ओलीको विश्लेषण- कांग्रेसको नीतिले समृद्धि आउँदैन, माओ‌वादी पूरै असफल, रास्वपा जसरी आयो, त्यसैगरी सेलायो | Khabarhub Khabarhub

ओलीको विश्लेषण- कांग्रेसको नीतिले समृद्धि आउँदैन, माओ‌वादी पूरै असफल, रास्वपा जसरी आयो, त्यसैगरी सेलायो


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी अरु पार्टीबाट पूरा हुन नसक्ने दाबी गरेका छन्।

यो अभिभारा पूरा गर्न सक्ने एक मात्र राजनीतिक शक्ति एमाले मात्रै भएको उनले बताएका छन् । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरू दोस्रो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले यसो भनेका हुन् ।

उनले नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेसकेन्द्रित दल र राजावादी शक्तिहरू मुलुकलाई स्थायी नेतृत्व दिन अक्षम भइसकेको टिप्पणी गरे।

कांग्रेसले पटक–पटक जनमत पाउँदा पनि क्रान्तिका उपलब्धि जोगाउन नसकेको उनले बताएका छन् । उनले कांग्रेसले अंगालेको नवउदारवादी नीतिले मुलुकलाई समृद्धिको बाटोमा लैजान असफल भएको बताएका छन्।

माओवादी केन्द्रबारे उनी कडा रुपमा प्रस्तुत भएका छन् । ‘शान्ति प्रक्रियापछि अगाडि सारिएका प्रायः सबै प्रयोग असफल भए। अवसरवाद, अस्थिरता र विभाजनकारी सोचका कारण माओवादी अब वैचारिक र संगठनात्मक रूपमा निरन्तर क्षयीकरण हुँदै गएको छ’, उनले भनेका छन् ।

ओलीले मधेसकेन्द्रित दलहरू, राजावादी समूह र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका पछिल्ला ‘पपुलिस्ट’ शक्तिहरू समेत मुलुकको स्थायी विकल्प बन्न नसक्ने भन्दै आलोचना गरे। उनले रास्वपातिर लक्षित गर्दै पपुलिज्म क्षणिक तरङ्ग मात्रै भएको संज्ञा दिए । यो कुरा अब समाजले दुई वर्षमै बुझिसकेको उनको तर्क थियो ।

‘विचारका हिसाबले जनताको बहुदलीय जनवाद र शक्तिका हिसाबले एमाले नै समाजवादको अभियानको सारथी हो भन्नेमा द्विविधा छैन,’ ओलीले भने।

उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा पुनर्संरचना गर्ने प्रक्रिया सुरु भइसकेको जनाउँदै अनुशासित र जनआधारित संगठनमार्फत जनतासँग प्रत्यक्ष जोडिनुपर्नेमा जोड दिए।

दलहरूबारे ओलीको विश्लेषण

समाजवादको आधार निर्माणको ऐतिहासिक अभिभारा अरु कुनै पार्टी या शक्तिबाट पूरा हुनु सम्भव छैन । नेपाली काङ्ग्रेस मुलुकको पुरानो पार्टी हो र प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेको पार्टी पनि हो। तर लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माण लागि भने यो ‘टेस्टेड’ भइसकेको शक्ति हो।

यसले २००७ सालपछि क्रान्तिका पक्षधर शक्तिहरूलाई समेट्‌दै आन्दोलनको रक्षा गर्न सकेन। २०१५ सालको निर्वाचनमा दुईतिहाइ बहुमत पाएर पनि क्रान्तिका उपलव्धि जोगाउन सकेन। २०४८ र २०५६ मा दुई-दुई पटक बहुमत पाएर पनि आफ्नै अन्तरकलहका कारण सरकार गुमायो, र २०५९ सालमा त प्रजातन्त्र नै राजाको हातमा पुग्ने स्थिति निर्माण भयो। उसले अवलम्बन गरेको नवउदारवादी आर्थिक नीतिले समृद्धिको यस अभियानको नेतृत्व गर्न सक्दैन भन्ने प्रष्ट छ। नवउदारवाद संसारभरि नै असफल भइसकेको छ भने नेपालमा यस विचारले अगुवाइ गर्न सक्ने कुनै सम्भावना छैन ।

नेकपा (माओवादी केन्द्र) बाट यस्तो नेतृत्व सम्भव छ त ? बिल्कुलै छैन। कुनै बेला नेकपा (एमाले) र यसको सिद्धान्त जनताको बहुदलीय जनवादको ‘एण्टिथेसिस’ का रूपमा ‘प्रचण्ड’ले विकास गरेको भनिएको सशस्त्र युद्धको बाटो, सेनाबिनाको पार्टी कम्युनिष्ट पार्टी नै होइन भन्ने आग्रह र बहुदलीय प्रतिष्पर्धालाई अस्वीकार गर्दै जनवादी अधिनायकत्वको एकदलीय सोच त उहिल्यै असफल भइसकेको हो।

‘प्रचण्डपथ’ लाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि आज ‘माओवादी’ ट्याग पनि भारी भएको छ। शान्ति प्रक्रियामा आइसकेपछि अगाडि सारिएका सत्ता कब्जा, सेनामा समूहगत समायोजन, जातीय राज्य लगायत माओवादीका प्रायः सबै प्रयोग असफल भएका छन् ।
अस्थिरता, अवसरवाद एवम् विभाजनकारी सोच र भ्रष्ट व्यवहारले गर्दा आज माओवादी वैचारिक, साङ्गठनिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको छ। कसैको पनि बहुमत नभएको ‘हङ पार्लियामेन्ट’का कारण सत्ताको लाभ लिइरहनु एउटा कुरा हो। तर मुलुकको वैचारिक राजनीतिक नेतृत्व गर्ने प्रतिष्पर्धाबाट माओवादी केन्द्र बाहिरिइसकेको छ।

सङ्कीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका बारेमा त्रुटिपूर्ण सोच बोकिरहेका मधेस केन्द्रित दलहरूले राष्ट्रको नेतृत्व गर्न सक्ने प्रश्नै भएन । राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने सपना देख्छन्, कतिले धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन् । जन्मजात श्रेष्ठताको सामन्ती विचारले र त्यस्तो विचार बोक्ने त्यसका अनुयायीहरूले आजको लोकतान्त्रिक युगमा समाजको नेतृत्व गर्ने कुरा कल्पना बाहिरको कुरा हो। पछिल्लो समय राजावादीका नाममा संविधान नै नमान्ने, प्रचलित कानुन र प्रशासनका आदेशहरूको अवज्ञा गर्ने, शान्तिपूर्ण प्रदर्शनका नाममा हिंसा र अराजकता मच्चाउने प्रवृत्ति बढेको छ। यो स्वीकार्य हुन सक्दैन।

केही दल र व्यक्तिहरू गतः निर्वाचनबाट नाटकीय ढङ्गले राजनीतिक रङ्गमञ्चमा उदाए। विशेष समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै गरेर नेकपाको विभाजन, जनादेशबाट सरकार चलाइरहेको नेकपा (एमाले) लाई परमादेशबाट गरिएको विस्थापन , त्यसपछिका नीतिहीन गठबन्धन र त्यसले सिर्जना गरेको राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गरिरहेको थियो ।

समाजको यही मनोविज्ञानलाई ‘पपुलिस्टहरू’ ले राम्रैसँग दुरूपयोग गरे / तर उनीहरूसँग प्रश्नहरू थिए , उत्तर थिएन । हातमा समस्याको चाङ थियो , तर समाधानको कुनै विकल्प थिएन । न कुनै वैचारिक राजनीतिक स्पष्टता । न विगतको कुनै बिरासत र योगदान / न कुनै सुस्पष्ट न्तव्य । न त निश्चित वर्गआधार र लक्षित समूह । तलाउमा देखा पर्ने एउटा तरङ्ग जस्तै यस्तो पुलिज्म उठ्नु र छिट्टै सेलाउनु अनिवार्य नै थियो । हामीले सुरुदेखि नै भन्दै आएका थियौं- यो कुनै विकल्प होइन , हुन सक्दैन । दुई वर्ष बित्दानबित्दै समाजले पनि निष्कर्ष निकालिसकेको छ पपुलिज्म कुनै समाधान या विकल्प होइन । विचारका हिसाबले जनताको बहुदलीय जनवाद र शक्तिका हिसाबले नेकपा (एमाले) यस अभियानको सारथी हो भन कुरामा कुनै द्विविधा छैन ।

निर्णायक राष्ट्रिय शक्तिको रूपमा पार्टी निर्माण

यस अभियानको सफल नेतृत्वका लागि हाम्रो पार्टीको सोच , संरचना र शैलीको ‘रि-इञ्जिनियरिङ’ गर्न जरुरी छ । क्रान्ति पछि पनि यदि जनताका आकाङ्क्षा र देशका आवश्यकता पूरा गर्न र ‘डेलिभरी दिन सक्षम हुन सकेनौं, जनताले परिवर्तनको लाभ प्राप्त गर्न सकेनन् र लोकतान्त्रिक गणतन्त्रप्रतिको जनताको स्वेच्छिक समर्थन र अपनत्वको दायरा विस्तार हुँदै जान सकेन भने क्रान्तिकारी परिवर्तनहर दिगो हुन सक्दैन् ।

यस कमजोरीको जगमा उत्पन्न हुने असन्तुष्टि आक्रोश र वितृष्णाको लाभ जुनसुक पश्चगामी या अतिवादी शक्तिले लिन सक्छन् । यही कुरालाई ध्यानमा राखेर यतिबेला हामी पार्टीलाई नयाँ अभिभारा पूरा गर्न सक्ने गरी पुनर्व्यवस्थित गरिरहेका छौं।

विगतका अनुभवहरूले हामीलाई यस म्बन्धमा महत्वपूर्ण शिक्षा दिन सक्छन् । पञ्चायतकालमा तत्कालीन नेकपा ( माले ) को असाध्यै अनुशासित , जनआधारित र गतिशील सङ्गठन निर्माण गरिएको थियो । अरु धैरै पार्टीहरूले भारत प्रवासलाई आश्रयस्थल बनाए । तर हामीले देशभित्र जनताका झुपडीमा बसेर, जनतामै आधारित रहेर सङ्गठन विस्तार गऱ्यौं । सानो र चुस्त सङ्गठन थियो । थोरै, तर समर्पित भूमिगत र पेशेवर कार्यकर्ताहरूको पङ्क्ति थियो ।

अनेरास्ववियु , नेस्वमयु , अनेमसङ्घ शिक्षक सङ्गठन र जनपक्षीय मञ्च लगायतका खुल्ला एवम् वैध संरचनाहरूमार्फत् हामी श्रमजीवी जनतासँग गहिरो गरी जोडिएका थियौँ । जसरी माझीले हातमा डोरी लिएर माछा मार्ने जाललाई नदीभरि फैलाउँछ , त्यसरी नै नेतृत्वले पार्टी निर्माणको राष्ट्रव्यापी नेटवर्क निर्माण गरेको थियो ।

पञ्चायती चुनावमा हस्तक्षेप गर्दैत्यस्ता मञ्वबाट समेत लोकतन्त्रका निम्ति आधार निर्माण गरेका थियौं । महङ्गी भ्रष्टाचार , पञ्चायती शासकहरूका दमन, राष्ट्रियताका प्रश्न लगायत जनसरोकारका विषयमा सशक्त हस्तक्षेप गरेका थियौँ । सङ्गठन निर्माण र विस्तारका हिसाबले त्यो कालखण्ड एउटा विशेष कालखण्ड थियो । २०४६ सालको परिवर्तनसँगै पार्टी निर्माणको नयाँ चरण सुरु भयो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  २ : ५५ बजे

इन्द्रजात्राको पूर्वसन्ध्यामा लाखे आजुको नाँच (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रामा काठमाडौंको मजिपा लाखे आजु (शान्त भैरव) को नृत्य

खेलकुद क्षेत्रको विकासका लागि आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक छ : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको

बेकोको साथमा ‘परम्परा खुसीयाली, ब्लिसफुल दशैं यसपाली’

काठमाडौं– दशैं-तिहारको अवसरमा बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ

नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल सुरु, २३ दिनसम्म उपत्यका उत्सवमय हुने

काठमाडौं– नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल–२०२५’ शुक्रबारदेखि सुरु

एमाले अध्यक्ष ओलीले टेरेनन् प्रधानमन्त्री ओलीको प्रतिबन्ध, फेसबुक र ह्वाट्स एप चलाएको चलायै

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका अध्यक्ष ओलीबीच