दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा « Khabarhub

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गरेका छन् । 

उनले मंगलबार संसद्मा प्रस्तुत गरेको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ निर्णायक रूपमा अघि बढ्ने’ घोषणा गरे ।

राष्ट्रपति लीले १०१ खर्ब वोन (करिब सात अर्ब अमेरिकी डलर) को लगानीद्वारा दक्षिण कोरियालाई संयुक्त राज्य अमेरिका र चीनसँगै विश्वका शीर्ष तीन एआई शक्तिहरूमध्ये एक बनाउने लक्ष्य लिइएको बताए । 

‘हामी एआई युगको नयाँ अध्याय खोल्दैछौँ, जसका लागि लगानी अभूतपूर्व रूपमा विस्तार गरिनेछ’, उनले सम्बोधनमा भने । उक्त रकम यस वर्षको एआई सम्बन्धी बजेटभन्दा तीन गुणा बढी हो ।

सन् २०२६ का लागि प्रस्तुत गरिएको सरकारी बजेटको कुल आकार सात हजार २८० खर्ब वोन रहेको छ । यो चालु वर्षको तुलनामा ८.१ प्रतिशतले बढी हो । राष्ट्रपति लीको डेमोक्रेटिक पार्टीले संसद्मा बहुमत राखेकाले बजेट पारित हुने सम्भावना प्रबल देखिएको छ ।

रक्षा क्षेत्रको बजेटमा समेत उल्लेखनीय वृद्धि प्रस्ताव गरिएको छ । राष्ट्रपतिले यस वर्षको तुलनामा ८.२ प्रतिशत बढाएर ६६३ खर्ब वोन पुर्‍याउने लक्ष्य राख्नुभएको छ । यदि यो पारित भयो भने सन् २०१९ पछि यो सबैभन्दा ठूलो वार्षिक वृद्धि हुनेछ ।

उनले भने, ‘हामी परम्परागत हतियार प्रणालीहरूलाई सुधार्दै एआई युगका लागि उपयुक्त अत्याधुनिक प्रविधि अपनाउनेछौँ, जसले हाम्रो सेनालाई छिटो एक बुद्धिमान र सक्षम शक्तिमा रूपान्तरण गर्नेछ ।’

राष्ट्रपति लीका अनुसार आगामी वर्षको एआई बजेटमध्ये २६ खर्ब वोन उद्योग, दैनन्दिन जीवन र सार्वजनिक क्षेत्रमा एआई प्रविधिको विस्तारमा खर्च गरिनेछ भने ७५ खर्ब वोन प्रतिभा विकास र पूर्वाधार निर्माणमा लगानी हुनेछ ।

दक्षिण कोरिया विश्वका दुई ठूला मेमोरी चिप उत्पादक कम्पनी—सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स—को गृह देश हो । यी दुवै कम्पनीले एआई प्रविधि र उच्च क्षमतायुक्त डेटा सेन्टरहरूका लागि आवश्यक चिप्स उत्पादन गर्छन् ।

गत हप्ता अमेरिकी चिप कम्पनी एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङले दक्षिण कोरियालाई आफ्नो कम्पनीका सबैभन्दा उन्नत दुई लाख ६० हजार चिप्स आपूर्ति गर्ने योजना घोषणा गरेका थिए  । 

उनले त्यसलाई ‘महत्त्वाकांक्षी लक्ष्य’ बताउँदै भने, ‘कोरियाले यो लक्ष्य हासिल गर्न नसक्ने कुनै कारण छैन । तपाईंहरूसँग प्रविधि, सफ्टवेयर दक्षता र विश्वस्तरीय उत्पादन क्षमतासम्म छ ।’

दक्षिण कोरिया अमेरिकाको प्रमुख सैन्य सहयोगी राष्ट्र हो । यस मुलुकमा हाल करिब २८ हजार ५०० अमेरिकी सैनिक उत्तर कोरियाको सम्भावित खतराबाट सुरक्षा गर्न तैनाथ छन् ।

जुन महिनामा पदभार ग्रहण गरेदेखि राष्ट्रपति लीले उत्तर कोरियासँग पूर्व शर्तबिनाको संवाद र पारस्परिक सम्मानको नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

उनले मंगलबारको सम्बोधनमा भने, ‘दक्षिण कोरियाले अहिले नै उत्तर कोरियाको वार्षिक कुल गार्हस्थ्य उत्पादनको डेढ गुणा रक्षा क्षेत्रमा खर्च गरिरहेको छ र हाम्रो देश विश्वका पाँचौँ शक्तिशाली सैन्य राष्ट्रहरूको सूचीमा पर्छ ।’

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सन्धि नभई केवल युद्धविराम सम्झौतामा समाप्त भएकाले सियोल र प्योङयाङबीचको द्वन्द्व औपचारिक रूपमा अझै अन्त्य भएको छैन ।  रासस

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ५ : ५६ बजे

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त