‘हुलाक सेवा अत्यावश्यक हो, विपद्मा पनि यसलाई रोक्न मिल्दैन’ « Khabarhub

‘हुलाक सेवा अत्यावश्यक हो, विपद्मा पनि यसलाई रोक्न मिल्दैन’


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकार र जनतालाई जोड्ने भरपर्दाे माध्यम हुलाक सेवा भएको बताएकी छन् । 

उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयस्तरीय वादविवाद प्रतियोगिताको आज उद्घाटन गर्दै उनले तीन वटै तहका सरकारबीच समन्वय गरी हुलाक सेवा पुनःसंरचना गरी अझ प्रभावकारी बनाउन आवश्यक भएको बताइन् । सचिव अर्यालले भनिन्, ‘हुलाक सेवा अत्यावश्यक हो, विपद्मा पनि यो सेवालाई रोक्न मिल्दैन, यो राज्यको दायित्व हो ।’

हुलाक सेवा विभागद्वारा ‘सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवाको सान्दर्भिकता छ वा छैन ?’ शीर्षकमा भएको प्रतियोगितामा २६ विद्यालयका २९ जना छात्रछात्रा सहभागी छन् । 

सचिव अर्यालले प्रविधिमा आश्रित आजको युगमा हुलाकले नयाँ पुस्ताको माग र चाहनालाई कसरी सम्बोधन गर्न सक्ला भन्ने छात्रछात्राबाट पक्ष र विपक्षमा प्रस्तुत विचारले आफू प्रभावित भएको बताइन् । 

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले विद्यालयमा आयोजना हुने यस प्रकारका प्रतियोगिताले विद्यार्थीले क्षमता प्रस्फुटन गराउनमा सहयोगी हुने धारणा राखिन्  ।

विभागका निर्देशक ध्रुवराज आचार्य र निर्णायक मण्डलका सदस्य मातृका कार्कीले परेवाका माध्यमबाट सूचना आदानप्रदान गर्ने इतिहास रहेकामा हुलाक सेवाको स्थापनाले आधुनिक युगमा सूचनाको पहुँचलाई सहज तुल्याएको घटना बताए । 

हुलाक सेवा विभागका निर्देशक तथा निर्णायक मण्डलका अध्यक्ष विशाल सापकोटाले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गरिरहेका विश्वका कतिपय मुलुकले हुलाक सेवाको महत्वका आधारमा सेवालाई परिष्कृत र सर्वव्यापी बनाउँदै लगेको धारणा व्यक्त गरे ।
 
उनले नेपालको निजामती सेवामा सामुदायिक विद्यालयका उत्पादनकै बाहुल्यता रहेको सन्दर्भमा यसको महत्त्व उजागर गर्न उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयका छात्रछात्राबीच प्रतियोगिता गरिएको बताए । 

नेपाल फिलाटेलिक सङ्घका कार्यवाहक अध्यक्ष चन्द्रमणि श्रेष्ठले सूचना प्राप्तिको उच्चतम प्रविधिको अभ्यास भइरहेको वर्तमान विश्वमा हुलाक सेवाको महत्त्व उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरे।

चिठी पत्र, खबर र सूचना एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने प्राचीन माध्यम (सेवा) हुलाकको सुरुआत बेलायतबाट सन् १५१६ मा भएको थियो । विश्वमै हुलाकलाई अत्यावश्यक सेवाकारुपमा लिने गरिएको छ भने विश्वका १९२ देशमा सरकारी सेवाकारुपमा हुलाक सेवा छ ।

नेपालमा विसं १९३५ मा हुलाक सेवा स्थापना भएको थियो । वार्षिक ३० लाख हुलाक वस्तुको कारोबार र ६३ करोड रुपैयाँ आम्दानी  हुलाक सेवाबाट हुँदै आएको छ । अहिले पनि हुलाक सेवालाई विश्वासिलो र गोपनीयताका हिसाबले ज्येष्ठ र सर्वश्रेष्ठका रूपमा लिने गरिएको छ । हुलाक सेवा विभागले हालसम्म एक हजार चार सय ३७ प्रकारका हुलाक टिकट मुद्रण गरिरहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः १५ हजार, १२ हजार पाँच सय, १० हजार र सात हजार पाँच सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 
 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : २१ बजे

जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो

पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व गर्ने सम्भावना कति ?

काठमाडौं- करिब दुई वर्षसम्म होल्ड भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत