एउटै वडामा पाँच जलविद्युत् आयोजना | Khabarhub Khabarhub

एउटै वडामा पाँच जलविद्युत् आयोजना


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन्। थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन्।

अन्नपूर्ण-४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि-१, ७१ मेगावाट क्षमताको नीलगिरि-२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन्।

नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमतामध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ। नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ। कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको वडाध्यक्ष पुनले जानकारी दिए।

निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङको कायापलट भएको छ। भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाबाट महत्वपूर्ण योगदान भएको वडाध्यक्ष पुनको भनाइ छ।

“हामीले कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन् घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ”, उनले भने, “अवसर र रोजगार खोज्दै सहरबजार, पसेका र विदेशिएकाहरु गाउँ फर्किन थालेका छन्। बसाइँसराइ रोकिएको छ।”

गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन, स्वास्थ्य संस्थाको भवन बनेका छन्। जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवनलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको छ। जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेन्ट, ठेक्कापट्टा, ढुवानी, यातायात व्यवसाय, शेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताए।

जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी मध्ये सङ्घीयले ५०, प्रदेश र पालिकालाई २५÷२५ प्रतिशतका दरले बाँडफाँट हुने संवैधानिक व्यवस्था छ। नारच्याङमा रहेको प्रभा मावीले हाइड्रो इञ्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ।

म्रिस्तीखोला जलविद्युत् आयोजनाले विसं २०७१ कालीगण्डकी नदीमाथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो। बेँसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुई वटा बेलिब्रिज बनाएको म्रिस्तीखोलाले फेदीसम्म १४ किलोमिटर सडक निर्माण गरेको छ। नीलगिरि खोला जलविद्युत् आयोजनाले छोटेपा हुँदै हुमखोलासम्म पहुँचमार्ग बनाएपछि सहज यातायात पहुँच भएपछि अन्नपूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ।

रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेंसीदेखि लेकगाउँ सडक सञ्जालमा जोडिएको वडा सदस्य श्याम पुर्जाले बताए। घलेम्दी र म्रिस्तीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले प्रभावित क्षेत्रको बासिन्दाका हिसाबले संस्थापक शेयर लगानी गरेका छन्। नीलगिरि पहिलो, दोस्रो र रेलेखोला जलविद्युत् आयोजनाको प्रवद्र्धकले शेयर निष्काशनको प्रक्रियामा छन्।

कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा सबस्टेशन बनाएको छ। विसं २०७७ मा निर्माण सकिएको २२० केभी क्षमताको सबस्टेशनबाट हाल घलेम्दी, म्रिस्ती र थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएका छन्।

म्याग्दीको अन्नपूर्ण-३ दाना र पर्वतको कुश्मा-२ खुर्कोटमा सबस्टेशन र प्रसारण लाइन बनाएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्षसमेत रहेका घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ५ : ५७ बजे

 धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशालाबाट आफ्नो

हात्ती परिचालन गरेर बाघको खोजी

बाँके– बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट

उद्योगीले २८ किस्ता मध्ये १ किस्ता धरौटी बुझाएपछि लाइन जोडिने : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड फिडर

पूर्व प्रधानमन्त्रीलाई शरण दिएको विरोधमा पेरुद्वारा मेक्सिकोसँग कूटनीतिक सम्बन्ध विच्छेद

लिमा– पेरु सरकारका विदेशमन्त्री ह्युगो डे जेलाले सोमबार राजधानी लिमामा

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औँ वार्षिकोत्सवमा पुगे ऊर्जामन्त्री घिसिङ

काठमाडौं– उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा आयोजित वैकल्पिक उर्जा प्रवर्द्धन