हिउँदे झरी टर्दा बढ्यो आगलागीको जोखिम | Khabarhub Khabarhub

हिउँदे झरी टर्दा बढ्यो आगलागीको जोखिम

किन परेन पानी ? के छ राज्यको तयारी ?



काठमाडौं – हावापानीको अवस्था नियमित रहेको भए नेपालमा कात्तिकयता कम्तिमा दुई झमेट हिउँदे वर्षा भइसकेको हुनुपर्ने हो । हिमाली क्षेत्रमा नियमित हिमपात र त्यस आसपासका पहाडमा झरी परेको वर्ष हिउँदे खेतीपाती पनि फस्टाउँछ । तर, यसपटक हावापानीको अवस्था अपेक्षा गरिएजस्तो छैन ।

सरकारी निकायका अनुसार जाडो याममा कम्तिमा ६० मिलिलिटर पानी पर्नुपर्नेमा औषतमा ५.५ मिलिलिटरमात्रै पानी परेको छ । कम पानी पर्दा एकातिर प्रदूषण स्तर बढेको छ, अर्कातिर मौसमी चक्र नै तलमाथि भएजस्तो लाग्छ । नेपालका हकमा सबैभन्दा ठूलो जोखिम चाहिँ वनडढेलो बन्दैछ ।

माघे झरीले भिजेर यतिखेर चिसो र ओसिलो रहनुपर्ने नेपालका वनजङ्गलमा डढेलो लाग्न थालेको छ । भोटेकोशी गाउँपालिकाको कोदारीमा लागेको आगो नियन्त्रणमा लिन प्रशासनले हेलिकप्टरकै सहायता लिएको छ ।

अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)को स्रोत व्यवस्थापन प्रणालीका लागि अग्नि सूचना (फिर्म्स )का अनुसार यतिखेर नेपालका १०० भन्दा बढी स्थानमा आगो लागेको देखिएको छ ।

माघ २२ सम्म पनि हिउँदे झरी नपर्दा सुख्खा भएका वनजङ्गलमा कुन हदसम्म आगो लाग्नेछ र त्यसले जैविक विविधता तथा पर्यावरणमा कति क्षति पुर्‍याउँछ भनी आकलन गर्ने स्थितिमा सरकारी अधिकारीहरू नै देखिँदैनन् ।

हिउँदे झरी र वनडढेलोसँग नेपालको हावापानी (जलवायु)को सोझो सम्बन्ध छ । नेपालमा एक वर्षमा मुख्यतः ग्रीष्मकालीन (समर) र शीतकालीन (विन्टर) गरी दुई प्रकारका हावापानी हुन्छन् ।

हिउँदको दोस्रो चरणमा कायम हुने हावापानी ग्रीष्मकालीनमै पर्छ । यसलाई पनि दुई भागमा विभाजन गरिएको छ । तातो र सुख्खा ग्रीष्मकालीन अवस्था फागुनमा सुरु भएर जेठसम्म कायम रहन्छ । फागुनबाट नै नेपालमा फागुनबाट तापक्रम क्रमशः बढ्न थाल्छ र जेठमा तापक्रम वर्षभरकै उच्च विन्दुमा पुग्छ । यही बेला नेपालमा आगलागीका अत्यधिक घटना हुने गर्छ । वनजङ्गलदेखि मानव बस्तीसम्म आगोको चपेटामा पर्छन् ।

तातो र ओसिलो (हट एण्ड वेट) ग्रीष्मकाल अर्थात् असारदेखि भदौसम्म बढी गर्मी महसुस भए पनि हावामा आद्रता हुन्छ । शरीरमा आएको पसिना सुक्न नपाउने हुनाले बढी गर्मी भएको महसुस हुन्छ, तर बर्खायामका बेला पानी परिरहने हुनाले असारदेखि असोजसम्म खासै डढेलो लाग्न पाउँदैन ।

नेपालको हावापानीसँग आकाशे वर्षाको पनि सोझो सम्बन्ध छ । नेपालमा हुने आकाशे वर्षा बर्खे झरी (समर रेनफल) र हिउँदे झरी (विन्टर रेनफल) गरी दुई प्रकृतिको छ ।

जाडोको समयमा समुद्र न्यानो हुन्छ र जमिन चिसो हुन्छ । मध्यएसिया पनि चिसो हुन्छ । मध्यएसियामा वायुको चाप बढी हुन्छ । बढी वायुको चाप भएको मध्यएसियाबाट कम वायुको चाप भएको हिन्द महासागर र प्रशान्त महासागरतिर वायु बहन्छ । यसैलाई जाडोको मनसुन भनिन्छ । जाडोको मनसुन धेरै चिसो र सुख्खा हुन्छ ।

हाम्रो नेपालमा पनि मध्यएसिया हुँदै तिब्बतबाट जाडोको मनसुन भित्रन्छ । यो वायु धेरै चिसो र सुख्खा हुन्छ । यो वायु सिरेटो अर्थात चिसो हावाको रूपमा बहन्छ ।

मनसुनी वायु गर्मीको समयमा समुद्रबाट जमिनतिर बहन्छ र जाडोको समयमा जमिनबाट समुद्रतिर बहन्छ । यस समयमा यो वायुमा प्रशस्त जलवाष्प हुने हुनाले प्रशस्त वर्षा गराउँछ । तर, हिउँदमा बहने वायुमा पर्याप्त जलवाष्प नहुने हुनाले निकै कम पानी पर्छ । यद्यपि हावापानी अनुकूल भएका बेला जाडोकै समयमा पनि नेपालमा वर्षा हुन्छ । यस्तो वर्षा गराउने वायु महाकाली नदी हुँदै नेपालमा पश्चिमी वायु प्रवेश गर्छ । यो वायु पुसको अन्तिम र माघको पहिलो हप्तातिरबाट नेपालमा बहन थाल्छ ।

यही हिउँदे वायुले सुदूरपश्चिम क्षेत्रका उच्च भूभागमा प्रशस्त हिमपात गराउँछ भने मैदानी भागमा वर्षा गराउँछ । यो वायुले पश्चिममा २० देखि ३० मिलिमिटरसम्म वर्षा गराउँछ । काठमाडौंमा १० देखि १५ र पूर्वी नेपालमा ५ देखि १० मिलिमिटर वर्षा हुन्छ । देशभर कम्तिमा ६० मिलिलिटर वर्षा हुँदा सो हिउँदको हावापानी नियमित भएको मान्न सकिन्छ ।

तर, यो हिउँदमा भने देशका अधिकांश स्थानमा औसत हिउँदे वर्षा हुन सकेको छैन । हिउँका पत्रकाले ढाकिनुपर्ने हिमाल कालो र उजाड पहाडजस्ता देखिएका छन् । हावापानी अर्थात् जलवायुमा परिवर्तन हुँदा यस्तो स्थिति निम्तिएको हो ।

मौसमी प्रक्षेपणअनुसार आगामी दिनमा पनि औसत वर्षा सम्भावना कम छ । जसले गर्दा सुख्खा खडेरीका कारण आगलागी बढ्ने जोखिम आकलन गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चालु आर्थिक वर्षको हिउँद महिनामा विगतको तुलनामा औसत वर्षा हुँदैन । विभागका मौसमविद् सुदर्शन हुमागाईंले नेपालमा अहिलेसम्म ५।५ मिलिमिटर मात्रै औसत वर्षा भएको जानकारी दिए । हिउँदको समयमा ६० मिलिमिटर वर्षा हुनुपर्नेमा आगामी दिनमा पनि सो सम्भावना कम देखिएको उनले बताए ।

हुमागाईंकै अनुसार भारतको नेशनल सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्टिङ ९एनसीएमआरडब्लुएफ०ले गरेको आगामी एक महिनाको मौसम पूर्वानुमानलाई हेर्दा नेपालको पश्चिमतर्फका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक वर्षा हुनेबाहेक पूर्वी ३ प्रदेशमा वर्षा सम्भावना न्यून छ ।

‘एनसीएमआरडब्लुएफको पूर्वानुमान अनुसार आगामी मंगलबारदेखि पश्चिमका ४ वटा प्रदेशमा औसतभन्दा कम वर्षा हुने सम्भावना देखिन्छ, बाँकीमा भने देखिँदैन’, हुमागाईंले भने ।

जसले गर्दा हिउँदका आगामी दिनमा देशका अधिकांश स्थानमा अधिक सुख्खा हुने र आगलागीको जोखिम बढ्न सक्ने देखिएको छ ।

फाइल फोटो

के छ सरकारको पूर्व तयारी ?

जल तथा मौसम विज्ञान विभागले पहिले नै यो हिउँद महिनामा औसतभन्दा कम पानी पर्ने अनुमान सार्वजनिक गरेको थियो। हिउँदे वर्षाको पूर्वानुमानमै टेकेर सम्भावित विपद् रोकथाम र नियन्त्रण निम्ति सम्बन्धित क्षेत्र हेर्ने निकाय तयारीमा रहेको सरकारी दाबी छ ।

संघीय वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेले आगलागीबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न मन्त्रालयको नेतृत्वमा नियमित छलफल भएको बताए ।

‘हामीले पूर्वतयारी सुरु गरेका छौं, गत शुक्रबार संघीयस्तरका सबै सरोकारवाला निकायसँग बसेर कसरी अगाडि जाने भनेर छलफल गर्‍यौँ’, उनी भन्छन्, ‘एकद्वार प्रणालीबाट नै जाने कुरा भएको छ, आइतबार प्रदेश सरकारका सचिवहरूसँग पनि सोही विषयमा छलफल भएको छ, समयमै कार्ययोजना बनाएर जाने भन्ने भएको छ ।’

पूर्व तयारीको हकमा आवश्यक सामग्रीहरू यथास्थानमा पुर्‍याउने र मुख्यगरी सम्बन्धित डिभिजन कार्यालयहरूले सबै सञ्चारमाध्यमहरू प्रयोग गरी जनचेतनामूलक सन्देश प्रसारण गर्ने तयारी भएको उनले बताए ।

‘पहिलो कुरा त जङ्गलमा आगो लाग्नै नदिन जनचेतना जगाउने भन्ने कुरा हो, हामी त्यसतर्फ तयारी गर्दैछौँ,’ उनी भन्छन्, ‘जङ्गलमा भएको ज्वलनशील पदार्थ घटाउन सकियो भने पनि आगलागी कम हुन्छ भन्ने कोणबाट वन व्यवस्थापनका क्रियाकलाप अगाडि बढाउने निर्णय भएको छ ।’

‘तयारी गर्दा गर्दै पनि आगलागी भैहाल्यो भने विपद् नियन्त्रणमा संलग्न र सुरक्षा निकाय सहितको एउटा र्‍यापिड डिस्पोज टिम बनाउने निर्णय भएको छ’, उनले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार आगलागी जोखिमको न्यूनीकरणको विषयमा विशेष नयाँ कार्यक्रम नभएको र विगतकै अभ्यासअनुसारको तयारी अगाडि बढाइएको छ । प्रवक्ता भट्टराईले आगलागी नियन्त्रणमा नयाँ प्रविधि प्रयोगको विषय अभाव भएको बताए ।

साथै, प्रवक्ता भट्टराईले गत वर्ष देशैभर ठूला आगलागीका घटना भएको र वनजङ्गलका धेरै इन्धन जलिसकेकाले यो वर्ष कम आगलागी हुनसक्ने आकलन पनि सुनाए ।

‘हामीले आगलागी न्यूनीकरण सम्बन्धी कार्ययोजना तयार गर्दैछौं, कार्ययोजना कार्यान्वयन गर्ने निकायसेना, प्रहरी र स्थानीय जनसमुदाय नै हुन्’, उनी भन्छन्, ‘गत वर्ष धेरै ठूलो आगलागी भयो, वन जङ्गलका धेरै इन्धन डढेका कारण आगलागीका घटना गत वर्षजस्तो नहुन सक्ने सम्भावना पनि छ, तर हावाको प्रवाह बढ्यो भने घटना बढ्न पनि सक्छ ।’

आगलागी नियन्त्रणको मुख्य काम वन मन्त्रालयबाटै गर्नुपर्ने र प्राधिकणले सुरक्षा निकाय र जिल्ला विपद् व्यवस्थापन कार्यालयहरूलाई परिचालन गर्ने कामको तयारी रहेको उनले बताए । तर, आगलागी नियन्त्रणका लागि उच्च प्रविधि भने नभएको उनले बताए ।

‘प्रविधिको विकास गरेर प्रविधिमार्फत् आगलागी नियन्त्रण गर्ने विषयमा भने हामीसँग अभाव छ’, भट्टराईले भने ।

एक वर्षमा पाँच हजारभन्दा बढी आगलागी

पछिल्लो एक वर्षमा देशभर पाँच हजारभन्दा बढी आगलागीका घटना भएमा छन् ।

जङ्गलमा आगलागीको घटना ९७२ वटा र अन्य आगलागीको घटना चार हजार १७१ वटा भएको प्राधिकरणले जनाएको हो ।

एक वर्ष अवधिमा आगलागीका कारण ९६ जना मानिसको मृत्यु भएको छ । भौतिक क्षति पनि निकै ठूलो मात्रामा भएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ८ : ०० बजे

बागमती प्रदेशसभा बैठक बस्दै 

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११

सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बोलाएका छन्

अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

अष्ट्रेलिया– अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले गभर्नर जनरल साम

‘मिसेस ब्युटी क्विन नेपाल– २०२५’ को ताज वर्षा कुवरलाई  

काठमाडौं– व्यवसायी वर्षा कुवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन सातको