डढेलोको डर : बाल्टीमा पानी बोकेर दुई घण्टा छानो माथि « Khabarhub

डढेलोको डर : बाल्टीमा पानी बोकेर दुई घण्टा छानो माथि


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

पाँचथर- बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । अकस्मात् डढेलो  आइपुग्यो भने खर (फुस)को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पिर गाउँलेमा थियो ।

सुक्खाले अत्यधिक प्रभावित यस स्थानमा वर्षा नभएको पनि ६ महिना भइसकेको छ । वर्षा नहुँदा सुक्खाले पात पतिङ्गर सबै सुकिसकेका छन् । त्यसमाथि हावाहुरी अत्यधिक चलिरहेको थियो ।

बुधवारदेखि सल्किएको डढेलो गाउँ आइपुग्न धेरै समय लागेन । साँवासेरामा लागेको डढेलो शुक्रबार कुम्मायक गाउँपालिका–१ यासोकको टङटङे र लेकेताम वनसम्म आइपुगेको थियो ।

डढेलो गाउँमा जानबाट रोक्न अग्नि रेखा निर्माण भएको थिएन । सुक्खाले प्रभावित गाउँमा आगो निभाउने गरी प्रशस्तै पानी हुने नै भएन । कुम्मायक गाउँपालिकाका कर्मचारीसमेत रहेका काफ्लेपानीका कमल श्रेष्ठ शुक्रबार छिमेकी वीरबहादुर लावतीको घरको छानोमा बाल्टीभरि पानी लिएर बसेका थिए ।

घरको वरिपरि डढेलोबाट निस्केको धुवाँले ढाकिसकेको थियो । खरको छानो भएको उक्त घरमा हावाहुरीले आगोको झिल्का ल्याइपुर्‍याए जोगाउन नसकिने भएपछि उनी करिब दुई घण्टा पानी बोकेर छानो माथि बसे ।

‘आगो घरभन्दा करिब ५० मिटर मुनि जङ्गलमा आइसकेको थियो । त्यहाँ बाँसको झाँङ पनि थियो । आगो लागेपछि बाँसका पात हावामा उड्छन । आगो सल्किएका पात र झिल्को खरको छानोमा आइपुग्ला कि भनेर बाल्टीमा पानी लिएर छानोमा बसेको हुँ’, उनले भने, ‘आगोको झिल्को आइपुग्ना साथ बाल्टीको पानी छ्यापेर निभाउने प्रयास गरेका हौँ ।’ 

श्रेष्ठले छिमेकीको छानो रुघ्ने र अरू गाउँलेले घर नजिकै आइपुगेको आगो निभाउने काम गरेका थिए । उनीजस्तै आगो निभाउने गएका अरू मानिस खरको छानो भएका घरको छानोमा पानी लिएर बसेका थिए । करिब १५ घरलाई यसरी छानो रुघेर जोगाइएको श्रेष्ठको भनाइ छ । 

सुक्खाले अत्यधिक प्रभावित कुम्मायक गाउँपालिका–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ । वनमा लागेको डढेलो हावाहुरीका कारण क्षणभरमा नजिकै रहेका बस्तीमा पस्ने गरेको छ । 

सङ्घ, प्रदेश र स्थानीय सरकारले नागरिकका घरमा जस्तापाता लगाउने विभिन्न कार्यक्रम चलाए पनि अझैसम्म सबै घरमा जस्तापाता पुग्न सकेको छैन । वनमा लागेको डढेलो गाउँमा पस्दा आज मात्रै सो स्थानका घनेन्द्र दर्जी बसोबास गर्दै आएको घरको भान्साघर जलेको श्रेष्ठले जानकारी दिए ।

सोही डढेलो बस्तीमा पस्दा उक्त वडाको खाल्डेका दीर्घबहादुर खत्री, देवेन्द्र राई, यामकुमार चाम्लिङ, विष्णु राई, पहलमान कार्की, देवेन्द्र कार्की, डिकबहादुर कार्कीको घर, गोठ, अन्नपात, लत्ताकपडा, पशु चौपायासमेत जलेका छन् । 

कुम्मायक गाउँपालिकाकै वडा नं ३ ताम्राखु वनमा लागेको डढेलोमा परी स्थानीय २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको बिहीबार मृत्यु भएको थियो । बिहीबार दिउँसो प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए । 

आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरूलाई आगोको लप्काले भेटेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते रहेका सपना, शिवाना र निरमायाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजसम्म उपचार गरी थप उपचारका लागि आज कीर्तिपुर जलन अस्पताल पुर्‍याइएको कुम्मायक–३ का वडाध्यक्ष बाबुराम कार्कीले जानकारी दिए । 

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ६ : ५३ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको