'अष्ट्रेलियन ट्रम्प' हारे, जितेका अल्बानिजीलाई अमेरिका जान छैन हतार | Khabarhub Khabarhub

अष्ट्रेलियन चुनाव

‘अष्ट्रेलियन ट्रम्प’ हारे, जितेका अल्बानिजीलाई अमेरिका जान छैन हतार



काठमाडौं- आइतबार बिहान अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी निकै खुशी देखिन्थे । कारण थियो– शनिबार आयोजित आम निर्वाचनमा लेबर पार्टीलाई उनले ऐतिहासिक जित दिलाएका थिए ।

न्यू साउथ वेल्स राज्यको सिड्नीबाट पश्चिमतिरको लाइखार्ड्ट क्षेत्रमा पर्ने बार इटालिया नामक इटालियन रेस्टुरेन्टमा उनी मतदातालाई धन्यवाद दिइरहेका थिए । त्यहाँ उनलाई बधाइ दिनेहरु धेरै थिए । त्यही भीडमा अष्ट्रेलियाको ९ न्यूजका राजनीतिक सम्पादक चार्ल्स क्राउचर पनि थिए ।

पत्रकारको कामै त हो– नवनिर्वाचित प्रधानमन्त्रीलाई भेटेको अवसरमा क्राउचरले अल्बानिजीतर्फ बुम तेस्र्याइहाले । उनले सर्वप्रथम प्रधानमन्त्रीलाई जितका लागि बधाइ दिए । ‘थ्याङ्क यू मेइट’ भारी अष्ट्रेलियन लवजमा अल्बानिजीले जवाफ फर्काए ।

प्रधानमन्त्रीले ‘बाइट’ दिँदै गरेको देखेर अरु केही टेलिभिजनका पत्रकार पनि त्यहाँ भेला भए । त्यही बेला अज्ञात महिला स्वर (सम्भवतः १० न्यूज फर्स्टकी संवाददाता) ले प्रधानमन्त्रीलाई सोध्यो ‘अमेरिका कहिले जानुहुन्छ ?’

प्रधानमन्त्री अल्बानिजीले ‘बालै फरर’ को शैलीमा हातले इसारा मात्रै गरे । अनि फेरि भारी अष्ट्रेलियन लवजमा जवाफ दिए– ‘मेरो काम यहीँ छ । मेरो काम यहाँ अष्ट्रेलियाको राष्ट्रिय हितको प्रतिनिधित्व गर्ने हो । म त्यही गर्नेछु । र, (राजधानी) क्यानबेरा जानु मेरो पहिलो काम हुनेछ ।’

‘मलाई सर्वप्रथम मेरा मित्र (पपुवा न्युगिनीका प्रधानमन्त्री) जेम्स मरापेले फोन गर्नुभएको थियो । उहाँसँग मैले अघिल्लो वर्षको एन्जेक डेका बेला कोकोडा ट्रेलमा पदयात्रा गरेको थिएँ ।’ उनले थप जानकारी दिए ।

त्यसबाहेक न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों, बेलायती प्रधानमन्त्री किर स्टार्मरले आफूलाई बधाइ दिइसकेको उनले उल्लेख गरे । त्यसैगरी, इण्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तो र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि कुराकानी गर्ने जनाएका थिए ।

‘अनि राष्ट्रपति ट्रम्प नि ?’ फेरि त्यही महिला स्वरले प्रश्न सोध्यो । प्रधानमन्त्री अल्बानिजीले यस प्रश्नको जवाफ दिन जरुरी नै ठानेनन् । उनले वास्तै गरेनन् ।

हेर्नुहोस् भिडियो-

परम्परागत रुपमा निकटस्थ साझेदार रहेका अमेरिका र अष्ट्रेलियाबीचको सम्बन्ध अहिले कुन अवस्थामा पुगेको छ भनेर यही घटनाले प्रष्ट पार्छ । डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि अमेरिकाका साझेदारहरु यसरी नै लाखापाखा लाग्दै गएको देखिन्छ ।

ट्रम्पले दोस्रो पटक शपथ ग्रहण गर्ने बेला जनवरीको उखरमाउलो गर्मीमा अष्ट्रेलियाको राजनीतिक माहोल बिल्कुलै फरक थियो । अमेरिकामा ट्रम्पको जितसँगै अष्ट्रेलियाका दक्षिणपन्थी पार्टीहरु उत्साहित थिए ।

लेबर पार्टीको वर्तमान सरकार आलोचित थियो । खासगरी, बढ्दो मूल्यवृद्धि रोक्न नसकेको भन्दै प्रधानमन्त्री अल्बानिजीको चर्को आलोचना हुने गरेको थियो ।

राजनीतिक प्रणाली
अष्ट्रेलियाको राजनीतिक प्रणाली खासै जटिल छैन । अष्ट्रेलियामा मध्य वामपन्थी लेबर पार्टी र लिबरल–नेशनल पार्टीको मध्य दक्षिणपन्थी गठबन्धन गरी दुई राजनीतिक खेमाको दबदबा छ ।

अष्ट्रेलियाको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभमा १ सय ५० सिट छ । सरकार बनाउन ७६ सिट आवश्यक पर्छ ।

त्यहाँ हरेक तीन वर्षमा आम निर्वाचन हुन्छ । निर्वाचनमा सङ्क्रमणीय मतदान हुने गर्छ ।

यसको अर्थ मतदाताले उम्मेदवारलाई चाहनाअनुसार प्राथमिकताका आधारमा १, २, ३ वा ४ चार नम्बर दिने व्यवस्था छ । त्यहाँ हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने प्रावधान छ । मतदान नगरे जरिवाना हुन्छ ।

रोचक कुरा त के छ भने बेलायतको गद्दीमा आसिन राजा चार्ल्स तृतीयलाई अष्ट्रेलियाले राष्ट्रप्रमुख मान्दै आएको छ । अष्ट्रेलियामा बेलायती राजाको प्रतिनिधित्व गर्न गभर्नर जनरल तोकिएको हुन्छ ।

ट्रम्पको प्रभाव
जतिबेला अमेरिकामा ट्रम्पले शपथ ग्रहण गर्दै थिए, त्यतिबेला अष्ट्रेलियाको जनमत बिल्कुल फरक थियो । ट्रम्पले शपथ लिएको दुई दिनपछि अर्थात् २२ जनवरीका दिन सिड्नी मर्निङ हेराल्डले रिजल्भ पोलिटिकल मोनिटरको तथ्यांकका आधारमा सर्वेक्षण सार्वजनिक गरेको थियो ।

उक्त सर्वेक्षणमा सहभागी ३८ प्रतिशत मतदाताले आगामी निर्वाचनमा विपक्षी गठबन्धनलाई पहिलो प्राथमिकता दिने बताएका थिए । सत्तारुढ लेबर पार्टीलाई भने केबल २७ प्रतिशतले पहिलो प्राथमिकता दिने उल्लेख गरेका थिए ।

त्यसैगरी, ट्रम्पले शपथ ग्रहण गरेको करिब एक सातापछि अर्थात् जनवरी २६ का दिन न्यूजपोलले अर्को सर्वेक्षण सार्वजनिक गरेको थियो । जनवरी २० देखि २४ सम्म १ हजार २ सय ५९ जनामा उक्त सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणमा ५३ प्रतिशतले गठबन्धनको जित हुने जनाएका थिए भने ४७ प्रतिशतले चाहिँ लेबर पार्टीको जित हुने प्रतिक्रिया दिएका थिए ।

ट्रम्पको जितसँगै विपक्षी गठबन्धनले अमेरिकाको सिको गर्दै संघीय खर्च कटौती गर्ने, विद्यालय र सार्वजनिक संस्थामा उग्रउदारवादी ‘वोक’ दर्शनलाई जरैदेखि उखेल्नेजस्ता नीति सार्वजनिक गरेको थियो । विपक्षी गठबन्धनले अष्ट्रेलिया सरकारले नवीकरणीय ऊर्जामा आवश्यकताभन्दा धेरै जोड दिएको र त्यो दिगो नहुने दाबी गरेको थियो । त्यसका लागि सात नयाँ आणविक ऊर्जा उत्पादन केन्द्र खोलिने गठबन्धनको घोषणा थियो ।

धेरैले विपक्षी गठबन्धनका नेता पिटर डुटनलाई ‘अष्ट्रेलियन ट्रम्प’ को संज्ञा दिने गरेका थिए । डुटनले अघिल्लो पटक आफू मन्त्री हुँदा ट्रम्पसँग वार्ता गरेकाले अमेरिकासँग व्यवहार गर्न आफू अब्बल रहेको दाबी गर्थे ।

पूर्वजासुस डुटनले ट्रम्पजस्तै चीनप्रति खरो पनि छवि बनाएका थिए । उनी अष्ट्रेलिया आउने केही आप्रवासीलाई विदेशी भूमिमा अवस्थित बन्दीगृहमा राख्ने, हजारौँ सरकारी कर्मचारी कटौती गर्नेजस्ता योजना अघि सारेका थिए ।

यतिसम्म की अष्ट्रेलियाकी आदिवासी मामिलासम्बन्धी छायाँमन्त्री ज्याकिन्टा नाम्पिजिम्पा प्राइसले ठ्याक्कै ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ शैलीमा ‘मेक अष्ट्रेलिया ग्रेट अगेन’ को नारा अघि सारेकी थिइन् । गत अप्रिल १२ का दिन पश्चिम अष्ट्रेलियाको पर्थ शहरमा आयोजित राजनीतिक र्‍यालीमा नर्दन टेरिटोरीबाट प्रतिनिधित्व गर्ने प्राइसले आफ्नो गठबन्धनले ‘अष्ट्रेलियालाई पुनः महान् बनाउने, अष्ट्रेलियाको विगतको कीर्तिलाई पुनः फर्काउने र अष्ट्रेलियालाई फेरि सही बाटोमा ल्याउने’ घोषणा गरेकी थिइन् ।

प्राइस उनै नेतृ हुन्, जसलाई गठबन्धनका नेता डुटनले धनकुबेर इलोन मस्कलाई ट्रम्पले दिएजस्तै ‘सरकारी चुस्तता’ को जिम्मेवारी दिएका थिए । उनलाई सरकारी कामकाज चुस्त बनाउने, सरकारको अनावश्यक खर्च कटौती गर्नेजस्ता जिम्मेवारी दिइएको थियो । यद्यपि चर्को आलोचनापछि यो योजनाबाट गठबन्धन पछि हटेको थियो ।

गत महिना अष्ट्रेलियाको लोवी इन्स्टिच्युटले सार्वजनिक गरेको सर्वेक्षणमा केबल ३६ प्रतिशत अष्ट्रेलियनले अमेरिकाप्रति विश्वास रहेको प्रतिक्रिया दिएका थिए । जुन, दुई दशकअघि सर्वेक्षण लिन थालेदेखिकै सबैभन्दा न्यून हो ।

गत अप्रिल २ का दिन ‘मुक्ति दिवस’ का अवसरमा ट्रम्पले अष्ट्रेलियामाथि १० प्रतिशत भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका थिए । अष्ट्रेलियाका ८१ प्रतिशत जनताले आफू त्यस भन्सार शुल्कको विपक्षमा रहेको प्रतिक्रिया दिएका थिए ।

ऐतिहासिक
तर, डुटोन र गठबन्धनको सबै प्रयास असफल भयो । शनिबार आयोजित निर्वाचनमा लेबर पार्टीले ८२ सिट जित्ने अपेक्षा गरिएको छ ।

यसअघि लेबरले ७७ सिट जितेको थियो । विपक्षी गठबन्धन ३८ सिटमा खुम्चिने अष्ट्रेलियाको निर्वाचन आयोगले जनाएको छ । अघिल्लो निर्वाचनमा गठबन्धनले ५८ सिट जितेको थियो ।

उता प्रधानमन्त्री अल्बानिजीले चाहिँ फेरि बहुमत पाए दोस्रो कार्यकालमा लेबरले अष्ट्रेलियन जनतालाई अनुशासित र व्यवस्थित सरकार प्रदान गर्ने वाचा गरेका थिए । सरकारी आयमन्त्री जिम चाल्मर्सले लेबर पार्टी बनाउने नयाँ सरकारले घरजग्गाको समस्या समाधान गर्ने, आर्थिक उत्पादकत्व वृद्धि गर्ने, आर्टिफिसियल इन्टिलिजेन्सजस्ता नयाँ प्रविधिको क्षेत्रलाई प्राथमिकता दिनेजस्ता योजना अघि सारेका थिए ।

निर्वाचनमा विपक्षी नेता डुटन आफैँ पराजित भए । ब्रिसबेनस्थित डिक्सन निर्वाचन क्षेत्रमा उनलाई ४९ वर्षीया अली फ्रान्सले पराजित गरिन् ।

डुटनले त्यस निर्वाचन क्षेत्रबाट विगत २४ वर्षदेखि निर्वाचित हुँदै आएका थिए । यससँगै उनी संघीय निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्रबाट पराजित हुने प्रथम विपक्षी नेताको इतिहास पनि कायम गरे । उनले टेलिफोन गरेर अल्बानिजीलाई बधाइ दिइसकेका छन् ।

‘हामीले यो अभियानमा राम्रो गर्न सकेनौँ । यो आज राति स्पष्ट भइसक्यो, र म यसको पूर्ण जिम्मेवारी लिन चाहन्छु ।’ शनिबार अबेर टेलिभिजन सम्बोधनमा उनले भने ।

शनिबार अबेर दिएको विजयी सम्बोधनका क्रममा प्रधानमन्त्री अल्बानिजीले श्रमिक अधिकार वृद्धि गर्ने, घरजग्गाको समस्या समाधान गर्ने, लैंगिक समानतामा जोड दिइने, बालबच्चाको हेरचाहमा ध्यान दिनेजस्ता घोषणा गरेका छन् । ‘हामीलाई कतैबाट पनि नक्कल गर्ने, माग्नुपर्ने आवश्यकता छैन ।’ ट्रम्पतर्फ सङ्केत गर्दै अल्बानिजीले भनेका छन्, ‘हाम विदेशबाट कुनै प्रेरणा खोज्दैनौँ । हामी हाम्रो मूल्यमा र हाम्रा जनतामा त्यो पाउँछौँ ।’

लेबर पार्टीका राष्ट्रिय अध्यक्ष वायन स्वानले अल्बानिजलाई ‘समतामूलक, समृद्ध र अग्रगामी समाज’ निर्माण गर्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन् । उनले दोस्रो कार्यकालमा कस्तो काम गर्छन् त्यो चाहिँ समयले बताउनेछ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ९ : ०१ बजे

हात्तीवनमा कारले ढालेको बिजुलीको पोल क्रेन लगाएर उठाइयो (तस्बिरहरु)

काठमाडौं– ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच

सरकारलाई कायर भन्दै रोशनको आक्रोश- नीति तथा कार्यक्रममा लेख्दैमा गणतन्त्र जोगिँदैन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नीति तथा कार्यक्रममा

मेक्सिकोमा अमेरिकी सैनिक पठाउने ट्रम्पको प्रस्ताव

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लागूऔषध तस्करी विरुद्ध लड्न

सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए विघटन गर्न सुझाव

काठमाडौं– नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा

माओवादी नेता शाहीले भने- एमालेका कारण कर्णाली प्रदेश भिखारी भयो

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश नेकपा