वेददेखि विभेदसम्म ! | Khabarhub Khabarhub

सन्दर्भ : जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

वेददेखि विभेदसम्म !

ब्राह्मणग्रन्थ र स्मृतिलाई टेकेर राज्यको कानुनले थोपरेको आतङ्कबाट नेपाली समाज अझै त्रसित छ



काठमाडौँ – नेपालमा आज ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस’ मनाइँदैछ । वि.सं. २०६३ जेठ २१ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त मुलुक घोषणा गरेको सम्झनामा यो दिवस मनाइन्छ ।

नागरिकका हकमा समानता, शान्तिपूर्ण सहअस्तित्व र भ्रातृत्व कायम गर्नु उन्नत राजनीतिक र सामाजिक चेतनाको लक्ष्य मानिन्छ । तर, गणतान्त्रिक नेपालमा पनि छुवाछुत र जातीय भेदभावका कहालीलाग्दा घटनाले हाम्रो राजनीतिक र सामाजिक चेतनामाथि दाग थप्दो छ ।

धार्मिक सिद्धान्तको प्रतिपादनसम्बन्धी अध्ययन गर्ने धर्मशास्त्र (थिओलोजी) र धर्म–संस्कृति एवम् इतिहासका आधारमा कुनै जातिविशेषको अध्ययन गर्ने शास्त्र (एन्थोलोजी)का अध्येताहरूले जातीय व्यवस्थाको जरो धर्मसँग जोडिएको बताउने गर्छन् ।

यो सामग्रीमा दक्षिण एसियाको विशेषगरी नेपाल र भारतस्थित हिन्दु बाहुल्य समाजमा कसरी जातीय व्यवस्था फस्टायो, त्यही जातीय व्यवस्था कसरी जातीय उत्पीडन, शोषण र अपराधको स्तरसम्म झाङ्गियो भन्नेबारे चर्चा हुनेछ ।

धर्म

छोटो वाक्यमा ‘अलौकिक शक्तिप्रति विश्वास’ नै धर्म हो । अलौकिक शक्तिप्रति विश्वास राख्ने समूहभित्र पनि विभिन्न पक्ष हुन्छन् ।

धर्मको जगमा सम्बन्धित समाजले कस्ता दैवी शक्तिहरूमा विश्वास गर्छन् र कस्ता अभ्यास गर्छन्, पुनर्जन्मबारे कस्ता धारणा र सोचाइ राख्छन्, देवीदेवता र परम्परागत मान्यताप्रतिको विश्वास ढाँचा (बिलिफ प्याट्रन) कस्तो छ भन्ने कुराले सो समाजलाई निर्धारण गर्छ ।

दैवीशक्तिबारे विभिन्न धर्महरूमा विभिन्न मतहरू रहेका छन् । अङ्ग्रेजीको ‘रिलिजन’ शब्द ‘गड’ अर्थात ईश्वरसँग बढी सम्बन्धित हुन्छ । वैदिक समाजले अपनाउने धर्मले भने वृहद क्षेत्र ओगटेको हुन्छ ।

वेदमा आधारित धर्म मान्ने समाजले ‘गड’ अर्थात् ईश्वर/भगवानको मात्र कुरा गर्दैन । मोक्षदेखि पुनर्जन्मसम्म अभ्यास, कल्पना र विश्वास गर्छ ।

नेपालमा विशेषगरी दुई प्रकारका धर्म मानिन्छ । आत्मा (स्पीरिट) प्रकृतिमै हुन्छ भनी विश्वास गर्ने प्रकृतिपूजक (एनिमिस्ट) हरू नेपालको परम्परागत धार्मिक संरचनाका अभिन्न हिस्सा हुन् । एनिमिजमभित्र किराँत, मस्टो र बोन लगायत प्रकृतिलाई पुज्नेहरू पर्छन् ।

प्रकृतिको शक्ति (लोकल पावर) भित्रै रहनु एजिमिजम हो । त्यसभन्दा उपल्लो तहमा पुग्दा प्रकृतिधर्म तन्त्रतिर ढल्कन्छ, जसलाई स्यामानिजम भनिन्छ । शक्ति विकास गरी कुण्डलिनी, नाडी र चक्रहरू खोल्न अभ्यास गर्ने तथा आफ्नो शरीर छाडेर बाहिरी शक्ति प्रवेश गराउने अभ्यास स्यामनहरूले गर्छन् ।

नेपाली समाजमा परम्परागत दोस्रो, तर बाहुल्य धर्म हिन्दु हो । मर्म, मान्यता र अभ्यासलाई निरन्तरता दिने हो भने – वेद मान्ने मानिसहरू नै हिन्दु हुन् । वेदलाई आधार मानेर वेदकै अनुसार आचरण गर्ने, पूजा, ध्यान गर्ने र वेदलाई आफ्नो प्रमुख ग्रन्थ मान्ने वैदिक मानिसहरूलाई हिन्दु भनिन्छ ।

हिन्दु धर्मको स्रोत वैदिक धर्म हो । वैदिक धर्मलाई सनातम धर्म पनि भनिन्छ । जसले वेदका आधारमा आफ्ना संस्कार गर्छ, ध्यान र योग गर्छ – ती हिन्दु हुन् ।

हिन्दुहरूले मान्ने वेद निकै शताब्दीसम्म श्रुती परम्परा (ओरल ट्रेडिसन) का रूपमा रह्यो । यही परम्पराबाट वेद धेरै पुस्तासम्म हस्तान्तरण भइरह्यो ।

मानवशास्त्रीय सन्धानअनुसार; अहिलेको यूरोप र एसियाको बीचमा रहेको क्यास्पियन सी (कश्यप सागर) नजिक रहेको ककेसस पहाडमा पहिले आर्य जनजाति (आर्यन ट्राइब) को बसोबास थियो । उनीहरू गाई पाल्थे, गाईकै दूध खान्थे र गाईलाई आमा मान्थे । त्यही ककेसस पहाडमा ध्यान गरेर बसेका ऋषिहरूमा बेलाबखत उद्बोधन (रेभेलेसन) हुन्थ्यो । उनीहरूमा एकाएक नयाँ वाणी आउँथ्यो ।

आफूलाई उद्बोधन भएका कुरा उनीहरूले अरूलाई भन्थे । त्यस्ता उद्बोधनको श्रुति सङ्ग्रह नै पछि काव्यका रूपमा विकास भयो । चेलाहरूले पनि ऋषिसँगै सँगसँगै गाए । गाउने क्रममा नयाँ पुस्ताले पुरानो पुस्ताबाट सिक्दै आयो ।

ककेसिया पहाडमा वेदका ऋचा उद्बोदन भएकाले सुरुका श्लोकमा सेन्टर एसिया, इस्ट एसिया र इरानका शब्दहरू भेटिन्छन् । प्राज्ञिक अध्ययन र अनुसन्धानहरू गर्दा वेदको उत्पत्ति पश्चिम एसियामै भएको पुष्टि भएको छ ।

धेरै लामो समयसम्म वेदका श्लोक (ऋचा) हरू घोक्दै मानिसहरू मध्य–एसिया (सेन्ट्रल एसिया) बाट भारतीय उपमहाद्विप (इन्डियन सब–कन्टिनेन्ट) सम्म आइपुगे । एकाथरी आर्यनहरू पूर्वतिर बसाइँ सर्दै गए । उनीहरू भारतको गङ्गा नदीको मैदान (इन्डो गाङ्गेटिक प्लेइन)सम्म आइपुगे ।

अर्को समूह पश्चिमतिर गए । अहिलेका जर्मन र हङ्गेरियनहरू तिनै आर्यनका दरसन्तान हुन् । तर, पश्चिमतर्फ उनीहरूको सङ्गत क्रिस्चियनसँग भयो, वैदिकता बिर्सँदै गए । तर, उनीहरूको आस्था वेदतिरै छ । त्यसैले उनीहरू नेपाल र भारतबाट पण्डितहरू लगेर वेद पढ्न लगाउने, यता आएर पढ्ने र उतै संस्कृत पाठशाला खोल्ने गरिरहेका छन् ।

यसरी मध्य–एसियाबाट हालको भारतसम्म आएका मानिसहरूले नै वेदलाई ककेसस पर्वतदेखि गङ्गा नदीको किनारसम्मको लामो/वृहद दायरामा फैलाए । वेद गाउँदै गए, ऋचा थपिँदै गयो । नयाँ-नयाँ ऋषिका वचन आए ।

त्यसकारण वेदमा कुनै एक व्यक्तिको मात्र योगदान भेटिँदैन । त्यसैले वेदलाई अपौरुषिय (इमपर्सोनल) भनिन्छ । वेद कुनै एक ऋषिले मसी प्रयोग गरी लेखेका होइनन् ।

यहाँनेर विज्ञान र सूचना–प्रविधिमा पोख्त हुँदै गरेको आजको पुस्ताले उद्बोधन (रिभिल) माथि प्रश्न उठाउन सक्छ । तर, रिभिल सबै धर्ममा भएको छ । जेसस, मोहम्मद, बुद्ध सबैलाइ रिभिल भएको हो । मोहम्मद मक्कामा जाँदा २१ दिनसम्म गुफामा बसेका र त्यहाँ उनलाई रिभिल भएको, पछि तिनै वाणीहरू पछि कुरानमा आएको मानिन्छ ।

वेद : श्रुतिबाट लेख्यतिर

लेख्ने पद्दतीको विकास भएपछि वेद लेखियो । लेख्ने क्रममा पछि छुट्याएर पनि लेखियो । वेदका धेरै श्लोक जुध्ने भएकाले कृष्णदैपायन नाम गरेका महर्षिले वेदलाई चार भागमा छुट्टयाए । त्यसैले यीनलाई वेदव्यास भनियो ।

‘व्यास’ भनेको बाँड्नु हो । अर्थात्; कृष्णदैपायन महर्षिले वेदका ज्ञान बाँडे । वेदको पहिलो भागलाई ऋग्वेद, दोस्रो भागलाई सामवेद, तेस्रो भागलाई यजुर्वेद र चौथो भागलाई अथर्ववेद भनिन्छ ।

ककेसिया र सिन्धुका मानिसहरू पशुपालन गर्थे । उनीहरूसँग प्रशस्त समय हुने भएकाले पूरै वेद घोक्थे । पछि गङ्गाको समथर मलिलो मैदानमा आएपछि खेती पनि गर्न थाले ।

खेतीपाती समेत गर्दा वेद घोक्न समय कम हुन थाल्यो । सबैले पूरै वेद पढ्न भ्याएनन् । त्यसैले कृषि र पशुपालनसँग सम्बन्धित फरक–फरक काम गरेका मानिसहरूको आवश्यकताअनुसार वेदलाई छुट्याइयो । चारवटै वेद घोक्न सक्नेलाई चतुर्वेदी भनियो । तीनवटा वेद घोक्नेलाई त्रिवेदी, दुईवटा दिवेदी, यजुर्वेद घोक्न सक्नेलाई सुवेदी भनियो ।

नेपाल र भारतमा अहिले यजुर्वेद बढी उपयोगमा छ । यजुर्वेद राम्ररी घोकेका र प्रयोगमा ल्याउन सिकाउने व्यक्ति नै यहाँ पुजारी हुन्छन् । यजुर्वेद धेरै ठाउँमा पठनपाठन पनि भएको छ । वनारसभन्दा उत्तरका ब्राह्मणले शुक्ल यजुर्वेद पढ्छन् । पश्चिमकाले कृष्ण यजुर्वेद पढ्छन् ।

ऋग्वेद – ३३ कोटी (प्रकार) देवताहरूको बयान गरिएको छ । स्वर्गमा बस्ने ११ वटा, अन्तरिक्षमा बस्ने ११ वटा र पृथ्वीमा बस्ने ११ वटा देवताको बयान ऋग्वेदमा छ । स्वर्गमा इन्द्र लगायत ११ देवता बस्छन्, वायु लगायत ११ देवता अन्तरीक्षमा, अग्निलगायत ११ देवता पृथ्वीमा बस्छन् भनिएको छ । ऋग्वेदका देवताहरू नेचर अर्थात्‌ प्रकृतिसँग नजिक छन् ।

सामवेद – यो वेद ऋचा अर्थात्‌ श्लोकमा छ । श्लोकमा भएको वेद कसरी पढ्ने भन्ने जानकारी सामवेदमा छ । अहिलेको भारतीय शास्त्रीय सङ्गीत सामवेदमै आधारित भएको मानिन्छ । वेद पढ्न स्वर सुमधुर हुनुपर्छ । भोकल ट्रेनिङ लिनुपर्छ । भोकल ट्रेनिङ दिने तरिका सामवेदमा छ । सामदेव पढ्ने तालिम लिएको व्यक्तिले क्लासिक इन्डियन म्युजिकमा पनि गाउन सक्छ ।

यजुर्वेद – ऋग्वेदका देवीदेवताहरूको सङ्गीतमय रूपमा पाठ गरेर कर्मकाण्ठ गर्ने कुराहरू यजुर्वेदमा आउँछ । यजुर्वेद यज्ञसँग सम्बन्धित छ । अग्नि स्थापना, विवाह, भोजन, अग्निलाई साछी राखेर विवाह, ब्रतबन्ध गर्ने, हवनहरूको स्रोत यजुर्वेद नै हो ।

अथर्ववेद – यसमा राजशास्त्र, टुनामुना, अहिलेको तन्त्रमन्त्रका कुराहरू यसमा समेटिएको छ । हलो जोत्दा कस्तो मन्त्र पढ्ने, पानी पार्न कस्तो मन्त्र उच्चारण गर्ने, सुन्दरी स्त्रीलाई वशमा लिन कस्तो मन्त्र पढ्ने, पुरुषहरूको मन धेरैतिर बरालियो भने कस्तो मन्त्र पढ्नेजस्ता धेरै कुराहरू अथर्ववेदमा उल्लेख छ ।

यस्ता कुरा लेखिएको अथर्ववेद दुरुपयोग हुने जोखिम भएकाले यो अलिक गोप्य मानिन्छ । इन्द्रजाल र सामुद्रिक विद्याजस्ता कयौं मन्त्रहरू अथर्ववेदबाटै झिकिएको हुन्छ । ‘लोकल स्यामानिजम’का कुराहरू पनि अथर्ववेदमा छ ।

ऋग्वेद, सामवेद र यजुर्वेदलाई ओर्जिनल वेद मानिन्छ । अथर्ववेद चाहिँ पछि थपिएको हो भन्ने मत छ । यो प्राचीनकालको इन्साक्लोपेडिया हो । सुरुसुरुका सबै ज्ञान वेदभित्र छ । वेद नै सबै धर्मको मूल हो भनिन्छ ।

मैदानबाट हिमालतिर वेद

गङ्गा नदीको किनार लगायत भारतका विभिन्न स्थानबाट नेपाल आएका हिन्दुहरूले मस्टो लगायत धर्म मान्ने विभिन्न समुदायका विश्वास र मान्यताहरूलाई पनि अपनाए । यसरी अपनाउँदै जाने क्रममा यहाँका ब्राह्मणहरूको धार्मिक चालचलन मिश्रित भयो । यहाँका ब्राह्मणहरू वेद र स्यामाजिम दुवै मान्छन् ।

वेदमा कतै पनि पशुवलीको कुरा छैन । तर, नेपालका अधिकांश हिन्दुहरूले पशुबली दिन्छन् । भारतमा भने पशुबली निकै कम छ । आसाम या बङ्गालको केही भागमा मात्रै पशुबली प्रचलनमा छ ।

त्यसैले नेपाल र भारत दुबै देशमा हिन्दुइजम भए पनि इन्डियन हिन्दुइजम बढी वेदनिर्भर हो । नेपाली हिन्दुहरू भने धेरै हदसम्म स्थानीय परम्पराअनुसार चल्छन् । यहाँका ब्राह्मणहरू मस्टोसँग पनि जोडिएका छन् । उनीहरूको कूलदेवतामा इन्द्र, वायु, अग्नि आदि हुँदैनन् । बरु यहीँको परम्पराका दाह्रे मस्टो आदि हुन्छन् ।

मस्टोपूजा नेपालको पश्चिमी भेग र भारतको कुमाउ गढवालतिर भेटिन्छ । मस्टोहरूको परम्परा बोनहरूसँग पनि मिलेको देखिन्छ । साविक कर्णाली अञ्चलको माथिल्लो क्षेत्रका जनजातिहरूले पनि मष्टो पूजा गरेको भेटिन्छ । त्यसैले मस्टो त्यहाँको लोकल देवता हुनसक्छ । त्यस क्षेत्रमा १२ मस्टो र ९ भवानी पुज्ने गरिन्छ । मस्टोहरूको संस्कृत नाम छैन ।

खसहरू हिमाली मूलका हुन् । खसहरूले पहिलेदेखि नै रक्सी सेवन गर्थे । आर्यहरू चाहिँ खसमा गएर जोडिएका हुन् । त्यसैले वेदवाला आर्यले आफूलाई नै सक्कली हिन्दु भन्छन् ।

यता खसहरू भने प्रकृतिपूजक हुन् । किराँतदेखि गुरुङलगायत सबैसँग जनजातिसँग खसहरूको मिलाप छ । यो मिलन एनिमिजमबाटै भएको हो । एनिमिजममा पशुबली दिइन्छ, खसले पनि पशुबली दिन्छन् । त्यसैले अहिले नेपालमा चलेको ‘हिन्दुइजम’ र ‘बुद्धिजम’ दुबैमा ‘एनिमिजम’को प्रभाव छ ।

महाभारतमै किराँत, खसहरूलाई अनार्य या प्राप्य भनिएको छ । त्यसैले खसहरू आर्य होइनन् भन्ने पनि तर्क छ । कस्मिरदेखि नेपालको सुदूरपश्चिमसम्मको क्षेत्रलाई महाभारतमै अनार्यहरूको क्षेत्र भनेर लेखिएको छ ।

नेपालमा प्रचलित धर्मबारे कुरा हामीले प्रकृतिपूजकको धर्म (एनिमिजम) लाई केन्द्रमा राख्नुपर्छ । यहाँ भएको सबैभन्दा पूरानो धर्म यही थियो । एनिमिजम भएको ठाउँमा समयक्रममा हिन्दुइजम र बुद्धिजममा प्रवेश गर्‍यो ।

हिन्दुइजमको प्रभाव एनिमिजममा पर्‍यो भने एनिमिजमले पनि हिन्दुइजमलाई प्रभाव पार्‍यो । हालको नेपालको हिन्दुधर्ममा प्रारम्भिक हिन्दुधर्म र एनिमिजम दुवै सम्मिश्रित छ ।

यही एनिमिजम भएको ठाउँमा पछि बौद्धधर्म (बुद्धिजम) पनि प्रवेश गर्‍यो । यहाँको बुद्धिजममा पनि ‘लोकल एनिमिजम’ को प्रभाव छ । त्यसैले, हिन्दुइजम र बुद्धिजमलाई नेपालमा एनिमिजमले नै संयोजन गरेको हो ।

जे जसरी अन्तरघुलन भए पनि हिन्दुइजमको जरो वेद हो । अहिले हामीले भन्ने गरेको हिन्दु धर्मको प्राचीन नाम वैदिक धर्म (वेदिक रिलिजन) हो । जहाँ वेद छ, त्यहाँ हिन्दुइजम छ । हिन्दु कल्चरल सोसाइटीमा भने अन्य कल्चर पनि मिसिएको छ । यहाँ अन्य सेक्ट (सम्प्रदाय) पनि थपिएको छ ।

सुरुको ऋग्वेदलाई ओरिजिनल वेद मानिन्छ । अन्य वेद पढ्दा पनि ऋग्वेदकै श्लोक दोहरिन्छ । ऋग्वेदबाटै झिकेर यज्ञ गर्न बनाइएको वेद यजुर्वेद हो । अथर्ववेद चाहिँ अलिक भिन्न छ । यो वेदमा वैदिकका साथै लोकल ट्रेडिसनका कुरा संकलन गरिएको छ । लोकल एजिमिजमका कुराहरू पनि अथर्ववेदमा समावेश गरिएको छ ।

त्यसैले लामो समयसम्म श्रुति परम्परामा चलेको, पछि ताडपत्रमा लेखिएको, पछि दस्तावेजको रूपमा चारवटा भागमा लेखिएको वेद नै हिन्दुइजमको बेस हो । यही बेसमा टेकेर हिन्दुइजमका विभिन्न स्टेज विकास भएको हो ।

वेदको दार्शनिक पक्ष

समयक्रममा कसैले वेदलाई ज्ञान (नलेज) र कसैले कर्मकाण्ड (रिच्युअल्स) ढाले । त्यसैले कसैले वेदलाई ज्ञान र कसैले कर्मकाण्ड हो भन्छन् । अहिले वेदलाई दुई हिसाबले व्याख्या गरेको पाइन्छ ।

वेदलाई समानान्तर दुई अर्थ लगाइएको छ । एउटा अर्थ वेदको ज्ञानपक्ष वा ज्ञानकाण्डबाट हुने गरेको छ । अर्को पक्षले कर्मसँग जोडेका छन् ।

ज्ञान पक्षधरले वेदमै आधारित भइ १०८ उपनिषद् तयार गरे । तीमध्ये नेपालसँग धेरै सम्बन्ध भएको उपनिषद चाहिँ वृहद आरण्यक उपनिषद हो । यो उपनिषदमा याज्ञवल्क्य, गार्गी र मैत्रेयहरूका कुरा लेखिएको छ ।

यसमा यज्ञवल्क्यलाई गार्गीले के प्रश्न सोधिन्, यज्ञवल्क्यले के उत्तर दिए, मैत्रयले यज्ञवल्क्यलाई के प्रश्न सोधिन्, के जवाफ दिए भन्ने उल्लेख छ । त्यसैले यो उपनिषद संवादात्मक (डायलग फर्म) मा छ । यो उपनिषद् जनकपुरको सेटिङमा लेखिएको हो । वृहद भनेको ठूलो, आरण्यक भनेको वन र उपनिषद भनेको छेउमा लेखेको भनिएको हो ।

यज्ञवल्क्य ठूला ऋषि थिए । उनीसँग खुला सम्वाद गर्न विभिन्न स्थानबाट धेरै मानिसहरू आउँथे । गार्गी उत्तरतिरबाट चाम्पवृक्षको हाँगो बोकेर गइन् । त्यो हाँगो उनले यज्ञवल्क्यको अगाडि गाडिन् । अनि ‘आत्मा के हो, ब्रह्म के हो, मोक्ष के हो’ भनी प्रश्न सोध्न थालिन् ।

त्यसैले यो उपनिषदमा आत्मा, व्रह्म र मोक्ष लगायतको व्याख्या पाउँछौँ । यो उपनिषदले कुनै जातको कुरा गदैन । जसले आत्मा, ब्रह्म चिन्यो : उसलाई मोक्ष प्राप्त हुन्छ भनी लेखिएको छ । वेदको फिलोसोपिकल एस्पेक्टहरू झिकेर लेखिएको पुस्तक नै उपनिषद हो । त्यसमध्ये यज्ञवल्क्य र उनका चेलाचेलीहरूको छलफल समेटिएको उपनिषद नै वृहद आरण्यक उपनिषद हो ।

गीता

उपनिषदका सारलाई खिचेर पछि सजिलोसँग बुझ्ने गरी बनाइएको ग्रन्थ गीता हो । धेरै पछि लेखिएको यो ग्रन्थ महाभारतको अंश हो ।

महाभारत महाकाव्यमा १८ पर्व छन् । महाभारतको सेटिङमा भीष्म पर्व भन्ने छ । पाण्डव र कौरवहरूले जब लडाइँ सुरु गर्छन्, त्यो बेलामा पाण्डवतर्फका सेनापतिले वाण हान्ने बेलामा पारिपट्टी हेर्दा आफ्नै बाजे भीष्म, गुरु द्रोणाचार्य आदि आफन्तलाई देख्छन् । युद्ध जित्नका लागि आफ्नै आफन्त मार्नुपर्ने स्थिति आएपछि उनी आत्तिन थाल्छन् ।

त्यसपछि उनले गाण्डिव धनुष फालिदिन्छन् । रथमा उनको सारथी कृष्ण थिए । कृष्णले युद्धको नियम सम्झाए । वाण हानेपनि तिम्रा आफन्तको शरीर मर्छ, आत्मा मर्दैनजस्ता कुरा सुनाए । उनलाई युद्धका लागि ‘इन्करेज’ गरे । अन्तिममा विश्वरूप देखाइदिए । त्यसपछि अर्जुन लड्नका लागि तयार भए ।

महाभारतमा एक लाख श्लोक छन् । करिब ७०० वटा श्लोक गीतामा छन् । त्यसैले गीताले उपनिषदको मर्मलाई पनि समेट्छ । अरू ग्रन्थ पढ्न नभ्याएपनि गीता पढ्दा हिन्दुइजमको फिलोसोपी बुझ्न सकिन्छ । आत्मा, ब्रह्म आदिका वृहत पाटो अध्ययन गर्न उपनिषद पढ्नुपर्छ ।

कर्मकाण्ड वेद ज्ञानकाण्डको समानान्तर धार हो । यसलाई ब्राह्मण ग्रन्थ पनि भनिन्छ । यसले अनुष्ठान पक्ष (रिच्युअल अस्पेक्ट) मा बढी जोड गर्छ । अग्निमा कसरी हवन गर्ने, अग्निको विवाह कसरी गर्ने र अग्नि कसरी जगाउनेजस्ता कुरा छन् ।

ब्राह्मण ग्रन्थबाट विभेदको बिजारोपण

हिन्दु समाजमा जातीय विभेदको बिजारोपण तब सुरु भयो, जब कर्मकाण्ड वेदलाई विस्तारित बनाउने काम भयो । जात र वर्णका कुरा यहीँबाट सुरु भयो ।

ऋग्वेदमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र शब्दहरू छन् । तर, ब्राह्मण ठूलो या शुद्र सानो भन्ने कुरा लेखिएको छैन । देवताहरूको पनि पदानुक्रम (हायरार्की) गरेको छैन । स्रोत वेदमा जातहरू पनि समान छन् ।

तर, ब्राह्मण ग्रन्थ आएपछि नयाँ ‘स्टोरी’हरू बन्न थाले । अहिले बजारमा पाइने शतपथब्राह्मणजस्ता ग्रन्थ हिन्दु समाजमा विभेदका अश्त्र बने । यस्ता ग्रन्थमा ब्रह्माको कन्सेप्ट आयो । मानिसहरू ब्रह्माका विभिन्न अङ्गबाट निस्किए भनियो । यसै आधारमा समाजमा ठाडो पदानुक्रम (भर्टिकल हायरार्की) सुरु भयो ।

जन्मका आधारमा आफ्नै समुदायभित्र समेत विभेद सुरु गरियो । ब्राह्मणले ब्राह्मणकै छोरी बिहे गरे पनि वैदिक विधि नअपनाए उनीहरूबाट जन्मेका सन्तानलाई ब्रात्य (पतित) करार गर्न थालियो । मुनुस्मृतिमार्फत ब्रात्य ब्राह्मणलाई कर्मकाण्ड गर्न समेत रोक लगाइयो ।

यो धार विकसित हुँदै जाँदा यसलाई सङ्गठित बनाउन स्मृतिहरू लेखिए । १८ प्रकारका स्मृति तयार पारिए । नेपालमा मनुस्मृति बढी प्रचलनमा छ । मनु नाम गरेका विद्वानले वर्णाश्रममा आधारित सिस्टम अवधारणा विकास गरेका थिए । त्यसैलाई मनुस्मृति भनिएको हो ।

‘भर्टिकल हायरार्की’ भएकाले मनुस्मृति बढी चर्चित र विवादित छ । यही स्मृतिमा जातीय कुराहरू समावेश छ । एउटै प्रकृतिको अपराध गरे पनि फरक वर्णका मानिसलाई फरक सजायसम्मको व्यवस्था गरिएको छ ।

वि.सं. १९१० मा जङ्गबहादुरले तयार पारेको यस्तै विभेदकारी मुलुकी ऐनमा मनुस्मृति झल्किन्थ्यो, जुन कानुन नै नेपालको पहिलो लिखित संहितावद्ध कानून थियो । जात र वर्णका आधारमा १६५ वर्षसम्म राज्यकै संरक्षणमा नेपाली समाजमा विभेदको ‘नटबोल्ट’ कसिरहेको उक्त मुलुकी ऐन वि.सं. २०७५ भदौ १ गते विधिवत खारेज भएको थियो ।

ब्राह्मण ग्रन्थका आधारमा हिन्दु समाज र राज्यले विभेदकै लागि ठाडो पदानुक्रम (भर्टिकल हायरार्की) अपनाए पनि वेदको ‘फिलोसोपिकल एस्पेक्ट’ले यस्तो हायरार्की मान्दैन । ‘जो जुन समाज या जातमा जन्मे पनि आत्मा चिन्ने मानिसले मोक्ष प्राप्त गर्छन्’ भन्छ ।

तर, ‘रिच्युअल एस्पेक्ट’ रमाएकाहरूले त्यसो भनेनन् । जातलाई बढी प्राथमिकता दिए । नेपाली समाजमा ‘जन्मले वर्ण निर्धारण गर्छ’ भन्ने मान्यता अझै हावी छ ।

पाँचौँ शताब्दीमा तयार पारिएको भनिएको मनुस्मृति समाजमा लादेर विभेद थाल्दा आर्यहरू धेरै व्यवस्थित भैसकेका थिए । समाजमा धेरै किसिमका अपराधहरू हुन थालेको थियो । त्यसैले मनुस्मृतिलाई ‘तत्कालीन समाजको शासनव्यवस्था सुदृढ गर्न राजाका लागि लेखिएको किताब हो’ भनिन्छ । त्यो लगभग कानुनजस्तै थियो ।

नेपालमा पछि कानुन बनाउने क्रममा जयस्थिति मल्लले मनुस्मृतिकै सिको गरे । मल्लले ‘न्यायविकासिनी’ भन्ने पुस्तक निकालेका थिए । त्यो राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । सो पुस्तकमा मनुस्मृतिका धेरैजसो अंश राखिएको छ । काठमाडौं उपत्यकाका मानिसमाथि शासन गर्न मल्लले सो पुस्तक तयार पारेका थिए ।

त्यही मनुस्मृतिले जङ्गबहादुरको पालामा पनि राज्यकै कानुनमा निरन्तरता पायो । वि.सं. २०२१ सालमा नयाँ मुलुकी ऐन आएपछि मनुस्मृतिकालीन विभेद र दण्ड अलिक कम भयो । नेपालमा अहिले पनि विभेदका अनेक अवशेषहरू बाँकी नै छ ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ४ : ५८ बजे

चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन

इनरुवा– सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा

भिजाएर वा अंकुरित, कालो चना यसरी खानुहोस् 

काठमाडौं– जब स्वस्थ आहारको कुरा आउँछ, त्यहाँ केही स्वदेशी सुपरफूडहरू

सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो

इटहरी – विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सर्पदंशबाट बर्सेनि २० हजार प्रभावित, एन्टिभेनममा भारतकै भर

नेपालमा सर्पदंश ठूलो जनस्वास्थ्यको समस्याका रुपमा रहेको छ। नेपालको तराई