काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड बुधबारदेखि नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजक भएका छन्।
माओवादी केन्द्र महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै हिजोको सशस्त्र संघर्षदेखि साथ दिएका जनार्दन शर्मालाई पाखा लगाएका प्रचण्डले माधवकुमार नेपाल र झलनाथ खनालहरूसँग अंगालो हालेका छन् ।
उनकै नेतृत्वमा २०५२ देखि २०६३ सालसम्म सशस्त्र सङ्घर्ष चलेको थियो । तात्कालीन समयमा १९ जना केन्द्रीय सदस्यहरूले माओवादी सशस्त्र सङ्घर्ष गर्ने घोषणा गरेर प्रचण्डलाई साथ दिएका थिए।
तीमध्ये अहिले प्रचण्डको साथमा केही नेताहरू मात्र देखिएका छन्। सशस्त्र संघर्षमा सँगसँगै जीवन र मरणको परवाह नगरी लडेका धेरै नेताहरू अहिले प्रचण्डको साथमा छैनन्। अर्थात्, अब त माओवादीले हिजोको सशस्त्र संघर्षको लिगेसीसमेत धान्नै नसक्ने अवस्थामा पुगेको छ।
सशस्त्र सङ्घर्षमा साथ दिएका मोहन वैद्य किरण, सीपी गजुरेल, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल, लोकेन्द्र विस्ट मगर, नेत्रविक्रम चन्द विप्लव, हरिभक्त कँडेल, दण्डपाणि न्यौपाने, टोपबहादुर रायमाझी लगायत एक से एक नेताहरूलाई प्रचण्डले पाखा लगाइसके । उनकै कार्यशैलीप्रति असहमति जनाउँदै अधिकाशं नेताले माओवादी छाडे ।
नेताहरूले माओवादी मात्रै छाडेनन्, प्रचण्डले पनि दोस्रो पटक माओवाद र प्रचण्डपथलाई तीलाञ्जली दिए । माओवादलाई तीलाञ्जली दिँदै मार्क्सवाद-लेनिनवादको पुच्छर पक्रिन पुगेका प्रचण्डले बुधबारदेखि आफूलाई विचार र संगठन दुवैमा टक्कर दिँदै आएका जनार्दन शर्मालाई पनि पाखा लगाए। जनयुद्धका बलिया कमान्डरलाई पाखा लगाएका उनले बरू झलनाथ र वामदेवहरूसँग अंकमाल गरे ।

जनार्दन र रामसँगै सुदनले पनि हिँडे
पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्माले मंगलबार प्रचण्डसँगको ५० वर्षीय राजनीतिक यात्रा तोडेको औपचारिक घोषणा गरे ।
यस्तै पार्टीका पूर्वसचिव राम कार्कीले ५५ वर्षको राजनीति यात्रामा प्रचण्डसँग तोडेको घोषणा गरे । प्रचण्डसँगको राजनीति यात्रा सकेर उनीहरूले छुट्टै अभियानको घोषणा गरे।
शर्माले भने– ‘म माओवादीमा लागेको ५० वर्ष पुगेको छ। म १३ वर्षको हुँदादेखि पार्टीमा लागेको हुँ। रुकुमका जनताले मलाई चार चार पटक निर्वाचित गर्नुभयो । जनताका हरेक दुःख सुखमा हरेक समस्याहरूमा सहकार्य गरेर आएको छु ।’
राम काकीतर्फ लक्षित गर्दै उनले थपे– ‘दाइले त झन् ५५ वर्षजति यही पार्टीमा जीवन बिताउनुभएको छ। जनयुद्धमा जनताको सपना समेटेर सामेल भएका थियौं। त्यहाँ कुनै लोभ गरेर मोलतोल गरेर गएका थिएनौँ। यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी समानुपातिक अवस्था सिर्जना गरियो। त्यसप्रति गर्व छ । जेन-जी आन्दोलनसम्म आइपुग्दा हामीले ल्याएको उपलब्धी खरानी भयो। त्यसलाई कार्यान्वयन गरेर जनताको जीवनमा परिणाम दिन सकेनौँ।’
शर्मा र कार्कीले नयाँ पुस्तालाई आफ्नो अभियानमा जोड्ने प्रतिवद्धता जनाउँदै आफूहरु कार्यकारी नेतृत्वदायी भूमिकामा नभएर सल्लाहकारको भूमिकामा रहने बताए । दुवै नेताले पदको लालच नभएको तर राजनीति यात्रा भने नटुंग्याएको बताए ।
यता युवा नेता सुदन किरातीले पनि प्रचण्डसँग आफू साथमा नरहने खबरहबसँग स्प्ष्ट गरे । उनी आफू जनार्दन र रामको साथमै रहेको उल्लेख गरे। किरातीलाई आदिवासी जनजातिको ठूलो पंक्तिले साथ दिएको छ ।

जसले छाडे प्रचण्डको साथ
अब प्रचण्डसँग जनयुद्धका सहयात्री हरिबोल गजुरेल, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, मात्रिका यादव, वर्षमान पुन, नन्दबहादुर पुन लगायत मात्रै बचेका छन् । २०७० मै माओवादी छोडेका मोहन वैद्य अर्कै बाटोमा छन्। २०७२ भदौ १२ गते प्रचण्डबाट बिदा भएका बाबुराम अहिले नयाँ शक्ति नेपाल निर्माण गरेर राजनीतिमा छन् । उनले पनि जेन-जी आन्दोलनपछि नेतृत्व छाडिसके ।
प्रचण्डका लागि २०७९ को निर्वाचनमा गोरखा छाडिदिएका बाबुरामले निर्वाचनलगत्तै बिदा मागे। २०७२ फागुनबाट सीपी गजुरेल पनि प्रचण्डको साथमा छैनन्।
प्रचण्ड संसदीय राजनीतिमा फसेको भन्दै उनका सहयात्री नेत्रविक्रम चन्द विप्लवले साथ छोडेका थिए । पछिल्लो समय प्रचण्ड र विप्लवको सम्बन्ध सुधार भएको संकेत देखे पनि माधव नेपाललाई लगेर मोर्चा बनाउने भएपछि टाढिएका छन्। यस्तै जनयुद्ध लडेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली पनि प्रचण्डको साथमा छैनन् ।
प्रचण्डको साथ छाडेर एमालेतिर गएका प्रभु साहले पनि अहिले आफ्नो छुट्टै पार्टी गठन गरेर राजनीतिक गतिविधि गरिरहेका छन्। पूर्वका नेता सुदन किरातीले प्रचण्डसँगको सहयात्रा तोडेका छन्। गोपाल किराँती ८ वर्षपछि प्रचण्डसँग जोडिँदा विगतमा उनकै कार्यकर्ता सुदन किराती बाहिरिएका छन् ।
सशस्त्र सङ्घर्षका सहयात्री नेता एकपछि अर्को छुट्दै गएपछि प्रचण्डको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। संसदीय राजनीतिमा प्रवेश गरेपछि आफ्नो मात्रै दुनो सोझ्याएर नेताहरूको वास्ता नगरेको आरोप प्रचण्डमाथि लाग्ने गरेको छ।
परिवारवादमा फसेको, आफ्नो स्वार्थमा लागेको, पैसा कमाउन थालेको, श्रमजीवी र सर्वहारालाई भुलेको भन्दै थुप्रै नेताहरू अहिले पनि प्रचण्डसँग असन्तुष्ट छन्। तर १० दलले मोर्चा कसेकाले नयाँ तरिकाले पार्टी पुनर्गठन गरेर अगाडि बढ्ने आशा प्रचण्डसहित उनको पछि लागेकालाई छ ।
‘जनार्दनजीले उठाउनुभएको कुरा हामीले पनि उठाएको हो, तर उहाँले हाम्रा कुरा नसुनी अलग्गै अभियान चलाउने घोषणा गर्नुभयो’, नेता हरिबोल गजुरेल भन्छन्, ‘उहाँले पार्टीमा उठाएको पुस्तान्तरण र रूपान्तरणको मुद्दा हामी पार्टीमै बसेर निरन्तर उठाइरहन्छौँ । तर अहिले बाम एकता र ध्रुवीकरण नै ठीक छ भनेर हामी यहाँ गएका हौँ।’

माओवादी फुटको लहर
२०६४ सालको निर्वाचनमा प्रदेशको पहिलो शक्तिको रुपमा उदाएको माओवादी त्यसपछिका निर्वाचनमा निरन्तर ओरालो यात्रामा छ। माओवादीका दुई शीर्ष नेतृत्व दाहाल र भट्टराई प्रधानमन्त्री भइसकेका छन् ।
तर यी दुवै नेता दुईपट्टि छरिनाले पार्टीको आकार घटिरहेको देखिन्छ । माओवादी पार्टी यहाँसम्म आइपुग्दा फुटेर १० टुक्रा भएको छ। अब जनार्दन शर्मा सुदन किराती र राम कार्कीले पार्टी फुटाएर जाँदा १२ औँ पटक माओवादी फुटेको देखिन्छ ।
फुटेका पार्टीमध्ये नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव भने माओवादीमै फिर्ता हुने भएका छन्। यस्तै नेकपा माओवादीका नेता गोपाल किराती पनि माओवादीमै फिर्ता भए । नेपाल समाजवादी पार्टी नयाँ शक्ति गठन गरेका बाबुराम भट्टराई माओवादीमा फिर्ता हुने योजनामा छैनन्।
त्यस्तै नेकपा महासचिव नेत्रविक्रम चन्द पनि फिर्ता हुने योजनामा देखिँदैनन्। क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरेका मोहन वैद्य फर्किने योजनामा छैनन् । नेकपा बहुमतका नेता धर्मप्रकाश ओली र धर्मेन्द्र बास्तोला पनि माओवादीमा फर्किने मनस्थितिमा छैनन् ।
वैज्ञानिक समाजवादी पार्टी गठन गरेर बसेका विश्वभक्त दुलाल पनि आफ्नै सुरतालमा रमाएका छन् । यस्तै नेकपा संयुक्तका चन्द्रदेव जोशी पनि एकता प्रक्रियामा उत्साही देखिदैनन् ।
पूर्व माओवादी घटकहरू मिलाउन नसकेपछि प्रचण्डले अहिले माधव नेपालको सहारा लिएर वृहत बाम एकता गर्ने योजना बनाएका छन्। यो एकता कहाँ र कहिलेसम्म जान्छ त्यो भने परीक्षणको घडीमा छ ।













प्रतिक्रिया