काठमाडौं – कन्टेन्टमा दम भएका फिल्मले नै राम्रो व्यापार गर्ने हुन् । अपवादमा यस्ता फिल्म नचल्न पनि सक्छन् । स्टार अनुहार फिल्ममा थुपार्दैमा निर्माता सुरक्षित हुन सक्दैनन् भन्ने उदाहरण नेपाली सिनेमामा धेरै पटक देखिसकेको छ ।
त्यसो भए नायक अनमोल केसीलाई किन निर्माताहरु ५० लाख लगानी गरेर फिल्ममा लिन हानाथाप गर्छन् त ? जवाफ प्रष्ट छ– अनमोललाई लिँदा फिल्मको हाइप बढ्छ । इनिसियल व्यापार राम्रो हुन्छ ।
स्टार कलाकारकाे मुख्य तागत नै यी दुई हुन्– इनिसियल व्यापार र फिल्मको हाइप । यी दुवै फिल्मको प्रचारसँग जोडिन्छन् । स्टार कलाकार भएको फिल्मको विदेशी राइट्स र ओटीटी राइट्स बिक्रीमा महँगोमा बिक्री हुन्छ । यी दुई निर्माता सुरक्षित हुने प्रमुख विकल्प पनि हुन् ।
तर, नेपाली फिल्मको मुख्य व्यापार घरेलु बजार नै हो । राइट्स बेचेर कमाउँछु भनेर कसले फिल्म बनाएको हुन्छ र ?
स्टार कलाकारले फिल्मको हाइप बढाउँदा इनिसियल व्यापार बढी हुने सम्भावना रहन्छ । इनिसियल व्यापारले नै फिल्मको ग्रस कलेक्सनको ठूलो भूमिकामा खेल्छ ।
अझ यसरी बुझौं –
इनिसियल दर्शकको प्रतिक्रिया नै फिल्मको व्यापारको मुख्य कारक तत्व हुन् । उनीहरुकाे प्रतिक्रियाले बाँकी दिनको व्यापार निर्धारणमा ठूलो भूमिका राखेको हुन्छ । जसलाई फिल्मी भाषामा ‘वर्ड अफ माउथ’ भन्ने गरिन्छ ।

सकारात्मक ‘वर्ड अफ माउथ’ नै फिल्म प्रचारको ठूलो सम्पत्ति हो । यहीसम्मको सहजताका लागि स्टार कलाकारको खोजी हुने गर्छ, महँगो पारिश्रमिक दिएर नै किन नहोस् । त्यसैले त निर्माता स्टार कलाकारलाई ५० लाख दिन तयार हुन्छन् । व्यवासायिक रुपमा फिल्ममा नायक अनमोल केसीको माग हुने कारण यिनै हुन् ।
अनमोलका एकाध फिल्म बाहेक सबैको इनिसियल व्यापार राम्रो छ । फिल्म क्षेत्रको चल्तीको भाषामा भनौँ- इनिसियल हानेको छ । ०७९ सालमा फागुनमा प्रदर्शनमा आएको ‘छड्के २’मा अनमोलले इनिसियल हान्नै सकेनन् । त्यहीकारण उनको स्टारडम सकिएको टिप्पणी भएको हो ।
लभर ब्वाइको छवि बनाएका अनमोललाई दर्शकले ‘छड्के २’मा ग्याङस्टारको चरित्रमा स्वीकार गरेनन् वा उनी फितलो रुपमा प्रस्तुत भए । अनमोलको करिअरलाई ‘छड्के २’ ले भूकम्प ल्यायो ।
मानसिकरुपमा पनि त्यस समय उनी संकटमा पुगेका रहेछन् । उनी आफैँ भन्छन्, ‘त्यो समय मेरो जीवनको कठिन क्षण हो ।’ त्यस फिल्मको असफलताले आफूलाई थुप्रै पटक एकान्तमा रुवाएको अनमोलले सेयर गरेका छन् ।
रुनुको कारणबारे उनले खुलाएका छन्, ‘फिल्म फ्लप हुँदा मलाई अभिनय आउँदैन, स्टारडम सकियो र चयन गर्ने स्क्रिप्ट छैन भनेर टिप्पणी गरिएको थियो ।’ त्यो सयममा आफूलाई फिल्म क्षेत्रबाटै सहयोग र प्रहार दुवै भएको महसुस भएको अनमोल बताउँछन् ।
‘छड्के २’ले अनमोललाई सोच्न बाध्य बनायो । उनले ९ फिल्ममा अभिनय गरेको अनुभवलाई पहिलो इनिङका रुपमा थन्काउने निर्णय लिए ।

कारण– एउटै छ । यो फिल्म डिजास्टर फ्लप भयो । यस फिल्ममा अनमोलको पारिश्रमिक ५० लाख दिएको चर्चा थियो ।
चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट हेर्दा ‘छड्के २’को व्यापार व्यापार ३० हाराहारी छ । यस्तो डिजास्टर फ्लप अनमोलको कल्पनाभन्दा निकै बाहिरको कुरा हो ।
यही असफलताले आलोचन र करिअरबारे विभिन्न टिकाटिप्पणी सुरु भएपछि अनमोलले एक स्ट्याटस लेखे, ‘अब म शून्यबाट सुरु गर्नेछु…. मेरो करिअरको दोस्रो सत्रको सुरुवात अबको अर्को फिल्मबाट हुनेछ ।’
कस्तो थियो अनमोलको पहिलो इनिङ ?
अनमोलको पहिलो इनिङ अन्तिम अर्थात् फुल फेज नायकको रुपमा नवौं फिल्म ‘छड्के २’ हो । ‘नेपो किड’ अनमोलको डेब्यू फिल्म ‘होस्टल’ हो । यही फिल्म सफल बन्दा उनले नायकको परिचय र चर्चा पाए ।
दोस्रो फिल्म ‘जेरी’ले उनलाई स्टार बनायो । यी दुई फिल्मले नै उनको फ्यानबेस राम्रो बन्यो । युवा पुस्तामा उनी प्रिय बने । तेस्रो फिल्म ‘ड्रिम्स’ र चौथो फिल्म ‘गाजलु’मा उनी लभर ब्वाइकै भूमिकामा देखिए । यस बेलासम्म अनमोल खासै अलोचनाको शिकार बन्नु परेको थिएन ।
पाँचौ फिल्म ‘कृ’मा ज्यान बनाएर उनले एक्सन जनरामा अभ्यास गरे । यो फिल्ममा उनले २० लाख पारिश्रमिक लिएकाे चर्चा चल्यो । अब उनको चर्चा महँगो नायकका रुपमा हुन थाल्यो । यो ०७४ सालको कुरा हो । त्यसबेलाको यो निकै ठूलो पारिश्रमिक हो ।
तर, एक्सन जनरामा अनमोललाई दर्शकले त्यत्ति स्वीकार गरेको पाइएन । उनको कमजोर अभिनय क्षमताबारे पनि टिप्पणी हुन थाल्यो ।
तर, पनि त्यसपछिका फिल्ममा अनमोलको पारिश्रमिकको ग्राफ उकालो लाग्ने क्रम रोकिएन । अर्का तिर उनी कमजोर अभिनय क्षमता र कमजोर स्क्रिप्ट चयन गरेको भन्दै निरन्तर आलोचित बने ।
छैठौं फिल्म ‘क्याप्टेन’ समीक्षात्मकरुपमा कमजोर बन्यो । अनमोलले यस फिल्मबारे खबरहबसँग भनेका थिए, ‘फिल्ममा भीएफएक्सको पाटो कमजोर भयो । मैले त मेरो तर्फबाट मिहिनेत गरेकै हो ।’
महँगो हिरो भनेर चर्चा पाएका अनमोल अहिले त्यही फिल्मको कमजोर भीएफएक्सका कारण ट्रोलको शिकार बन्ने गरेका छन् । त्यो क्रम अझै रोकिएको छैन । यो फिल्मले ‘अनमोलको अभिनय क्षमता कमजोर छ’ भन्ने भाष्यलाई थप बढवा दियो । फेरि यही फिल्मबाट उनले ‘मेघा स्टार’को ट्याग पाएका हुन् ।
त्यसपछिका फिल्म ‘ए मेरो हजुर ३’ अनमोलको करिअकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म बन्यो । निर्माता सुनील कुमारले केही समयअघि यो फिल्मको व्यापार ८ करोडमाथि रहेको खबरहबसँग दाबी गरेका थिए ।
यहीबेलादेखि उनको पारिश्रमिक ५० लाख पुगेको चर्चा चल्न थालेको हो ।

आठौं फिल्म ‘ए मेरो हजुर ४’ अनमोलको करिअरमा विशेष स्थान राख्ने बन्न सकेन ।
नवौं फिल्म ‘छड्के २’ ले अनमोलको पहिलो इनिङको अन्त्य गरायो । ‘कमजोर अभिनय क्षमता’का कारण उनले सबैभन्दा बढी आलोचना पाएको यही फिल्मबाट हो । यसैको असफलताले झस्किएका अनमोलल प्रहरी हिरासतमासमेत पुग्नुपर्यो ।
‘छड्के २’ पछि नयाँ इनिङ गर्न क्वालिटीका फिल्म खेल्ने भन्दै अनमोलले फिल्म ‘रावायण’को सम्झौता भंग गरेका थिए ।
उनले एडभान्स लिएर फिल्म खेल्न आनकानी गरेपछि निर्देशक सुदर्शन थापाको ‘सुदर्शनप्रोडक्सन’ले प्रहरीमा उजुरी दिएको हो । उनी त्यसबेला तीन दिन प्रहरी हिरासतमा बसेका थिए ।
समग्रमा पहिलो इनिङमा अनमोलले स्टारडमको तागतमा फिल्मलाई राम्रै इनिसियल हनाए । ‘छड्के २’ बाहेकका फिल्ममा उनले निर्मातालाई घाटामै जानबाट जसो-तसो जोगाए ।
पहिलो इनिङका सुरुवाती तीन ‘होस्टल’, ‘जेरी’ र ‘ड्रिम्स’बाहेक उनले राम्रो स्क्रिप्ट चयन गर्न नसकेको टिप्पणी पनि सहनुपर्यो । इनिङको अन्त्य तिर ‘अभिनय आउँदैन’ भन्ने ‘मास कमेन्ट’ सुन्नपर्यो । अनमोललको पहिलो इनिङमा आलोचनाले नै घेरिएर बित्यो ।
दोस्रो इनिङको सुखद सुरुवात
अनमोलको दोस्रो इनिङको पहिलो फिल्म ‘फर्कीफर्की’ हो । यो उनको करिअरको १० औं फिल्मसमेत हो । दोस्रो इनिङमा पनि उनको पारिश्रमिक चर्चामै बन्यो । यो फिल्ममा उनले ५० लाख पारिश्रमिक निर्माता रोहित अधिकारीको प्रमाण पेस गरेका थिए ।
अर्थात्, दोस्रो इनिङमा पनि उनी आफूलाई महँगो नायकका रुपमा चर्चामा ल्याउन सफल भए । इनिसियल व्यापारमा आफ्नो स्टारडम देखाउन पनि सफल भए ।
यो फिल्मले व्यापार साढे ४ करोड हाराहारी छ । ०८१ साल जेठमा प्रदर्शनमा आएको यस फिल्मले ‘पुजार सार्की’सँग बक्स अफिस भिडन्त गरेको थियो । अर्थात्, अनमोलका प्रतिद्वन्द्वी मानिएका अर्का नायक प्रदीप खड्कासँग बक्स अफिस भिडन्त भएको थियो ।
यो फिल्मले उनले पाएको प्रमुख कुरा– सकारात्मक प्रतिक्रिया नै हो । यो फिल्म हेर्ने र समीक्षकहरुको टिप्पणी थियो, ‘अनमोलको अभिनयमा सुधार ।’ तर, राम्रो स्क्रिप्ट चयनमा उनी यो पटक पनि चुकेका थिए ।
दोस्रो इनिङको दोस्रो फिल्म ‘जेरी अन टप’बाट अनमोलले करिअरकै ठूलो सफलता हात पारेका छन् । राहतको स्वास लिन पाएका छन् ।
पहिलो– उनले आफ्नो अभिनय सुधार गरेका छन् । यो ‘जेरी अन टप’ हेर्नेले गरेको टिप्पणी हो ।
दोस्रो– पहिलो पटक उनले १० करोड ग्रस कलेक्सनको अनुभव लिन पाएका छन् ।
‘जेरी अन टप’ अहिले पनि प्रदर्शनरत छ । अहिले अनमोल बधाईको पात्र बनेका छन् ।

तर, अनमोल यो पटक उत्कृष्ट निर्देशक र स्क्रिप्ट नपाएको चर्चा भने यथावत छ ।
अनमोलको पहिलो इनिङको दोस्रो फिल्म ‘जेरी’ हो । दोस्रो इनिङको दाेस्रो फिल्म ‘जेरी’कै सिक्वेल ‘जेरी अन टप’ बनेको छ ।
अहिले अनमोलको स्टारडम फर्किएको पनि चर्चा छ । यो फिल्मको सफलतसँगै अनमोलले भन्न लागेका छन्, ‘मलाई अभिनय आउँदैन भन्नेलाई जवाफ दिएँ ।’
‘मेघा स्टारको ट्याग पाएर पनि १० करोड ग्रस कलेक्सन गर्न नसक्ने नायक’ भन्ने टिप्पणीबाट अनमोल बचेका छन् । दोस्रो इनिङमा अनमोलले अभिनय सुधार पनि गरेका छन् । सँगै १० करोड क्लबको अनुभव पनि गर्न पाए ।
पहिलो इनिङमा अनमोलबाट जे खोजिएको थियो, दोस्रोमा अनमोलले त्यही दिएका छन् । पहिलो इनिङको प्रमुख टिप्पणीमा उनले ध्यान दिएको पाइन्छ ।
अब अनमोलको यात्रा कसरी अगाडि बढ्ला ? फिल्म क्षेत्रले चासोका हेरेको छ ।













प्रतिक्रिया