भोजपुर– भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उनले डोका बिक्रीबाट मासिक ३५ हजारसम्म आम्दानी गर्दै आएका छन् ।
स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोका भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताए । डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उनको भनाइ छ । करिब ४१ वर्षअघिदेखि डोका बुनेर बिक्री गर्दै आएको बताउँदै उनले एकदिनमा १० वटासम्म तयार हुने जानकारी दिए ।
उनका अनुसार स्थानीय बजारमा प्रतिवटा ३५० देखि ४०० रुपैयाँसम्ममा डोको बिक्री हुन्छ । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक सातदेखि आठ लाख रुपैयाँसम्म आम्दानी लिन सकिने उनको भनाइ छ ।
आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निगालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उनको भनाइ छ । डोकाका लागि विभिन्न ठाउँबाट माग हुने तामाङले बताए ।
सामुदायिक वनले कडाइ गर्ने भएकाले कच्चापदार्थ जुटाउन समस्या रहेको तामाङले बताए । मालिङ्गो काट्नका लागि वर्षमा एक पटक मात्र वन खुला हुने गरेको उनको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगाने लगायत कच्चापदार्थबाट डोका बुन्दै आएको तामाङले जानकारी दिए ।
प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेकाले यसलाई निरन्तरता दिएको तामाङको भनाइ छ । (रासस)
प्रतिक्रिया