यथास्थितिमा एमाले चल्न सक्दैन, नयाँ नेतृत्व आउनुपर्छ : गोकुल बास्कोटा « Khabarhub

अन्तर्वार्ता

यथास्थितिमा एमाले चल्न सक्दैन, नयाँ नेतृत्व आउनुपर्छ : गोकुल बास्कोटा



काठमाडौं– सुरूमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र पूर्वपत्रकार गोकुल बास्कोटाको कित्ता अहिले फेरिएको छ । उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको टिममा खुलेर एघारौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानललाई सघाउने अवस्थामा छन्। एमालेको एघारौँ महाधिवेशन यही मसिर २७ गतेदेखि काठमाडौंमा हुँदै छ। महाधिवेशनमा नेतृत्वको लागि अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच प्रतिस्पर्धा हुने पक्कापक्की छ।

एमालेलाई महाधिवेशन लागेका बेला गोकुल बास्कोटाले बुधबार एक पोस्टर सार्वजनिक गरे। ओली समर्थक नेताले ओलीका आवरणमा राखिएको पोस्टर सार्वजनिक गरेका थिए । तर, उनले आवरणमा जननेता मदन भण्डारीको फोटो राखेर पोस्टर सार्वजनिक गरेपछि पोखरेल पक्षका अन्य नेताले पनि पोखरेल र मदन भण्डारीसहित आफ्नो पोस्टर सार्वजनिक गरिरहेका छन्।

अहिले एमाले नेताहरूबीच को नेता, कसको टिममा खुल्ने र महाधिवेशनमा आफ्नो पद कसरी सुरक्षित राख्नेबारे समूहगत छलफलमा छन्। केही नेताहरूले भने एमालेमा अध्यक्ष ओलीको विकल्प नखोजे देश र पार्टी नै संकटमा जाने मत पनि जाहेर गर्दै आएका छन्। तर, संस्थापन पक्षका नेताहरूले निर्विकल्प ओलीलाई नै तेस्रो पटक अध्यक्ष बनाउने दाउमा छन् । बास्कोटा भने जेन-जी आन्दोलनपछि देशलाई सुहाउँदो नेता एमालेले चुन्नुपर्ने मतमा छन् । बास्कोटा अहिले पोखरेल टिमबाट सचिवको दाबेदार छन्। पोखरेलले पनि उनलाई सचिवमा अगाडि बढाउन तयारी गरेको बुझिएको छ। यसबारे उनी भन्छन्, ‘मैले आफ्नो ढंगबाट सुहाउने पदको तयारी गरिरहेको छु ।’

खबरहबसँगको कुराकानीमा बास्कोटा एमालेलाई तीन मुख्य तीन चुनौतीका कारण नेतृत्वको विकल्प खोज्नुपर्ने संकेत गर्छन्। भन्छन्, ‘पार्टीको आन्तरिक चुनौतीलाई समन्वयकारी र सन्तुलित ढंगले सामना गरेर सबैलाई एकताबद्ध गरेपछि मात्रै राष्ट्रिय चुनौतीसँग जुध्ने शक्ति र ऊर्जा पौदा हुन्छ । राष्ट्रिय चुनौतीमाथि जित निकालेपछि बाह्य चुनौतीको सामना गर्न सकिन्छ भन्ने मेरो मत हो ।’

उनी यस महाधिवेशनमा यो ठिक यो बेठिक भन्दा महाधिवेशन प्रतिनिधिले नेता चुन्दा विवेक पुर्‍याउनुपर्ने सुझाव दिन्छन् । अहिले पनि महाधिवेशन प्रतिनिधिले नेतृत्व चुन्दा विवेक नपुर्‍याए एमालेलाई ठूलो क्षति लाग्ने उनको बुझाइ छ। एमालेको महाधिवेशन पेरिफेरिमै रहेर बास्कोटासँग गरिएको संवादको सम्पादित अंश :

मदन भण्डारीको तस्बिरसहितको महाधिवेशनलक्षित पोस्टर सार्वजनिक गर्नु भयो, यसको सन्देश के हो खास ?

नीतिगत निरन्तरता छँदै छ । पार्टीमा नेतृत्व फेरबदल भइरहन्छ । मेरो चहाना बलियो एमाले बनाउनुपर्छ भन्ने हो । एमालेको ११ औँ महाधिवेशनपछि नेतृत्व फेरबदल हुन पनि सक्छ । एमालेसामु अहिले तीन खालका चुनौती छन् । एमालेमाथिका प्रहार र ती चुनौती छिचोल्न हामी दह्रो भएर अगाडि बढ्नुपर्छ ।

अहिलेको अवस्थामा खास के–के चुनौती छन् एमालेलाई ?

मेरो नजरमा तीन खालका चुनौती छन् ।

१. बाह्य चुनौती
३. राष्ट्रिय चुनौती
४. आन्तरिक चुनौती

ती चुनौतीको सामना गर्न एकताबद्ध र सन्तुलित भएर जानुपर्छ । जबजको रक्षा गर्न दृढतासहित सन्तुलित भएर अगाडि बढ्नुपर्ने छ । जबजको राप र तापमा हाम्रा सबै काम अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता हो । त्यही मान्यतालाई मैले सार्वजनिक गरेँ । अरू त के छ र ? आन्तरिक चुनौतीलाई चिर्दै समन्वयकारी र सन्तुलित ढंगले पार्टीलाई एकताबद्ध बनाएपछि मात्रै अघि बढ्न सकिन्छ । त्यसपछि राष्ट्रिय चुनौतीलाई सामना गर्ने शक्ति र ऊर्जा पौदा हुन्छ । राष्ट्रिय चुनौतीमाथि जित निकालेपछि बाह्य चुनौतीको सामना गर्न सकिन्छ भन्ने मेरो मत हो । त्यस हिसाबले मैले यो लोगो सार्वजनिक गरेँ ।

यसलाई अतिराजनीतिकरण गरिरहनु परेन । जनताको बहुदलीय जनवाद, त्यसको राप ताप, त्यसको प्रकाश, त्यसका मूल्य-पद्धति र मान्यता मूलभूत कुरा हुन् । महाधिवेशनमा त के छ र, मदन भण्डारीपछि कति एमाले नेता बन्नुभयो ? कतिले पार्टी नै छोडेर जानुभयो ? ती चिजहरू देख्दै भोग्दै आएकाले अहिलेको पनि सामान्य अभ्यास हो । मलाई लागेको पाटो उजागर गरेको मात्रै हो । तर म एमालेमा देखिएका समस्या सुविचारित र सन्तुलित ढंगले समाधान गर्नुपर्छ भन्ने मत राख्छु । यसका लागि एमाले सन्तुलित हुनुपर्छ । नेता सन्तुलित हुनुपर्छ ।

यहाँ अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ हो ?

अहिले उहाँ नै हाम्रो अध्यक्ष हो । तर महाधिवेशन आइसकेको छ । महाधिवेशनपछि नयाँ टिम आउँदा राम्रो हुन्छ । नयाँ नेतृत्व आउँदा ठिक हुन्छ । महाधिवेशन एक प्रक्रिया हो, यसमा सामेल हुने सबै प्रतिनिधि र नेताको अधिकार छ । फैसला गर्ने अधिकार महाधिवेशनका सर्वोच्च प्रतिनिधिहरूको हो । मेरो कुरा के हो भने देशका चुनौती सामना गर्न एमाले यथास्थितिमा बस्नु ठिक छैन ।

वरिष्ठ ईश्वर पोखरेल पक्षबाट सचिवालयमा आउने योजना बनाउनुभएको छ रे हो ?

केन्द्रीय कमिटी नेताहरूको हो । महाधिवेशनमा सर्वोच्च प्रतिनिधिले फैसला र निर्णय गर्छन् । त्यसकारण स्वाभाविक रूपमा मैले कुनै पद डिजर्भ गर्छु भनेर नै तयार छु । अरू साथीहरूले गर्नुहुन्छ, उहाँहरूका लागि बाटो खुल्ला छ । तर मैले एउटा सोच बनाएको छु । उम्मेदवारी व्यक्तिको अधिकार पनि हो । उम्मेदवारी त दिन्छु नै ।

अन्त्यमा, महाधिवेशन प्रतिनिधिलाई के भन्नुहुन्छ ?

उहाँहरू सबैले स्वविवेक प्रयोग गर्नुहुन्छ । को नेता ठिक को नेता गलत भन्दा सोचेर, सम्झेर, देशको आवश्यकता अनुसार निर्णय गर्नुपर्छ । पार्टी यही तरिकाले चल्छ कि चल्दैन सोच्नु पनि पर्छ । यसमा सोचेर-सम्झेर निर्णय गरौँ । किनकि देश र पार्टीलाई चौतर्फी प्रहार भइरहेका बेला यसरी नै यथास्थितिमा चल्न सक्ने अवस्थामा छैन ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ५ : ४३ बजे

सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको

७५ रन जोडेर सूदरपश्चिमका क्रिस ‘रिटायर्ड आउट’

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

मधेसका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही– सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेसका ४०३ परिवार लाभान्वित

यथास्थितिमा एमाले चल्न सक्दैन, नयाँ नेतृत्व आउनुपर्छ : गोकुल बास्कोटा

काठमाडौं– सुरूमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र पूर्वपत्रकार