सप्तरीको चन्द्रभागा र कान्छा खोरीयाको भग्नावशेष | Khabarhub Khabarhub

स्थान-इतिहास

सप्तरीको चन्द्रभागा र कान्छा खोरीयाको भग्नावशेष



सप्तरी जिल्लाको सदरमुकाम राजविराजदेखि करिब ६ किलोमिटर उत्तर एक प्राचीन किल्लाको भग्नावशेष छ । २०१७ सालमा तत्कालीन पुरातत्व विभागले मुलुकका विभिन्न पुरातात्विक, ऐतिहासिक र धार्मिक स्थलहरूमा पुगेर अन्वेषण कार्य गरेको थियो । सोही अन्वेषण टोलीका एक सदस्य डा. साफल्य अमात्य*द्वारा विभिन्न सन्दर्भस्रोत लिएर लिखित ‘प्राचीन नेपाल’ नामक मुखपत्र (पुरातत्व विभाग) मा प्रकाशित आलेख हो – ‘सप्तरीको चन्द्रभागा र कान्छा खोरीयाको भग्नावशेषहरू’

**

महेन्द्र राजमार्गको बाटो गरी लहान (सिराहा) बाट करिब तीस किलोमिटर शंभुनाथ पञ्चायत अन्तर्गत पर्ने कनकपट्टी गाउँबाट करिब ४ किलोमिटर उत्तर–पश्चिम चुरे पहाड चन्द्रभागा भगवती र कान्छाखोरीया (गढी) को भग्नावशेषहरू छन् । उदयपुरको सदरमुकाम गाईघाटबाट यी स्थलहरू करिब पन्ध्र–सोह्र किलोमिटर दक्षिण–पूर्वमा पर्दछ । त्रिजुगा नदीको एउटा सानो हाँगा स्वरुप बगेको सप्तरीको खाडो खोलाको ठीक उत्तर–पश्चिम पर्ने यी प्राचीन स्थलहरूबारे धेरै कुराहरू आजसम्म पनि खोजकै विषय भइरहेका छन् ।

प्रचलित लोक परम्पराअनुसार यस क्षेत्रमा पन्ध्रौँ शताब्दीमा चन्द्रकेतु नामका राजा भएको विश्वास गरिन्छ । यिनै राजाले वर्तमान सप्तरी जिल्लाको उत्तर–पूर्वमा राजमार्ग नजिकै पर्ने धर्मपुर गाउँदेखि करिब पाँच किलोमिटर उत्तरमा पर्ने चुरे पर्वतमाथि उनका कुलदेवी चन्द्रभागा भगवतकिो स्थापना गरेका थिए भन्ने विश्वास गरिन्छ ।

आजसम्म प्राप्त मकवानपुरका सेनराजाहरूका वंशावलीहरूमा चन्द्रकेतु नाम गरेका कुनै पनि सेन राजा भएको देखिँदैन । तर चितौड सेन वंशावलीमा चुडाराज सेनबाट सेन वंश सुरु गरी सत्ताइसौं वंशजका चन्द्रसेन नामक एक सेन राजाको नाम उल्लेख गरेको र मुकुन्दसेन (प्रथम) लाई चन्द्रसेनको उत्तराधिकारी गरी देखाएको छ ।

यदि मुकुन्दसेन (प्रथम) का पिता वा पूर्वज चन्द्रसेन नै उत्त लोक कथाको चन्द्रकेतु राजा हो भनी अनुमान गर्ने हो भने सेनह रू नेपालको पूर्व तराई (मकवानपुर वाव विजयपुर) बाट नै नेपालभित्र पसेका थिए भन्ने तथ्य सावित हुन्छ ।

नेपालको भूभाग सेन वंशको संस्थापक मुकुन्दसेन (प्रथम) ले ईशाको पन्ध्रौं शताब्दीको अन्त्य र सोह्रौं शताब्दीको सुरुसम्म (१४८२ एडी– १५२० एडीमा) विशाल पाल्पाली राज्य खडा गरिसकेको थिए । उनको राज्य सिमाना बारे पनि धेरै विवादहरू छन् । तर, जे होस् उनको मृत्युपछि (वि.सं. १६१० मा उनको मृत्यु भयो ।) उनका चार छोराहरू जेठा माणिक्यसेन, माहिला भृगीसेन, साहिला विनायकसेन, कान्छा लोहाङ सेनले विशाल सेन राज्य (पश्चिममा गण्डकीदेखि पूर्वमा टिस्टासम्म र तराईको विशाल भाग) आपसमा बाँडी लिएको देखिन्छ ।

यसअनुसार सबभन्दा कान्छा छोरा लोहाङ सेनले आफैं विजय गरेका राज्यहरू मकवानपुरदेखि पूर्व कोशी क्षेत्र र सम्पूर्ण पूवी तराई समेत पाए । यो राज्य अत्यन्तै ठूलो थियो । यो राज्य पछि गएर मकवानपुर र चौदण्डी दुई राज्यहरूमा टुmित्रयो ।

लोहाङ सेनपछि उनका जेठा छोरा र धवसेन मोरङ र छिमेकी प्रदेशका राजा भए । राघवसेनपछि उनका छोरा हरिहरसेन राजा भए । हरिहरसेनका छोराहरूमा राज्यको निमित्त झगडा भयो । आफ्नो जेठो छोरा महाकुमारसेनसँग मनमुटाव भएपछि हरिहरसेनले आफ्नो राज्य मध्ये कोशीदेखि पश्चिमको भाग कान्छा छोरा शुभसेन र कोशीपूर्वको भाग नाति इन्दुविधातासेनलाई बाँडिदिए ।

आफ्ना मन्त्रीहरूको छलकपटले गर्दा शुभसेन र इन्दुविधातासेन दुवैलाई पूर्णियाका नवाव इस्कन्दर खाँको हातमा कैदी हुनुपर्‍यो । नवावले मोरङको ठूलो भूभाग कब्जा गरे । शुभसेनका न यत्र प्रबोध दास शुभसेनका दुई छोरा महिपतिसेन (मान्धातासेन) र मानिक सेनलाई लिई किरात प्रदेशमा शरण पर्न गए । यिनै किरातहरूको मद्दतबाट र खास गरी किराती नेता विद्याचन्द्र राईको मद्दतबाट यिनीहरूले आफ्नो पैतृक राज्यमाथि फेरि कब्जा गर्न सफल भए ।

पछि महिपतिसेन र मानिकसेनले पैतृक राज्यलाई विभाजन गरी विजयपुर र मकवानपुरको राजा हुँदा विद्याचन्द्र राईको सहायता लिए वा लिएनन् भन्ने कुरामा र विजयपुर र मकवानपुर रायहरूको इलाका बारे इतिहासकारहरूको विभिन्न मत छ । यसरी शुभसेनको राज्य दुई छोराहरूमा बाँडिदा मकवानपुर र राज्य अन्तर्गत नै पहाडपट्टि सिन्धुलीको पौवागढीदेखि पूर्व अरुण कोशीसम्म रहेका सुनकोशीदेखि दक्षिण पट्टीको महाभारत क्षेत्रलाई छुट्टै चौदण्डी प्रशासन प्रदेश बनाइएको देखिन्छ । दूधकोशीदेखि अरुण कोशीसम्मको माझ किरात पनि चौदण्डीमै सम्मिलित थियो । हालको उदयपुरदेखि दक्षिण पट्टिको भावरमा नयाँ राजधानी चौदण्डी बनेको थियो ।

शुभसेनका दुई छोराहरू मध्ये जेठा महिपतिसेनले कमलादेखि पूर्वपट्टि अर्थात विजयपुरतिर वि.सं. १७७० मा कब्जा गरे । कान्छा छोरा मानिकसेनले मकवानपुरमा आफ्नो राज्य स्थापना गरे । मानिकसेनका चार छोराहरू मध्ये जेठा हेमकर्णसेन, माहिला जगतसेन, साँहिला जयमङ्गलसेन र कान्छा विक्रमसेन थिए ।

मानिकसेन पछि हेमकर्णसेन मकवानपुरका राजा भए र पछि वि.सं. १७८४ तिर जगतसेन चौदण्डीका राजा भए । जगतसेन चौदण्डीका राजा कसरी हुन पुगे भन्ने कुरामा इतिहासकारहरूको विभिन्न मत छ । एउटा भनाइअनुसार जगतसेन सुरुदेखि नै हेमकर्णसेनका प्रतिनिधिका रुपमा चोदण्डी प्रदेशको प्रशासन चलाउँथे । पछि हेमकर्ण सेनका वनिया मन्त्री र किराती मन्त्रीहरूको मत नमिल्दा किराती मन्त्रीहरूले जगतसेनलाई चौदण्डीको राजा बनाए ।

जे भए पनि सन् १८३५ मा मकवानपुरको राज्य विभाजित भई चौदण्डी राज्यमा हालको उदयपुर जिल्लाको साथै अम्वरपुरको तराई क्षेत्र (हालको सिराहा र सप्तरी) पनि सम्मिलित भयो । जगतसेनपछि यिनका उत्तराधिकारीहरूमा मुकुन्दसेन (तेस्रा) विक्रमसेन र कर्णसेन क्रमैसँग चौदण्डीका राजा भए । श्री ५ वडामहाराजाधिराज पृथ्वी नारायण शाहको राष्ट्रिय एकीकरण अभियानको बखत चौदण्डीका राजा कर्णसेन थिए ।

चौदण्डी राज्य कब्जा गर्न बख्ती अभिमान सिंह बस्नेत र सरदार पारथ भण्डारीलाई पठाइएको थियो । श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको फौज आएको खबर पाई राजा कर्णसेन विजयपुरतर्फ भागे । त्यसैले चौदण्डीमा रहेका सेनाहरूले हार मानेर राजधानी छोडी दिए । यसरी सन् १७७३ जुलाई १६ का दिन चौदण्डीको सेन राज्य वृहत् नेपाल अधिराज्यभित्र गाभियो ।

चन्द्रभागा (भगवती) र कान्छाखोरीया (गढी) का भग्नावशेषहरू प्राचीन सेनहरूका राजधानी उदयपुर र चौदण्डी गढीबाट करिब करिब उत्तिकै दूरीमा पर्दछ । कान्छाखोरीयामा इँटको पर्खालको किल्लाभित्र एउटा प्राचीन दरवारको भग्नावशेष देखिन्छ । उक्त प्राचीन सेनकालीन दरबारको बनौट र अरु विषयहरू बारे बढी जानकारीका लागि त्यस स्थलमा उत्खनन् गर्न जरुरी छ । हाल सतहमाथि देखा परिरहेका पुरातात्विक सामग्रीहरूमा इँटाको पर्खालका भग्नभागहरू, इँटाको इनारको भग्नभागहरू र केही प्रस्थरका कलात्मक टुक्राटाक्रीहरू नै हुन् । इँटाको आकार २४ से.मी. लम्बाई, १७ से.मी. चौडाई र ५ से.मी. मोटाई छ ।

सेनहरूका धेरैजसो प्राचीन किल्लाहरू इँटाको नभई प्रस्थरका छन् त्यसैले कान्छाखोरीयाको इँटाको गढीको आफ्नै विशेष महत्व छ । चुरे पहाडको एउटा सानो थुम्कोमाथि निर्मित यो किल्ला तथा दरबारबाट सजिलैसँग अम्बरपुरको तराई क्षेत्रमा पुग्न सकिन्छ । सम्भवतः यो चौदण्डीका सेनराजाहरूको शरदकालीन राजदरबार थिए ।

ह्यामिलटनको भनाइअनुसार, लोहाङसेनको राज्यभित्र खास गरी कमलानदीदेखि पूर्व खाँडो खोलासम्म धेरै गढीहरू थिए, जसमध्ये चुरे पहाडमा पनि एउटा गढीको उल्लेख गरिएको छ । शायद उनले उल्लेख गरेको चुरीया गढी अथवा नरागढी मध्ये एक नै हालको कान्छा खोरीया गढी हुन सक्छ ।

सुनसरीको बराहक्षेत्र–१ स्थित औलिया मठ, चतरागद्दी

मातृका प्रसाद कोइरालाका भनाइ अनुसार पुरानो चतरा गद्दी हालको चतराभन्दा कोशी पारी पश्चिम दक्षिणमा थियो र मकवानी (सेन) हरूले प्रथम गद्दीसीन भएकाले नै सो ठाउँको नाम पछि गद्दी भन्ने रहेको हो । मकवानी सेन राजाहरू आफ्नो प्रशस्तिमा श्री रुपनारायणेत्यादि लेखी अरु विरुदावली लेख्ने गर्दथे । सो प्रशस्तिको सम्बन्धमा यो पनि भनिन्छ । यसको सम्बन्ध सप्तरी रुपनगरसँग छ, जो मकवानी सेनहरूको आदि राजधानी थियो ।

रुपनगर वरिपरी कन्चनपुर, खोजरदको गुफा (सुनिन्छ चुरे गुफाभित्र मूर्तिहरू छन् ) आदिमा प्रशस्त पुरातात्विक सामग्रीहरू छन् । यसको खोजतलास र अन्वेषण हुनु जरुरी छ । उनको भनाइ अनुसार पुरानो चतरा सप्तरीको तराई क्षेत्रमा कतै हुनुपर्दछ । सम्भवतः कान्छा खोरीयाको किल्ला र दरवार वरपर नै (हाल शंभुनाथ पञ्चायत र धर्मपुर गाउँ नजिकै कतै सेनहरूको त्यो प्राचीन राजधानी रुपनगर हुन सक्छ ।

कान्छा खोरीयाको प्राचीन भग्नावशेषबाट करिब दुई किलोमिटर उत्तर पश्चिमको अर्को एउटा चुरे पहाडको थुम्कोमा चन्द्रभागा भगवतीको मन्दिरको भग्नावशेष छ । यो भग्न मन्दिरका धेरै प्रस्थरका कलात्मक भागहरू नजिकै बगिरहेको चन्द्रभागा नदीले बगाई टाढा, टाढा तराईको फाँटसम्म पुर्याएको देखिन्छ ।

जाडोको मौसममा अन्वेषण टोली सो नदीको बाटो गरी उक्त, स्थलसम्म पुग्दा बाटामा धेरै नै मन्दिरका प्रस्थरका भागहरू देखेका थिए । चन्द्रभागा भगवतीको नामले यो स्थल प्रसिद्ध भए तापनि हाल त्यहाँ कुनै भगवती वा देवीको मूर्तिहरू भने देखा परेको छैन । त्यहाँ हाल देखि परिरहेका मूर्तिहरूमा भैरवको मूर्ति, प्रस्थरका टुटेफुटेका खम्बाहरू, सम्भवतः सेन राजा र रानीको मूर्ति र केही शिवलिङ्गहरू नै हुन् ।


यहाँकै केही प्रस्थर मूर्तिहरू मध्ये एकलाई हाल रुपनी बजारमा स्थापना गरेको छ । यो मूर्तिको अनुहार, हात र खुट्टाका भागहरू भने नचिन्ने गरी बिग्री सकेको छ । स्थानीयवासिन्दाहरू उक्त मूर्तिलाई हनुमानजी भनी पूजा गर्दछन् । तर शारीरिक वनावट हेर्दा यो मूर्ति कुनै नाची रहेको स्त्री मूर्ति जस्तै देखिन्छ ।

यसरी नै चन्द्रभागा भगवती स्थानमा रहेका अरु केही मूर्तिहरू कनकपट्टिका गाउँलेहरूले पनि संरक्षण गरिराखेको बुझिन्छ । यस मध्ये एउटा गणेशको मूर्ति पनि छ भनी भन्दछन् । तर पुरातत्व विभागको यो अन्वेषण टोलीले केही कारणवश उक्त मूर्ति हेर्ने अवसर पाएन ।

शंभुनाथको ख्याती प्राप्त मन्दिर मोहनपुर र कन्चदाहा भन्ने गाउँहरूको बीचमा महेन्द्र राजमार्गबाट केही दक्षिणतर्फ पर्दछ । चुरे पहाडको फेदी तराईको फाँटमा अवस्थित यो मन्दिर गुम्वज (मुगल) शैलीमा बनेको छ । मन्दिरभित्र एउटा अष्टकोणाकारको खम्बाको टुक्रालाई शिवलिङ्गको रुपमा पुज्ने गरेको छ । उक्त प्रस्थरको खम्बा करीव ५ फुट ५ इन्च लामो छ । मन्दिरको मुख्य द्वार पश्चिम र दक्षिण दिशातर्फ फर्केको छ । जुन साधारणतया हुने गर्दैन ।

भनिन्छ, यो प्रस्थरको खम्बाको लिङ्ग चन्द्रभागा नदीबाट यहाँ ल्याई स्थापना गरेका हुन् । मन्दिरमाथि उकल्ने सिंढीसँगै केही भग्न प्रस्थरका कलाकृतिहरू र मन्दिरका खम्बा, छाना, द्वार, तीरण, चँदुवा आदिका टुक्राटुक्रीहरू राखिएका छन् जस मध्ये एक नारी मूर्ति (सम्भवतः मङ्गला गौरीको मूर्ति, सहितको तोरणका टुक्रा र चतुर्भुज गणेशसहितको प्रस्थरको टुक्रा विशेष उल्लेखनीय छन् । साथै मन्दिरको गजुरको टुक्राटुक्री, प्राचीन इँटाहरू (साइज २४ से.मी. लम्बाई १७ से.मी. चौडाई) पनि यहाँ राखिएका छन् ।

यस्तै प्रस्थरका कलात्मक टुक्राटुक्रीहरू कनक पट्टि वरपर खेतबारीतिर पनि प्रशस्तै पाइन्छन् । यी सबै प्रस्थरका कलाकृतिहरू ईशाको पन्ध्रौं शताब्दीतिरको झैं देखिन्छन् । शंभुनाथमा वैशाख सङ्क्रान्तिको दिन ठूलो मेला लाग्दछ । तसर्थ पुरातत्व विभागको अन्वेषण टोलीलाई प्राप्त सामग्रीहरूको आधारमा सप्तरीको चन्द्रभागा भगवती र कान्छाखोरीयाको भग्नावशेषहरू ईशाको सोह्रौँ शताब्दीको अन्त्यतिर वा ईशाको सोह्रौँ शताब्दीको सुरुमा निर्माण भएको प्राचीन गढी, प्रासाद र मन्दिर हुनुपर्छ ।

(*नेपालको कला, संस्कृति र इतिहास अनुसन्धाता डा. अमात्यको निधन वि.सं. २०७८ वैशाख ३० गते भएको थियो । अमात्यलिखित यो सामग्री प्राचीन नेपालबाट साभार गरिएको हो । सं.)

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ४५ बजे

टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता

टेक्सास – अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ।

क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा

काठमाडौं – बोरुसिया डर्टमन्डलाइ ३-२ ले हराउँदै रियल म्याड्रिड फिफा

भोजपुरको धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

भोजपुर– भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

जोखिम बन्दै बेँसीसहर–चामे सडकयात्रा

लमजुङ– चट्टान खोपेर बनाइएको साँघुरा सडक, माथि हेर्दा आकाशै छोएझैँ

यी भूभागमा धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल