा प्रवेश गरेको थियो ।

बुवाको इच्छा ‘छोरा सरकारी जागिरे बनोस्’ भन्ने थियो । उनको इच्छा विदेश जाने थियो ।

बिहान उनी लोक सेवाको तयारी कक्षा लिन्थे । दिउँसो ‘आईएलटीएस’ कक्षा । बाँकी बसेको बरोजगार समय बानेश्वरको चिया पसलमा बित्थ्यो ।

स्नातकपछि यो उनको दैनिकी बनेको थियो । त्यस चिया पसलमा उनका साथी सरोज भण्डारी पनि आउँथे । उनीहरुको भेट फेसबुक ग्रुप ‘एमएमआर’ले गराएको थियो । उनीहरु एक अर्कालाई सम्धि भनेर सम्बोधन गर्थेँ ।’

सरोज स्टयान्डप केमेडीमा संघर्षरत थिए । नेपालमा स्ट्यान्डप केमेडी गराउने ‘नेपग्याजम’सँग उनी आबद्ध थिए ।

सरोजले एकदिन चिया पसलमा डोरेशलाई भने, ‘सम्धि मैले त स्ट्यान्डअप कमेडी गरेर पैसा पाएँ नि ।’

यो सन् २०१८ ताकाको कुरा हो । जसबेला नेपालमा स्टान्डप कमेडीको सिन विकास भइसकेको थिएन ।

भारतमा भने एउटा लहर आइसेकेको थियो । त्यहीँबाट डोरेश ‘स्ट्यान्डप कमेडीसँग’ परिचित थिए ।

‘सरोजले पैसा पनि पाइन्छ’ भनेपछि डोरेशलाई पनि स्टान्डप कमेडी गर्ने इच्छा लाग्यो । एक साथी लिएर डोरेश ‘नेपग्याजम’को स्टुडियोस्थल गल्कोपाखा पुगे ।

सुरुवाती बेला भएकाले अडिसनका लागि पालो कुर्नु परेन । अडिसन सहज नै बनेको उनी सुनाउँछन् ।

उनी भन्छन्, ‘त्यहाँको अडिसन भनेको चाहिँ पफर्म गर्न लगाएर भिडियो खिचिने रहेछ । त्यसलाई स्क्रिन टेस्ट भनिने रहेछ ।’

उनलाई ‘ठीकै गरेँ’ जस्तो महसुस भयो । तर, दुई सातासम्म नेपग्यामले युट्युबमा भिडियो राखेन । उनलाई लाग्यो- रिजेक्ट भएँ ।

तर, तीन सातापछि नेपग्याजमले भिडियो राख्यो । त्यसपछि नेपग्यामसँगै जोडिएर उनको स्ट्यान्डप कमेडीको यात्रा औपचारिक रुपमा सुरु भयो ।

उनको पहिलो स्टान्डअप केमेडी ‘पण्डितको नाति, मास्टरको छोरा’ शीर्षकमा थियो । दोस्रो ‘संस्कृत’ र तेस्रो ‘सरकारी क्याम्पस र लोकसेवा’ शीर्षकमा थियो ।

पहिलो भिडियोबाटै डोरेश दर्शकको नोटिसमा परे । ‘कफिन्डेन्ट’ भएर जोक्स भन्ने उनको शैली दर्शकले मन पराए ।

यो कफिन्डेन्टको जस उनी विराटनगरको स्कुललाई दिन्छन् । त्यही स्कुलको परिवेश र वातावरणले आफूमा कन्फिडेन्ट पलाएको उनी बताउँछन् ।

भन्छन्, ‘मैले ५ वर्ष विराटनगरमा बिताएँ । त्यहाँको वातावरणले नै मलाई यहाँ ल्यायो । दिक्तेलमै भएको भए म आज एउटा सरकारी जागिरमा सीमित हुन्थेँ । मलाई भूगोलको महत्व कति रहेछ यही कुराले थाहा दियो ।’

०००

डोरेशले दोस्रो स्ट्यान्डप कमेडी भिडियो ‘संस्कृत’मा ‘तरिका हो’ थेगो प्रयोग गरेका थिए । जुन भाइरल भयो ।

यतिसम्म कि रवि लामिछानेले कार्यक्रम ‘सिधा कुरा जनतासँग’ समेत प्रयोग गर्दा डोरेशकै चर्चा भयो ।

भन्छन्, ‘तेस्रो भिडियोसम्म आइपुग्दा त टीभी, पत्रिका र अनलाइनहरुले अन्तर्वार्ताका लागि बोलाउन थालिसकेका थिए ।’

यता नेपग्याजममार्फत् विभिन्न स्थानबाट शोका लागि पनि प्रस्ताव आउन थाले । डोरेश, सरोज भण्डारी र लेकमणि त्रिताल मिलेर शो गर्थे ।

डोरेश भन्छन्, ‘वुटवलभन्दा पूर्व सबै सहर र ठूला बजारमा शो गरियो । हरेक शुक्रबार काठमाडौं बाहिर शो गर्न जानुपर्थ्यो । यसरी नाम पनि बन्दै थियो, दाम पनि आउँदै थियो ।’

यसरी नाम र दाम दुवै आउन थालेपछि डोरेले लोकसेवा र विदेश पढ्न जाने दुवै विकल्प हापे । परिवारले पनि ‘सरकारी जागिर खानुपर्छ’ भन्न छाडेको उनी सुनाउँछन् ।

हुन पनि स्ट्यान्डप कमेडीको सिनमा रहेका कलाकारको सूचीमा शीर्ष स्थानमा दर्ज भएको थियो ।

डोरेशको व्यस्तता राम्रै थियो । नेपाल मात्रै होइन उनीहरुको माग विदेशबाट पनि आउन थालेको थियो ।

अस्ट्रेलियाको कार्यक्रम तय भएर भिसा पनि आएको थियो । तर, सन् २०२० मा कोरोना महामारीले उनीहरु अस्ट्रेलिया जान भने पाएनन् ।

कोरोनाले बिथोलेपछि रङ्गमञ्च सहारा

स्टान्डअप कमेडीको सिन नेपालमा विकसित हुने क्रममा नै थियो । युवा पुस्ताको आकर्षण बढ्दो थियो ।

लकडाउनले अन्य क्षेत्र जस्तै यसमा पनि सिथिलता ल्यायो । यो लगायत विविध कारणले स्टान्डअपको सिनलाई तंग्रन समय लाग्यो ।

सोही समयमा डोरेश टेलिभिजनमा जोडिए । कलाकार राजाराम पौडेल अध्यक्ष र यमन श्रेष्ठ प्रस्तोता भएको कार्यक्रम ‘कमेडी क्लप विथ च्याम्पियन सिजन २’मा उनले शीर्ष कलाकारको रुपमा अभिनय गरे ।

यही कार्यक्रम बीचमा बन्द भएकाले आफू रङ्गमञ्चमा प्रवेश गरेको डोरेश बताउँछन् ।

भन्छन्, ‘एक वर्षका लागि भनेर गएको कार्यक्रम ६ महिनामै बन्द भयो । त्यसपछि के गर्ने ? भन्ने भयो । रङ्गमञ्चमा आउने निर्णय गरे ।’

रङ्गमञ्चमा छिर्न भने डोरेशलाई सहज थियो । उनी चर्चित भइसकेका थिए । अर्कोतर्फ रङ्गमञ्च सर्कलका साथीहरुको संगत पनि थियो ।

उनलाई अभिनय कक्षा लिएरै रङ्मञ्चमा उक्लने इच्छा थियो । तर, रङ्गमञ्चका साथीहरुले सहज उपाय दिए ।

डोरेस भन्छन्, ‘साथीहरुले हामी एउटा नाटक गर्दैछौं । त्यसमा दुई महिना रिहर्सल गर त्यही हो अभिनय कक्षा भने । मैले पनि हुन्छ भनेँ ।’

यसरी उनले गत वर्ष रङ्गमञ्चमा डेब्यू गरे । उनको डेब्यू नाटक ‘म्यारिज प्रपोजल’ हो । जसमा उनले मुख्य चरित्र निर्वाह गरेका थिए ।

अहिले डोरेशको अभिनय रहेको नाटक ‘मीरा’ कान्तिपुर थिएटरमा चलिरहेको छ । जसको शीर्ष कलाकार नायिका रेखा थापा हुन् । रेखाको काकाको भूमिकामा डोरेश छन् ।

फिल्ममा आउने योजना !

डोरेश अहिले स्ट्यान्डअप कमेडीबाट केही टाढा जस्तो देखिएका छन् । तर, प्रस्ताव आउँदा शो भने गरिरहेका बताउँछन् ।

भन्छन्, ‘मलाई रङ्गमञ्च एकदमै रोचक लागेको छ । अहिले बढी यता व्यस्त छु । प्रस्ताव आएको स्थानमा कमेडी गर्न भ्याएसम्म गएको छु । कलेजहरुबाट आउने प्रस्तावमा प्रायः उपस्थित हुन्छु ।’

डोरेशको कुरा बुझ्दा फिल्ममा आउने उद्देश्यले उनी रङ्गमञ्चको अभ्यास गरिरहेका छन् ।

अबको भने आफू चाँडै फिल्म निर्माणको काममा सहभागी हुने योजनामा रहेको उनी बताउँछन् ।

भन्छन्, ‘फिल्महरु लेखेको पनि छु । केही मेकरहरुसँग कुरा पनि भएको छ । अबको गन्तव्य भनेको फिल्म नै हो । हेरौं कति समय लिन्छ ।’

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  २ : ४९ बजे

चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन

इनरुवा– सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा

भिजाएर वा अंकुरित, कालो चना यसरी खानुहोस् 

काठमाडौं– जब स्वस्थ आहारको कुरा आउँछ, त्यहाँ केही स्वदेशी सुपरफूडहरू

सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो

इटहरी – विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सर्पदंशबाट बर्सेनि २० हजार प्रभावित, एन्टिभेनममा भारतकै भर

नेपालमा सर्पदंश ठूलो जनस्वास्थ्यको समस्याका रुपमा रहेको छ। नेपालको तराई