प्रधानमन्त्रीज्यू ! सत्ताको उन्मादले गद्दी फेरिन्छ, बुद्धि फेरिँदैन  | Khabarhub Khabarhub

प्रधानमन्त्रीज्यू ! सत्ताको उन्मादले गद्दी फेरिन्छ, बुद्धि फेरिँदैन 



कुनै ठाउँमा चार मूर्ख रहेछन् । उनीहरूले उद्यमका लागि पेट्रोल पम्प खोल्ने निधो गरेछन् । आश्चर्य, एउटा गाडी पनि इन्धन भर्न आएनछ । किन भनेर खोज्दै जाँदा थाहा भयो– ‘उनीहरूले घरको एक तलामाथि पम्प खोलेका रहेछन् ।’ लौ भएन भनेर त्यही ठाउँमा रेष्टुरेन्ट खोलियो । अहँ, त्यसपछि पनि चरोमुसो छिर्दैन ! भएछ के भन्दा रेष्टुरेन्ट त खोले तर पेट्रोल पम्पको साइनबोर्ड निकाल्नै बिर्सिएछन् । अन्तिम विकल्पमा ती मुर्खले ट्याक्सीमा आम्दानी देखेर ट्याक्सी किनेछन् । ट्याक्सी चढ्ने ग्राहक खोज्न त्यही ट्याक्सी चढेर चारैजना शहर पसे । ट्याक्सीभरि मान्छे देखेपछि भरिएको ट्याक्सी ठानेर कसैले सोध्ने दरकार नै राखेन ।

३ करोड जनताको भावना बोक्नुपर्ने संविधानले प्रोजेक्ट पेपरभन्दा माथिको औकात बोक्न सकेन । कागजमा लेखिएको नियमभन्दा स्वधर्म सर्वाधिक ठूलो कानून हो ।

नेपालमा भएका पटक पटकका राजनीतिक क्रान्ति यिनै मूर्खहरूको व्यवसाय जस्तै बन्यो । कोही पोखरा, कोही महेन्द्रनगर, कोही झापा पुग्ने राजनीतिक स्वार्थ बोकेका नेताहरू सार्वजनिक खपत र पदीय स्वार्थका लागि एउटै गाडीमा चढेर यात्रा आरम्भ गर्ने गरेका छन् । जब मुग्लिन आइपुग्छ, त्यसपछि माथापच्ची सुरु हुन्छ । गाडी एउटा छ, दाबी सबैको । गाडीको हातमा स्टेयरिङ त छ, दिशानिर्देश छैन । त्यो गाडी कुन उद्देश्यका लागि गुडेको छ भन्नेमा सबैभित्र अलमल र संशय छ ।

हाल मुलुकमा क्रियाशील संविधान त्यही गाडीजस्तै बन्यो । ३ करोड जनताको भावना बोक्नुपर्ने संविधानले प्रोजेक्ट पेपरभन्दा माथिको औकात बोक्न सकेन । देश ‘भागशान्ति जय नेपाल’ बन्नुको परिणाम त्यही अप्राकृतिक कर्मको खेल हो । कागजमा लेखिएको नियमभन्दा स्वधर्म सर्वाधिक ठूलो कानून हो । खाना खाए अघाइन्छ भनेर कतै लेख्न पर्दैन । जाडोमा तातो र गर्मीमा चिसोको चाह सबै जात, समूह र भूगोलका मानिसलाई हुन्छ भन्ने सत्य कुनै नियमले बाँधिने विषय होइन ।

सबै धर्मावलम्बीका मानिसलाई गर्मीमा चिसो र जाडोमा तातो प्रिय हुन्छ । हो, यही प्रियपन धर्म हो । मानव सेवा, मानव एकता नै त धर्म हो ।

सत्ता र शक्तिको उन्माद मदिराको मातभन्दा उखरमाउलो हुन्छ । त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीभित्र व्याप्त आत्मरतिको रसायनले मानिस त के प्रकृतिका नियम फेर्नेसम्मको धृष्टता प्रदर्शन गर्छ । उनले सूर्य उदाउने– अस्ताउने समय, वेदका ऋचा, रुखको रङ्ग, पानीको बग्ने धर्म, हावाको गति, महाभारत, रामायणका कथा फेर्ने घोषणा गरिदिन सक्छन् । ओलीले चाहे भने सुपर्णखालाई सीता र रावणलाई रामको ओहोदा दिन सक्छन् । कृष्णलाई अर्जुनको कारिन्दा घोषणा गरिदिन बेर लगाउँदैनन् । भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्यजस्ता पात्रलाई देशद्रोही करार गर्न सक्छन् । ‘हट केपी बा’ भनेर दुर्गेश थापाले एउटा मञ्चमा हल्ला गरिदिने हो भने उनी स्वरसम्राट उपाधिका हकदार हुनसक्छन् । प्रशंसाको रोग लागेपछि त्यसको उपचार हुँदैन ।

नमान्नेको हकमा संविधान कागज हो । आफूभित्रको विवेकले त्यसको सम्मान गर्ने हो । मदिरालयमा सजाएर राखिएका मदिरा आफैँ झगडा गरेको कसले देखेको छ ? एउटा बोतलले अर्को बोतललाई किमार्थ हिर्काउँदैन । पुस्तकालयमा राखिएका वेद, कुरान, बाइबल, त्रिपिटक जुधेर आफ्नो महत्ता प्रदर्शन गरेको कसलाई थाहा छ ? जब मानिसको विवेकमा बिर्को लाग्छ, यिनै अमूर्त वस्तुलाई आधार बनाएर जुधाउने काम हुन्छ । ‘तँ ठूलो’ र ‘म ठूलो’ घृणित खेल हुन्छ । सबै धर्मावलम्बीका मानिसलाई गर्मीमा चिसो र जाडोमा तातो प्रिय हुन्छ । हो, यही प्रियपन धर्म हो । मानव सेवा, मानव एकता नै त धर्म हो । जुन धर्म, जुन भूगोलमा भए पनि जब मानिस तृप्त हुन्छ, त्यसपछि उसको ओठबाट मन्द मुस्कान छरिन्छ । यो मुस्कान यस धराका सबैले बुझ्ने भाषा हो ।

संसारका सबै धर्म, सबै राजनीतिक दर्शनले खोजेको स्वर्ग भनेकै हाँसो हो । राजनीति भनेको ३६५ दिन नै सेवाको ढोका बन्द नगर्ने सर्त स्वीकार्नु हो । यो अविराम जनताको सेवाबाट निसृत हुन्छ । जब पद, प्रतिष्ठा र नाफाको दाउपेच सुरु हुन्छ, त्यो घडीमा राजनीति व्यापारमा अनुवाद हुन्छ । हामीले तय गरेको यात्राले अन्ततः पुगिने धोका नगरी नै हो । काठमाडौँबाट पोखराका लागि छुटेको गाडी मुग्लिनबाट त्रिशूली पार नगरी नारायणगढतर्फ लागेपछि पुग्ने झापा, नत्र महाकाली हो । जाँड, भाङ, धतुरो खाएको तालमा यात्रा तय गरेपछि गन्तव्य धरापमा पर्नु स्वाभाविकै हो ।

राजनीतिक स्वतन्त्रताले कसैको पेट भरिन्न । न त क्रान्तिले आगो बाल्छ । आगो बाल्न त सानो भए पनि आगोकै झिल्को चाहिन्छ ।

एक टन सिद्धान्तको तुलनामा एक ग्राम कामको धेरै महत्व हुन्छ । मेलम्चीको पानी धारा धारामा नियमित गरिदिए धेरै प्रश्नको उत्तर त्यसले दिन्छ । कमसेकम तीन करोड जनताले आँखा चिम्लेर एक गिलास शुद्ध पानी ख्वाउने राजनीतिको केन्द्रीय एजेण्डा कहिले बन्ला ? ट्याक्सीमा मिटर छ, तर त्यो चल्दैन । सृष्टि चलाउने सरकार प्रमुख आउँदा ट्याक्सीको मिटर चलेन । १२ सय तिरेर विराटनगरबाट काठमाडौँ पुगिन्छ, त्यहाँबाट गन्तव्य पुग्न ट्याक्सीमा त्यति नै पैसा खर्चिनु पर्छ । यो घोडाभन्दा अघि बग्गीको अवस्थामा कहिले परिवर्तन आउला ? मोबाइल सबैका हातमा पुर्‍याएर लत बसाउन त सरकार सफल भयो । तर रिचार्ज गर्ने आम्दानीको श्रोत के हो ? 

जिब्रोमा नून बोकेर तरकारी चाख्ने राजनीतिक संस्कारले पुस्तौनी घर गर्दा हरेक राजनीतिक परिवर्तन चटक बन्दै आए । राजनीतिक स्वतन्त्रताले कसैको पेट भरिन्न । न त क्रान्तिले आगो बाल्छ । आगो बाल्न त सानो भए पनि आगोकै झिल्को चाहिन्छ । एउटा विद्वानका लागि मूर्खको प्रश्न सर्वाधिक ठूलो विश्वविद्यालय हो । त्यस्तै सबैथोक भएर पनि व्यवस्थापन हुन नसकेको भूगोल सफल राजनेताका लागि चिठ्ठा हो । यो सत्य नबुझेर जब नेताको बोली, बचन व्यवहार नै मूर्खको कोटीमा अनुवाद हुन्छ, त्यसको दुष्परिणाम धरामा उभिएकादेखि गर्भमा रहेकाले समेत भोग्नु पर्छ ।

अरू हिँडेको बाटो हिँड्ने नेता नभएर पथिक हो । नेताले बाटो  बनाउने हो । बाटो नभएको ठाउँमा पाइतालाको डोब छोड्ने नेता कहिल्यै मर्दैन । अमेरिकी तत्कालीन राष्ट्रपति अब्राहम लिङ्कनलाई सोधियो– ‘तपाईं सामान्य जुत्ता सिलाउनेको छोरो कसरी अमेरिकाको राष्ट्रपति हुनुभयो ?’ उनले मुस्कुराएर जवाफ दिए– ‘मैले पाइला पाइलामा आफ्नै परीक्षा लिएँ । हरेक असफलताबाट केही सिकेँ । त्रुटि सुधार्दै, नयाँ बाटो पहिल्याउँदै गएँ । सफलताको सूत्र पुस्तकमा नभई मेहनतमा हुन्छ भन्ने सत्य आत्मसात गरेँ ।’

मानव बस्तीको खोजीमा समुद्री यात्रामा निस्कने बहस चल्दा क्रिष्टोफर पागल बनाइए ।  यस्तै चार्ल्स डार्बिनले मानवलाई बाँदरको सन्तानभन्दा समाजले मगज खुस्किएको भन्दै जीवनभर अपमान दियो ।

सुख र सामान्य सोचले परिवर्तन सम्भव छैन । पागलपन र वैराग्यले विकासको ढोका खोल्छ । त्यसैले नेतागणहरू चटके नभएर पागल बन्न अपरिहार्य छ । देश चलाउने योग्यता के हो ? पारखीहरू भन्छन्– ‘खाँटी कूटनीतिज्ञ त्यो हो, जो महिलाको जन्मदिन सम्झन्छ तर उमेर सम्झँदैन ।’ जसले विश्वमा परिवर्तन ल्याए, आरम्भका दिनमा तिनीहरू इतिहासका प्रहसन पात्र भए । सन् १६०० मा गणितज्ञ एवं खगोलविद् गिआर्दानो ब्रुनोले पृथ्वी बाहिर जीवन हुनसक्ने नवीन विचार ल्याए । उनलाई धर्मको खिलाफ बोलेको भन्दै रोमको मध्य शहरमा जिउँदै जलाइयो ।

मानव बस्तीको खोजीमा समुद्री यात्रामा निस्कने बहस चल्दा क्रिष्टोफर पागल बनाइए ।  यस्तै चार्ल्स डार्बिनले मानवलाई बाँदरको सन्तानभन्दा समाजले मगज खुस्किएको भन्दै जीवनभर अपमान दियो । ओर्भिल राइट र विल्बर राइटले आकाशमा उड्ने परिकल्पना गर्दा रोयल सोसाइटीका अध्यक्षले उडाउनु उडाए । डिज्नेल्याण्डको प्रस्ताव ल्याउँदा वाल्ट डिज्नेलाई घरकै सदस्यले पागलको उपमा दिए । विना तार सूचनाको एजेण्डा ल्याउने मार्कोनीको खेदो खनेर त्यो बेलाको समाज वर्षौं थाकेन । हो, यस्तै पागल बन्ने हाम्रो पालो कहिले हो ?

भगवानले त भगवानको विशेषण पाउन थुप्रै अग्निपरीक्षा पास गर्नुपर्छ भने मानिसको के कुरा ? विश्वका प्रख्यात सङ्गीतज्ञ मोजार्टसँग बाल्ने दाउरा थिएन, न त लगाउने न्यानो कपडा नै । यहाँसम्म कि खुट्टामा लगाउने मोजा हातमा लगाएर उनी सङ्गीत सिर्जना गर्थे । खान नपाएर कलिलो उमेरमै कुपोषणले बितेका मोजार्टले छोटो समयमै आफूलाई विश्वभर अमर बनाए ।

परिस्थितिले नभई मनस्थितिले टुट्छ मान्छे । यो धरामा रहेका हरेक मानिसको खाने थाल र जिन्दगीको हाल अलग छ । जन्मिँदाको खाट र मर्दाको घाट अलग छ ।

चार्ली च्याप्लिनले बाउआमाले छोडेर गएपछि सडकमा मागेर आफ्नो प्राण धाने । कालान्तरमा विश्व विख्यात हास्यकलाकारको ख्याति यिनको नामसँगै जोडियो । असह्य दुःखको पीडा खप्न नसकी विश्व प्रसिद्ध लेखक म्याक्सिम गोर्कीले आफ्नो ज्यान आफैँ लिए । यतिका पीडाका शूलबीच पनि मानिसले अमरत्वको झण्डा गाडेका छन् । आफूमाथि पीडा हाबी हुन नदिएर सुन्दर जीवनको सूत्र फेला पारेका छन् भने हामी दुःखको लेस नपाएकाहरूलाई कर्मको यज्ञ गर्न के ले छेकेको छ ?

परिस्थितिले नभई मनस्थितिले टुट्छ मान्छे । यो धरामा रहेका हरेक मानिसको खाने थाल र जिन्दगीको हाल अलग छ । जन्मिँदाको खाट र मर्दाको घाट अलग छ । वास्तवमा आफ्नो को हो ? त्यो देखाउने हक समयलाई मात्र छ । गल्तीको जिम्मेवारी नलिने मानिस कहिल्यै अघि बढ्न सक्दैन । उज्यालोमा मात्र सबैले साथ दिने हुन्, अँध्यारोमा त आफ्नै छायाँले पनि छोडिदिन्छ । कहिल्यै नभुलौँ, फूल बाँड्ने मान्छेको हातमा सुगन्ध पनि बस्छ । सत्य नबुझी अनुमान गर्नु दुःखी हुनुको प्रमुख कारण हो ।

आस्थाले बालिएको दियो हावाले मात्र निभ्दैन । तेल निख्रिएर पनि निभ्छ । तेल नभएर बत्ती निभ्नु भनेको तपाईँभित्रको आयतन खुम्चनु हो ।

कोही कसैको न पछि, न अघि नै लाग्न जरुरी छ । नेतृत्वका लागि विश्वास गरेको पात्र नालायक निस्कियो या आफूले नेतृत्व गर्दा अरूले विश्वास गरिदिएनन् भने हालत के हुन्छ ? त्यसैले यात्रा समदूरीमा गरेर बाको सट्टा साथी बन्नुस् प्रधानमन्त्रीज्यू । बाटो हिँड्दा प्रकाश भेट्नु भएको छैन भने आफैँ बत्ती भइदिनुस् । आस्थाले बालिएको दियो हावाले मात्र निभ्दैन । तेल निख्रिएर पनि निभ्छ । तेल नभएर बत्ती निभ्नु भनेको तपाईँभित्रको आयतन खुम्चनु हो । एउटा असल र कर्मशील नेताले मात्र आशा, कल्पना र विश्वासको  त्रिवेणी निर्माण गर्न सक्छ । मुखमा फिँज निकालेर अन्टसन्ट बोल्ने काम त रत्नपार्कको ओखती बेच्नेले पनि गर्छ । 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ९ : २५ बजे

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा

काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् ।

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

छोराको हत्या अभियोगमा दम्पती पक्राउ

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका

डिला संग्रौलाकाे प्रश्न : पत्रकार आचारसंहिताको मापन गर्ने क्षेत्राधिकार कसको हो ?

काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा.