पाथीभरालाई कालिञ्चोकबाट सुझाव – मन्दिरछेउ केबलकार राम्रो नहुने रहेछ ! | Khabarhub Khabarhub

पाथीभरालाई कालिञ्चोकबाट सुझाव – मन्दिरछेउ केबलकार राम्रो नहुने रहेछ !

कालिञ्चोकलाई फोहोरमात्रै ! न स्थानीय कर, न त शेयर



काठमाडौं – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा–मुक्कुम्लुङ जाने बाटोमा केबलकार बनाउन दिनुपर्ने र दिन नहुने विषयमा चलेको माथापच्ची मङ्गलबार बेलुकी भएको सहमतिसँगै तत्काललाई थामिएको छ ।

तर, तीर्थस्थल रहेको डाँडोमा व्यवसायिक प्रयोजनको केबलकार बन्दा सास्ती भोगिरहेको कालिञ्चोक गाउँपालिकाका जनप्रतिनिधिले भने मन्दिर क्षेत्रमा केबलकार नबनाउन नै सल्लाह दिएका छन् ।

शाक्त परम्पराको मान्यताअनुसार पाथीभरा र कालिञ्चोक भगवती दिदीबहिनी मानिन्छन् । यी दुवै पहाडको चुचुरोमा अवस्थित छन् ।

पाथीभरा मन्दिरमा जान केबलकार बनाउनुहुँदैन भन्दै पहिचान पक्षधरहरू लामो समयदेखि आन्दोलनमा छन् । उनीहरूले पाथीभरालाई मक्कुमलुङका नाममा प्राकृतिक रूपमै राख्नुपर्ने माग गरिरहेका छन् ।

समान खालको भौगोलिक अवस्थिति रहेको दोलखास्थित कालिञ्चोक भगवती मन्दिरमा भने विगत ६ वर्षदेखि केबलकार सञ्चालनमा छ । कुरीमाथि छोटो दूरीमा मन्दिरसम्म केबलकार चलाइएको हो ।

यहाँको केबलकार छोटो दूरीमा सञ्चालन भएकाले अधिकांश दर्शनार्थीहरू माथि डाँडामा रहेको मन्दिरसम्म हिँडेरै जाने गर्छन् ।

कालिञ्चोक देवीको मन्दिर ।

पाथीभराको जस्तो ठूलो आन्दोलन नभए पनि कालिञ्चोकमा केबलकार निर्माणताका स्थानीयले विरोध गरेको कालिन्चोक गाउँपालिका–१ का वडाध्यक्ष पदमबहादुर थामी बताउँछन् । अहिले पनि केबलकारको विपक्षमा आफ्नो आवाज कायम रहेको उनको भनाइ छ

‘मन्दिरमा नै केबलकार लानु नहुने रहेछ, किनकी त्यहाँका होटल व्यवसायी र भारी बोकेर जीविका चलाउने मानिसहरूलाई जीविकोपार्जनमै समस्या भयो, कालिञ्चोक प्राकृतिक मनोरमले भरिएको ठाउँ पनि हो’, थामी भन्छन्, ‘हामीले यो बन्नुहुँदैन भन्दा भन्दै बनिहाल्यो । यहाँ केबलकार बनाउनेहरूले स्थानीय कालिञ्चोक गाउँपालिकामा अहिलेसम्म स्थानीय करसमेत तिर्नुभएको छैन । गौरीशंकर संरक्षण क्षेत्र र वन कार्यालयले सीधै काठमाडौंसँग समन्वय गरेर त्यो केबलकार बनाइएको थियो ।’

केबलकार बनेको लामो समय भइसक्दा पनि पालिकामा कर नतिरेको गुनासो गर्दै उनले अब आफैँ गएर उठाउने बताए ।

‘केबलकार भनेको विकास हो र मानिसलाई सजिलो बनाउने साधन पनि हो । तर कालिञ्चोकमा केबलकारले कालिञ्चोक भगवतीलाई सिँगार्ने काम गरेन । केबलकार आएपछि कालिञ्चोकले पाएको भनेको फोहोरमात्रै हो’, अध्यक्ष थामीले सुनाए ।

उनले थपे, ‘यस क्षेत्रमा पहिले आयातित सिलप्याक मदिरा धेरै खपत हुँदैनथ्यो, अहिले जताततै रक्सीका बोतल देखिन्छ । धनीमानीले पैसा तिर्ने र घुम्ने भए, साहु–महाजनले मात्रै त्यसबाट सुविधा पाए ।’

स्थानीय कालिन्चोक गाउँपालिका वडा–१ का जनतालाई त अहिलेसम्म शेयर पनि नदिइएको वडाध्यक्ष थामीले बताए ।

‘पहिला हामी छिर्छौं, अनि शेयर दिन्छौं भनेर केबलकार खोल्नुभयो । तर, स्थानीयलाई शेयर त परको कुरा; शेयर दिने भनी उठाएको एक हजार रुपैयाँ पनि फिर्ता दिइएन । तर, उहाँ (केबलकार सञ्चालक)ले त्यो एक हजार रुपैयाँ राखेर लिएको शेयरको मूल्य १२ हजार रुपैयाँसम्म भएको छ । तर, स्थानीयले पाउनुपर्ने भनेको शेयर पनि पाएको अवस्था छैन ।’

शक्तिका आडमा नियम कानून मिचेर एउटा व्यक्तिलाई पोस्न माथि (काठमाडौं)बाट नै कागजपत्र मिलाएर केबलकार निर्माणको धन्दा चलाउने गरिएको थामीले दाबी गरे ।

संरक्षण क्षेत्रमा केबलकार बनाउन गुगल म्यापसम्ममा तोडमोड भएको थामीले आरोप लगाए । ‘पहिलाको कालिञ्चोक गाविस हालको भीमेश्वर नगरपालिका–७ हो । साविक मकैबारी गाविसको सिमानामा जोडिएको कालिञ्चोक गाविसको गुगल म्यापमा त्यो केबलकारलाई यता कटाएर गौरीशंकर संरक्षण क्षेत्र राखिदिनुभएको छ उहाँहरूले । धेरै मान्छेको साँठगाँठ होला त्यसमा,’ थामीले थपे ।

केबलकार आउनुपूर्व कालिञ्चोकमा ५०/६० वटा मात्र होटलहरू थिए । तर अहिले २०० हाराहारीमा होटल व्यवसायी छन् । उनीहरूले पनि गाउँपालिका र वडालाई कुनै कर नतिरेको अध्यक्ष थामीको भनाइ छ ।

कालिञ्चोकमा केबलकार आउनुभन्दा पहिले माथि मन्दिरसम्म जान यातायात सुविधा थिएन । बाटो त अहिले पनि राम्रो भइसकेको छैन ।

कालिञ्चोक दर्शन गर्न मानिसहरूले पहिले कम्तिमा दुई दिन लगाउँथे । अहिले मानिसहरूलाई गाडी चढेर आउन, केबलकार चढेर मन्दिर पुग्न र आफ्नो ठाउँमा फर्कन सजिलो भएको थामीको भनाइ छ ।

घ्याङडाँडा हुँदै माथि भगवतीको मन्दिरमा पुग्न हिँडेर जाँदा १५ मिनेटजति लाग्छ । तर, कुरीबाट जाँदा भने ४५ मिनेट जति लाग्छ । वृद्धवृद्धा, अशक्त, अपाङ्ग र बालबच्चा बाहेक अरू हिँडेर नै मन्दिरसम्म आवतजावत गर्छन् ।

दिनमा २५ सय देखि तीन हजार मानिस केबलकार चढ्छन् । हिँडेर मन्दिर पुग्नेको सङ्ख्या पनि उत्तिकै हुने गर्छन् ।

कालिञ्चोकमा केबलकार आएपछि केही मात्रामा पर्यटक चाहिँ बढेका छन् । जसको आकलन बढ्दै गरेका होटल व्यवसायबाट पनि गर्न सकिन्छ ।

पाथीभरा डाँडो (बादलले छोपिएको ।)

कालिञ्‍चोकको अनुभवबाट पाथीभरा केबलकारका विषयमा वडाध्यक्ष थामी भन्छन् –

पाथीभरालाई विशेषगरी लिम्बुसहित आदिवासी जनजातिहरूले आफ्नो पवित्र तीर्थस्थल मुक्कुमलुङका रूपमा मान्ने गरेका छन् । केबलकार भन्नेबित्तिकै पैसा हुनेले बनाउने कुरा हो ।

केबलकार बन्दा जनताले रोजगार नपाउने रहेछन् । आफ्नो आस्थाको केन्द्रबिन्दु फोहोर, रक्सीका बोत्तल र प्लास्टिकले छोपिनेरहेछ । त्यहाँ केबलकार जानेबित्तिकै किरात र हिन्दू लगायत सबै धर्मावलम्बिहरू जाने आउने गर्लान्, त्यहाँ सरकारले सुरक्षा त देला ।

मेरो विचारमा सरकारले स्थानीयको कुरा सुन्नुपर्छ, न कि पहाडपर्वतका तीर्थस्थललाई नाफाका लागि व्यापार गर्ने थलो बनाउन खोजिरहेको कुनै व्यापारीको !

राज्यले पहुँचको आधारमा माथि केन्द्र सरकारबाट, प्रदेश सरकारबाट त्यस्तो निर्णय गर्छ । हामीले कालिन्चोकमा पनि केबलकार बन्नुहुन्न भनेको हो । तर, उहाँहरूले बनाउनुभयो । खासमा सरकारले सम्बन्धित क्षेत्रमा पहिलेदेखि नै बसोबास गर्दै आएका जनताहरूको कुरा सुन्नुपर्ने हो । बाहिरको मान्छे आएर बाङबुङ बनाउन नपाउने हुनुपर्थ्यो ।

नेपालमा धेरै पर्यटकीय क्षेत्र छन् । त्यसमा कतिपय क्षेत्रमा केबलकार आवश्यक हुन्छ । लामो बाटोमा लैजानु पनि पर्छ । तर मन्दिरको छेउमा, मुखैमा पुर्‍याइदिएपछि त्यसबाट सृजित फोहोरमैलाले आस्थाका केन्द्रहरूलाई डम्पिङ साइटजस्तो बनाउँदो रहेछ । व्यापारीको दाबीमा विकास, तर स्थानीयस्तरमा हेर्दा नाफाका लागि विकासका नाममा विनाश हुन थाल्दोरहेछ ।

यो पनि –

बहसमा पाथीभरा : ‘केबलकार चढेर कान्छीथानबाट कसरी धागो टाङ्ने ?’

पाथीभरा माताले ओली सरकारको रक्षा गरुन् !

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : ५४ बजे

गर्मी सुरु भएसँगै लेकतर्फ लागे भेडाका बथान

लमजुङ– बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका

ट्रयाक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति

म्याग्दी– ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका– ५ को

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

सिरहा– जिल्लाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति

७ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं–  सुनको मूल्य तोलामा सात हजार ५०० ले घटेको छ