काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताले आफ्नै सहभागितामा विद्युत् व्यवस्थापन गरेर अन्धकार हटाएको कार्य प्रशंसनीय रहेको बताएका छन् ।
राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज, नेपालको ८औँ साधारणसभामा बोल्दै मन्त्री खड्काले समाजको यस योगदानलाई सरकारले निरन्तर सहयोग गर्दै आएको र यसलाई अझ व्यावसायिक ढंगले अघि बढाउन जरुरी रहेको बताए ।
उनले विशेषगरी कुना–कन्दरासम्म, अप्ठेरा र दुर्गम भूगोलमा विद्युत् पुर्याउने कार्यलाई असाधारण उपलब्धि ठहर गर्दै समाजका गतिविधिहरूको प्रशंसा गरे ।
हाल देशभर करिब दुई हजार संघ–संस्था तथा व्यक्तिहरू संलग्न रही ४० मेगावाटभन्दा बढी लघु तथा साना जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन भइरहेको जानकारी पनि उनले दिए ।
मन्त्री खड्काले अप्ठेरा भूगोलमा विद्युत् पुर्याउनाले सामाजिक–आर्थिक रूपान्तरणमा ठूलो योगदान पुर्याएको उल्लेख गर्दै, अब यसलाई दीर्घकालीन रूपमा टिकाइ राख्न व्यावसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य हुने धारणा राखे ।
उनले थपे, ‘ऋणलाई अनुदानजस्तो ठानेर वितरण गर्दा आर्थिक अनुशासनमा समस्या आउँछ, त्यसैले संस्थाहरूलाई व्यावसायिक मोडेलमा अघि बढाउन जरुरी छ ।’
सरकारले राष्ट्रिय प्रसारण ग्रीडलाई प्रत्येक स्थानीय तहसम्म पुर्याउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको स्मरण गर्दै उनले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्य निर्धारण गरिएको र त्यसतर्फ सरकार आक्रामक ढंगले अघि बढिरहेको जानकारी दिए ।
ऊर्जा क्षेत्रमा पछिल्ला वर्षमा नीतिगत सुधार भएका कारण दिगो र पारदर्शी प्रणालीतर्फ सरकार अघि बढिरहेको बताउँदै मन्त्री खड्काले सुशासन कायम गर्न सरकारले आक्रामक रूपमा काम गरिरहेको पनि उल्लेख गरे ।
कार्यक्रम समाजका अध्यक्ष नारायणध्वज खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र नेपालका कार्यकारी निर्देशक नवराज ढकाललगायत विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।
सभामा वक्ताहरूले लघु तथा साना जलविद्युत् क्षेत्रले ग्रामीण जीवनस्तरमा ल्याएको परिवर्तन र यसलाई दिगो बनाउने आवश्यकता बारे विचार व्यक्त गरेका थिए ।
प्रतिक्रिया