म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले नाचगानबाट संकलित रकम सडक निर्माणका लागि सहयोग गरेका छन् ।
ख्याली नाच समूहका कलाकारहरुले दसैँमा नृत्य प्रदर्शन गरेर दानदक्षिणबापत संकलन गरेको रु एक लाख र हिमाली आमा समूहले तिहारमा देउसीभैलो खेलेर जुटाएको दुई लाख म्याग्दीको सबैभन्दा विकट मानिने गुर्जा जोड्ने सडक योजनाका लागि सहयोग गरेका हुन् ।
ख्याली नाच समूहले आज वडा कार्यालयमार्फत सडक निर्माणका लागि गुर्जा विकास मञ्चलाई उपलब्ध गराएको धवलागिरि गाउँपालिका–१ का अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।
यसअघि गत तिहारमा आमासमूहले देउसीभैलो खेलेर संलन गरेको दुई लाख नगद पनि वडा कार्यालयमार्फत मञ्चलाई उपलब्ध गराएका थिए । गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो । गाउँमा छिटो मोटरबाटो जोडियोस् भन्ने उद्देश्यले सहयोग गरेको आमा र ख्यालीनाच कलाकार समूहका पदाधिकारीहरूले बताए ।
धवलागिरि गाउँपालिकलाको वडा नं २ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पुर्याउन करिब पाँच किलोमिटर सडकको ट्रयाक निर्माण गर्न बाँकी रहेको छ ।
उनका अनुसार, लुलाङ–गुर्जा सडकका लागि यस वर्ष सङ्घीय सरकारले समपूरक बजेटबाट एक करोड ४० लाख, गाउँपालिकाले समपूरक साझेदारी बजेट ३५ लाख, सहरी विकास मन्त्रालयबाट तीन करोड र गण्डकी प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको छ ।













प्रतिक्रिया