गाजा युद्धविराम र बन्धक मुक्तिका लागि कायरोमा वार्ता « Khabarhub

गाजा युद्धविराम र बन्धक मुक्तिका लागि कायरोमा वार्ता


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य र बन्धकहरूको मुक्तिका लागि इजरायली र हमासका वार्ताकारहरू आइतबार इजिप्टको राजधानी कायरोमा भेला भएका छन् । इजरायली नेताहरूले आगामी केही दिनभित्रै बन्धकहरू रिहा हुने आशा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित रोडम्यापमा हमासले देखाएको सकारात्मक प्रतिक्रियापछि इजरायलमाथि कूटनीतिक दबाब बढेको हो । उक्त प्रस्तावमा इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको सट्टामा बन्धकहरूलाई रिहा गर्ने व्यवस्था समावेश गरिएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार वार्ताकारहरूलाई ‘प्राविधिक विवरणहरूलाई अन्तिम रूप दिन’ इजिप्ट पठाइएको जानकारी दिए । कायरोले पनि ‘सबै इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका धरातलीय अवस्था र विवरणमा छलफल गर्न’ हमास प्रतिनिधिमण्डललाई स्वागत गर्ने पुष्टि गरेको छ ।

इजिप्टका सरकारी सञ्चारमाध्यमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणको दोस्रो वार्षिकोत्सवअघि लडाकू समूह र इजरायली प्रतिनिधिहरू बीच आइतबार र सोमबार अप्रत्यक्ष वार्ता हुनेछ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले आफ्ना ज्वाइँ जारेड कुसनर र मध्यपूर्व वार्ताकार स्टिभ विटकफलाई इजिप्ट पठाए । उनले हमासलाई चेतावनी दिँदै ‘ढिलाइ अब सह्य हुनेछैन’ भन्दै तुरुन्त सम्झौतामा पुग्न आग्रह गरेका छन् ।

ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भने, ‘इजरायलले गाजाबाट फिर्तीको प्रारम्भिक रेखा मान्य गरेको छ र यो प्रस्ताव हमाससँग साझा गरिएको छ । जब हमासले पुष्टि गर्छ, युद्धविराम तत्काल प्रभावकारी हुनेछ, बन्धक र कैदी आदानप्रदान सुरु हुनेछ ।’

 हमासले शुक्रबार राति ‘राष्ट्रपति ट्रम्पको प्रस्तावमा समावेश आदानप्रदान सूत्रअनुसार सबै बन्धकहरू जीवित र अवशेष मुक्त गर्न स्वीकृति दिएको’ घोषणा गरेको थियो । ट्रम्पले यो वक्तव्यलाई ‘स्थायी शान्तिका लागि तयार’ भएको प्रमाण भन्दै स्वागत गरे र इजरायललाई आक्रमण रोक्न आग्रह गरे।

तर ट्रम्पको अपीलपछि पनि गाजामा इजरायली आक्रमण जारी छ । एएफपिटिभीले आइतबार तटीय क्षेत्रमा बाक्लो धुवाँ उडिरहेको दृश्य देखाएको छ । हमासको नियन्त्रणमा रहेको गाजा नागरिक सुरक्षा एजेन्सीका अनुसार बिहानको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । शनिबारको आक्रमणमा करिब ६० जनाको मृत्यु भएको थियो । तीमध्ये ४० जना गाजा सहरमै मारिएका थिए ।

इजरायली सेनाले गाजा सहर वरिपरि व्यापक हवाई र स्थल आक्रमण जारी राखेको जनाएको छ र स्थानीय बासिन्दालाई फर्कन नदिन चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ५ : ४८ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष