प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि 'टाइँटाइँ फिस' | Khabarhub Khabarhub

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट बाहिरिएर वि.सं. २०६९ असारमा मोहन वैद्यको नेतृत्वमा नेकपा क्रान्तिकारी माओवादी गठन भयो । २०७१ मङ्सिरमा यो पार्टीबाट नेत्रविक्रम चन्द विप्लव समूह निस्कियो । विप्लवले नेपाल कम्युनिस्ट पार्टी गठन गरे ।

माओवादी शान्ति प्रक्रियामा आएपछि टाढिएका विप्लवसँग सात वर्षपछि २०७८ असार ३० गते बालुवाटारमा र मङ्सिर ४ गते खुमलटारमा भेट गरेका थिए ।

उपाध्यक्ष कृष्णबहादुर महराले प्रचण्ड निवासमा संयोजन गरेको बैठकमा ‘तत्काल सहकार्य गर्ने र पार्टी एकताका लागि छलफल चलाउँदै जाने’ निर्णय भयो ।

२०७८ असार ३१ गते माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको थियो ।

उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य कम्युनिस्टबीच मोर्चाबन्दीबारे छलफल गरेका थिए । ओलीसँग बिच्किएका प्रचण्ड र माधवले अलग्गै कम्युनिस्ट मोर्चाबन्दी गर्नुपर्ने बताउँदै आएका थिए ।

२०७८ मङ्सिर ३ गते शनिबार प्रचण्ड र विप्लवबीच खुमलटारमा फेरि भेट भयो । भेटमा त्यसबेलाको राजनीतिक अवस्था, कम्युनिष्ट आन्दोलनको अवस्था, सहकार्य र पार्टी एकताबारे कुराकानी भयो ।

प्रचण्ड प्रधानमन्त्री भएका बेला २०७९ माघ २२ गते पार्टी एकताकै विषयमा खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली बालुवाटार पुग्यो ।

एकताका लागि छलफल चलाएको पाँच वर्ष र प्रचण्डसँग छुट्टिएको १२ वर्षपछि पुनः २०८० चैतमा मिल्ने माओवादी केन्द्रको निर्णयमा विप्लव पनि सकारात्मक भएका थिए । त्यसपछि एकताका विषयमा छलफलसमेत अघि बढेको थियो । तर प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रभित्रको किचलोका कारण एकता योजना अलपत्र पर्‍यो ।

प्रचण्डले २०८० चैत ३ गते बालुवाटारमा चाँडै पार्टी एकता गर्ने निर्णय गरेका थिए । पार्टी एकतालाई जोड दिइरहेका प्रचण्डले २०८१ साउन २५ गते माओवादी केन्द्रको स्थायी समिति बैठक बस्नुअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव विप्लवसँग पार्टी छुट्टाछुट्टै वार्ता गरे ।

त्यसअघि २०८० असार ७ गते बिहीबार प्रचण्ड र विप्लवबीचको भेटमा समाजवादी मोर्चालाई बलियो र प्रभावकारी बनाउने तथा माओवादी आन्दोलनविरुद्धका प्रहारविरुद्ध एकजुट हुनुपर्ने विषयमा छलफल भएको थियो ।

त्यो छलफल सुरु भएको ९ महिनासम्म पनि पार्टी एकतालाई गति नदिएको भन्दै विप्लव नेतृत्वको नेकपाले २०८१ पुस २ गते कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठकले उक्त प्रक्रियाबाट अलग हुने निर्णय गरेको थियो । बैठकमा विप्लवले ‘प्रचण्डसँग सदासायता रहे पनि उनकै ढिलाइका कारण एकता असम्भव भएको’ निष्कर्ष सुनाएका थिए ।

विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच एकताबारे छलफल भएको पछिल्लो १६ महिनामा स्थितिले कोल्टो फेरेको छ । उता माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसमेत अहिले एकता गर्ने मनस्थितिमा छैन । यी दलबीच एकता प्रक्रिया अघि बढ्न नसक्नुको कारण पार्टीभित्रको आन्तरिक किचलो हो ।

एकताको बाधक को ?

२०८० फागुनमा भएको माओवादी केन्द्रको विधान महाधिवेशनसँगै प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच दूरी बढेको थियो।

शर्माले त्यहाँ अध्यक्षसहित सबै पदाधिकारी महाधिवेशनको हलबाट निर्वाचित हुनुपर्ने धारणा राखे । आफ्नो उक्त धारणापछि पार्टी नेतृत्वले आफू र निकट नेतालाई जिम्मेवारी नदिएको जनार्दनको गुनासो थियो ।

२०८१ साउन २५ गते माओवादी केन्द्रको स्थायी समिति बैठकमा जनार्दन–प्रचण्ड द्वन्द्व थप झाङ्गिन पुग्यो । उपमहासचिव शर्माको राजनीतिक दस्तावेजका कारण माओवादी केन्द्रमा हलचल मच्चियो ।

शान्ति प्रक्रियापछि ०६४ को पहिलो निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो । तर त्यसयताका निर्वाचनमा माओवादी सधैँ तेस्रो बन्दै आएको विषय जनार्दनले उठाएका थिए ।

३६ वर्षदेखि एकै व्यक्तिको नेतृत्व भइरहेकाले उनले विकल्प खोज्नुपर्ने कुरा उठाएका थिए । नेतृत्वलाई सबल र सुदृढ बनाउन उक्त प्रस्ताव ल्याएको उनले बताएका थिए । त्यसताका प्रचण्डले जनार्दनलाई थुमथुम्याएर सङ्कट टारेका थिए । जनार्दनको पार्टी निर्माणसम्बन्धी प्रस्ताव प्रदेशस्तरसम्म छलफलका लागि लैजाने आश्वासन दिइयो ।

माओवादीको आन्तरिक किचलोका कारण विप्लवसँगको एकता प्रक्रिया अघि बढेन । विशेषतः माओवादीमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनबीचको टकराव र अरुचि एकताको बाधक रह्यो ।

महासचिवमा दाबी गरेका शर्मा र पुनलाई ब्याक गराएर प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए । जनार्दनको विद्रोहपछि तर्सिएका प्रचण्डले किचलोकै कारण विप्लवलाई भित्र्याउन सकिरहेका छैनन् ।

गत साउन १६ गतेदेखि तीन दिनसम्म बसेको माओवादी स्थायी समिति बैठकमा प्रचण्डले पार्टीभित्र अनुशासनहीनता बढेको र आन्तरिक कुरा बाहिर गएको बताएका थिए ।

बैठकमा जनार्दनले पार्टी निर्माणको सवाल उठाउनु अपराध नभएको जिकिर गरे । माओवादीको जनमत निरन्तर ओरालो लागेको विषय जनार्दनले पेरिस डाँडा बैठकमा उठाएका थिए ।

पछिल्ला घटनाक्रम

गत असार ७ गते शनिबार प्रचण्ड र विप्लवबीच भेटवार्ता भयो । खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित विप्लव प्रचण्ड निवास खुमलटार पुगेका थिए । त्यहाँ उनीहरूले तत्काल सहकार्य र पार्टी एकताका लागि छलफल चलाउँदै जाने समझदारी गरेका थिए।

माधव–प्रचण्ड भेट

गत साउन १० गते शनिबार प्रचण्ड र माधव नेपालबीच पार्टी एकताबारे लामो कुराकानी भयो । त्यसअघि प्रचण्डले ५ पटकसम्म एकता प्रस्ताव राखिसकेका छन् । तर मिल्न चाहेर पनि माधव नेपालले पार्टीभित्रको किचलो मिलाउन सकेका छैनन् । खुमलटारमा भएको भेटमा प्रचण्डले जतिसक्दो चाँडो पार्टी एकता गर्न प्रस्ताव गरे ।

माधवले पार्टीमा कुरा राख्ने र फेरि बैठक बस्ने भनेर टारिदिए । उनले पार्टी बैठकमा पनि प्रचण्डबाट एकता प्रस्ताव आइरहेको बताउँदै तर आफू त्यो निर्णयमा पुगिनसकेको ब्रिफिङ गर्ने गरेका छन् ।

साउन ११ गते आइतबार फेरि एकीकृत समाजवादीका अध्यक्ष नेपाल र प्रचण्डबीच छलफल भयो । छलफलमा नेपालले आफ्नो पार्टीभित्रको किचलो देखाउँदै पार्टी एकताभन्दा पनि कार्यगत एकताको वकालत गरे ।

मोर्चा विघटन प्रस्ताव

पछिल्लो समय नेकपा महासचिव विप्लव राजनीतिक भेटघाटमा सक्रिय छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपमहासचिवद्वय वर्षमान र जनार्दर्न, एमाले महासचिव शंकर पोखरेल र समाजवादी अध्यक्ष नेपालसँग संवाद गरे ।

विप्लवले समाजवादी मोर्चा विघटन गर्ने प्रस्ताव गरेका छन् । संयोजक रहेका उनैले समाजवादी मोर्चाको औचित्य नभएको भनेपछि प्रचण्ड, माधव नेपाललगायत नेता तर्सिएका छन् ।

गत शनिबार माधव र प्रचण्डसँग भेट गरेका उनले समाजवादी मोर्चाको विघटन गर्ने प्रस्ताव गरेका थिए । नेकपाका प्रवक्ता प्रकाण्डले पनि समाजवादी मोर्चा आवश्यक नरहेको बताएका छन् ।

मोर्चालाई शक्ति आर्जनको विषय बनाएको विप्लवको निचोड छ । मोर्चा हुँदै पार्टी एकीकरणसम्म जाने नीति बनाए पनि माओवादीसँग सम्भावना नरहेको विप्लव नेतृत्वको नेकपाले निष्कर्ष निकालेको छ । विप्लवको अभिव्यक्तिपछि गत आइतबार र सोमबार प्रचण्ड–माधव वार्ता भएको थियो ।

पहिले सहकार्य बढाऔँ : खतिवडा

माओवादीसँगको एकता तत्काललाई अघि नबढेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रवक्ता जगन्नाथ खतिवडाका बताउँछन् । माओवादीसँगको सहकार्यको मात्रालाई विश्वसनीय बनाउन आवश्यक रहेको प्रवक्ता खतिवडा बताउँछन् ।

‘विगतमा सरकार गठन प्रक्रिया, पार्टी निर्माणका प्रक्रिया, तल्लो तहमा संगठन विस्तारको सिलसिला साथै एकताको प्रस्तावमा समेत माओवादीसँग सम्बन्ध चिसिएको छ,’ प्रवक्ता खतिवडा भन्छन्, ‘चिसिएको सम्बन्धलाई न्यानो र विश्वासिलो बनाउन आवश्यक छ ।’

पार्टी एकतामा हतार नभएको खतिवडाले बताए । ‘माओवादी केन्द्र र हामी सहकार्यलाई मजबुत बनाउने विषयमा कुरा भइरहेको छ, यसैलाई पार्टी एकताका नाममा प्रचार गर्ने काम भइरहेको छ ।’

प्रस्ताव राखेका छौँ, निर्णय उहाँहरूको

माओवादी केन्द्रले पार्टी एकताबारे आधिकारिक निर्णय गरी प्रस्ताव अघि बढाएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन् ।

‘पार्टी एकताका लागि छलफल भइरहेको छ, टुक्राटुक्रीमा बसेर हुँदैन, विचारशैली मिल्ने दलबीच एकता अपरिहार्य छ, हामीले प्रस्ताव राखेका छौं’, पौडेल भन्छन्, ‘उहाँहरू पनि आन्तरिक छलफलमा हुनुहुन्छ होला, आउने–नआउने कुरा उहाँहरूको हो ।’

यस्तै उपमहासचिव जनार्दन शर्मा र अध्यक्ष प्रचण्डबीचको दूरीलाई अन्त्य गरी पार्टीभित्र विवादरहित अवस्था बनाउने प्रयास भइरहेको पौडेलले बताए ।

पार्टीले उपमहासचिव शर्मालाई माइन्युटमा हस्ताक्षर गर्न अनुरोध गरेको पौडेलले बताए । ‘पार्टीका विषयमा बाहिर छलफल र बहस नगर्ने होइन, तर पार्टी नीति र नेतृत्वको विरोधका सवालमा ख्याल गर्न उहाँलाई अनुरोध गरेका छौँ,’ पौडेलले भने ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावविरुद्ध जनार्दनले साउन २६ गते स्थायी समिति बैठकमा लिखित प्रस्ताव पेस गरेका थिए । शर्माको फरक मतलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय समितिको बैठकमा जवाफ दिएका थिए । शर्माको १४ पृष्ठ लामो फरक मतलाई अध्यक्ष प्रचण्डले राजनीतिक दस्तावेजमा समेटेपछि विवाद केही मत्थर भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ०४ बजे

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान

आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

काठमाडौं– सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्वीकृतिका लागि स्वीकृतिका लागि नेपाल