प्रकृतिलाई खुसी पार्न तोरन तार्ने चलन « Khabarhub

प्रकृतिलाई खुसी पार्न तोरन तार्ने चलन


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको बराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । 

म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरूले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुन्द्री सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाइमा रहेको तिनचुलेको बराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर बिधीपूर्वक तानिएको हो । 

खेती किसानी र पशुपालन गर्ने स्थानीयबासीहरुले परापुर्वकालदेखि हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन प्रकृतिलाई खुसी पार्न सामूहिक रुपमा तोरण तार्ने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएका धार्मिक पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रर्वद्धन समितिका सल्लाहकार भपिन्द्र घर्तीले बताए। 

‘कात्तिक पूर्णिमाका दिन तिनचुुले बराह तालमा तोरन तारेमा गाउँमा अनिष्ट, प्राकृतिक विपद्, महामारी, रोगब्याधी नहुुने र शिवालय मन्दिरमा पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ,’ उनले भने ‘चार वटा टोलबाट सामुुहिक र भाकल पुरा भएकाले व्यक्तिगत रुपमा तोरण ल्याएर तार्ने चलन छ ।’

बैकुुण्ठ चर्तुुदर्शीका साँझ गाउँगाउँबाट माझखर्कमा लगिने तोरनलाई त्यहाँ देखि डोलीमा चढाएर बाजा र भजनकिर्तन सहित बराहताल र शिवालय मन्दिर परिक्रमा गराई तान्ने चलन छ । शिवालय मन्दिर देखि बराहतालको पुर्वी छेउको रुखमा तोरन तान्ने गरिएको छ । 

बाबियोको डोरी बाटेर थरिथरिका फुलहरु गाँसेर तोरन बनाउने चलन छ । तोरन लिएर पुगेका भक्तजनहरु बैकुण्ठ चतुर्दर्शीको रात माझखर्कमा रहेको धर्मशालामा जाग्राम बसेर भजनकिर्तन गर्ने गर्छन् । 

यस वर्ष पाँच वटा तोरन तारिएको र करिब एक हजार जना भक्तजनले शिवालय मन्दिरमा पुुजाआजा तथा दर्शन गरेका समितिका अध्यक्ष धनबहादुर घर्तीले जानकारी दिए । तोरन तार्न र पुजाआजाका लागि आएका भक्तजनहरूलाई समितिले निशुल्क प्रसाद र चिया वितरण गरेको थियो । 

ताराखोला, करिमेला, हिले, नागबेलीखोला, सिप, अर्गल, सिरकुम, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, नेटा, बाबियाचौर, पिपलबोट लगायतका ठाउँबाट भक्तजन आएका थिए । माझखर्कबाट तिनचुुलेतर्फ तोरन लैजानुअघि अन्धनिशान र छेलो फाल्ने प्रतियोगिता भएको थियो । 

पहलमान पहिचान गर्न गरिने थेलो फाल्ने प्रतियोगितामा बिजयी भएका टिकावाङका लालबहादुर पटेललाई पहलमान घोषणा गरिएको थियो । पटेललाई फेता गुुटाएर काँधमा बोकेर मन्दिर र बराह ताल परिक्रमा गरिइएको थियो । 

म्याग्दी र बागलुङ दुवै तर्फबाट सडक र पदमार्गले जोडिएको तिनचुलेमा यातायातको सहज सुविधासँगै भक्तजनको आगमन बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताए। 

ताराखोला, मंगला गाउँपालिका, गण्डकी प्रदेश सरकार र समुदायको सहकार्यमा तिनचुुलेलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको उनले बताए। सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सम्मुखमा रहेका तिनचुले पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ०९ बजे

बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी– पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

भोजपुर– स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन

सवारी दुर्घटनामा गाडी चालकको मृत्यु

बैतडी– बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास

मौसम पूर्वानुमान : तराईमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल