प्रा.डा. भुसाललाई प्रश्न : विश्वविद्यालयबाट हेर्दा देशको अर्थतन्त्र कस्तो देखिन्छ ? | Khabarhub Khabarhub

अर्थशास्त्रका प्राध्यापकसँग अर्थतन्त्रका कुरा

प्रा.डा. भुसाललाई प्रश्न : विश्वविद्यालयबाट हेर्दा देशको अर्थतन्त्र कस्तो देखिन्छ ?

‘हाम्रो बजेट विनियोजनमा कुनै सैद्धान्तिक आधार नै रहेन’



काठमाडौँ – सरकारले धेरै वर्षदेखि अपेक्षित राजस्व सङ्कलन र खर्च दुवै बढाउन सकिरहेको छैन । अधिक सम्भावनाबीच पनि सरकारले आर्थिक विकासलाई तीव्र गति दिन सकिरहेको छैन । अर्थतन्त्रमा त्राण भर्दै मुलुकलाई समृद्धि यात्रामा दौडाउन राजनीतिक नेतृत्व, सरकार र कर्मचारीतन्त्रको मुख्य भूमिका र क्षमता हुनुपर्ने हो । तर, अहिलेसम्मको अवस्थामा दलहरू प्रतिपक्षीमा रहँदा सरकारको दोष देख्ने र सरकारमा रहँदा सही ढङ्गले नतिजा दिन नसक्ने हालतमा छन् । अर्थतन्त्रमा दख्खल राख्न सक्ने भनिएका चर्चित पात्रहरू पनि दलीय स्वार्थ संरक्षण र नीति कार्यान्वयनमा विफल हुँदा प्रमाणपत्रधारी कार्यकर्ताको हैसियतमा सीमित हुँदैछन् ।

विद्यार्थीहरूलाई दिनहुँ अर्थतन्त्रबारे नै पढाउने गरेका विश्वविद्यालयका प्राध्यापकले चाहिँ देशको अर्थतन्त्रलाई कसरी हेरिरहेका छन् त ? माग सङ्कुचित हुँदा सुस्ताएको मुलुकको अर्थतन्त्र र आर्थिक क्षेत्रका कमीकमजोरी सुधारबारे त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रा.डा. ताराप्रसाद भुसालसँग गरिएको कुराकानी :

विश्वविद्यालयबाट हेर्दा देशको अर्थतन्त्रको चित्र कस्तो देखिन्छ ?

हामीले निराश भएर होइन, आशावादी हिसाबले नै हेर्नुपर्ने हुन्छ । अहिले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सबै खत्तम नै भयो भनिएको पनि पाइन्छ । तर, कम्तिमा पनि आर्थिक सूचकाङ्कले त्यस्तो देखाउँदैन । व्यवस्थापन गर्नपर्ने केही कुराहरू त छन्, तर अरू देशको तुलनामा हाम्रो देश खत्तमै भयो भन्ने अवस्था होइन ।

कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (आर्थिक वृद्धिदर) कमै भए पनि अरू देशको तुलनामा नराम्रो अवस्था छैन । यो वर्ष ४.६ प्रतिशत वृद्धि हुन्छ भन्ने छ ।

यतिखेर हामीले अर्थतन्त्रका केही पक्षलाई हेर्नुपर्छ । यहाँ सेवा क्षेत्रको योगदान बढी भयो । कृषिजस्तो महत्वपूर्ण प्राथमिक क्षेत्रको योगदान घटिरहेको छ । कतिपयले ‘हामी एकैपटक सेवा क्षेत्रमा गयौँ’ भनेर राम्रो रूपमा लिएको पनि देखिन्छ ।

मलाई के लाग्छ भने सेवा क्षेत्रको योगदान धेरै हुनु दीर्घकालको घातक हुनसक्छ । किनकि उत्पादन हुने प्राथमिक क्षेत्र त कृषि र उद्योग नै हो । सेवा क्षेत्र त फोकाजस्तो हो, एउटा सानो असरले पनि भताभुङ्ग हुनसक्छ । त्यसैले हामी सेवा क्षेत्रमा मात्रै केन्द्रित हुन हुँदैन । कृषि र उद्योग क्षेत्र विकासमा मेहनत गर्नुपर्छ ।

पहिले ५/६ प्रतिशत अथवा दोहोरो अङ्कमा समेत पुग्ने गरेको मुद्रास्फीति अहिले नियन्त्रित अवस्थामै छ । तर, अहिले बैङ्कको ब्याजदर पनि कम छ, तरलता पनि बढेको छ, यस्तो बेलामा लगानी हुनुपर्ने हो । तर, भएको छैन । यो भनेको हाम्रो विडम्बना हो । त्यसो हुनुमा हाम्रो जुन आर्थिक वातावरण छ – त्यो नभएको हो कि ! आशावादी हुनुपर्छ भन्दा पनि मान्छेमा निराशा नै छाएको हो कि !

मैले लगानी गर्दा १० वर्ष पछि यस्तो हुन्छ भनेर आकलन गरेर योजना बनाउन नमिल्ने खालको अवस्था छ । अर्थात् पछि राम्रो हुन्छ भन्ने विश्वास भएन । अर्को – हामीले लगानी निम्ति कर्जा लिँदा जमिन धितो राख्ने गरिन्छ । बाहिरतिर व्यवसायिक योजना वा परियोजना धितो राखेर नै ऋण पाइन्छ । जमिन कृषि क्षेत्रको रूपमा हुनुपर्नेमा त्यसलाई वस्तुको रूपमा राख्दैगर्दा मूल्य पनि बढ्यो । तर, अहिले जमिनको मूल्य घट्दै गर्दा बैङ्कमा खराब कर्जा बढेको स्थिति छ ।

लगानीकर्ताले भविष्यको अनुमान गरेर जोखिम लिएर लगानी गर्ने अवस्था किन बन्न सकेन त ?

हो ! हाम्रो अवस्था अनुमानयोग्य भएन । यसो भन्दै गर्दा पनि कुन दर्शनले हामी निर्देशित छौँ, देशको अर्थतन्त्र, कर्जा, हाम्रा गतिविधि कुन दर्शनले निर्देशित छन् भन्नेमै हामीलाई अन्योल भयो । संविधानमा समाजवादउन्मुख भनेर शब्द राखियो, तर सरकारले लिने नीति तथा कार्यक्रमहरूको समग्र दर्शन के हो भन्ने नै भएन ।

हामीले पुँजीवादलाई नै बढावा दिने हो कि जनताको तल्लो वर्गको पक्षमा केन्द्रित हुने हो भन्नेमै अन्योल छ । त्यसैले बजेट लगायत सरकारका नीतिहरूमा कुनै लचकता वा कडापन नै देखिँदैन । कुनै एउटा ह्वीमको भरमा नीति बनाएर त्यस्तो भएको जस्तो पनि मलाई लाग्छ ।

किनभने ५/१०/२० वर्षपछि हामी कहाँ पुग्दैछौँ भन्ने कुरा अनुमान गरेर त्यसैअनुसार आफ्ना प्राथमिकता निर्धारण गरी अघि बढ्ने भन्दा पनि व्यक्तिको इच्छा आकाङ्क्षा अनुसार नीति प्रभावित गर्ने काम भइरहेको छ । बजेट विनियोजनमा पनि यो वर्ष एउटा प्राथमिकतामा पर्छ, अर्को वर्ष हटाइन्छ । हामीले न अरू मुलुकबाट सिक्न चाह्यौँ, न त आफूले अर्थतन्त्रलाई वास्तविक आकार दिन सक्यौँ ।

मुलुक सापेक्षतामा अध्ययन–अनुसन्धान गर्ने, सम्भावना खोज्ने र योजना निर्माण गर्नेतर्फ पर्याप्त ज्ञान नभएको पनि हो कि !

ज्ञान या अनुसन्धान गर्नेहरूको कमी नै भएको त होइन । तर, अनुसन्धानको परिणाम अथवा त्यसको नतिजाको आधारमा राष्ट्रको नीति बनाउने अभ्यास भएन । सरकारले पनि अनुसन्धानका आधारमा काम गरेको अवस्था पनि छैन ।

अरूले दिएको अनुसन्धानका आधारमा काम गर्दा त्यो एकतर्फी पनि हुन सक्छ । आफैँले स्वतन्त्रपूर्वक गर्ने अवस्था पनि छैन । दक्षिण एशियामै नेपालका काम गर्नेहरूको तलबमान सबैभन्दा कम छ । बाहिरजस्तो अनुसन्धान गरेर निष्कर्ष निकालेर तथ्याङ्क दिन्छु भनी व्यक्तिगत रूपमा पनि गर्न नसकिने अवस्था छ ।

कतिपयले गरेका पनि छन्, तर त्यसको निष्कर्षअनुसार नीति निर्माण भयो भन्न सक्ने अवस्था छैन । केही वर्ष अगाडिसम्म हाम्रै हाराहारी रहेका मुलुकहरूले अहिले हामीलाई उछिनिसकेका छन् । ती देशले अपनाएको अभ्यासबाट हामीले पनि सकारात्मक सिको गर्न सकेको भए पक्कै पनि अवस्था अहिलेको भन्दा राम्रो हुन सक्थ्यो ।

हिसाब हेर्दा आम्दानी पनि बढाउन नसक्ने र खर्च पनि गर्न नसक्ने अवस्था देखिन्छ । अर्थतन्त्रको संरचनात्मक समस्याबारे तपाईँको बुझाइ के हो ?

बजेटरी प्रक्रियामा सहभागी भएका सबै व्यक्तिहरूलाई सोधियो भने ‘राजस्व नै कम छ, राजस्व कम भएपछि हामीले केही गर्न सक्दैनौँ, खर्च गर्न सक्दैनौँ’ भन्ने खालको पाइन्छ ।

वास्तवमा राजस्व भनेको सरकारले सिर्जना गर्ने हो । व्यक्तिले ‘म सँग पैसा छैन, खर्च गर्न सक्दिनँ’ भनेजस्तो अवस्थामा सरकार हुनुहुँदैन । किनभने सार्वजनिक वित्त र निजी वित्तका बीचमा फरक छ । निजी वित्त भनेको जति आम्दानी छ – त्यसलाई हेरेर खर्च गर्ने हो । तर प्राथमिकता छुट्याएर जहाँ जहाँ खर्च गर्ने हो, त्यसको आधारमा राजस्व अथवा आम्दानी सिर्जना गने हो ।

तर, हाम्रोमा राजस्व आम्दानी सिर्जना गर्ने क्षमता नभएकै हो । हाम्रो सरकारले पहिलेदेखि जुन शीर्षकमा कर लिँदै आएको छ –त्यसैमा निर्भर हुने, त्यसको दर बढाउने र त्यसको आधार बनाउनेतर्फ मात्रै लागेको देखिन्छ । तर, कहाँनेर काम गर्दा राजस्व बढ्छ भन्ने कुरामा अध्ययन भएको छैन ।

कतिपय नीतिको कारणले पनि आवश्यक राजस्व नउठेको अवस्था छ । जस्तो असारसम्मको मूल्य अभिवृद्धि कर (भ्याट उठाउनुपर्ने, आयकर समायोजन गर्नुपर्ने हो । तर, त्यसलाई अर्को एक वर्षसम्म पनि समायोजन गरे हुने भनेर छुट दिइएको पनि छ ।

जनताबाट, उपभोक्ताबाट उठाइसकेको राजस्व बीचको व्यक्ति या संस्थाले राज्यलाई नबुझाइ पुनः लगानी गर्छ । सरकारलाई बुझाउन ढिला गर्छ । त्यसमा अलिक कडाइ गर्ने हो भने थप राजस्व उठ्न सक्छ, यो उदाहरण मात्रै हो ।

यो बाहेक कम बिजक, बिजक नै जारी नगर्ने, भ्याट छुट पाउनका लागि मात्रै निर्यात गर्ने लगायत विकृतिलाई ट्रयाकिङ गर्ने हो भने अहिलेको भन्दा पक्कै पनि बढी राजस्व उठ्छ । उठेको राजस्व विभिन्न क्षेत्रमा खर्च गर्न सकिन्छ । तर, अहिले त ‘राजस्व नै उठाउन सकिन्न, हामीले खर्चमा मात्रै नियन्त्रण गर्नुपर्छ’ भन्ने भइरहेको छ । यसो भनेको सरकारले राम्रो गरिरहेकाजस्तो लाग्दैन ।

आर्थिक गतिविधिका जति पनि क्षेत्र हुन्छन, उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्षेत्रमा हेर्दा उत्पादकहरू पनि घाटामा छन्, उपभोक्ताहरू पनि महँगोमा खरिद गर्नुपर्ने अवस्थामा छन् । उत्पादनदेखि लगानीसम्म जसको योगदान नै छैन, सेवा क्षेत्रको नाममा मध्यस्थकर्ताले मात्रै बढी प्रोत्साहन पाइरहेको छ । नेपालमा त्यो वर्गले अलिक बढी फाइदा लिएको देखिन्छ ।

कुल गार्हस्थ्य उत्पादनमा जुन क्षेत्रको बढी योगदान छ, सो आधारमा त्यसलाई मात्रै सहुलियत दिने र बीचमा योगदान नगर्नेलाई प्रोत्साहन नगर्ने नीति लिन आवश्यक छ । जसले गर्दा दीर्घकालसम्म उत्पादनमा योगदान दिने टिक्ने अवस्था सिर्जना हुन सकोस् ।

असार १५ गतेसम्म तीनै तहका सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याइसकेका छन् । यसरी ल्याइएका बजेटले मुलुकको विकास आवश्यकता, सम्भाव्यता र सामर्थ्यको आधार बढाउन सम्बोधन गरेको देख्नुहुन्छ ?

सङ्घदेखि स्थानीय तहसम्मको बजेट हेर्दा पहिले अलिक बढी महत्वाकाङ्क्षी बजेट ल्याउने काम भयो । खासगरी पुँजीगत शीर्षकमा जुन खर्च गर्ने भनेर छुट्याइएको थियो, अधिकतम् ५०/६० प्रतिशत मात्रै खर्च भयो । अहिले आएर प्रदेश र पालिकाको बजेट हेर्ने हो भने पहिलाको भन्दा अङ्कमा नै कम हुन गएको देखिन्छ ।

मुद्रास्फीतिको दर ५/६ प्रतिशत छ, हामीले अलिक बढी काम गर्नपर्ने ! तर, अङ्ककै हिसाबले हेर्दा प्रदेश र स्थानीय तहको बजेट पोहोरको भन्दा कम छ । यसको अर्थ हामीले छुट्याएको बजेट पनि खर्च गर्न सकिरहेका छैनौँ ।

यसो हुनुको कारण हो – हामीसँग क्षमता र जनशक्ति छैन । अर्को शासन र नीति नियमको पाटो पनि झन्झटिलो र गति लिन सक्ने खालको नभएकाले जुन तरिकाले विकास हुनपर्ने हो, त्यो भएको देखिँदैन । एकातिर राजस्व कम छ भन्ने र अर्कोतिर विनियोजन गरेको रकम पनि खर्च गर्न नसक्ने हुँदा लिएका लक्ष्यहरू पूरा हुने कुरामा आशङ्का छ ।

यो राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको अक्षमताको नतिजा हो ?

हाम्रो क्षमता नै भएन, जनशक्ति नै त्यो खालको भएन । अहिले हामीले अर्थमन्त्री र मन्त्रीहरू बीचमै विवाद भइरहेको र आफ्नो क्षेत्रमा मात्रै बजेट पारेको भन्ने सुनिरहेका छौँ ।

यसले के देखाउँछ भने हाम्रो बजेट विनियोजनमा कुनै सैद्धान्तिक आधार नै रहेन । जहाँ नेतृत्व छ, त्यहाँ बजेट जाने ! तर, अन्यत्र नजाने भन्ने खालको नीति देखिन गयो ।

हामीकहाँ क्षमता पनि नभएकै हो । भएको बजेट पनि खर्च गर्न नसक्ने, योजना बनाउने, अनुसन्धान गरेर निष्कर्ष निकाल्ने र प्राथमिकता तोकेर काम गर्ने नै भएन । भन्न त आयोजना बैङ्कमा भएका आयोजनालाई मात्रै बजेट छुट्याउने भनियो, तर प्रोजेक्ट बैङ्कमा पनि हचुवाको भरमा योजना राख्ने काम भयो ।

अनौपचारिक अर्थतन्त्रको आकार झण्डै आधा रहेको अनुमान गरिएको छ, यो स्वस्थ अर्थतन्त्रको लागि अवसर वा चुनौती के हो ?

नेपालमा ठूलो हिस्सा अनौपचारिक अर्थतन्त्रकै छ । यो भनेको पूरै गैरकानुनी पनि होइन । अरू देशको अवस्था पनि हेर्ने हो भने त्यहाँ पनि अनौपचारिक अर्थतन्त्रको आकार ठूलो छ ।

करको दायरामा ल्याउँदा यो क्षेत्र पनि कानुनी हुन्थ्यो, उपभोक्ताहरू ठगिने स्थिति बन्ने थिएन, राजस्व पनि बढ्न सक्थ्यो । हामीले त्यसो गर्न सकेका छैनौँ ।

अर्थतन्त्रको अनौपचारिक क्षेत्रले मानिसहरूलाई रोजगारी दिएको छ र जीवनयापन गर्न सजिलो बनाएको छ । अहिले हाम्रो प्रतिव्यक्ति आय जति देखिएको छ – त्यो कानुनी आयका आधारमा देखिएको हो । अनौपचारिक रूपमा धेरै ठूलो छ । त्यसलाई कानुनी प्रणालीमा ल्याउन सक्ने हो भने सबैले जित्ने अवस्था हुन्छ ।

त्यसको लागि सरकारले नीति बनाएर काम गर्न सक्छ । तर, एकैपटक गर्न भने सकिँदैन । किनभने त्यहाँ अस्थायी काम गर्ने, आउटसोर्सिङ गर्ने लगायत धेरै काम भइरहेका छन् ।

अनौपचारिक अर्थतन्त्रको आकार घटाउँदै जानुपर्छ । चीनमा नेपाली पैसा थुप्रियो, त्यो साट्न नेपाल सरकारलाई आग्रह गरिएको समाचार आएको थियो । त्यो रकम अनौपचारिक रूपमा पुग्यो । अनौपचारिक अर्थतन्त्रमा बीचको मध्यस्थकर्ताले बढी फाइदा लिएको छ ।

मानवशक्ति निर्यात गरेर विश्वका केही तेस्रो मुलुकको अर्थतन्त्र धानिएका छन्, जसमा नेपाल पनि पर्छ । हामीकहाँ यसको विश्लेषण तथा अनुसन्धान त्यति नभएको हो ?

मानवशक्ति निर्यात नै त नभनौँ । अहिलेको अवस्थामा बसाइँसराइलाई रोक्न पनि सकिँदैन । पहिला पनि लाहुरेका रूपमा नेपालीहरू बाहिर गएर काम गरेकै अवस्था हो । अहिले पनि संसारका विभिन्न मुलुकमा पुगेका छन् ।

फेरि यसमा पनि बीचको वर्गले फाइदा लिने काम गर्‍यो । श्रमिकलाई निःशुल्क पठाउने भनेर दुई देशका सरकारको तहमा कुरा भयो । फेरि बीचको वर्गले फाइदा लिएर श्रमिक पठाउने काम गर्‍यो ।

बसाइँसराइको सिद्दान्तमा पुल र पुस (तान्ने र धकेल्ने) फ्याक्टर भनिन्छ । यहाँ बसेर काम गर्ने वातावरण नभएको पुस फ्याक्टर भयो । अर्को देशमा ज्याला र राम्रो वातावरण भयो भने त्यो पुल फ्याक्टर भयो । मानिसहरू त्यतै जाने भए ।

विदेश गएका श्रमिकले सीप सिक्छन्, त्यो सीप लिएर स्वदेश फर्कन्छन् । त्यहाँ गरेको आम्दानी पनि नेपालमा ल्याएर लगानी गर्छन् भन्ने यथार्थ हेर्नुपर्ने हो । यहाँ अर्कै ढङ्गले हेर्ने काम भइरहेको छ ।

पहिलाको पुस्ता मलेसिया र अरब मुलुक पुग्यो । दोस्रो पुस्ता यूरोप, अमेरिका र अष्ट्रेलिया लगायत देशमा पुग्यो । यहाँनेर के भयो भने पहिला आएको रेमिट्यान्स पनि दोस्रो पुस्तामा लगानी गरेर बाहिरिने काम भयो । अहिले बाहिरिएका युवाको तुलनामा रेमिट्यान्स आप्रवाह पनि घट्न पुगेको छ ।

मान्छे बाहिर जाने क्रमलाई रोक्न त सकिँदैन । तर, त्यसमा पनि ‘रेन सिकर’ हरूले कुरेर फाइदा लिने भएको छ, यसलाई नियन्त्रण गरेर राज्यले प्रणालीमा ल्याउनुपर्छ ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रको स्रोत, सामर्थ्य र सम्भावना बदलिएको हो कि पुरानै अर्थशास्त्रीय पहिचानभन्दा टाढा छैन ?

हाम्रोमा प्रविधि र नवीनता अगाडि–अगाडि, हामी पछाडि–पछाडि हुन पुगेका छौँ । हामीले प्रविधि र इनोभेसनबाट जुन फाइदा लिन सक्थ्यौँ – त्यो हुन सकेको छैन ।

उदाहरणका रूपमा राइड शेयरिङ कार्यान्वयनमा आएको लामो समयपछि मात्रै नियमनमा आउने अवस्था बन्यो । बाहिरका मान्छे नेपालमा बसेर वा नेपालका मान्छेले यहाँ बसेर बाहिरको काम पनि गरेका छन्, जसलाई देशले चिन्दैन ।

कतिपयले क्रिप्टोकरेन्सीबाट त्यस्तो कारोबार गरेका छन्, यसको विषयमा अहिले राष्ट्र बैङ्कले अनुसन्धान त गर्ने भन्दैछ, तर त्यो नहुँदै अर्को पक्षले फाइदा लिने काम भइसकेको हुन्छ भने राज्यलाई घाटा भइसकेको हुन्छ । जस्तो ः भुटानले हाइड्रो प्रयोग गरेर बिटक्वाइन बनाउने काम गरेछ । उसले एकढङ्गले फाइदा लियो । दीर्घकालीन रूपमा सोचेको भए त नेपालमा पनि त्यस्को सम्भावना हुनसक्थ्यो होला ।

विश्वविद्यालयमा देशको अर्थतन्त्रको अवस्थालाई लिएर अनुसन्धान हुन्छन् या पठनपाठन परम्परागत किताबदेखि किताबसम्म सीमित छ ?

पछिल्लो समय राज्य, विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालय पनि अनुसन्धानमा केन्द्रित हुँदैछ । प्राध्यापक र विद्यार्थी अनुसन्धानमा लाग्नपर्छ भनेर रकम नै छुट्याउन थालिएको छ । रकम नै छुट्याएर ठूलादेखि साना अनुसन्धान निम्ति लागि डिन कार्यालय र क्याम्पसहरूले गरिरहेको अवस्था छ ।

तर त्यसमा बढी अनुसन्धान एकेडेमिक खालका, कसैलाई बढुवाको लागि, कसैलाई डकुमेन्टेसनका लागि गरेको अवस्था छ ।

अनुसन्धानको निष्कर्षलाई बजारसँग कसरी जोड्ने र प्राप्त उपायलाई इन्कुभेसन गरेर, तालिम र वातावरण दिएर पछि स्टार्टअपसम्म जाने भन्ने हिसाबले भर्खरै मात्रै विश्वविद्यालय इन्कुभेसन सेन्टर स्थापना गरेको छ । त्यसको निर्देशकको रूपमा म आफैँ नै छु । त्यस निम्ति आवश्यक भौतिक संरचना पनि बनाउँदैछौँ ।

अहिलेसम्मको अनुसन्धानका निचोडबाट कसरी लाभ लिन सकिन्छ ? अथवा उत्पादन निकाल्न सकिन्छ ? बौद्धिक सम्पत्तिको अधिकारसम्म कसरी लैजान सकिन्छ ? अनुसन्धानको निचोडलाई कार्यान्वयनको तहमा कसरी लैजान सकिन्छ भनेर सरकारले पनि विश्वविद्यालयमार्फत् यस्ता कुराहरू गर्नपर्छ ।

अबका दिनमा पक्कैपनि अनुसन्धान कार्यान्वयनसम्म लैजान सकिन्छ भन्ने लाग्छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ५ : २५ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन