क्षमा पूजा गरेर गहना पोखरी पुनः निर्माण गरिँदै (तस्बिरहरू) « Khabarhub

क्षमा पूजा गरेर गहना पोखरी पुनः निर्माण गरिँदै (तस्बिरहरू)


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्षमा पूजा गरेर नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनः निर्माणको काम प्रारम्भ गरिएको छ ।

५ करोड २० लाख रुपैयाँ लागतमा पोखरीको पुनः निर्माण हुनेछ । निर्माण कार्यका लागि सुजन राज जेभीलाई २०८२ असोज ३१ गते सम्पदा तथा पर्यटन विभागले कार्यादेश दिएको छ । पोखरीको पुनः निर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ । 

‘हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजना अन्तर्गत हामीले काम गरिरहेका छौँ ।’ पुनः निर्माणका विषयमा वडाध्यक्ष वीरेन्द्र प्रजापती भन्छन्, ‘मौलिकता र सांस्कृतिक पहिचान, पुनः निर्माणका मुख्य आधार हुन् । विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ्याइरहेका छौँ ।’

पोखरीको विगत स्मरण गर्दै वडाध्यक्ष प्रजापती भने, ‘पहिले छेउमा कम गहिराई थियो । जात्रामा खट लिएर जाँदा पहिले पिँडुलासम्म पानी आउँथ्यो । त्यसपछि जति भित्र गयो, उति गहिराइमा पुगिन्थ्यो । यस प्रकारको गहिराइले दिने रौनकता छुट्टै थियो । त्यो स्वरूप बिग्रिएर अहिले पौडी पोखरी जस्तो भएको छ । पोखरीभित्र छिर्ने बित्तिकै डुब्ने गरीको पानी छ । यो त्रुटि हो । यसलाई सच्याएर पहिलेकै जस्तो गरेर छेउमा कम गहिरो र बिचतिर जाँदा धेरै गहिरो हुने पोखरी बनाउँछौँ ।’

उनले पोखरीमा आउने पानी बुढानीलकण्ठ भएको बताउँदै स्थानीय स्रोत पनि भएको उल्लेख गरे । ‘पोखरीको छेउमा रहेको राधाकृष्ण देवस्थान बुढानीलकण्ठबाट आउने पानीको नाली भएको र जात्राका बेला त्यो नालीमा पानी थाप्ने गरिएको हामीले देखेका हौँ ।’ उनले विगत सुनाए ।  

सांस्कृतिक मूर्त सम्पदाको पुनः स्थापनामा महानगरपालिकाको यो महत्त्वपूर्ण योजना हो । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भन्छिन्, ‘महानगरपालिकाको लगानीबाट सहरले प्राचीन स्वरूप प्राप्त गर्दै छ । यसबाट सबैले गर्व गर्न सक्ने संरचना तयार हुनेछ ।’

योजनाका फोकल पर्सन वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार पोखरी, त्यसको वरिपरि पैदल मार्ग, हरियाली प्रवर्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँलगायत संरचना हुनेछन् । 

त्यसमध्ये १३ हजार वर्गफिटमा पोखरी निर्माण हुनेछ । पोखरीको वरिपरि ६ फिटदेखि ८ फिटसम्मको पैदल मार्ग हुनेछ । त्यसको बाहिर कालोपत्रे सडक छ । 

यसको बाहिर दक्षिणतर्फ १ सय वर्गफिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टि ३१७ वर्गफिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ । 

दक्षिण–पश्चिममा २९६ वर्गफिट क्षेत्रफलको प्रहरी विट निर्माण हुनेछ । यसको नजिकमा ५९० वर्गफिट क्षेत्रफल भएको भवन निर्माण हुनेछ । जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ । 

गहना पोखरीसँग सम्बन्धित लोक कथन 

गहना खोज्ने जात्रा सञ्चालन हुने पोखरी, कुनै बेला आगो निस्किरहने तलाउ थियो । त्यहाँ सुनको पेटिका प्रकट हुन्थ्यो । त्यो पेटिकालाई कसैले लिने प्रयास गर्‍यो भने ऊ तलाउमा डुब्थ्यो । त्यहाँबाट फर्कनै सक्दैनथ्यो । त्यो पेटिकाको सुन भावी बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन थियो भन्ने गरिन्छ । यसलाई अग्निवमन गर्ने नागहरूले सुरक्षा दिएर राखेका थिए । 

नरः दे (हाँडीगाउँको प्राचीनता)

लिच्छवीकालीन नगर सभ्यताको केन्द्र मानिने हाँडीगाउँ स्वतन्त्र राज्य व्यवस्थाबाट सञ्चालित थियो । शिव शक्ति र भक्तिका स्थान, बास्तुकला, चित्रकला, मूर्तिकला, चैत्य, बिहारजस्ता सम्पदाको एकै ठाउँमा अवलोकन गर्न सकिने ठाउँ थियो । 

यस ठाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रूपमा लिइन्छ । सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । इसापूर्व दोश्रो शताब्दीका पुरातात्त्विक अवशेष र अन्य सम्पदा भवनहरूको जग यसै क्षेत्रमा मात्र छन् । 

लिच्छवी कालमा स्थापना भएको मनमानेश्वरी, सत्यनारायण, गरुड, भारवीको धारा, अंशुवर्माको वडापत्र रहेको डबली, न्याल्मलोंह, चौखटको चोक्ट्या नारायणको चोक, कैलाशकुट भवनको चमत्कारी तलाउ यस क्षेत्रको इतिहास हुन् । किराँत कालको हाँडीगाउँ (जसलाई अण्डीपृङ्ग भनिन्थ्यो), टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल), द्योछें (दथुटोल) यसका क्षेत्र हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : ५७ बजे

धुलिखेल अस्पतालका कर्मचारी कुटिए

काठमाडौं- काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा एक जना कर्मचारी कुटिएका छन् ।

निराशाजनक सिजनसँगै आर्ने स्लटले लिभरपुल छाडे

लण्डन– इंग्लिस क्लब लिभरपुलले मुख्य प्रशिक्षक आर्ने स्लटले तत्काल प्रभावबाट

बजेटमा शिक्षा : पूर्वाधार विकास, नीतिगत सुधार र सुशासनमा नयाँ आशा

काठमाडौं– आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले ल्याएको बजेटले शिक्षा

काठमाडौं महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था

सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा

काठमाडौं– ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र