विवाह उमेरबारे स्वास्थ्यकर्मीको खबरदारी : मातृमृत्यु बढाउने कुकर्म नगरौँ | Khabarhub Khabarhub

विवाह उमेरबारे स्वास्थ्यकर्मीको खबरदारी : मातृमृत्यु बढाउने कुकर्म नगरौँ


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

विवाह उमेर १८ वर्षमा झार्ने विषयमा बहस भइरहेको छ । विवाह उमेर किन झार्न लागिएको हो भन्ने विषयमा सबैको आआफ्नै तर्क र बहस छ । १६ वर्षमा नागरिकता, १८ वर्षमा मताधिकार दिएपछि विवाह गर्न २० पारी किन भन्ने तर्क राख्नेहरूले अहिलेका किशोर किशोरीहरूको शारीरिक विकासको परिपक्वतालाई हेरेर कानुन संशोधन गर्नुपर्ने जिकिर गरेका छन् ।  

त्यस्तै १६, १७, १८ वर्षको उमेरका केटाकेटीले आफूखुसी शारीरिक सम्बन्ध राख्ने, विवाहको उमेर नपुगेकाले भागी बिहे गर्ने र केटी पक्षले बालविवाहको मुद्दा लगाएर सजाय दिलाउने भएकाले समाजमा अपराध बढेको भन्दै विवाह उमेर घटाउनुपर्ने तर्क अघि आएको छ । 

सबैले आआफ्नै अनुकूलको तर्क राखेर बहस गरिरहँदा यसले जनस्वास्थ्यमा कस्तो असर गर्ला भन्ने विषयमा भने कसैको ध्यान गएको पाइँदैन । प्रजनन स्वास्थ्यका हिसाबले २१ वर्ष अगाडि सन्तान जन्माउनु जोखिमपूर्ण मानिन्छ । विवाहपछि नियमित रुपमा शारीरिक सम्पर्कमा रहनु र सन्तान जन्माउनु सामान्य कुरा हो । 

कलिलै उमेरमा नियमित शारीरिक सम्पर्कमा रहँदा, सन्तान जन्माउँदा आमा– शिशुको मृत्यु दर बढ्नुका साथै विभिन्न खालका शारीरिक तथा मानसिक समस्याहरू देखा पर्ने सम्भावना रहने चिकित्सकहरू बताउँछन् । 

आमाको स्वास्थ्य जोखिममा

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती भन्छिन्– २० वर्षको उमेर पुगेपछि मात्रै विवाह गर्नुपर्छ भनेर कानुनमै तोकेको अवस्थामा त अहिले पनि १२– १३ वर्षको कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति छ भने यसलाई झन् १८ वर्षमा झार्दा झनै समस्या आउँछ । 

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती

उनका अनुसार अहिले पनि झण्डै १३– १४ प्रतिशत किशोरीहरू १८– १९ को उमेरमा विवाह गर्ने र बच्चा जन्माउने गरेको पाइएको छ । कति किशोरीहरूले त सुत्केरी तथा गर्भावस्थामै ज्यान गुमाउने गरेका छन् । 

सानै उमेरमा आमा बन्दा किशोरीहरूले के कस्ता समस्या भोग्नुपर्छ भन्ने उदाहरण हाम्रै समाजमा अहिले पनि थुप्रै छन् । अफगानिस्तान जस्ता मुस्लिम देशहरूमा १२– १३ वर्षकै उमेरमा विवाह गर्ने नियम त्यहाँको कानुनमा छ । के नेपालले पनि १८, १६ हुँदै १५ अनि १२ वर्षमा विवाह गर्ने कानुन बनाउने हो ? उनले प्रश्न गरिन् ।

आजभन्दा ५०– ६० वर्ष अगाडि ९– १० वर्षको उमेरमा छोरीहरूको बिहे गरिन्थ्यो । फेरि त्यही अभ्यासमा सरकार नै लाग्नु एकदम गलत भएको उनले बताइन् । सरकारले आफूले राम्रोसँग काम गर्न नसकेको विषय अन्यत्र मोड्न यस्तो किसिमको तर्क ल्याएको उनको आरोप छ । 

कानुन व्यवसायी, प्रहरी प्रशासनले राम्रो काम नगर्दा र विद्यालयमा किशोरीहरूलाई मार्ग निर्देशन गर्न नसक्दा किशोरकिशोरीहरुले यस्तो गलत बाटोमा जाने सम्भावना रहन्छ । यो समस्यालाई समाधान गर्नुको सट्टा यसलाई कानुनी मान्यता दिने हो भने ९ वर्षमै विवाह गराउँदा पनि भैगो नि डा. उप्रेतीको टिप्पणी छ । 

शारीरिक विकास मानसिक परिपक्वता होइन

पछिल्लो समय विभिन्न हर्मोनल परिवर्तनका कारण किशोरीहरूको शारीरिक विकास छिटो हुने,  महिनावारी छिटो हुने भएकाले विवाहको उमेर घटाउँदा हुन्छ भन्ने तर्कमा डा. उप्रेती भन्छिन्– ‘हो ! पहिलेभन्दा अलि छिटो किशोर किशोरीहरूमा शारीरिक विकास चाँडो भइरहेको छ ।’

किन कि पहिलेका बालबालिकाहरूलाई अहिलेको जस्तो विभिन्न रोगका विरुद्ध दिइने भ्याक्सिनहरू थिएन । उनीहरू रोगी हुन्थे, पोषणको कमी हुन्थ्यो । अहिले त्यो अवस्था छैन । पोषणको मात्रा पुगेको छ । आवश्यक भ्याक्सिनहरू लगाइएको छ । तर अझै पनि कतिपय किशोर किशोरीहरू कुपोषित नै रहेका उनले बताइन् । 

सरकारकै तथ्याङ्क अनुसार कर्णालीका २६ प्रतिशत बालबालिका कुपोषित छन् । ती बालबालिकाहरु किशोरावस्थासम्म पनि कुपोषित नै रहने चिकित्सकको तर्क छ । डा. उप्रेतीको दृष्टिमा कति बालबालिका शारीरिक रूपमा स्वस्थ हुन्छन् । उनीहरूको विकास पनि चाँडो हुन्छ । तर किशोर किशोरीको मस्तिष्क बढेको हुँदैन । विवाह गरेर कसरी परिवार बनाउने भन्ने सीपको विकास उनीहरूमा भइसकेको हुँदैन । जसको परिणाम कतिपय किशोरीहरू भागेर जाने केही समय पछि फर्केर आउने पाइएको उनले बताइन् । 

त्यस्तो अवस्थामा झन् सरकारले कानुनी मान्यता दिएर यसलाई बढावा दिने हो भने सरकारले स्वास्थ्य क्षेत्रमा प्राप्त प्रगतिका सूचकांकमा पहिरो जाने चेतावनी डा. उप्रेतीको छ ।  

बालविवाह रोक्न के गर्ने ? 

कतिपय किशोरीहरू अझै पनि विद्यालयको पहुँचमै छैनन्  । यो विषय सरकारलाई पनि थाहा छ । अहिले दिइरहेको एचपीभी खोप विद्यालय बाहिर रहेका किशोरीहरूलाई पनि दिइनेछ भनेर सरकारले स्वीकार गरेको छ । 

कतिपय किशोरीहरू ४/५ कक्षा पढ्दा नै विवाह गरेर गइसकेकाले विद्यालय जान सकेका छैनन् भने कतिपय गरिबीका कारण जान पाएका छैनन् । यो विषयमा सोच्नुको साटो किशोरीहरू भागेर जान थाले, विकृति फैलियो अब उमेर घटाउनु पर्छ भन्ने तर्फ सरकार लागेको उनले बताइन् । 

‘यो मधेशकेन्द्रित दलहरूले मधेशवासीका नाममा ल्याएको तर्कहीन बहस हो । १८ वर्षमा बिहे गर्दा कसरी समाज राम्रो बन्छ ? भर्खरै १० कक्षा पास गरेका किशोर किशोरीहरूले कसरी परिवार पाल्न सक्छन् ? पढ्ने उमेरमा अनावश्यक बोझ थपिँदा मानसिक रोगको सिकार भएर कतिले आत्महत्या गर्छन् यो तथ्याङ्क सरकारले हेरेको छ कि छैन ? एक दुई जना मधेशी दलका नेताहरूले भनेको भरमा सरकारले यो कानुन ल्याउने सोचिरहेको छ भने हामीले यसमा खबरदारी गर्न जरुरी छ,’ डा. उप्रेतीले खबरदारी शैलीमा भनिन् । 

विवाह र बच्चा जन्माउन परिपक्व उमेर कति ? 

‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा नै स्थापित गरेर सरकार आफैँले विवाहको उमेर २० वर्ष राखेको हो । जसको परिणाम मातृ तथा शिशु मृत्युदर घटेको पाइएको छ । 

किशोर किशोरीहरूको शारीरिकसँगै मानसिक स्वास्थ्यलाई पनि मध्यनजर गर्दै यो व्यवस्था ल्याइएको हो । यो उनीहरूको समग्र विकासका लागि एकदमै महत्त्वपूर्ण छन् । शारीरिक विकास छिटो हुँदैमा यौनिक जीवन र सन्तान उत्पादनका लागि परिपक्व हुन्छन् भन्ने हुँदैन । 

जनस्वास्थ्यका हिसाबले शारीरिक, मानसिक, शैक्षिक र स्वास्थ्य गरी सम्पूर्ण रूपमा सबल भएपछि मात्रै सन्तान उत्पादनका लागि योग्य मानिन्छ । त्यसका लागि बिहेबारीको उमेर २१ वर्षभन्दा माथि नै हुनुपर्ने चिकित्सकहरू बताउँछन् ।

विवाहपछि नियमित शारीरिक सम्बन्ध हुनु र गर्भधारण गर्नु सामान्य कुरा हो । २० वर्ष मुनिको गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्यमा धेरै ठूलो नकारात्मक असर पर्ने स्त्री रोग विशेषज्ञ डा. ललिता जोशी बताउँछिन् । 

स्त्री रोग विशेषज्ञ डा. ललिता जोशी

उनका अनुसार सानै उमेरमा शारीरिक सम्बन्ध राख्दा पछि गएर पाठेघरको मुखको क्यान्सर लाग्ने, पाठेघर खस्ने, लगायतका विभिन्न प्रजनन समस्या त हुन्छन् नै, बच्चाहरूमा डाउन सिन्ड्रोम र अन्य जन्मदोषको रूपमा क्रोमोजोमको असामान्य हुने जोखिम २० वर्षमुनिको गर्भावस्थामा धेरै हुने गरेको पाइएको छ । 

त्यस्तै कम तौल भएको शिशुको जन्म, गर्भपतन हुने सम्भावना पनि उमेर पुगेका आमा भन्दा धेरै हुने डा. जोशीले बताइन् । 

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ५ : ०८ बजे

घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

एजेन्सी– ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६

शिक्षकका माग शीघ्र सम्बोधन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका

सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग

काठमाडौं– नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनहरूले

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ– पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित

देशको ५१ प्रतिशत जनसङ्ख्या खना पकाउन दाउरामा निर्भर (तस्बिरहरू) 

काठमाडौं– देशका आधाभन्दा बढी जनसङ्ख्याले खाना पकाउन अझै पनि दाउरा