काठमाडौं- गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल सुरू भएको छ ।
संसद् भवन नयाँबानेश्वरमा बसेको प्रतिनिधिसभाको बैठकको सुरूमा सांसदहरूले शून्य र विशेष समयमा विविध विषयमा आफ्ना भनाइ राखे ।
खासगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूबीच भ्रष्टाचार र सुशासनका विषयमा जुहारी नै चल्यो ।
राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि सोमबार संसद् बैठकमा सहभागी भए ।
ओली बैठकमा जाने क्रममा संसद् भवन परिसरमा उनलाई एमालेका प्रमुख सचेतक महेश बर्तौलाले स्वागत गरे ।
ओली गाडीबाट ओर्लिएर संसद् बैठक बस्ने भवनको मूलगेटतर्फ अघि बढ्दै गर्दा त्यहीँ बुम र क्यामेरासहित तैनाथ थिए केही पत्रकार ।
ओली गाडीबाट मुस्कुराउँदै झरेको अवस्थमा पत्रकारको एउटा प्रश्नले रिसाउने अवस्थामा पुगे । एकजना पत्रकार बुम तेर्स्याउँदै ओली बिच्किने गरी भाजपा विदेश विभाग प्रमुखको भ्रमण र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँगको सम्बन्धबारे प्रश्न गरिदिए ।
संसद् भवनको बैठक कक्षतिर छिर्ने बाटोमै बसेका पत्रकारहरूको प्रश्नले ओली चिँढिए । उनले आफूलाई प्रश्न गर्ने पत्रकारलाई बाटो नै छेकेर बस्न पनि भने ।

संवाद
पत्रकार- प्रधानमन्त्रीज्यू नमस्कार !
प्रधानमन्त्री- नमस्कार है ।
पत्रकार- भाजपा नेता (विजय चौथाइवाले) को भ्रमणपछि माओवादीसँगको सम्बन्ध अलिक मिलेको हो ?
प्रधानमन्त्री – यतापट्टी छिर्नुस् न (रिसाएको मुद्रामा बैठक कक्ष छिर्ने बाटोतिर देखाउँदै), तरिका हुन्छ नि तपाईंहरूको ।
पत्रकारहरूले माओवादीसँगको सम्बन्ध सुध्रिएको हो भनेर प्रश्न गर्दा चिढिएका ओली र प्रचण्डबीच अरु बेलाको भन्दा सौहार्दता देखियो ।
खासमा पत्रकारहरूको प्रश्नलाई पुष्टि गर्ने गरी नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्न ड्यासमा जाने क्रममा ओलीले प्रचण्डसँग भलाकुसारी गरे ।
प्रचण्डसँग मुस्कुराउँदै भलाकुसारी गरेका ओलीले हातसमेत मिलाए । दुईजनाबीचको यो भलाकुसारीको तस्बिर ओलीकै सचिवालयले पत्रकारहरूसम्म पुर्याएको छ ।
यसअघि पनि प्रचण्डसँग निकटता बढ्दा ओलीको सचिवालयले यसैगरी तस्बिरहरू सार्वजनिक गर्ने गरेको थियो ।

टीआरसीको बहानामा अलग्गै वार्ता
ओलीले आइतबार मात्रै प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग सङ्क्रमणकालीन न्यायमा केन्द्रित रहेर अलग्गै छलफल गरेका थिए । टीआरसीबारे यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता अनिवार्य सहभागी हुन्थे । तर
त्यही टीआरसीको नाममा ओलीले पहिलो पटक दाहालसँग सिंहदरबारभित्रै अलग्गै वार्ता गरे। त्यस छलफलमा प्रमुख सत्तारूढ नेपाली कांग्रेसका कोही पनि नेता सहभागी थिएनन् ।
त्यसपहिले टीआसीबारे ओली, प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित त्रिपक्षीय छलफल हुने गरेको थियो । तर पहिलो पटक आइतबार ओलीले माओवादी नेतृत्वसँग अलग्गै संवाद गरेपछि राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।
यस भेटमा प्रधानमन्त्रीले मानव अधिकारसम्बन्धी सल्लाहकार एवम् एमाले नेता अग्नि खरेललाई सहभागी गराएका थिए। उता प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई साथमा राखेका थिए । पुन कम्युनिस्ट पार्टीबीच सहकार्य र एकता हुनुपर्ने पक्षका नेता हुन् ।

चौथाइवालेको भ्रमण
संसद् भवन परिसरमा प्रधानमन्त्री रिसाउने गरी सोधिएको प्रश्नमा जोडिएका नेता हुन भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले । उनी वैशाख १७ गते काठमाडौं आएर वैशाख २० मा भारत फर्किएका छन् ।
उनले ती तीनमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल र प्रचण्डसहित पूर्वप्रधानमन्त्रीलाई भेटेका थिए । उनले त्यसक्रममा जम्मा १९ जनासँग भेटे । राजावादीबाहेकका सबै जसो नेतालाई भेटेर उनी शुक्रबार भारत फर्किए ।
उनले संघीय संसद्का कांग्रेस, एमाले, माओवादी, रास्वपा, लोसपा र जनमत पार्टीका नेतासँग छुट्टाछुट्टै वार्ता गरेका थिए । गत बुधबार काठमाडौं उत्रिएपछि चार शीर्ष नेतासँगै एमालेका महासचिव शंकर पोखरेललाई पनि भेटे । उनले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग पनि वार्ता गरे ।
माओवादीका उपमहासचिव वर्षमान पुनसँग पनि उनले वार्ता गरे । पुन आइतबार प्रचण्ड र ओलीबीचको वार्तामा पनि सहभागी थिए । चौथाइवालेले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र उपाध्यक्ष स्वर्णिम वाग्लेलाई पनि शुक्रबार भेटे ।

उनले कांग्रेस नेताहरू डा. शेखर कोइराला, महामन्त्री गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वपरराष्ट्रमन्त्री एनपी साउद र उदयशमशेर राणालाई पनि भेटे । चौथाइवालेले गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु देउवा राणासँग पनि वार्ता गरे । उनले माओवादी उपमहासचिव जनार्दन शर्मालाई भेटेर वार्ता गरे । जनार्दन अहिले प्रचण्डलाई चुनौती दिने नेताका रुपमा माओवादीमा चिनिन्छन् ।
चौथाइवालेले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई पनि भेटे । तर उनले नेपालमा गत फागुन २५ देखि राजतन्त्रको आन्दोलन गरिरहेका राजावादी कसैलाई भेटेनन् । पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थक भारतकै बलमा राजतन्त्र र हिन्दु राज्य फर्काउने कोसिसमा रहेका बेला चौथाइवालेले उनीहरूलाई बेवास्ता गरे ।
प्रतिक्रिया