स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ | Khabarhub Khabarhub

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

नेपाल सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस)मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बीउ स्याङ्जा तथा बाहिरी जिल्लामा बिक्री गरिएको हो । वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रका प्रमुख सुदीप रेग्मीका अनुसार डेसिस प्रणालीमार्फत ११५ टन उन्नत जातका धानको बीउ बिक्री भएको हो ।

‘गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयले पछिल्लो समय खाद्यान्न तथा तरकारी बालीका विभिन्न मूल बीउको परीक्षण तथा उत्पादन गर्दै आएको छ’, उनले भने, ‘यस कार्यालयले उत्पादन गरेका मूल बीउ किसानलाई उपलब्ध गराउने र किसानले उत्पादन गरेका उन्नत बीउको बिक्रीका लागि समन्वय गर्दै आइरहेको छ ।’

स्याङ्जामा बीउ उत्पादनका लागि सूचिकृत भएका २२ समूह, सहकारी तथा फर्म रहेका छन् । सूचिकृत समूह तथा सहकारीले धान, गहुँ, मकै, आलु लगायतका उन्नत बीउ उत्पादन गर्दै आएका छन् । यस वर्ष जिल्लामा सूचिकृत भएकामध्ये १५ समूह सहकारीले रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथ जस्ता उन्नत जातका ११५ टन बढी धानको बीउ बिक्री गरेका उनले बताए।

स्याङ्जाबाट स्याङ्जाका स्थानीय तहहरुसहित तनहुँ, कास्की र नवलपुरका स्थानीय तहमा डेसिस प्रणालीमार्फत बिक्री गरिएको हो । स्याङ्जाबाट बिक्री भएको धानको बीउमध्ये ८० प्रतिशत रामधान, १५ प्रतिशत सावित्री र पाँच प्रतिशत सावा मन्सुली रहेको उनले बताए।

‘जिल्लाका विभिन्न स्थानमा रहेका समूह सहकारीले उन्नत धानको बीउ उत्पादन गर्नुहुन्छ’, उनले भने, ‘विभिन्न प्रक्रिया पूरा भई प्रमाणीकरण भएका बीउ बिक्रीका लागि किसानले डेसिस प्रणालीमा अपलोड गर्नुहुन्छ, सोही आधारमा व्यवसायीको खोजी गरी बिक्री गर्छौं ।’ 

किसानले डेसिस प्रणालीमार्फत बीउ बिक्री गर्दा प्रति किलोको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ । सोही प्रणालीमार्फत बिक्री गरेका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको उनले बताए।

रामधान प्रति किलो ६८, सावित्री प्रतिकिलो ६२, खुमल प्रजाति तथा बासमतीको प्रतिकिलो ९८ निर्धारण गरिएको छ । धान बिक्रीपश्चात किसानलाई रामधानमा प्रतिकिलो २२, सावित्रीमा प्रतिकिलो १७ र खुमल तथा बासमतिमा प्रतिकिलो २८ प्रोत्साहनस्वरुप उपलब्ध गराइने उनले बताए।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १२ : ४२ बजे

सीप मेलाका लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता

काठमाडौं– एनसेल फाउन्डेसनले ‘सिप मेला २०८२’ को लागि काठमाडौं महानगरपालिकासँग साझेदारी

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

मध्यविन्दु– नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले

‘इन्टिग्रिटी आइडल’नै भ्रष्टाचारमा मुछिए, उपसचिव नेपालविरुद्ध साढे २५ लाखको बिगोसहित अख्तियारको मुद्दा

काठमाडौं- ‘इन्टिग्रिटी आइडल’ घोषित एकजना उपसचिवविरुद्ध २५ लाख रुपैयाँको भ्रष्टाचार

मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

खोटाङ- दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ का