विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती  | Khabarhub Khabarhub

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती 


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुगेका थिए । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा नेपाल फर्किए ।

मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचत गरेका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुगे । अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुगेका सरोजले गाउँ फर्किएर व्यावसायिक बङ्गुर फार्म सञ्चालन गरे ।

सुरुमा बङ्गुरले राम्रो उत्पादन दिँदै थियो । व्यावसायिक बङ्गुर पालनमा निकै उत्साहित बनेका सरोज आफूले उत्पादन गरेका बङ्गुर बिक्री नभएपछि छोटो समयमै निरुत्साहित बने । बङ्गुरपालनबाट करिब १८ लाख रुपैयाँ घाटा बेहोर्नु पर्‍याे ।

ठूलो लगानीमा सुरु गरेको बङ्गुरपालन व्यवसाय छाडेर सरोज पुनः बाख्रापालनमा लागे । बाख्रापालनका लागि जनशक्ति अभाव भएपछि त्यसलाई पनि छाडेका सरोजले सम्भावनाको खोजी गर्न भने छाडेनन् ।

गाउँमै केही गर्ने उद्देश्यसहित सम्भावनाका खोजी गरिरहेका सरोजले ६ वर्षअघि एउटा युट्युब च्यानलमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती गर्ने विधिसम्बन्धी दिइएको जानकारी राम्ररी हेरे । गाउँमै बसेर केही गर्ने हुटहुटीमा छटपटाइरहेका सरोज त्यो युट्युब च्यानलकै माध्यमबाट भारतको हैदरावादसम्म पुगेर ड्रागन फ्रुटखेती गर्ने विधिसम्बन्धी हप्ता दिनको तालिम लिए ।

तालिम लिएकै ठाउँबाट २५० वटा ड्रागन फ्रुटका बिरुवा खरिद गरी साथमै लिएर आफ्नो घर हौँचुर फर्किए । घरमा आएर पाखो बारीमा ड्रागन रोपे । अहिले ती बिरुवालाई मदर प्लान्ट (आमा बोट)को रूपमा विकास गर्दै त्यसैबाट बर्सेनि नयाँ बिरुवा उत्पादन गरेर विस्तार गरेका छन् ।

सुरुमा २५० वटा बिरुवा ल्याएर व्यावसायिक खेती थालेका सरोजको फार्ममा अहिले दुई हजार ७०० वटा ड्रागन फ्रुटका बोट छन् । सरोजको फार्मभरि अहिले राताम्मे भएर फलेका ड्रागन फ्रुट टिप्ने दोस्रो लट (चरण)को सिजन (समय) सुरु भएको छ ।

तीन वर्षअघिदेखि उत्पादन दिन थालेको फार्मबाट गत वर्ष दुई हजार केजी बिक्री भएको थियो । बर्सेनि उत्पादन वृद्धि हुँदै गएको फार्ममा यस वर्ष तीन हजार केजीभन्दा बढी ड्रागन फ्रुट उत्पादन हुने अनुमान गरिएको सरोजले जानकारी दिए ।

एउटा बोटबाट सरदर २५ केजी उत्पादन हुन थालेको फार्मबाटै प्रतिकेजी ३०० रुपैयाँमा बिक्री गर्दा ६ लाख रुपैयाँ सङ्कलन भएको सरोजले जानकारी दिए । करिब २० रोपनी पाखो बारीमा लगाइएको ड्रागन फ्रुट खरिद गर्नका लागि ग्राहक सरोजको घरैसम्म पुग्ने गरेका छन् ।

ड्रागन फ्रुटमा औषधीय गुण हुने र नेपालको लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको सरोजले बताए । कृषि पेसामा फाइदा हुँदैन भन्ने भनाइलाई गलत सावित गर्दै सरोज व्यावसायिक ड्रागन फ्रुटखेतीमा रमाएका छन् ।

एक छोरा र एक छोरीकी बुबा सरोजलाई श्रीमती कौशिला लिम्बूले सहयोग गर्दै आएकी छिन् । झापाको गोमेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय लिएर स्नातकसम्म अध्ययन गरेका सरोजले २०७६ सालबाट गाउँमा आएर ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गरेका हुन् ।

ड्रागन फ्रुट फूल फुलेको ३५–४५औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १०–१५ दिनसम्म नबिग्रिने सरोजले बताए । सरोजले ड्रागन फ्रुटखेतीका लागि १८ लाख रुपैयाँ लगानी गरिसकेको बताए ।

व्यावसायिक कृषि पेसामा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवद्र्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदान दिने वातावरण मिलाउनुपर्नेमा उनको जोड छ ।

सामान्य अनुदानले कृषि क्षेत्रको प्रवद्र्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न सरकारलाई सरोजको आग्रह छ । (रासस)

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : ३५ बजे

इजरायली सेनाद्वारा गाजा शहरमा प्रारम्भिक सैन्य कारबाही सुरु

तेल अभिभ- इजरायली सेनाले गाजा शहरमा प्रारम्भिक चरणको सैन्य कारबाही

वीरगञ्जको हैजा अन्यत्र फैलिने त्रास, व्यक्तिगत सरसफाइमा ध्यान दिन विज्ञको सुझाव

वर्षायाममा देखिने पानी तथा किटजन्य रोग डेंगू , स्क्रव टाइफर्स,

संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संस्कृति संरक्षणका लागि स्थानीय

भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानूनी : अमेरिकी अदालत

वाशिङ्टन- अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई

सगरमाथा फिर्ता ल्याउन बीपीले गरेको त्यो कसरत…

काठमाडौँ – उत्तरी र दक्षिणी छिमेकी मुलुक चीन र भारतबीच