साताको शेयरबजार : मौद्रिक नीतिको छेकोमा १०८ अङ्कले बढ्यो नेप्से | Khabarhub Khabarhub

साताको शेयरबजार : मौद्रिक नीतिको छेकोमा १०८ अङ्कले बढ्यो नेप्से


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – असारको तेस्रो साता अर्थात् असार १५ देखि १९ गतेसम्म नेपालको शेयर बजारमा उच्च अङ्कको वृद्धि देखियो ।

नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गर्ने तयारीमा रहेको बेला साताभर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०८ अङ्कले बढेको हो ।

सम्भवतः आगामी साता केन्द्रीय बैङ्कले मौद्रिक नीति ल्याउनेछ । मौद्रिक नीति सकारात्मक आउने लगानीकर्ताको अपेक्षाबीच शेयर बजारमा हरियाली छायो ।

राष्ट्र बैङ्कका गभर्नर नियुक्त भएपछि डा. विश्वनाथ पौडेलले सार्वजनिक मञ्चबाटै शेयर बजारका लागि सकारात्मक अभिव्यक्ति दिएका थिए । सोहीकारण मौद्रिक नीतिको मुखमा लगानीकर्ताहरू केही आशावादी देखिएका हुन् ।

अघिल्लो साताको बिहीबार २५९५.७४ बिन्दुमा रहेको नेप्से परिसूचक पाँच कारोबार दिनमा १०८.२२ अङ्कले बढेर २७१६.९३ बिन्दुमा पुगेको छ । सातामा ४.०८ प्रतिशतले बढेको बजार औसतमा दैनिक २१.६४४ अङ्कले बढ्यो ।

यो साताका सबै पाँच कारोबार दिन नै बजार बढ्दा लगानीकर्ता उत्साही देखिए । बुधबार सबैभन्दा बढी ३४.४२ अङ्कले बढेको नेप्से अन्तिम कारोबार दिन बिहीबार भने सबैभन्दा कम ९.१४ अङ्कले बढ्यो ।

सातामा नेप्से बिहीबार उच्चतम २७१६ र आइतबार सबैभन्दा कम २५९४ बिन्दुबीच रह्यो । पाँच कारोबार दिनमा ३९ अर्ब ९३ करोड २३ लाख ८७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो । दैनिक औसतमा सात अर्ब ९८ करोड ६४ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

सातामा १० करोड १७ लाख ३८ हजार ३५७ कित्ता र दैनिक औसतमा दुई करोड तीन लाख ४७ हजार ६७१ कित्ता शेयर कारोबार भयो । तीन लाख ९४ हजार २१६ पटक शेयर किनबेच हुँदा औसतमा दैनिक ७८ हजार ८४३ पटक शेयर कारोबार भयो । सातामा दैनिक औसत ११६ कम्पनीको शेयर कारोबारमा आयो ।

गभर्नर डा. विश्वनाथ पौडेल ।

कुन दिन कस्तो रह्यो बजार ?

शेयर बजारले यो साताको सुरुवात नै सकारात्मक रूपमा गरेको थियो । आइतबार नै नेप्से २६.५३ अङ्कले बढ्दा लगानीकर्ताको मनोबल उच्च भयो ।

लगातार आठौँ दिनको कारोबारमा एक दिनलाई छाडेर लगातारजसो बजार घटिरहेको बेला आइतबार नेप्से १.०२ प्रतिशले बढ्दा लगानीकर्तामा आशा लाग्यो ।

आइतबार ३२ अङ्कको उतारचढाव आउँदा अन्तिममा बजार २६२२.२८ बिन्दुमा रोकियो । उक्त दिने नेप्से परिसूचक उच्चतम २६२६ र न्यूनतम २५९४ बिन्दुसम्म पुग्यो ।

आइतबार नेप्से बढे पनि कारोबार भने अघिल्लो कारोबार दिनकै जस्तो रह्यो । आइतबार कारोबार अवधिभर सात अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबरको एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर कारोबार भयो । ३२८ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ७५२ पटक शेयर किनबेच भएको थियो ।

सोमबार भने बजारको बढ्ने रफ्तारमा थोरै ब्रेक लाग्यो । सोमबार नेप्से ९.१९ अङ्कले मात्र बढेको थियो । बजार ०.३५ प्रतिशतले बढेर २६३१.४८ बिन्दुमा पुग्यो । बजारमा १६ अङ्कको उतारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २६३८ बिन्दु र न्यूनतम २६२२ बिन्दुसम्म पुग्यो ।

बजारको बढ्ने रफ्तार कमी भएसँगै कारोबार रकममा पनि केही गिरावट देखिएको थियो । सोमबार ६ अर्ब ३८ करोड ७२ लाख सात हजार रुपैयाँ बराबरको एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको थियो । दिनभर ३१८ वटा कम्पनी कारोबारमा आउँदा ६३ हजार ३७१ पटक शेयर किनबेच भयो ।

बजार बढ्ने क्रममा मङ्गलबार उच्च अङ्कको वृद्धि देखियो । मङ्गलबार एकै दिन नेप्से २८.९१ अङ्कले बढेर २६६०.३९ बिन्दुमा पुग्यो । उक्त दिन नेप्से १.०९ प्रतिशतले बढेको थियो ।

निरन्तर बढ्दो बजारमा ३२ अङ्कको उचारचढाव देखिँदा परिसूचक उच्चतम २६६३ बिन्दु र न्यूनतम २६३२ बिन्दुमा पुगेको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेर सात अर्ब तीन करोड ३० लाख ५० हजार रुपैयाँ पुग्यो ।

उक्त रकम बराबरको एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर कारोबार भयो । मङ्गलबार दिनभर ३०९ वटा कम्पनीको शेयर कारोबारमा आउँदा ७० हजार २१४ पटक किनबेच भयो ।

साताको अन्तिम दिन बिहीबार कारोबार सकिएपछि शेयर बजारको अवस्था ।

नेप्सेमा बुधबार सातामा सबैभन्दा उच्च अङ्कको वृद्धि देखियो । उक्त दिन ३४.४२ अङ्क बढेर नेप्से २६९४.८२ बिन्दुमा पुग्यो । बुधबार नेप्से परिसूचक १.२९ प्रतिशतले बढ्दा बजारमा ३५ अङ्कको उतारचढाव देखियो । परिसूचक उच्चतम २६९६ बिन्दु र न्यूनतम २६६१ बिन्दुमा पुग्यो ।

जसरी बजारमा उच्च अङ्कको वृद्धि देखियो – कारोबार रकम पनि त्यसरी नै बढ्यो । नौ अर्ब ७४ करोड ४८ लाख ४३ हजार रुपैयाँ बराबरको तीन करोड एक लाख ८२ हजार ३१४ कित्ता शेयर कारोबार भयो । बुधबार ३१७ वटा कम्पनीको शेयर कारोबारमा आउँदा ८९ हजार ४६८ पटक शेयर किनबेच भयो ।

साताको अन्तिम दिन बिहीबार पनि बजार ९.१४ अङ्कले बढेर बन्द भयो । परिसूचक २७०३.९६ बिन्दुमा पुग्यो । उक्त दिन नेप्से ०.३३ प्रतिशतले बढ्दा बजारमा ३१ अङ्कको उतारचढाव देखियो । परिसूचक उच्चतम २७१७ बिन्दु र न्यूनतम २६८५ बिन्दुसम्म पुग्यो ।

साताको अन्तिम दिनको कारोबार अघिल्लो दिनको बराबरजस्तै भयो । बिहीबार दिनभर नौ अर्ब ६५ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको दुई अर्ब ४९ करोड ७६ हजार ३६६ कित्ता शेयर किनबेच भयो ।

बिहीबार दिनभर ३११ वटा कम्पनीको शेयर कारोबारमा आउँदा ९६ हजार ४११ पटक शेयर किनबेच भयो ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : १५ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने