काठमाडौँ- नेकपा (एमाले) का सचिवालय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई गलाएको दाबी गरेका छन् ।
बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकमा पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्नुपर्ने विषयमा आफूहरूले स्पष्ट धारणा राखेको ती नेताहरूले बताए ।
एकजना सचिवालय सदस्यका अनुसार बैठकको सुरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो तीन पानाको फरक मत प्रस्तुत गरेका थिए ।
त्यसपछि अन्य सचिवालय सदस्यहरूले पालैपालो धारणा राखे । धारणा राख्ने क्रममा नेताहरूले भण्डारीको सदस्यता नवीकरण रोकिए एमालेको तत्लो तहसम्म पहिरो जाने बताए ।
बिहीबारको बैठकमा उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, तथा सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र पद्मा अर्यालले पनि सदस्यता नरोकिनुपर्ने बताए । उता उपमहासचिव प्रदीप ज्ञवालीले पनि भण्डारीको सदस्यताबारे पुनर्विचार गर्नुपर्ने संकेत बैठकमा गरेको स्रोतले जनाएको छ।
यतिमात्रै नभएर, ओली पक्षका भनिएका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पनि भण्डारीको सदस्यता नरोकिनुपर्ने तर्क गरे । उनले जनतामा एमालेप्रति नकारात्मक भाष्य पैदा भएकाले सदस्यता कायम गरेर जानुपर्ने बताए ।
बिहीबारको बैठकमा अन्य नेताको भन्दा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू पाण्डे, ज्ञवाली र सचिव विष्टले भण्डारीको सदस्यता नवीकरण गरेर पार्टीले सम्मानजनक स्थानसहित फर्काउनुपर्ने बताएका थिए ।
‘हामीले मात्र होइन, यो पटक त बादल कमरेड पनि बोल्नुभयो । उहाँले पनि रोकिनुहुन्न भन्नुभयो,’ एमालेका एक शीर्ष नेताले खबरहबलाई भने, ‘यो पटक कमरेड अध्यक्ष गल्नुभएको छ ।’
यद्यपि ओलीले बैठकमा अहिले यो प्राथमिकताको विषय नभएको जवाफ दिए । ‘उहाँले विधान महाधिवेशनको तयारीबारे कुरा गरौँ भन्दै हुनुन्थ्यो, तर पछि गल्नुभयो । हामी जसरी पनि पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरेर सम्मानजनक राजनीतिमा फर्काउछौँ’, उनले भने ।
ती नेताका अनुसार महासचिव शंखर पोखरेल र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको पक्षमा बोलेका थिए । उनीहरूले पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण गर्न नहुने तर्क राखे । उनीहरूले पूर्व राष्ट्रपति त्यही हैसियतमा हुनुपर्ने बताए ।
यता उपाध्यक्ष विष्णु पौडेल पनि भण्डारीको पक्षमा उभिएको संकेत गरेका थिए । उनी बैठकमा बोलेनन् । यस्तै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि मैनता साँधे ।
एमाले उपाध्यक्ष थापाले कार्यकर्ता केपी ओली र विद्या भण्डारी भनेर विभाजित भएकाले यसको समाधानका लागि विधान महाधिवेशनमा छर्लङ्ग हुने गरी छलफल हुनुपर्ने बताए । बादलले यसो भन्दा ओली चकित परेको नेताहरूले बताएका छन् ।
ओलीले के भने ?
सुरूमा ओलीले विधान महाधिवेशनको एजेन्डाबारे मात्रै छलफल गर्ने भनेका थिए । तर नेताहरूले आन्तरिक लोकतन्त्र कमजोर बनाएर विधान महाधिवेशन सफल बनाउन नसक्ने भनेपछि सबै नेताको कुरा सुने ।
ओलीले साउन ५-६ गतेको केन्द्रीय कमिटीले निर्णय गरिसकेकाले अहिले त्यही कायम हुने बताए । ‘अहिले प्रमुख विषय यो होइन । अहिले केन्द्रीय कमिटीको निर्णय नै ठिक छ । निर्णय भएको विषय भएकाले थप कुरा पछि गरौँला । तर जे भन्नु पार्टीमा भन्नु बाहिर छताछुल्ल भएको राम्रो भएन । केही मान्छेहरू बाहिर पोखिएको देख्दै छु । तर त्यसरी पोखिनुको अर्थ छैन । जे छ बैठकमै भन्नुपर्छ । सबैले आफ्नो कुरा राख्नुभएकोमा धन्यवाद !’
पूर्वराष्ट्रपति समेटे मात्रै पार्टी चलायमान हुन्छ : उपाध्यक्ष पाण्डे
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्व राष्ट्रपतिको विषयमा देखिएको विवाद समाधान गरेमात्रै पार्टी चलायमान हुन्छ भन्ने मत नेताहरूले सचिवालय बैठकमा राखेको स्वीकारे ।
उनले पार्टीको लोकतन्त्र बलिय बनाउन यो विषयमा अध्यक्षले सबैको विचार सुन्नुपर्ने तर्क भएको बताए । ‘ईश्वर कमरेडले तीन पेजको पत्र राख्नुभयो । त्यसपछि नेताहरूले बोल्नुभयो । क-कसले के बोल्नुभयो, त्यो बाहिर भन्ने कुरा भएन,’ उनले खबरहबलाई भने, ‘उहाँको सदस्यता नवीकरण गर्नुपर्छ, उहाँलाई स्वागत गर्नुपर्छ भनेर मैले त पटक–पटक भनेकै हो ।’
सचिव अर्याल यसो भन्छिन्
यता एमाले सचिव पद्मा अर्यालले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने विषय अहिले प्राथमिकतामा नपरेको बताउँछिन् । केही नेताले भण्डारीको पक्षमा लिखित र मौखिक विचार राखे पनि पछि छलफल नभएको उनले बताएकी छन् । उनी बिहीबारको बैठकले तीवटा प्रतिवेदन पास गरेको बताउँछिन् ।
‘हिजो पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने विषय प्राथमिकतामा थिएनन । त्यो कुरा बैठकको एजेन्डा थिएन’, उनले भनिन्, ‘यो विषय त अस्ति नै मिलाएको हो । आवश्यक परे पछि छलफल होला ।’
प्रतिक्रिया