बबरमहलमा संयुक्त कला प्रदर्शनी सुरु | Khabarhub Khabarhub

बबरमहलमा संयुक्त कला प्रदर्शनी सुरु


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बबरमहलस्थित नेपाल कला परिषद्मा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु गरेका छन् । ‘टुगेदरनेस’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा अवलोकनकर्ताले कलाकृतिबारे खुलेर प्रसंशा गरेका छन् ।

प्रदर्शनीमा कृति शाह चन्द, कीपा राणा, पूजा अग्रवाल, सन्ध्यासिंह महर्जन र सगुन शाह सिंहका सिर्जना राखिएको छ । प्रदर्शनी यही चैत २५ गते सञ्चालन हुनेछ ।

कलाकार कृति शाह चन्दले आफूले आरोह अवरोह शीर्षकको अमूर्त कलामा मानवीय जीवनका उतारचढावलाई क्यानभासमा उतारेको बताइन् । उनले भनिन्, “मान्छेको जीवनमा सुख, दुःखसहितका उतारचढाव आइरहन्छ, त्यसलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्ने सन्देश कलामार्फत प्रस्तुत गर्ने प्रयास गरेकी हुँ ।” उनले आफूले जीवनमा भोगेका विभिन्न परिस्थितिलाई कुचीमार्फत क्यानभासमा उतारेको सुनाइन् । उनका पारसमणि, अटुमन लभ, शान्तिको प्रतिक स्वयम्भूनाथलगातका कला प्रदर्शनीमा राखिएको छ ।

कलाकार कीपा राणाले दैविशक्तिको सशक्त धारलाई क्यानभासमा उतारेकी छिन् । उनले भनिन्, “म शिवजीको भक्त हुँ, उहाँका सबै स्वरुपहरु चित्ताकर्षक लाग्छन्, त्यही समर्पण भावलाई कलामा समेट्ने प्रयास गरेकी हुँ ।”

पौभा कलालाई मूलधारमा समेट्दै अघि बढेकी कलाकार सन्ध्यासिंह महर्जनका कलाले पनि धेरैको मन तानेको छ । नेपाली कलाको धरोहर मानिने लोककला विधाको पौभामा उनका कृति उत्कृष्ट देखिएका छन् । उनले भनिन्, “सहस्रभुजा लोकेश्वरको पौभा बनाउन साढे दुई वर्ष लाग्यो, महाकालको पौभा कला बनाउन दुई वर्ष लाग्यो ।” उनको ‘न्यूड आर्ट’मा पनि धेरै अवलोकनकर्ताले रुचिपूर्वक हेरेका थिए ।

कलाकार पूजा अग्रवालले आफूले यथार्थ र भ्रमको परिकल्पनाका आधारमा कला सिर्जना गरेको बताइन् । उनले भनिन्, “वास्तविक जीवनमा हामीले भगवान्को स्वरुप देखेका छैनौँ र सानो छँदा आमाले सही र गलतबीचको फरक फूलको बिरुवाको उदारहण दिँदै बताउनुभएको थियो, त्यसैलाई कल्पना गर्दै क्यानभासमा उतारेकी हुँ ।”

कलाकार सगुन शाह सिंहको कलामा भगावन् गणेशका अनेक भावहरु समेटिएका छन् । मनमोहक गणेश, सौम्य गणेश, रङ्गीन स्वभावका गणेशका चित्र र चरित्रहरु क्यानभासमा उतारिएको उनको भनाइ छ । उनले भनिन्, “सानैदेखि म गणेश भगवान्को व्रत बस्थे, गणेश भगवानप्रतिको लगाव नै चित्रहरुमा कुँदिएका छन् ।”

ललितकला गुठीको आयोजनामा सुरु भएको प्रदर्शनीले महिला कलाकारको सामूहिकता र कलाको निखारता दुवैलाई एकसाथ समेटेको गुठीका संस्थापक उत्तम डङ्गोलले बताए ।

वरिष्ठ कलाकार शशिविक्रम शाह नारी शक्ति पुरुष शक्तिभन्दा सशक्त रहेको टिप्पणी गरे । महिलाको संयुक्त प्रयासले समाजमा कलामार्फत गहन प्रभाव पारेको उनको भनाइ थियो ।

वरिष्ठ साहित्यकार पद्मावती सिंहले सबै महिला कलाकारको संयुक्त प्रयासले कला पारखीको मन छुन सफल भएको बताइन् । प्रदर्शनीका क्युरेटर स्मृति कर्माचार्यले महिलालाई कला क्षेत्रमा अघि बढाउनका लागि यसले सहयोग गरेको बताइन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ३ : १६ बजे

भूमि आयोगद्वारा तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु

तनहुँ– भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच

फिल्म ‘वसन्त’मा स:प्राइज – राजेश हमाल, करिश्मा मानन्धरदेखि निश्चलसम्म

काठमाडौं – प्रकाश सपुतको डेब्यू लेखन र निर्देशन रहेको फिल्म

मुख्यमन्त्री कार्यालयमा मधेशका स्वास्थ्यकर्मीको धर्ना

धनुषा– ‘स्वास्थ्य सेवा ऐन, २०८१’ संशोधनको माग गर्दै मधेशका स्वास्थ्यकर्मीले

प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलनकाे उद्घाटन

लुम्बिनी– प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनि सम्मेलनको उद्घाटन गरेका छन्

गौतमबुद्ध विमानस्थल सञ्चालनको माग गर्दै रुपन्देहीका उद्योगी आन्दोलित

रुपन्देही – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न माग राख्दै