काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन् । उनी पूर्वसञ्चारमन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री पनि हुन् । ‘आफूले आफैंलाई बसमा राख्न सक्ने मान्छे हुँ’ भनेर दाबी गर्ने लडाकू स्वाभावका नेता बस्नेत स्मार्ट फोनसँग भने हार्दै आएका रहेछन् ।
बुधबार दरबारमार्गस्थित आइएसएसआरको कार्यालयमा आयोजित सामाजिक सञ्जाल र ‘इन्टरनेट एडिक्सन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले भने, ‘दुईघण्टा भन्दा बढी मोबाइल हेर्दिनँ भनेको मान्छे, मैले नै सकिराखेको छैन ।’
बस्नेतले गोजीबाट सानो टिकटिके मोबाइल झिकेर सहभागीसामु देखाउँदै भने, ‘यी हेर्नोस्, म यस्तो मोबाइल बोकेर हिँडेको छु ।’
आखिर कांग्रेस सांसद बस्नेत स्मार्ट फोन किन्न नसक्ने नेता होइनन् । तर, उनले किन बोके टिकटिके फोन ? बस्नेतकै भाषामा भन्दा उनले सामाजिक सञ्जालसित हारेर यसो गरेका रहेछन् ।
सुनौं बस्नेतको भनाइ उनकै शब्दमा–
म आफूले आफैंलाई बसमा राख्न सक्ने मान्छे हुँ । अलिकति एग्रेसिभ (आक्रामक) छु, यो पनि मेरो बसमा नभएर हैन, कथाले मागेर गरेको हो । म सञ्चारमन्त्री पनि भएको मान्छे हुँ । तर, मैले पनि सकिनँ । मेरो मोबाइल हेर्नुहुन्छ भने, यी यस्तो बोकेर हिँडेको छु ।
सुत्नेबेलामा पनि मोबाइल, बाटोमा पनि मोबाइल । मिटिङमा पनि मोबाइल । अहिले यहाँ मसँग ठूलोखालको स्क्रिन भएको मोबाइल भइदिएको भए खुटुखुटु गर्न थालिहाल्थें । कमसेकम, स्क्रिन सानो भएपछि गाह्रो हुन्छ ।
सानो मोबाइल बोकिराखेको छु, धेरैले मलाई गाली गर्छन् । अर्को मोबाइल चाहिँ मैले झोलामा राखेको छु, फोटो खिच्ने बेलामा बेलाबखत प्रयोग गर्छु ।
यतिसम्म कि आइप्याडमा बाहेक म यो सामाजिक सञ्जाललाई ‘इन्टरटेन’ गर्दिनँ भनेर बसेको मान्छे हुँ । मैले दिनमा दुई घण्टाभन्दा बढी मोबाइल हेर्दिनँ भनेर अठोटै गरेको मान्छे हुँ ।
मेरो योभन्दा अगाडिका अठोटहरु सुन्नुहुन्छ भने…
मैले आइए पढ्दा ‘यति वटाभन्दा बढी फिल्म हेर्दै हेर्दिनँ’ भनेको थिएँ । पाटनमा बसेर पढ्थें । सिनेमा हलमा मेरो जिल्लाबासीले प्रहरीका अफिसरहरुसमेतलाई सधैं लगेर फ्रीमा हेराउँथे । तर, मचाहिँ एकछिनपछि भागिहाल्थें । त्योबेला पनि मैले फिल्म हेर्दिनँ भनेर हेरिनँ । डिप्लोमा पढ्दा होस्, मास्टर्स गर्दा होस्, हेरिनँ ।
अर्को एउटा अठोट तपाईहरुलाई रमाइलो पनि लाग्ला ।
नेविसंघको राजनीतिमा सानैदेखि सक्रिय हुँदै आइयो तर बहुदल नआएसम्म कुनै पनि पदीय चुनाव लड्दिनँ भनेको थिएँ । कुनै पदमा चुनाव लडिनँ । बहुदलीय व्यवस्था आयो भने सांसद पदमा एकैचोटि लड्छु, आएन भने जेसुकै होस् लड्दिनँ भनेको थिएँ।
तर, धेरै ढिलो बहुदल आयो । म सांसद पनि लडें । आफ्नो जिल्ला (सिन्धुपाल्चोक) मा कांग्रेस थिएन । त्योबेला जमानत जफत हुन्थ्यो कांग्रेसको । अहिले मैले आफ्नो संगठन बलियो बनाएर आएको छु ।
अर्को रमाइलो कुरा सुन्नोस् ।
राजनीतिमा लागियो । एग्रेसिभ चरित्रको मान्छे । कुनै पनि बेला जेल जानुपर्ने हुन्थ्यो । सुइँक्याइदिन पनि सक्थे पञ्चायतकालमा । मचाहिँ बहुदलीय व्यवस्था आएर पनि सांसद नभइकन बिहे गर्दिनँ भनेर बसेको थिएँ ।
म सांसद हुने बेलामा ४१ वर्षको भएँछु । अलि छिप्पिएँछु भन्नुप¥यो । मैले आफूले गरेको प्रतिवद्धता पूरा गरेको मान्छे हो । तर, दुईघण्टा भन्दा बढी मोबाइल हेर्दिनँ भनेको मान्छे । मैले नै सकिराखेको छैन ।
त्यसकारण मलाई के लागिरहेको छ भने यो (सामाजिक सञ्जाल) हाम्रो नियन्त्रणभन्दा बाहिर गइसक्यो । अब यसले धेरै विकृतिहरु ल्याइसक्यो । हामीले व्यवहारमै हेर्ने हो भने पनि यो जघन्य भइसक्यो । यसलाई कन्ट्रोल गर्न सकिएन भने देशका विकासका कुरा छोड्नोस् । यो देशमा परिवर्तनका कुरा छोड्नोस् । मान्छेले मान्छेलाई खाने भइसक्यौं । मान्छेले मान्छेलाई सिध्याउने भइसक्यौं । अर्कोले सिध्याउनुपर्दैन, आफैं सिद्धिने भइसक्यौं । मानसिक रोगी भएपछि त अर्कोले सिध्याउनैपर्दैन, आफैं सिद्धिइहाल्छ नि ।
भिडियो–
‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष
रोटरी क्लव अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा बुधबार दरबारमार्गमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले इन्टरनेटको एडिक्सन र बुलिङको समस्याले आगामी दिनमा विपदकै रुप लिन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।
सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका विभिन्न किसिमका सामाजिक, मानसिक, आर्थिक, लगायत आपराधिक गतिविधिको अवस्था हेर्दा सामाजिक विपदकै रुपमा यो समस्या बढ्न सक्ने विज्ञहरुले बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले मानसिक स्वास्थ्यमा साइबर बुलिङ र इन्टरनेट लतको प्रभावले कसरी प्रभाव पार्छ भन्ने विषयमा चर्चा गरे ।
कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘सामाजिक सञ्जाललाई जिम्मेवार र सुरक्षित तरिकाले प्रयोग गर्नुबाहेक हामीसँग विकल्प छैन । यसमा हाम्रो ध्यान जान जरुरी छ ।’
सामाजिक सञ्जालको प्रयोगले मानसिक सामाजिक लगायत मानिसहरुको बहुआयामिक क्षेत्रमा असर गरिरहेको श्रेष्ठले बताए ।
पूर्वमुख्यसचिव शंकर बैरागीले अहिलेको युगमा सामाजिक सञ्जालको प्रयोग अत्यावश्यक भएता पनि बुद्धिमत्तापूर्ण ढंगले प्रयोग गर्न जरुरी रहेको बताए । यसको प्रयोगका लागि कानुन बन्नुपर्नेमासमस्या आएपछि मात्रै कानुन बनाउने परम्पराका कारण दुरुपयोग भइरहेको उनको भनाइ छ ।
कार्यक्रममा प्रस्तुतीकरण दिएका मनोरोग विशेषज्ञ डा.प्रदीप पाण्डेले हेर्दा सामान्य लागे पनि मोबाइल र इन्टरनेटको लत बच्चादेखि वृद्धसम्म सबैमा रहेको बताए ।
पाण्डेका अनुसार १० देखि ५० प्रतिशत मानिसहरुमा मोबाइलको लत छ । डिप्रेसन, एन्जाइटी जस्ता मानसिक समस्याको प्रमुख कारण मोबाइल तथा इन्टरनेटको अधिक प्रयोग नै रहेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका डीएसपी उमेश प्रसाद साहले विभिन्न सामाजिक सञ्जालको दुरुपयोगका कारण साइबर अपराधका घटना दिन प्रतिदिन बढिरहेको बताए ।
साहका अनुसार सामाजिक सञ्जालमा पनि सबैभन्दा धेरै फेसबुकको दुरुपयोग भइरहेको छ । अहिले नेपालमा ३७ लाख ४७ हजारको हातमा मोबाइल छ, जसमध्ये आधाभन्दा धेरैले फेसबुक चलाउँछन् । अध्ययन अनुसार फेसबुकबाट मात्रै १ मिनेटमा २ लाख ४३ हजार फोटो अपलोड हुने गरेको साहले तथ्यांक पेश गरे । यो क्रियाकलापमा १० देखि १२ कक्षामा पढ्ने किशोर किशोरीहरु संलग्न रहने गरेको उनले बताए ।
फेसबुक तथा म्यासेन्जरकै माध्यमबाट यौन शोषण, सामुहिक बलात्कारदेखि लिएर किशोरी बेचबिखनसम्मका घटना भएको उदाहरण दिँदै डीएसपी साहले साइबर क्राइमबारे कानुन नबन्दा अझ समस्या हुने गरेको बताए । उनले भने, ‘०६३ सालको विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार काम गर्नु परेको छ, तर, अहिलेसम्म त्यो दफा अनुसार हुने भनिएको सजायँ कसैमाथि भएको छैन ।’
त्यस्तै आइटी विशेषज्ञ अश्विनी भट्टराईले कतिपय किशोर किशोरीहरु जानी नजानी बुलिङको शिकार भइरहेकाले सामाजिक सञ्जाल चलाउँदा सचेत हुनुपर्ने बताइन् । उनले साइबर क्राइमसम्बन्धी शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘फ्री वाइफाई चलाउँदा, आफ्नो परिचयपत्र खुल्ने कागजातहरु कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विषयको जनाकारी हुनपर्छ । अभिभावकले पनि आफ्ना बालबालिकाहरुलाई कुन उमेरमा कस्तो डिभाइसहरु चलाउन दिने भन्ने विषयको जानकारी राख्न आवश्यक छ ।’
कार्यक्रममा बोल्दै अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले साइबर अपराधमा संलग्नलाई कर्वाहीको पाटोमा कानुन चुकेको बताए । यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै रोटरी क्लव अफ काठमाडौंका अध्यक्ष शुशीलकुमार कार्कीले मोबाइलको एडिक्सन र बुलिङले मानव जीवनमा विपदकै रुप लिन थालेको भन्दै यसको समाधानका लागि सबै पक्ष एकजुट भएर लाग्न जरुरी रहेको बताए ।
प्रतिक्रिया