क्षमा पूजा गरेर गहना पोखरी पुनः निर्माण गरिँदै (तस्बिरहरू) « Khabarhub

क्षमा पूजा गरेर गहना पोखरी पुनः निर्माण गरिँदै (तस्बिरहरू)


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्षमा पूजा गरेर नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनः निर्माणको काम प्रारम्भ गरिएको छ ।

५ करोड २० लाख रुपैयाँ लागतमा पोखरीको पुनः निर्माण हुनेछ । निर्माण कार्यका लागि सुजन राज जेभीलाई २०८२ असोज ३१ गते सम्पदा तथा पर्यटन विभागले कार्यादेश दिएको छ । पोखरीको पुनः निर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ । 

‘हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजना अन्तर्गत हामीले काम गरिरहेका छौँ ।’ पुनः निर्माणका विषयमा वडाध्यक्ष वीरेन्द्र प्रजापती भन्छन्, ‘मौलिकता र सांस्कृतिक पहिचान, पुनः निर्माणका मुख्य आधार हुन् । विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ्याइरहेका छौँ ।’

पोखरीको विगत स्मरण गर्दै वडाध्यक्ष प्रजापती भने, ‘पहिले छेउमा कम गहिराई थियो । जात्रामा खट लिएर जाँदा पहिले पिँडुलासम्म पानी आउँथ्यो । त्यसपछि जति भित्र गयो, उति गहिराइमा पुगिन्थ्यो । यस प्रकारको गहिराइले दिने रौनकता छुट्टै थियो । त्यो स्वरूप बिग्रिएर अहिले पौडी पोखरी जस्तो भएको छ । पोखरीभित्र छिर्ने बित्तिकै डुब्ने गरीको पानी छ । यो त्रुटि हो । यसलाई सच्याएर पहिलेकै जस्तो गरेर छेउमा कम गहिरो र बिचतिर जाँदा धेरै गहिरो हुने पोखरी बनाउँछौँ ।’

उनले पोखरीमा आउने पानी बुढानीलकण्ठ भएको बताउँदै स्थानीय स्रोत पनि भएको उल्लेख गरे । ‘पोखरीको छेउमा रहेको राधाकृष्ण देवस्थान बुढानीलकण्ठबाट आउने पानीको नाली भएको र जात्राका बेला त्यो नालीमा पानी थाप्ने गरिएको हामीले देखेका हौँ ।’ उनले विगत सुनाए ।  

सांस्कृतिक मूर्त सम्पदाको पुनः स्थापनामा महानगरपालिकाको यो महत्त्वपूर्ण योजना हो । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भन्छिन्, ‘महानगरपालिकाको लगानीबाट सहरले प्राचीन स्वरूप प्राप्त गर्दै छ । यसबाट सबैले गर्व गर्न सक्ने संरचना तयार हुनेछ ।’

योजनाका फोकल पर्सन वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार पोखरी, त्यसको वरिपरि पैदल मार्ग, हरियाली प्रवर्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँलगायत संरचना हुनेछन् । 

त्यसमध्ये १३ हजार वर्गफिटमा पोखरी निर्माण हुनेछ । पोखरीको वरिपरि ६ फिटदेखि ८ फिटसम्मको पैदल मार्ग हुनेछ । त्यसको बाहिर कालोपत्रे सडक छ । 

यसको बाहिर दक्षिणतर्फ १ सय वर्गफिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टि ३१७ वर्गफिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ । 

दक्षिण–पश्चिममा २९६ वर्गफिट क्षेत्रफलको प्रहरी विट निर्माण हुनेछ । यसको नजिकमा ५९० वर्गफिट क्षेत्रफल भएको भवन निर्माण हुनेछ । जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ । 

गहना पोखरीसँग सम्बन्धित लोक कथन 

गहना खोज्ने जात्रा सञ्चालन हुने पोखरी, कुनै बेला आगो निस्किरहने तलाउ थियो । त्यहाँ सुनको पेटिका प्रकट हुन्थ्यो । त्यो पेटिकालाई कसैले लिने प्रयास गर्‍यो भने ऊ तलाउमा डुब्थ्यो । त्यहाँबाट फर्कनै सक्दैनथ्यो । त्यो पेटिकाको सुन भावी बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन थियो भन्ने गरिन्छ । यसलाई अग्निवमन गर्ने नागहरूले सुरक्षा दिएर राखेका थिए । 

नरः दे (हाँडीगाउँको प्राचीनता)

लिच्छवीकालीन नगर सभ्यताको केन्द्र मानिने हाँडीगाउँ स्वतन्त्र राज्य व्यवस्थाबाट सञ्चालित थियो । शिव शक्ति र भक्तिका स्थान, बास्तुकला, चित्रकला, मूर्तिकला, चैत्य, बिहारजस्ता सम्पदाको एकै ठाउँमा अवलोकन गर्न सकिने ठाउँ थियो । 

यस ठाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रूपमा लिइन्छ । सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । इसापूर्व दोश्रो शताब्दीका पुरातात्त्विक अवशेष र अन्य सम्पदा भवनहरूको जग यसै क्षेत्रमा मात्र छन् । 

लिच्छवी कालमा स्थापना भएको मनमानेश्वरी, सत्यनारायण, गरुड, भारवीको धारा, अंशुवर्माको वडापत्र रहेको डबली, न्याल्मलोंह, चौखटको चोक्ट्या नारायणको चोक, कैलाशकुट भवनको चमत्कारी तलाउ यस क्षेत्रको इतिहास हुन् । किराँत कालको हाँडीगाउँ (जसलाई अण्डीपृङ्ग भनिन्थ्यो), टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल), द्योछें (दथुटोल) यसका क्षेत्र हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : ५७ बजे

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म