महामन्त्री गगन थापाको चेतावनी : सुधार नगरे कांग्रेस इतिहासमा सीमित हुनेछ (दस्तावेजसहित) « Khabarhub

महामन्त्री गगन थापाको चेतावनी : सुधार नगरे कांग्रेस इतिहासमा सीमित हुनेछ (दस्तावेजसहित)


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुधार नगरे पार्टी इतिहासमै सीमित हुने जोखिममा पुगेको चेतावनी दिएका छन्। पार्टीको आन्तरिक अवस्थामाथि कठोर आत्मसमीक्षा गर्दै अघि नबढे कांग्रेसलाई जनताले बिर्सिने चेतावनी उनले दिएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार प्रस्तुत गरेको विस्तृत प्रस्तावमा उनले लेखेका छन्, ‘आज हामी एकैपटक विश्वासको संकट र प्रासंगिकताको प्रश्नसँग जुधिरहेका छौं। हाम्रो नाम र इतिहास ठूलो त छ, तर केवल सन्देशले मात्र जनता बीच भरोसा जगाउन सकिँदैन।’

जनताको भरोसा हराएको स्वीकारोक्ति

महामन्त्री थापाले पार्टीले जनतासँगको सम्बन्ध गुमाएको स्वीकार गरेका छन । ‘जनतालाई अहिले कांग्रेस साहस होइन, सम्झौतासँग, आदर्श होइन, अवसरवादसँग र न्याय होइन, भ्रष्टाचारसँग जोडिएको देखिन्छ’, उनले भनेका छन् ।

उनले नेतृत्त्वको विफलताकै कारण नयाँ पुस्तामा निराशा फैलिएको उल्लेख गर्दै पार्टीभित्रको मौनता अब सहमतिको नाममा ढाकछोपको विषय बन्न नहुने टिप्पणी गरेका छन्।

‘जेन–जी आन्दोलन’ पछि आत्मसमीक्षा अनिवार्य

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई देशको राजनीतिक मोडको रूपमा उनले व्याख्या गरेका छन् । ‘यो आन्दोलन लोकतन्त्रको अस्वीकार होइन, यसको सुधारको माग हो। युवा पुस्ताले पारदर्शिता, योग्यता र जवाफदेहिताको खोजी गरिरहेका छन्’, उनले भनेका छन्, ‘हामीले यो चेतावनी सुनेनौँ भने केवल चुनाव होइन, नैतिक अधिकार पनि गुमाउनेछौं।’

तत्काल सुधार र महाधिवेशनको प्रस्ताव

महामन्त्री थापाले पार्टीलाई नयाँ दिशा दिन र विश्वास पुनःस्थापना गर्न दुई महिनाभित्र महाधिवेशन गर्नुपर्ने स्पष्ट सुझाव दिएका छन्।

प्रस्तावमा भनिएको छ, ‘२४ घण्टामा देश उल्टिने देखेका हौँ भने कांग्रेसले पनि ६४ दिनभित्र महाधिवेशन गर्न नसक्ने कारण छैन। सुधारका लागि समय अब छैन, निर्णयको घडी आएको छ।’

पन्ध्रौँ महाधिवेशनलाई उनले ‘कांग्रेसको नैतिक पुनर्जन्मको अवसर’ भनेका छन्। त्यसका लागि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, पारदर्शी नेतृत्व चयन, युवाको अनिवार्य सहभागिता र पार्टीभित्रको संरचनागत परिवर्तन आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

‘इतिहासको पानामा सीमित नहोस्’

महामन्त्री थापाले प्रस्तावको निष्कर्षमा नसुध्रिए कांग्रेस इतिहासको पानामा सीमित हुन सक्ने चेतवानी दिएका छन् । ‘यदि हामीले फेरि पनि पुरानै राजनीति दोहोर्‍यायौँ भने जनता बुझ्नेछन्- कांग्रेस अब जनताको होइन, केवल चुनाव र सत्ताको चिन्तामा सीमित छ’, उनले भनेका छन्, ‘त्यसबेला कांग्रेस इतिहासको पानामा मात्र बाँकी रहनेछ।’

थापाको यो प्रस्तावलाई पार्टीभित्र नेतृत्व र संगठन सुधारतर्फको ठोस र आत्मालोचनात्मक हस्तक्षेप मानिएको छ ।

आगामी महाधिवेशन र त्यसअघि हुने केन्द्रीय कार्यसमितिको छलफलले कांग्रेसको भविष्य र सान्दर्भिकता निर्धारण गर्नुपर्ने चुनौती छ।

कांग्रेसको इतर समूहमा रहेका थापाको यो प्रस्तावलाई संस्थापनमा रहेका सहमहामन्त्री महेन्द्र यादवले चुनौती दिएका छन् । उनले आगामी वैशाख २७ देखि २९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव बैठकमा राखिसकेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ५ : ४३ बजे

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म

बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते

ढोरपाटन– बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्

‘हे भगवान् ! अब उप्रान्त मेरो देशमा कहिल्यै यस्तो नहोस्’

काठमाडौं- नेकपा एमालेसँग सम्बन्ध रहेकै आधारमा गत भदौ २४ गते