तीज महिलाको विशेष पर्व हो। व्रत बस्ने, मिठो खाने र राम्रो लुगा लगाउने साथै बिहे भएकी छोरी माइत आउने चलन हुन्छ। आमा र बाल्यकालका सखीसँग भेटघाट हुन पाउने अवसर जुट्छ। भेटघाटमा श्रीमान्, सासू लगायत घरपरिवारको सदस्यसँगको सुखदुख गीतमार्फत बाँड्ने चलन हो।
तीजका गीत दिदीबहिनीले पीरमर्का बिसाउने अस्त्र हो। तर अहिले तीज आधुनिकतामा प्रवेश गरिसकेको छ। दुःख व्यथा मात्रै नभएर आत्मसम्मानको लडाइँ, संघर्ष, सफलताका सन्दर्भ अहिलेको तीज गीतमा पाइन्छ। साथै, केहीले गीतका नाममा छाडा संस्कृति भित्र्याएको आरोप पनि खेपेका छन्। तर त्यस्ता गीतसंगीतको व्यापक विरोध हुने गरेको छ।
तीज विशेष गीत निकै लोकप्रिय हुने गर्छन्। त्यसकारण पनि कलाकार तीजका गीत निकाल्नमा सक्रिय रहन्छन्। नागरिक पनि यो वर्ष कुन गायकले कस्तो गीत ल्याउला ? अथवा कस्ता–कस्ता गीत आउलान् ? राम्रा गीतमा नाच्ने र टिकटक बनाउने भन्नेमा व्यग्र प्रतिक्षामा रहन्छन्।
तीज छोरीचेलीमा मात्रै सीमित रहेन। पुरुषले समेत यस पर्वमा गीत संगीत सिर्जनामा अग्रपंक्तिमा रहेको देख्न सकिन्छ। यस वर्ष बजारमा आइसकेका केही तीज गीतको चर्चा गर्ने कोसिस गरेका छौँ।
प्रकाश सपूत – ‘नाइँ भनेसी नाइँ’
सामाजिक विषयवस्तुमा सिर्जना भर्नु गायक प्रकाश सपूतको मुख्य विशेषता हो। गाउँघरको कथा टपक्कै टिप्न उनी माहिर छन्। जातीय विभेद, वैदेशिक रोजगारबाट उत्पन्न पारिवारिक विखण्डन, गरिबी, महिला उत्पीडनलाई उनले गीतसंगीतमार्फत् समाजमा सचेतना फैल्याउँदै आइरहेका छन्।
सपूतको गीत हरेक संगीत पारखीका लागि पर्खाइ रहन्छ। यस वर्ष पनि तीज लक्षित उनको गीत बजारमा आइसकेको छ– ‘नाइँ भनेसी नाइँ’ अर्थात् अन्तर्राष्ट्रिय महिला आन्दोलनमा सबैभन्दा धेरै प्रयोग हुने नारा हो – ‘नो मिन्स नो’। उनले उक्त नारालाई गीतको शीर्षक बनाएका छन्।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार हरेक वर्ष पाँच प्रतिशतको दरले जबर्जस्ती करणीबाट प्रताडितको संख्या बढेको छ। त्यसैकारण महिलाले ‘हुन्न भनेसी हुन्न’ भन्ने सन्देश उनले गीतमार्फत दिन खोजेका छन्।
शब्द र निर्देशन उनी आफैँले गरेका छन्। संगीत श्यामश्वेत रसाइली रहेको छ। स्वर समीक्षा अधिकारी र एलिना चौहानको रहेको छ। त्यसैगरी भिडियोमा प्रमुख भूमिका रेखा थापाले निभाएकी छन्। त्यसैगरी अन्य कलाकार प्रकाश, संजोग, सिम्रन खड्काको जीवन्त अभिनय रहेको छ। बाल कलाकारको भूमिकामा प्रकाशले आफ्नै छोरी प्रविष्टि समावेश गराएका छन्।
रेशम चौधरी – छैननी चौलिया
रेशम चौधरी बहुमुखी प्रतिभाको धनी व्यक्तित्व हुन्। थारु भाषा जगेर्ना गर्न उनले गीत संगीतमार्फत गरेको योगदान अतुलनीय छ। ‘सखिया हो माघक पीली गुरी जार’ निकै लोकप्रिय गीत रहेको छ। साथै, अर्को ‘कस्तो होला भाटु राजाको दरबार’ हरेक नेपालीको मुखाकार गीत मानिन्छ।
यस वर्षको तीज लक्षित – ‘छैन नि चौलिया माइतीमा जान’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतको शब्द तथा संगीत उनकै रहेको छ। स्वर स्वयम् चौधरी र मञ्जु पौडेलको रहेको छ।
कलाकारमा मञ्जु , कोरियोग्राफर तथा कलाकार शंकर वि.सी. रहेका छन्। गीतमा चाडपर्वको बेला श्रीमान् र श्रीमतीबीचको प्रेमलाई दर्शाउन खोजिएको छ। गाई, कुखुरा लगायत पशुको सम्झना, ससुरालीमा श्रीमान्को मानका विषयमा शब्द खिपिएको छ। माइतीमा आफ्नो ख्याल राख्नु भनेर श्रीमान्ले पत्नीलाई सल्लाह दिएका छन्। गीतले आम मध्यम वर्गीय परिवार र पतिपत्नीको सप्रेमलाई दर्शाउने कोसिस गरेको छ।
खेम सेञ्चुरी – नत्र भने जिन्दगी व्यर्थ छ है बाटुली
नेपाली लोक संगीतका पर्याय हुन् खेम सेञ्चुरी। उनी कुशल गायक, सर्जक र मोडलिङमा समेत जमेका छन्। सोचे झैं जिन्दगी रैनछ, जाम साहिँली, सूर्ती माड्दै माड्दै गयो जोवन, उखु गुलियो, नन्दनी, झ्यालमा पर्दा छ, कपालु कोरेर, हान्छु तिमीलाई लौरीले, लरिलरिलै रुन्छु बरिलै लगायतका दर्जनौ गीत लोकप्रिय रहेका छन्।
टिभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को एक एपिसोडमा खुट्टाले बजर थिचेपछि उनको धेरै आलोचना भएको थियो। उनी उक्त कार्यक्रमको कोच थिए। अर्को उनको गायिका शान्तिश्री परियारसँग बिग्रिएको सम्बन्धलाई लिएर मिडियामा धेरै चर्चा हुने गरेको छ।
चलचित्र ‘कोशेढुङगा’ को भए पनि तीजको भाइब्स दिने उनको गीत– नत्र भने जिन्दगी व्यर्थ छ है बाटुली यतिबेला चर्चामा छ। नायिका सुरक्षा पन्त, नीति शाह, ऋचा शर्माले दिदीबहिनीलाई छमछमी नचाउने कोसिस गरेका छन्। गीतमा मञ्जिल कुमार, दिनेश काफ्ले र स्नेहा जोशीको अभिनय खेम, समीक्षा अधिकारी र दिपिका बयम्बु मगर स्वर रहेको छ। नेत्र अर्याल शब्द शिल्पी हुन्। गीतमा महिलाको हरेक श्रृङगार प्रेमी विना अधुरो रहेकोे उल्लेख छ।
गीतसंगीत उत्कृष्ट रहदाँरहँदै पनि केही महिला अधिकारकर्मी तथा साहित्यकारले एक महिलाको श्रृङगारको अर्थ रहन वा पूर्ण हुन पुरुष आवश्यक भन्ने सन्दर्भको आलोचना गरेका छन्। एक आत्मनिर्भर, सक्षम र आधुनिक महिलाले आफूलाई पूर्ण बनाउन पुरुषको साथ विना असम्भव देख्नु नालायकी भएको जस्ता अभिव्यक्ति आएका छन्।
लक्ष्मी न्यौपाने – म त मसक्कै
अहिलेको ‘जेन जी’ र ‘जेन अल्फा’ पुस्ताले लक्ष्मीको नाम सुनेको छैन होला। तर इण्डिको र त्यो भन्दा अगाडिको पुस्ताका लागि उनको नाम नयाँ होइन। गीत सुन्ने माध्यम रेडियो र क्यासेटको समयकी उनी चर्चित गायिका हुन्। भजनबाट सांगीतिक यात्रा सुरु गरेकी उनले २०५१ सालमा पाल्पाबाट काठमाडौं घुम्न आएको बेला रेडियो नेपालमा गीत गाउने मौका पाइन्।
त्यतिबेला रेडियो नेपालमा गीत गाउन पाउनु ठूलो अवसर थियो। मौरी फूलमाथि, फूलमा भमरा, बनमा काँडा छ, सिमसिम पानी रइछौ बेइमानी, मिर्मिरेको घाम, सारङ्गी रेटौंला, मौका मिले फेरि भेटौंला जस्ता गीत निकै लोकप्रिय रहे। साथै, टलटल टलिकनलाई, तीज आयो राजै, झल्को माइतीको जस्ता तीज गीत उत्तिकै रुचाइए। कहिले पनि विवादमा नपरेकी उनको आवाजमा सरस्वतीको आर्शिर्वाद रहेको छ।
त्यो समयमा उनले दिनमै ६ वटासम्म गीत रेकर्डिङ गर्थिन्। हालसम्म झण्डै सात हजार गीत गाएकी छिन्। उनका गीतमा मौलिकपन, माटो सुहाउँदो र संस्कृति सुहाउँदो हुन्छ। कुनै समयकी व्यस्त गायिका मानिने उनका सिर्जना हिजोआज घटे पनि गीतसंगीतबाट टाढा भने छैनन्। हालै उनले तीजलाई लक्षित गरेर ‘म त मसक्कै’ बोलको गीत ल्याएकी छिन्।
शब्द लक्ष्मी र शारदा न्यौपाने बस्यालको रहेको छ। त्यसैगरी संगीत उनको आफ्नै रहेको छ। गीतमा सागर लम्साल क्षेत्री, अञ्जली अधिकारी र निहारिका रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ। गीतमा स्वामीले श्रृङगारको प्रशंसा गरेको र आफूले लाज मानेको भाव पाइन्छ।
वसन्त थापा – ऐना हेरी हेरी
‘सालको पातको टपरी हुने, ए बरै नहुने सल्लैको’ गीतले थापालाई चर्चाको शिखरमा पु¥यायो। जसलाई युटुबमा सात करोड ३८ लाख बढी पटक हेरिएको छ। उनी नेपाली लोक संगीत बजारको बेग्लै ‘ब्रान्ड’ हुन् भन्न हिच्किचाउनु पर्दैन। वसन्तले पहिलोपटक २०६१ सालमा ‘निलो फेवाताल’ भन्ने गीत बजारमा ल्याएका थिए।
उक्त गीतमा उनलाई गायिका लक्ष्मी न्यौपानेले साथ दिएकी थिइन्। त्यसपछि २०६५ मा ‘नजाउ है सानु पँधेरीमा’ बोलको गीत बजारमा ल्याए। उक्त गीतले उनको पहिचान र स्थान नेपाली सांगीतिक बजारमा स्थापित गर्न निकै सहयोग पुर्यायो। लगत्तै ‘डाँडै फुर्के सल्लो’ बोलको गीत हटकेक प्रमाणित भयो।
खेतमा बोके झार, आज सँगै कहाँ हो कहाँ भोलि, ए वारि घुम्टे पारी गाँजा, जलजला, ओखल ढिकीमा लगायतका पृथक स्वादका दर्जनौ चर्चित गीत छन्। उनै वसन्तले तीजलाई लक्षित गरेर ऐना हेरी हेरी बोलको गीत ल्याएका छन्। जसमा समीक्षा अधिकारीको स्वरलहरी छ। शब्द तथा संगीत थापाकै रहेको छ।
निर्देशन शिव वि.के. को रहेको छ भने कोरियोग्राफी रक कौशलको छ। त्यसैगरी भिडियोमा वसन्त, समीक्षा र चाहना बस्यालको अभिनय छ। युवतीको समस्यालाई मिठो गरी प्रस्तुत गरिएको छ। ढिला गरी घर जाँदा आमाले गाली गर्ने, प्रेमीलाई भेट्न राम्री भएर आएको लगायतका शब्द किशोरीकिशोरीमाझ लोकप्रिय बनेको छ।
एलिना चौहान – ‘छोरीको शिर आमा’
बोल्ड आवाजकी धनी एलिना ‘स्टेज शो’ मा धमाका पिट्न माहिर छिन्। पूर्वदेखि पश्चिम महाकालीm देश विदेशका कार्यक्रममा उनलाई भ्याइ–नभ्याइ छ। उनी समकालीन सर्वाधिक कमाउने गायिका मध्येकी एक हुन्। गीतमा मात्रै होइन सामाजिक सञ्जालमा अश्लिल गाली गर्नेलाई सार्वजनिक गरेर क्रान्ति नै गरिन्। यो कदमले एक अभियानकै रुप लियो। मिडिया, नागरिक समाज, अधिकारकर्मी लगायतले उनको कामको प्रशंसा गरे। अहिलेको युवापुस्तालाई प्रतिनिधित्व गर्ने गीत उनले गाउने गरेकी छिन्। छुट्यो पिरिम, कट्टा हान्दिन्छु लगायतका गीत हिट रहेका छन्।
एलिनाको भर्खरै एकल स्वरमा ‘छोरीको शिर आमा’ बोलको गीत सार्वजनिक भएको छ। मार्मिक शब्दले भरिएको भिडिओ निकै मर्मस्पर्शी छ। गीतले श्रीमानबाट यातना भोगेकी महिलाको पीडा र वेदना बोलेको छ।
आमाबुवाले कन्यादान दिएको गोडा बज्रिए छातीमा, बाहिर भगवान र भित्रको राक्षस चिन्न नसकेको पीर व्यक्त गरेकी छिन्। शब्द तथा संगीत प्रेम सापकोटा रहेको छ। साथै, निर्देशक जेरी भण्डारीले गरेका छन्। स्मारिका ढकाल, सुरेश कोली लगायतको अभिनय रहेको छ।
त्यसैगरी, देवी घर्तीमगरको आवाजमा रहेको ‘आइन आमा हो’ र शान्तिश्री परियारको ‘तीजमा लुखुरी माइत लुकुरी’ गीत सार्वजनिक भएको छ। सँगै भागीरथ चलाउनेको ‘ए मैयाँ ए सैयाँ र एमाले नेता तथा गायिका कोमल वलीको ‘सुनिदेउ शिव’ लगायतका गीत यसवर्ष सार्वजनिक भएका छन्।
संगीतकर्मी बीबी अनुरागीकी ८० वर्षीया आमा पवित्रा रसाइलीले पनि तीज गीत ल्याएकी छन्। पुरानो भाका र शैलीमा रहेको यो गीत सात लाख बढी दर्शकले हेरिसकेका छन्। सञ्चारकर्मी रामप्रसाद खनाल तीज गीतमार्फत संगीतको बजारमा देखिएका छन्। धेरै वर्षदेखि अमेरिकामा बसोबास गर्ने खनाल तीज गीतमा झुल्किएका हुन्। उनको गीत चार लाखले हेरिसकेका छन्। गीतमार्फत व्यंग्य गर्न खप्पीस पशुपति शर्मा तीज गीत साउने झरीमार्फत आएका छन्। गायक शर्मालाई खेम सेन्चुरी, दुर्गेश थापा र अञ्जली अधिकारीले साथ दिएका छन्। यसैगरी लोकगायनका चर्चित कलाकार खुमन अधिकारी पनि तीज गीतमा उत्साहजनक सहभागिता जनाएका छन्।
तीज गीतमा कुनै समय एकछत्र राज गर्दै आएका पुराना कलाकार हरिदेवी कोइराला, बीमाकुमारी दुरा तीज गीतसंगीतको दृश्यबाटै हराएका छन्। शब्द, संगीत र गायनमा सांस्कृतिक अतिक्रमण बढेपछि आफूहरु टिक्न नसकेको उनीहरुको भनाइ छ।
प्रतिक्रिया