गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको टोलीले साउन लागेयता लागूऔषधको अवैध कारोबारमा संलग्न नौ जनालाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
साउन ११ मा पोखरा महानगरपालिका–२७ शिशुवामा पोखरातर्फ आउँदै गरेको बस जेकजाँचका क्रममा कमल थापा, धादिङ घर भई हाल पोखरा बस्ने राजन क्षेत्री र मोरङका सत्यनारायण चौधरी लागूऔषधसहित पक्राउ परेका थिए । सोही दिन पोखरा–७ धारापानीबाट नुवाकोटका रवि मिजार र कास्कीका भूपेन्द्र विकलाई पनि प्रहरीले लागूऔषधसहित नियन्त्रणमा लिएको थियो ।
पाँच दिनपछि साउन १७ मा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–५ प्रस्याङबाट पर्साका सुरज सहानी र म्याग्दीका सुशील परियारलाई कोठामा लुकाइछिपाइ राखेको लागूऔषधसहित पक्राउ गर्यो । त्यसको भोलिपल्ट गत आइतबार पोखरा–२७ रिठ्ठेपानीबाट लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धादिङका राजन गुरुङलाई लागूऔषधसहित पक्राउ गरेको थियो ।
यस्तै साउन ६ गते पोखरा–३२ लामेआहालस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल चेकजाँचका क्रममा झण्डै तीन किलो गाँजासहित गोरखाका प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लियो ।
यी प्रतिनिधि घटनाले पोखरामा लागूऔषधको बढ्दो कारोबार र प्रयोगको अवस्थालाई दर्शाउँछ । लागूऔषध दुर्व्यसनीविरुद्ध प्रहरीले नियमित रूपमा अभियान सञ्चालन गर्दै आए पनि यसको अवैध उत्पादन र कारोबार नियन्त्रणमा आउन सकेको छैन ।
लागूऔषध कारोबारमा संलग्न रहेका अभियुक्तलाई लागूऔषधसम्बन्धी कसुरमा अदालतबाट म्याद थपी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। पछिल्लो समय पोखरामा लागूऔषध कारोबारमा संलग्न हुनेहरू पक्राउ पर्ने क्रम बढेको उनको भनाइ छ ।
‘लागुऔषध नियन्त्रणका लागि समुदायमा सचेतना अभिवृद्धिसँगै कारोबारमा संलग्नको खोजतलास र कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको छ’, प्रनाउ बस्नेतले भने। उनका अनुसार गत आवमा जिल्ला प्रहरी कार्यालयमा लागूऔषधसम्बन्धी ९५ मुद्दा दर्ता भएका थिए । ती मुद्दामा एक सय २६ पुरुष र १७ महिना गरी एक सय ४३ जना पक्राउ गरेका थिए ।
आव २०८०-८१ मा लागूऔषधसम्बन्धी १२९ मुद्दामा तीन विदेशी नागरिसहित १९८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा नेपाली पुरुष १८६, महिला नौ, विदेशी नागरिकमा पुरुष दुई र महिना तीन जना रहेका थिए । प्रनाउ बस्नेतले समुदाय र विद्यालयस्तरमा पुगी लागूऔषध दुर्व्यसनी, लागूऔषधको प्रयोगबाट हुने असर, रोकथामका उपाय र कानुनी व्यवस्थाका बारेमा अभिमुखीकरण गर्ने गरिएको बताए।
लागूऔषधको उत्पादन, बिक्री–वितरण र ओसारपसार गर्ने कार्यलाई कानुनले अपराध ठहराएको उनको भनाइ छ । लागूऔषधसम्बन्धी कानुनले जस्तोसुकै व्यक्तिको साथमा लागूऔषध फेला परे पनि उक्त व्यक्ति अभियुक्त ठहरिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया